शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनबाट टाढिएर ओलीतर्फ नजिकिँदै उपेन्द्र

बुधबार, ११ साउन २०७९, १४ : ४०
बुधबार, ११ साउन २०७९

नवगठित नेपाल समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर सत्ता गठबन्धनसँग नजिकिएसँगै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने गठबन्धनबाट टाढिन थालेका छन् ।

कम्युनिस्ट पार्टीहरुले गठन गर्न लागेको समाजवादी केन्द्रमार्फत सत्ता गठबन्धनसँग भट्टराई नजिक भएका छन् भने नागरिकता विधेयक पारित भएसँगै लोसपाका अध्यक्ष ठाकुर पनि नजिकिएका छन् । भट्टराई र ठाकुर उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका हुन् । अध्यक्ष यादवले दुवै जनालाई पार्टीबाट कारवाही गरेसँगै उनीहरुले छुट्टाछुट्टै पार्टी बनाएका हुन् ।

यसरी आफूसँग छुट्टिएकाहरु सत्तारुढ गठबन्धनसँग नजिक हुन थालपछि जसपा अध्यक्ष यादव भने नेकपा एमालेसँग नजिक हुन थालेका छन् । स्थानीय चुनावमा काँग्रेसबाट धोका पाएको भन्दै जसपा अध्यक्ष यादव एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्पर्कमा पुगेका हुन् ।

ओलीले नयाँ गठबन्धन बनाउनका लागि जसपा अध्यक्ष यादवलाई बालकोटमा बोलाएर प्रस्ताव गरेका थिए । त्यसबेला ओलीको प्रस्तावप्रति अध्यक्ष यादव सकारात्मक भए पनि ठोस जवाफ दिएका थिएनन् । अहिले सत्ता गठबन्धनसँग दुरी बढ्न थालेपछि उनी ओलीसँग नजिक हुन लागेका छन् । जसपाका एकजना कार्यकारिणी समिति सदस्यका अनुसार जसपा अध्यक्ष यादव र एमाले अध्यक्ष ओलीबीच नियमित छलफल भइरहेको छ ।

तर जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले एमालेसँग गठबन्धन गर्नेबारे छलफल नभएको प्रतिकृया दिए । रातोपाटीलाई छोटो प्रतिकृया दिँदै उनले भने, ‘राजनीतिक दलले अन्य दलहरुसँग कुरा गर्नु अन्यथा होइन तर जसपा र एमालेबीच गठबन्धनको बारेमा कुनै कुराकानी भएको छैन ।’

​सत्ता गठबन्धनमा हाल पाँच दल छन् । महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल पनि सो गठबन्धनमा भित्रिएको अवस्थामा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सीट बाँडफाँटमा सकस हुने देखिन्छ । धेरै दल भएका कारण भागबण्डामा थोरै सीट पाउने सम्भावना बढेपछि जसपा अध्यक्ष यादवले एमालेसँग तालमेलका लागि पहल गरिरहेको स्रोत बताउँछ ।

अध्यक्ष यादव निकट स्रोत भन्छ, ‘पाँच दलीय गठबन्धनमा अब बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी, वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सामेल हुने कुरा आइरहेको छ । त्यो भिडमा हराउनुभन्दा छुट्टै चुनाव लड्ने वा अरु कुनै दलसँग तालमेल गरेर जाने भन्नेबारे छलफल भइरहेको छ ।’

एमाले पनि जसपासँग गठबन्धन बनाउन सकारात्मक देखिएको छ । यसअघि लोसपा र एमालेबीच गठबन्धन हुने चर्चा थियो । स्थानीय चुनावमा कुनैकुनै ठाउँमा यी दुई दलबीच सहकार्य भएको थियो । संघ र प्रदेशको चुनावमा गठबन्धन बनाएर जाने प्रारम्भिक सहमति दुवै दलबीच भए पनि उपसभामुख निर्वाचनमा लोसपाले सत्तारुढ गठबन्धनलाई साथ दिएपछि एमाले बिच्किएको छ ।

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ भने अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच अचेल छलफल भए–नभएको बारे आफूलाई जानकारी नभएको बताउँछन् । उनले ओली र यादवबीच यसअघि पटकपटक कुरा भएको र दुई दलका नेताबीच छलफल हुनु स्वाभाविक रहेको बताए । उनले भने, ‘जसपाका बाबुराम भट्टराईसँग पनि कुराकानी भएको हो, अहिले उहाँ आफ्नो छुट्टै पार्टी बनाइरहनु भएको छ, पार्टी बनिसकेपछि उहाँसँग पनि कुरा हुनसक्छ ।’

अगामी चुनावमा एमाले एक्लै चुनाव लड्ने कि गठबन्धन बनाएर जाने भन्नेबारे कुनै निर्णय नभएको उनले बताए ।

२०७४ मा गठन भएको ओली नेतृत्वको सरकारमा तत्कालीन संघीय समाजवादी फोरम पनि सहभागी थियो । त्यतिबेला ओली र यादवबीच राम्रै सम्बन्ध थियो । तर पछि ओलीले तत्कालीन फोरम नेपालले नेतृत्व गरेको मन्त्रालयमा हस्तक्षेप गर्न थालेपछि दुई जनाको बीचमा सम्बन्ध बिग्रिएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई नसोधिकन उनको मन्त्रालय हेरफेर गर्नुका साथै उनको पार्टीका राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई बर्खास्त गरेपछि दुई नेताबीच सम्बन्ध बिग्रिएको थियो भने लगत्तै उपेन्द्र यादवले सरकार छाडेका थिए ।

ओली प्रधानमन्त्री भएकै बेला उपेन्द्र यादवको पार्टी विभाजन गर्ने प्रयास भएको थियो । तर उपेन्द्र यादवले रातारात तत्कालीन राजपासँग एकीकरण गरेपछि पार्टी विभाजन हुनबाट जोगिएको थियो ।

ओलीले संसद विघटन गरेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले आन्दोलनको अगुवाई गरेको थियो । ओलीले दोस्रो पटक पनि संसद विघटन गरेपछि अध्यक्ष यादवले माओवादी, काँग्रेसलगायतका दलसँग गठबन्धन गरी ओलीविरुद्ध आन्दोलन चर्काएका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेसँगै पाँच दलीय गठबन्धनले एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेको थियो । तर स्थानीय तह निर्वाचनमा काँग्रेस लगायत गठबन्धन घटकले धोका दिएको भन्दै पछिल्लो समय यादव गठबन्धनप्रति रुष्ट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप