आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीमा भानु देउवाका ज्वाइँको अस्वभाविक छलाङ

सोमबार, ०९ साउन २०७९, १७ : ४९
सोमबार, ०९ साउन २०७९

साउन ६ मा सशस्त्रका १४ जना कामु वरिष्ठ उपरिक्षक र दुईजना उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस भए । बढुवा सूचीको दुई नम्बरमा थिए दिपेन्द्र कुँवर । सूचीको दुई नम्बरमा भएपनि कुँवर आफ्नो ब्याचमा चाहिँ एक नम्बरमा उक्लिएका छन् ।

एक नम्बर वरियतामा रहेका प्रवीण कँडेल नेपाल प्रहरीबाट सेवा प्रवेश गरेर सशस्त्रमा गएका हुन् । सिसम–२ का कुँवर ११ नम्बरबाट आफ्नो ब्याचमा सबैभन्दा अगाडि उक्लिएका हुन् । कामु एसएसपी हुँदा पनि ११ नम्बरमा रहेका कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ हुन् । उनैलाई बढुवा गर्न असार २३ मा मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी नियमावली–२०७२ नै संशोधन गरेको थियो । एसपीबाट एसएसपी हुन चाहिने ४ वर्षे सेवा अवधि घटाएर मन्त्रिपरिषद्ले ३ वर्ष भए पुग्ने प्रावधान बनायो ।

नियमावली संशोधन गर्नुको कारण हो, कुँवरले ४ वर्षे पदावधि पुरा गरेका थिएनन् । एकजना व्यक्तिलाई माथि लैजान नियमावली संशोधन गरिएको भन्दै सशस्त्र प्रहरीमा चरम असन्तुष्टि चुलिएको छ । सशस्त्रका एकजना उच्च अधिकारी भन्छन्– ‘शक्तिको आडमा व्यक्तिलाई माथि लैजान नियमावली संशोधन गरिएको छ ।’

शक्तिको आडमा नियमावली नै परिवर्तन गरेर कुँवरले छलाङ मारेका छन् । कुँवरपछि विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी र कमलप्रसाद तिउसिना बढुवा सिफारिसमा परेका छन् । सुवेदी संगठनमा विवादित छविका अधिकृत मानिन्छन् ।

त्यस्तै नीरकृष्ण अधिकारी सुधीरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल बढुवा सिफारिस भएका छन् ।

अन्तिम ५ बाट एक नम्बर

दिपेन्द्र कुँवर सशस्त्र प्रहरी निरीक्षकमा भर्ना हुँदा ७५ जनामा अन्तिम पाँचमा थिए । शक्ति केन्द्र दाइना भएपछि उनले १ नम्बरमा छलाङ मारेर भविष्यमा आईजीपी बन्ने रोडम्याप बनाएका छन् । २०७५ चैत १५ मा डीएसपीबाट एसपी हुँदा पनि उनी देउवा परिवारकै दवावमा बढुवा भएका हुन् ।

उनी डीएसपी हुँदा कञ्चनपुरको गड्डाचौकी र रसुवाको गुल्ममा गुल्मपति भएर बसे । दोहोरो गुल्मपति दिने चलन नभएपनि उनलाई सो नियमले छोएन । रसुवा गुल्मको प्रमुख हुँदा आधा समय काठमाडौंमा बसे । शैलेन्द्र खनाल आईजीपी हुँदा उनले दोहोरो शान्ति मिसन जाने अवसर पाए ।

सशस्त्र प्रहरीमा ३ वटा डीआईजीको दरबन्दी खाली छ । त्यसमा कुँवरलाई बढुवा गर्नेगरी एसएसपीमा अगाडि राखिएको जानकारहरु बताउँछन् । एसएसपीबाट डीआईजीमा बढुवा हुन स्टाफ कलेज पास गर्नुपर्ने प्रावधान छ । सो कोर्स १८ महिनाको हुन्छ । तर, त्रिभुवन विश्वविद्यालयले लिने स्टाफ कलेजको प्रवेश परीक्षामै कुँवर दुईपटक अनुत्तीर्ण भएका छन् ।

तत्कालीन आईजीपीले उनलाई बिना प्रतिस्पर्धा नेपाली सेनाको स्टाफ कलेज कोर्सका लागि सहभागी गराइदिए । तीनपटक असफल भएपछि पुनः स्टाफ कलेज गर्न नपाउने हुनाले उनलाई प्रवेश परीक्षा छलेर सैन्य कलेजमा सिधै छनोट गरिएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप