शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विगत ११ दिनमा मृत्यु हुने ७ जनाले नै लगाएका थिएनन् कोरोनाविरुद्धको  खोप

बुधबार, ११ साउन २०७९, १० : ०९
बुधबार, ११ साउन २०७९

काठमाडौँ । नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ । सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण मृत्यु भएका ७ जना मध्ये ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकै थिएनन् भने एक जनाले पहिलो मात्रामात्रै लगाए थिए । मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु छ । यस्तै, साउन ९ गते अर्थात् सोमबार एक जनाको मृत्यु भएको थियो ।

यस्तै, साउन १ र २ गते पनि एक÷एक जना सङ्क्रमितको मृत्यु भएको थियो । साउन ८ गते दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुने ६ जना ५८ वर्ष माथिका छन् भने एक जना ३६ वर्ष पुगेका थिए । डा. अधिकारीका अनुसार मृत्यु भएकाहरूमा दीर्घरोगी कम थिए ।

कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले पूर्ण सावधानी अपनाउन र कोरोनाविरुद्धको खोप नलगाएकालाई खोप लगाउन तथा बुस्टर डोज लगाउन छुटेकालाई अनिवार्य रूपमा खोप लगाउन उनको आग्रह छ । बुस्टर मात्रा हालसम्म ७२  लाख १२ हजार ६२२  जनाले लगाएका छन् । नेपालमा १२ वर्षमाथिको लक्षित जनसङ्ख्या दुई करोड ३३ लाख २७ हजार ६१९ छ । त्यसमध्ये ९१.६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा ८८ प्रतिशतले लगाएका छन् ।

बुस्टर डोज किन अनिवार्य ?

भाइरस उत्परिवर्तन हुँदै जाने भएकाले नयाँ नयाँ भेरियन्ट आइरहेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार पहिलाको दुई मात्रा खोपले डेल्टा भाइरस सङ्क्रमण हुनबाट बचाएको थियो । पहिला दुई मात्रा लगाए हुन्छ भन्ने थियो तर त्यसपछि इम्यूनिटी घट्दै जाने र खोपको काम गर्ने क्षमता क्रमशः तीन महिनादेखि घटेर ६ महिनासम्म निकै कम हुने गरेकाले बुस्टर डोज आवश्यक पर्ने उनको भनाइ छ ।

उनले भने, ‘पहिला खोप लगाएकाहरूलाई भाइरस सङ्क्रमण हुँदा अलिकति इम्यूनिटी हुन्छ । तर, यो ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ लाई पर्याप्त मात्रा नपुग्ने रहेछ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले बुस्टर डोजलाई अनिवार्य गरेको छ ।’

 

बुस्टर डोज लगाएको खण्डमा कोभिडबाट पूर्ण रूपमा बचाउन नसके पनि धेरैजसोलाई बचाउने उनको भनाइ छ । खोपका बाबजुद कोभिड–१९ सङ्क्रमण हुन सक्ने भए पनि बुस्टर डोज लगाएको खण्डमा सामान्य लक्षणमात्र देखिन सक्ने उनी बताउँछन्  ।

बुस्टर डोजले स्वास्थ्यमा जटिलता आउनबाट बचाउने भएकाले कोरोनाविरुद्धका खोप नलगाएका र पूर्णमात्रा खोप लगाएर बुस्टर डोज नलगाएकालाई अनिवार्य रूपमा लगाउन उनको आग्रह छ ।  खास गरेर दीर्घरोगी, वृद्धवृद्धाले बुस्टर डोज लगाउन अति आवश्यक रहेको उनले बताए ।

नेपालमा पछिल्लो चार महिना यता पहिलो पटक कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेको हो । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । असार २० गतेसम्म एक प्रतिशत रहेको कोरोना सङ्क्रमण दर अहिले ५ प्रतिशतभन्दा बढी छ ।

ओमिक्रोनको बीए.२ भन्दा बीए.५ सङ्क्रमण हुँदा तुलनात्मक रूपमा धेरै व्यक्तिलाई अस्पताल पुर्‍याएको छ । अन्य देशमा सङ्क्रमणको अवस्थालाई हेर्दा पनि बीए.२ लेभन्दा बीए.५ सङ्क्रमण हुँदा स्वास्थ्यमा जटिलता ल्याएको डा. कोइराला बताउँछन् ।

उनी भन्छन्, ‘यसले सबै सङ्क्रमितलाई गाह्रो नबनाउने रहेछ । वृद्धवृद्धा, दीर्घरोगीहरुले ख्याल गर्नुपर्ने हुन्छ । यसले पहिलाको भन्दा सङ्क्रमितलाई गम्भीर बनाउन सक्छ । खोप लगाएकालाई सङ्क्रमण भएमा सामान्य लक्षण देखाउन सक्छ ।’

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले सङ्क्रमणबाट जोगिन बुस्टर डोज लगाउन र मास्कको प्रयोग, हातको सरसफाइ, सामाजिक दूरी कायम गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप