शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोना महामारीको चौथो लहर सुरु भइसक्यो : डा. जनक कोइराला

‘लक्षण देखिएका सबैले परीक्षण गराएमा सङ्क्रमण दर अझै बढ्छ’
मङ्गलबार, १० साउन २०७९, १२ : ५७
मङ्गलबार, १० साउन २०७९

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालमा तीन साता यता लगातार सङ्क्रमितको ग्राफ तीव्र गतिमा उकालो लागेको छ । यसरी सङ्क्रमण बढ्नुको कारण ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ नै रहेको विज्ञहरू बताउँछन् ।

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक उकालो लागिरहेका कारण चौथो लहर सुरु भएको टिप्पणी पनि भइरहेको छ । नेपालमा कोभिड–१९ का अघिल्ला लहरहरू र विश्वमा फैलिएको नयाँ भेरियन्ट बीए.५ सङ्क्रमणको अवस्थालाई हेर्दा निकट भविष्यमा सङ्क्रमणको ग्राफ नेपालमा कुन तहसम्म पुग्न सक्छ भन्नेबारे पनि चासो बढेको छ ।

प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश–

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्नुको मुख्य कारण के हो ?

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्नुको दुई कारण छन् । नेपालमा जब कोरोनाभाइरसको डेल्टा भेरियन्ट र ओमिक्रोन भेरियन्ट हराउँदै गयो, सङ्क्रमितको सङ्ख्या दैनिक पाँचदेखि दश जनामा सीमित भयो । त्यसपछि सबैले मास्कको प्रयोग, हातको सरसफाइ र सामाजिक दुरी कायम गर्न छाड्यौँ । विवाह, व्रतबन्ध र विभिन्न पार्टीका कार्यक्रमका कारण भिडभाड पनि बढ्दै गयो । रेष्टुरेन्ट, होटल लगायतका व्यावसायिक क्षेत्रमा भिडभाडसँगै आवतजावत बढ्न थाल्यो । जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा सङ्क्रमण दर फेरि बढ्यो ।

यस्तै, अन्य देशमा देखिएको ओमिक्रोनको नयाँ भेरियन्ट बीए. ५  नेपाल पनि देखिएको छ । यस भेरियन्टको कारण सङ्क्रमण दर बढेको हो । बीए.५ पहिला अफ्रिकी देशहरुमा देखियो, त्यसपछि क्रमशः युरोपियन देशहरुमा देखियो । छिमेकी राष्ट्र भारतमा पनि यो भेरियन्ट देखियो । त्यसपछि नेपालमा देखिएको छ । बीए. ५ भेरिन्यट संसारभर देखिएको छ । त्यही भाइरसका कारण नेपालमा पनि सङ्क्रमणको नयाँ लहर आएको भन्न सकिन्छ ।

के नेपालमा कोरोना महामारीको चौथो लहर सुरु भएको हो ?

अब चौथो लहर होइन भनेर ‘इग्नोर’ गर्न सकिँदैन । नयाँ भेरियन्ट पनि नेपालमा पुष्टि भएको छ । हामीले परीक्षण नगरेर मात्रै थाहा नभएको हो । परीक्षण नगर्ने अनि चौथो लहर आएको होइन भन्न त मिलेन नि ! परीक्षणको मात्रा बढाउनुपर्छ । धेरै मानिस परीक्षण नगरिकन घरघरमा बसिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ठूलो सङ्ख्यामा ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ देखिएको छैन । चाहिने जति नमुना परीक्षण नहुँदा ठूलो सङ्ख्यामा सङ्क्रमण नदेखिएको हो । दैनिक पीसीआर र एन्टिजेन गरी २५/३० हजारको हाराहारीमा नमुना परीक्षण गरिएको छ । एन्टिजेनभन्दा पीसीआर परीक्षणले बढी पोजेटिभ देखाउने गर्छ । पीसीआरमात्र १५ देखि २० प्रतिशतको हाराहारीमा पुगेको छ । पर्याप्त मात्रामा कोरोना परीक्षण नगर्दा पनि दैनिक करिब साढे चार सयको हाराहारीमा सङ्क्रमित पुष्टि भएको छ ।

सबै सङ्क्रमितको पहिचान भएको छैन भन्नु भयो, समुदायमा ठूलो सङ्ख्यामा सङ्क्रमित छन् त ?

प्रायले रुघा, ज्वरो आउँदासमेत कोरोना परीक्षण गराएका छैनन् । जनमानसमा कोरोना महामारी गइसक्यो, साधारण रुघाखोकी लागेको हो, वर्षमा एकदुई पटक यस्तो सबैलाई भइरहन्छ भनेर परीक्षण गराइएको छैन । जबसम्म उहाँहरुले परीक्षण गराउनु हुन्न, तबसम्म पोजेटिभ रिजल्ट आउने दर पनि कम हुन्छ । पछिल्लो समय सचेत व्यक्तिले मात्र परीक्षण गराएका छन् भने स्वास्थ्य समस्यामा जटिलता आएपछि मात्रै परीक्षण गराउने पनि छन् । यस्तै, विदेश जानेहरूले पनि अनिवार्य परीक्षण गराउनुपर्छ । तर सङ्क्रमणको लक्षण देखिएका सबैले परीक्षण गराएमा नेपालमा सङ्क्रमण दर अझै बढ्छ ।

सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नु ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ को फैलावटकै कारण हो त ?

सुरुमा डेल्टा भेरियन्ट आयो, केही समयपछि हरायो । डेल्टा सङ्क्रामक बढी र स्वास्थ्यमा जटिलता बढी ल्याउने खालको थियो । डेल्टापछि ओमिक्रोन आयो । डेल्टाभन्दा ओमिक्रोन चार गुणा बढी फैलने अध्ययनले देखाएको थियो । छिटोछिटो फैलिएपछि डेल्टा फैलन नपाउँदै ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढी भयो । ओमिक्रोनबाट आउने एन्टिबडीले डेल्टा सङ्क्रमण हुनबाट बचायो । एक किसिमले ओमिक्रोनले राम्रो नै गर्‍यो । ओमिक्रोनले डेल्टा भेरियन्टले जस्तो सङ्क्रमितमा गम्भीर स्वास्थ्य समस्या ल्याएन । चार/पाँच महिनापछि ओमिक्रोन सङ्क्रमण दर न्यून भयो । दैनिक १०/२० जनामा मात्रै सङ्क्रमण देखियो ।

त्यसपछि कोभिड–१९ विरुद्धको खोप कुल जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढीले लगाए । त्यसले गर्दा पुरानो भेरियन्टलाई घटाउँदै गयो । त्यसपछि ओमिक्रोन भेरियन्ट बीए २ देखिएको थियो । पहिलाको इम्युनिटी घटेकाले बिस्तारै सङ्क्रमण बढेर गएको हुन सक्छ । होइन भने नयाँ भेरियन्ट बीए.५ भेरियन्टकै कारण सङ्क्रमण बढेको हो । अहिले संसारभर नै बीए.५ सङ्क्रमण बढेर गएको छ । बीए.५ले पहिलाको बिए २ ले भन्दा सङ्क्रमितलाई केही बढी गम्भीर बनाउने, बीए२ भन्दा चाँडै फैलने गर्छ ।

सरकारले बीए. ५ हो कि होइन भनेर जिन सिक्वेसिङ गर्दै छ । हामीले इपिडिमियोलोजिकल पोइन्टबाट हेर्दा बीए.५ नै हो भन्ने छ । बीए. ५ पहिलो ओमिक्रोन २ भन्दा छिटो फैलने भएकाले यसले ओभरटेक गरिरहेको छ । त्यस कारण यो चौथो लहर हो । जबसम्म दैनिक १०/२० हजार नमुना परीक्षण गर्दैनौँ, तबसम्म ठूलो रूपमा सङ्क्रमण दर देखिँदैन ।

जुन किसिमले रुघाखोकीका रूपमा फैलिएको छ । त्यस हिसाबले हेर्दा पक्कै पनि यो बीए.५ नै हो । यसले टेकओभर गर्न गाह्रो छ । अरू देशमा हेर्दा पनि पहिला २०/२५ प्रतिशत बीए.५ पुष्टि भएको थियो । अहिले ४० देखि ७५ प्रतिशत फैलिएको देखिएको छ । नेपालमा पनि बिस्तारै बीए.५ देखिएको छ ।

ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ ले स्वास्थ्यमा जटिलता ल्याउँछ ?

पहिलो ओमिक्रोनको ओरजिनल भाइरसभन्दा बीए.५ सङ्क्रमण हुँदा कम जटिलता देखाएको छ । त्योभन्दा डेल्टा भाइरसले बढी जटिलता ल्याएको थियो । ओमिक्रोनका बीए.२ ले नाक, घाँटीमा समस्या देखाउने तर फोक्सोमा नपुग्ने भएकाले सङ्क्रमितको स्वास्थ्यमा जटिलता ल्याएको थिएन । तर, ओमिक्रोनको बीए.२ भन्दा बीए.५ सङ्क्रमण हुँदा तुलनात्मक रूपमा धेरै व्यक्तिलाई अस्पताल पुर्‍याएको छ । पछिल्लो दिनमा सङ्क्रमितको मृत्यु भएको छ । अन्य देशमा सङ्क्रमणको अवस्थालाई हेर्दा पनि बीए.२ लेभन्दा बीए.५ सङ्क्रमण हुँदा स्वास्थ्यमा जटिलता ल्याएको पाइन्छ ।

यसले सबै सङ्क्रमितलाई गाह्रो नबनाउने रहेछ । वृद्धवृद्धा, दीर्घरोगीहरुले ख्याल गर्नुपर्ने हुन्छ । यसले पहिलाको भन्दा सङ्क्रमितलाई गम्भीर बनाउन सक्छ । खोप लगाएकालाई सामान्य लक्षण देखाउन सक्छ । पाटन अस्पतालमा इमर्जेन्सीमा र लक्षण देखिएर उपचार गराउन आउनेहरूमा घाँटी खसखस हुने, घाँटी दुख्ने, रुघाखोकी, ज्वरो आउने जस्ता समस्या पाइएको छ ।

कोहीकोही गर्भवती महिला, मुटु, दम, श्वासप्रश्वासका बिरामी, सुगर रोगीहरूलाई सङ्क्रमण देखिएमा स्वास्थ्यमा सुधार आएपछि घरमा पठाउने गरेका छौँ । यस भेरियन्टले फोक्सोमा धेरैजसोलाई समस्या देखाएको छैन ।

बुस्टर डोज नलगाएकाहरुमा सङ्क्रमण बढी देखिएको हो ?

भाइरस उत्परिवर्तन हुँदै जान्छ ।  नयाँनयाँ भेरियन्ट आइरहेको छ । यसबाट हामीले के बुझेका छौँ भने पहिलाको दुई मात्रा खोपले डेल्टा भाइरस सङ्क्रमण हुनबाट बचाएको थियो । पहिला दुई मात्रा लगाए हुन्छ भन्ने थियो । त्यसपछि इम्यूनिटी घट्दै जाने रहेछ । खोपको काम गर्ने क्षमता क्रमशः तीन महिनादेखि घटेर ६ महिनासम्म निकै कम हुने रहेछ ।

६ महिनापछि के हुन्छ भने पहिला खोप लगाएकाहरुलाई भाइरस सङ्क्रमण हुँदा अलिकति इम्यूनिटी हुन्छ । तर, यो ओमिक्रोन नयाँ भेरियन्ट बीए.५ लाई पर्याप्त मात्रा नपुग्ने रहेछ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले बुस्टर डोजलाई अनिवार्य गरेको छ । बुस्टर डोज लगाएको खण्डमा कोभिडबाट पूर्ण रूपमा बचाउन नसक्ला तर, धेरैजसोलाई बचाउँछ । केही व्यक्तिलाई कोभिड–१९ सङ्क्रमण हुन सक्छ । तर, कोभिड भए पनि बुस्टर डोज लगाएको खण्डमा सामान्य लक्षण देखिन सक्छ । स्वास्थ्यमा जटिलता आउनबाट बचाउँछ । खास गरेर दीर्घरोगी, वृद्धवृद्धाले बुस्टर डोज लगाउन अति आवश्यक छ ।

संक्रमणका अघिल्ला लहर र अहिले सङ्क्रमणको फैलावट तथा स्वास्थ्य जटिलताका आकलन गर्दा आगामी दिनमा कस्तो अवस्था आउन सक्छ ?

जबसम्म पर्याप्त मात्रामा परीक्षण गर्दैनौँ, तबसम्म सङ्क्रमणको वास्तविक दर देखिदैँन । यद्यपि नेपालमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ । आजभन्दा तीन हप्ता अगाडि एक प्रतिशत तथा कमको हाराहारीमा भएको सङ्क्रमण दर अहिले पीसीआर परीक्षणलाई मात्रै हेर्दा २० प्रतिशत पुगेको छ । पीसीआर र एन्टिजेनको समेत हेर्दा  १०/१२ प्रतिशत पुगिसकेको छ ।

यो चौथो लहर होइन भनेर ‘इग्नोर’ गर्न सकिँदैन । हामीले परीक्षण नगरेर मात्रै थाहा नभएको हो । जबसम्म सरकारले परीक्षण बढाउँदैन, तबसम्म कुन बेला यो चौथो लहर पिकमा पुग्छ, भन्न सकिदैँन । अहिले हामीले सङ्क्रमण दरको प्रतिशतलाई मात्रै हेर्दै छौँ । जो व्यक्ति आफै स्वतस्फूर्त परीक्षण गराउन आएका छन्, उनीहरुको मात्र तथ्यांक प्रकाशमा आउने हो । त्यसैले पोजेटिभ केस कम देखिएको हो ।

अहिलेसम्मका नेपालले झेलेका तीन वटा लहरलाई हेर्दा  आवतजावतको हिसाबले हेर्दा फरक छ । हाम्रो देश सानो र भिडभाड हुने स्थान कम भएकाले चारदेखि ६ हप्तामा आफै नै कन्ट्रोल भएर गएको स्थिति छ ।

४ देखि ६ हप्ताको बीचमा हामीले आफूलाई पनि बचाउने र अरूलाई पनि बचाउन सक्यौँ भने सङ्क्रमण दरलाई नियन्त्रणमा लिन सकिन्छ । मुख्य कुरा, सरकारले जनचेतना फैलाउनु पर्छ । सरकारले अर्को लहर आएको छैन भन्दा जनमानसमा यो त केही होइन रहेछ भन्ने सन्देश जान्छ । त्यसैले सरकारले नयाँ लहर आइसकेको छ भनेर जनतालाई अझ सचेत गराउनुपर्छ ।

हामी सबैजना सचेत हुनुपर्छ । तर, बन्दाबन्दी गर्न जरुरी छैन । जनचेतना अझै पनि वृहत् रूपमा फैलाउनुपर्छ । सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ । अनिवार्य रूपमा बुस्टर डोज लगाउनै पर्छ । सवारी साधन बन्द गर्नैपर्छ भन्ने छैन । स्कुले बच्चाहरुलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी छ । सकेसम्म सबैलाई छिटो खोप लगाउनु पर्छ । सीमा क्षेत्रमा कडाइ गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप