ad
x
आमाको जिम्मेवारी र करिअर–३

बिहेपछि पनि महिलासँग प्रशस्त सम्भावना जीवित

दूध खुवाउने आमा मानव होइनन्, महामानव हुन् : सलोजा दाहाल

person explore access_timeसाउन ८, २०७९ chat_bubble_outline0

जनआन्दोलन २०६२/०६३ मा पत्रकारिताको निकै ‘चार्मिङ’ थियो । पाठक छिन छिनको खबर चाहन्थे । त्यतिबेला मोरङमा महिला पत्रकार अत्यन्त कम थिए । रिपोर्टिङमा हिँड्ने केटीहरू त थिएनन् नै भन्नुपर्छ । बाटोमा हिँड्दा पनि सेलीब्रटी जस्तो पत्रकारको शान देख्दा सलोजा दाहालका गोडा आफसेआफ पत्रकारितातिर डोरिए । । केटा मान्छेहरू नै अत्यन्त कम मोटरसाइकल चलाउने समयमा उनले मोटरसाइकल कुदाएर रिपोर्टिङ गर्न थालिन् । उनको नाम थाहा नपाएकाहरूले पनि ‘पत्रकार केटी’ भनेर चिन्न थाले । 


सलोजा दाहाल अहिले एनटिभीमा छैटोँ तहमा कार्यरत छिन् । उनका श्रीमान् कुवेर ढुङ्गाना कलेज पढाउँछन् । उनका ६ वर्षका छोरा सर्वज्ञराज र २० महिनाकी छोरी सर्वश्री छिन् । व्यस्त दिनचर्या, परिवारको जिम्मेवारी भए पनि करियरलाई मर्न दिएकी छैनन् उनले । 



उनका बुवा शिक्षक थिए । लामो समय हेडमास्टरको रुपमा काम गरे । बुवाको जागिरको सिलसिलामै उनी सोलुखुम्बुमा जन्मिइन् । केही समयपछि उनी आमासँग घर ओखलढुङ्गा फर्किइन् । उनले ओखलढुङ्गा मोलुङ गाँउपालिका–२ लामीडाँडामा गणेश माध्यमिक विद्यालयबाट एसएलसी गरिन् । एसएलसीपछि उच्च शिक्षाको लागि मोरङ झरिन् । 

२०६२ सालमा सिटी कलेजबाट उच्च माध्यमिक तह उत्तिर्ण गरेलगत्तै उनको पत्रकारिता यात्रा सुरु भयो । तीन महिने पत्रकारिता तालिम लिएर उनले ‘दर्शन दैनिक’ बाट काम सुरु गरिन् । सुरुमा उनको तलब २५ सय रुपैयाँ थियो । त्यहाँ काम गर्दा गर्दै उनले मोरङबाटै गोरखापत्रमा न्यूज बेसिसमा काम सुरु गरिन् । कुनैबेला दर्शन दैनिक, मर्निङ टाइम, नमस्ते एफएम र गोरखापत्रमा उनले एकैपटक काम गर्थिन् । सबैतिरको कमाइ थोरै थोरै जोड्दा पनि राम्रै थियो । 

पत्रकारितासँगै पढाइलाई पनि निरन्तरता दिइ रहिन् । उनले अंग्रेजी र समाजशास्त्रमा महेन्द्र बुहुमुखी क्याम्पसबाट स्नातक गरिन् । सिकारु हुँदा गोरखापत्रमा पठाएका धेरै समाचार छापिँदैनथे । धेरै मिहिनेत गरेर लेखेको समाचार नछापिँदा मन खिन्न हुन्थ्यो । तर उनले कहिल्यै हार मानिनन् । 

आमाको हरदम हौसला

आमाले एसएलसी परीक्षा दिन जाने बेलामा सलोजा जन्मिएकी  हुन् । उनी भन्छिन्, ‘आमा त्यतिबेला स्कुलको फस्ट केटी हुनुहुन्थ्यो ।’ सन्तान जन्मिने क्रम बढ्दै जाँदा आमाको पढाइ रोकियो । उनकी आमालाई साहित्य सिर्जनामा औधी रुचि थियो । स्कुलमा कविता प्रतियोगिता हुँदा आमाले लेखिदिएको र आफूले वाचन गरेको रचनाले सलोजालाई सिर्जनात्मक लेखनमा डोर्यायो । त्यसैले उनी आफ्नो पहिलो गुरु आफ्नै आमालाई मान्छिन् । उनका पाँचै दिदीभाइ सबैले स्नातकोत्तर गरेका छन् । सलोजाले एलएलबी पनि सकेकी छिन् । सबै आफ्नै खुट्टामा उभिएका र आत्मनिर्भर छन् । यसमा आमाको सिकाइ महत्वपूर्ण रहेको उनको बुझाइ छ । 

बुवाले आर्थिक रुपमा घर सम्हाल्नु भयो । जागिरको सिलसिलामा उहाँ सधैँ घरदेखि बाहिर रहनुहुन्थ्यो । छोराछोरीको हेरचाहको पूर्ण जिम्मेवारी आमाले गर्नुभयो । उनी भन्छिन्, ‘हामी जे बन्यो, त्यो आमाको सपना थियो ।’ आमाले सोचेअनुसार पढ्न नपाए पनि पढाए अनुसार जागिर खान पाए हुन्थ्यो भन्ने थियो । अरूसँग निर्भर हुँदा दुःख हुन्छ भनेर सिकाइरहनु हुन्थ्यो । आमाको सिकाइले गर्दा होला समस्या पर्यो भने ओ हो पहाड खस्यो अब के गर्ने होला भन्ने हुँदैन । छुट्टै आँट वा आत्मविश्वास बढ्ने सलोजा सुनाउँछिन् । 

पत्रकारितामा लाग्न बुवासँग विद्रोह

त्यतिबेला गाउँमा टिभी थिएन । रेडियो थियो, रेडियोमा बीबीसी सुनिन्थ्यो । त्यति बेलैदेखि रेडियोमा बोल्न पाए हुन्थ्यो, पत्रिकामा आफ्नो नामसहित केही लेख्न पाए हुन्थ्यो भन्ने सलोजामा हुटहुटी पलाएको हो । तर यो नै पत्रकारिता हो भन्ने ज्ञान थिएन । उच्च माध्यमिक पढ्नेबेला पत्रकारिता नै पढ्छु भन्ने उनलाई लाग्यो । पत्रकारितामा लाग्न उनले बुवासँग एकखालको विद्रोह गर्नुपरेको थियो । 

नर्स अथवा इन्जिनियर गर्नु भन्ने बुवा एकराज दाहालको दवाव थियो । त्यसैले पत्रकारितामा लागेकै कारण बुवा लामो समयदेखि उनीदेखि रिसाएका थिए । त्यतिबेला धरानमा ओभरसियर पढाइ हुन्थ्यो । दिदी सिमा आवास र आमा सुधा दाहालको सहयोगले उनी  पत्रकारितामै निरन्तर लाग्न सकिन् । दिदी र आमाले जे गरोस् राम्रो गरोस् र आफ्नो खुट्टामा उभिने होस् भनेर हौसला बढाए । चार दिदीबहिनी र एक भाइको उनी माइली छोरी हुन् ।

तीन वर्ष भन्दा धेरै एउटै संस्थामा काम गर्‍यो भने इनएक्याटिभ भइन्छ जस्तो लागेर उनले कुनै पनि संस्थामा तीन वर्ष भन्दा बढी काम गरिनन् । गोरखापत्रले समय थपिदिएपछि उनी काठमाडौं आइन् । काम सिक्ने हुटहुटीले उनले नेपालवान टेलिभिजन ज्वाइन गरिन् । भन्छिन्, ‘एकखालले असाध्यै पेलाए पनि ठूलो सिकाइ भयो नेपालवान टेलिभिजनमा ।’ 

अनि विवाह र छोराछोरी

उनले २०७१ सालमा सोलुखुम्बुका कुवेर ढुङ्गानासँग मागी विवाह गरिन् । पत्रकार सरकारी जागिरे हुनुहुँदैन भन्ने उनलाई लाग्थ्यो । तर जतिबेला उनी पहिलो पटक गर्भवती भइन् । निजी संस्थामा काम गरेर आफूले सोचेजस्तो नहुने भन्ने लाग्यो । अलि अलि पेट देखिन थालेपछि उनले जागिर छोडिन् । प्लस टु पढ्दै गर्दा आफैले काम गरेर, कमाएर खान पर्छ भन्ने विचार बोकेर हिँड्ने मान्छे, जागिर छाडेर बस्दा निकै उनलाई सकस भयो । २०७३ सालमा उनको पहिलो बाबु सर्वज्ञराज जन्मियो । उनी बच्चा हुर्काउनतिर लागिन् । 

छोरा हुर्काउन थालेपछि साथी भाइसँगको सम्बन्ध सर्कल हट्यो । आफूलाई शून्यमा पाइन् उनले । पकेट खर्च पनि श्रीमान्सँग माग्नुपर्ने अवस्था आयो । त्यो कुराले उनलाई असाध्यै पोल्यो । 

सरकारी मिडियामा पत्रकारिता

सरकारी जागिरमा जानुको उनले एक घटना सुनाइन् । उनको एकजना मिल्ने साथी निजामती कर्मचारी थिइन् । उनीहरू दुवैको एकै समयमा बच्चा भएको थियो । उनको साथीलाई सुत्केरी बिदा थियो । घर बसेर तलब खाइरहेकी थिइन् । तर उनले भने गर्भवती हुँदै गर्दा अफिसमा भएको असहजताको कारण जागिर छोड्नु परेको थियो । जागिर छोडेको भोलि पल्टदेखि तलब थिएन । निजामति कर्मचारी साथीको सबै कुराको व्यवस्था थियो, उनी लथालिङ थिइन् । यसरी पहिले सरकारी जागिर मन नपर्ने मान्छे पछि समयले सरकारी जागिरमै आकर्षण गर्यो । त्यसपछि श्रीमान्सँग सल्लाह लिएर उनले क्लास लिन थालिन् । बच्चा छेउमा राखेर उनी पढ्न थालिन् । उनी भन्छिन्, ‘कहिलेकाँही अरुको देखेर पनि सिक्नुपर्छ ।’

छोरा एक वर्षको भएपछि उनले लोकसेवाको तयारीमा लागिन् । अफिसरको तयारी गर्दै गर्दा यता एनटिभीको पनि परीक्षा दिइन् । २०७५ सालमा समाचार सम्पादक छैटोँ तहमा उनले नाम निकालिन् । सरकारी जागिरमा नाम निकाल्नुका पछाडि उनले आफ्नो मिहिनेतसँगै श्रीमान्लाई पनि यसको श्रेय दिन्छिन्, ‘श्रीमान् सहयोगी हुनुहुन्छ, श्रीमती अगाडी बढ्नुपर्छ भनेर हौसला दिने कुरामा कहिल्यै कञ्जुस्याइँ गर्नुहुन्न ।’ 

निजी र सरकारी जागिरमा धेरै फरक हुने उनको बुझाइ छ । निजीमा सेवा सुविधा भन्ने हुँदैन, न त करिअर सुरक्षित हुन्छ । सरकारीमा आफूलाई सुरक्षित अनुभव हुन्छ । २०७७ मा कोभिड सुरु भयो । निजीमा काम गर्ने कति धेरै पत्रकार साथीहरूको जागिर गयो । तर सरकारीमा जागिर जाने डर भएन, दोस्रो त्यस समयमा उनी दोस्रो पटक गर्भवती भइन् । आफिसमा गाडीले ल्याउने लानेको व्यवस्था गर्यो । निजीमा त्यो सम्भव नहुने उनले बताइन् । बच्चा भएसी पनि घरमा बस्दा पनि तलब आइराख्यो । बच्चा बिरामी भएपछि बिदाको लागि धेरै बोल्नुपर्दैन । उनको २०७७ सालमा छोरी सर्वश्री जन्मिइन्, जो अहिले २० महिनाकी छन् । 

श्रीमान् श्रीमती मिलेर बच्चाको हेरचाह गरिरहेका छन् । अहिले बच्चाहरूका लागि सलोजाले भन्दा धेरै श्रीमान्ले समय दिनु परेको छ । छोरा स्कुल पढ्न जान्छन् । कतिपय परिवारमा श्रीमान्को बलिदानलाई कमजोरीको रुपमा समाजले व्याख्या गरेको देखिन्छ । तर यो विषयमा उनीहरू दुवै कन्भिन्स छन् । बच्चाको जिम्मेवारी आमा बुवा दुवैको बराबरी हुन्छ । जसले स्याहार गर्दा हुने उनको बुझाइ छ । श्रीमान् बाहिर हिँड्नु पर्ने दिनमा उनी अफिस बिदा लिन्छिन् । नभए प्रायः बुवाले नै बच्चाहरूलाई समय दिएका छन् । 

छोरा हुँदा उनको जागिर थिएन, छोरा उनले हुर्काइन् । अहिले छोरीको स्याहारमा आमा बुवा दुबैले पालैपालो जिम्मेवारी सम्हालेका छन् । छोरी ४ महिनाको भएपछि उनले जागिरलाई निरन्तरता दिइन् । बुवाले धेरै समय दिने भएर होला, छोरी बाबुसँग नजिक हुन्छिन् । छोरा आमाको नजिक छन् ।

दूध खुवाउने आमाहरू महामानव

दूध खुवाउने आमाहरू मानव होइनन्, महामानव हुन् भन्ने सलोजाको बुझाइ छ । मान्छे हो भने उसलाई आफ्नो स्वार्थको बारेमा थाहा हुन्छ । निद्रा, भोक, इच्छा सबैभन्दा प्यारो हुन्छ तर आमाका लागि बच्चाका अगाडि सबै कुरा गौण हुन्छ । दिनभरी अफिसमा काम गर्यो, थकाइ लागेको हुन्छ । तर बच्चा राती दुइ तीन बजे उठेर खेल्न थाल्छ । आमा त्यसमै रमाउँछिन् । उनलाई आफ्नो थकाइ, निद्राको कुनै मतलब हुँदैन । बच्चाको आफ्नै गुनासा हुन्छन्, सुन्यो, कति आफैले बुझ्यो । बच्चाका कुरा उसले नभनेपनि आमाले बुझ्छन् । 

नवजात बच्चाका आमाहरूको लागि जागिर खानु सहज छैन । तर बच्चाहरूले नै आमाहरूलाई धेरै ठाउँमा उत्प्रेरणा दिइरहेका हुन्छन् । आमाले गर्ने कामप्रति उनीहरूले गर्व गर्छन् । जागिरे आमाले बच्चाको आवश्यकता पुरा गर्न अरु मान्छे गुहार्नु पर्दैन । त्यो महिलाको शक्ति हो । कहिलेकाँही काम नगरौं जस्तो लाग्छ तर काम त छोराछोरीको लागि पनि हो । तिनै कुराहरूले दुःख गर्न मन लाग्छ । 

अर्को श्रीमान्ले श्रीमतीको काममा गौरव गर्नु, श्रीमतीको काममा विश्वास गर्नुले महिलाले धेरै कुरा हासिल गर्न सक्छन् । कहिलेकाहीँ काममा राती अबेर हुन्छ तर किन ढिला भनेर प्रश्न नगर्दा मात्रै पनि ठूलो राहत हुन्छ । पेशा त्यस्तै छ, ९५ प्रतिशत पुरुषहरूसँगै रहेर काम गर्नुपर्छ । मोबाइलमा केटीको भन्दा केटाहरूकै नम्बर धेरै छ । तर पनि श्रीमान्को किन हो यस्तो भनेर प्रश्न नगर्ने र फोन चेक नगर्ने कुराले धेरै राहत दिन्छ । यिनै स–सानो कुरा नै जीवनको उपलब्धि र सम्पत्ति अनि खुसी हुने ठाउँ  रहेको उनको जिकिर छ । 

अफिसबाट सिधै घर

दिउँसो अफिसमा काम गर्दा ध्यान हुन्न । तर अब विदा भयो भनेसी छोराछोरीबाहेक अरु कसैको अनुहार सम्झिन्न । अफिसबाट निस्केपछि सिधै घर पुग्छु । घर पुगेपछि उनीहरूलाई अँगालो हाल्दा आनन्द आउँछ । त्यो बेला दिनभरी यिनीहरूलाई छोडे भन्ने कुराले पिरोल्छ । सुरुका दिनमा बच्चा छाडेर हिँड्दा एकदमै खरो हुन्थ्यो उनलाई । घरबाट निस्कने बेला सधैँ पानी खान्थिन् । दूध खाँदैको बच्चा छोडेर जागिरमा जानुको पीडा उनी सुनाउँछिन् । 

त्यो बेला उनको बुवा र अंकलले बच्चा हेर्थे । पछि बच्चालाई स्कुल हालेपछि पनि उनलाई सकस भयो । बिहान ९ बजे छोडेको बच्चालाई बेलुका ६ बजे कहिले त ७ बजे लिनु जानुपर्ने अवस्था थियो । छोरीको पालामा भने धेरै सजिलो भएको छ । अहिले सबै जिम्मेवारी श्रीमान्ले लिएपछि ढुक्कले काममा जान सकेको उनी बताउँछिन् ।

बच्चा, समाज र अफिस यो सबैको जिम्मेवारी एकसाथ निभाउन धेरै गाह्रो छ । तर त्यो गाह्रो निश्चित समयको लागि मात्रै हो । बच्चाहरू केही समयपछि हुर्किन्छन् र स्कुल जान थाल्छन् । लामो समय ग्यापमा बस्दा धेरै कुरा छुट्छन् । त्यसैले घरपरिवारको सहयोग लिएर सँगसँगै करिअर अगाडि बढाउनुपर्छ । महिलाले पनि शंका गर्ने अवस्था सिर्जना गर्नुहुँदैन । समाज संस्कार र परिवारको विषय आफूअनुसार म्यानेज गर्दै लैजानुपर्छ । उनीहरूले जे भन्छन्, त्यसै गर्ने हो भने कहीँ पुगिदैन । समाजमा महिलाले अगाडि बढ्न विद्रोह गर्नैपर्ने अवस्था अझै छ । म को हो भन्ने कुरा फिल गर्ने त्यही अनुरुप आफूले मार्ग बनाएर हिँड्नुपर्छ । आफू हिँड्दा अरुलाई न्याय वा अन्याय के भइरहेको छ भन्ने कुराको भने ख्याल राख्नुपर्छ । 

करिअर छाडेर छोराछोरी र छोराछोरी छाडेर करिअर गर्नु हुँदैन । क्रान्तिकारी, परिवर्तनशील महिला भन्ने कत्तिले घरबार बनाउन सकिरहेका छैनन् । तर परिवार भित्रको खुसी जति ठूलो खुसी अन्त छैन । घरबाट हाँस्दै निस्कियौँ भने काम गर्न पनि उर्जा प्राप्त हुन्छ । थाकेर आउँदा फेरि हाँस्ने ठाउँमा पुगिन्छ । घरमा झगडा भयो भने दिमाग तातो हुन्छ । त्यो दिमाग लिएर अफिसमा कसरी काम गर्ने ? परिवारमा सबैथोक छोड्ने भन्दा पनि सबैजना मिलेर जानुमा उनी विश्वास गर्छिन् । 

बिहेपछि पनि छ जिन्दगी

बिहे गरेपछि जिन्दगी सकिन्छ भन्ने लाग्थ्यो । तर त्यो गलत रहेछ । बिहे गरेपछि पनि महिलासँग प्रशस्त सम्भावना हुन्छन् । सहयोग गर्ने जीवनसाथी पर्यो भने झन् जीवन सहज बन्दै जान्छ । व्यक्तिगत र पारिवारिक जिन्दगीको मिक्स धेरै रमाइलो र सुन्दर हुन्छ । महिलाको लागि सबै समय विशेष अवस्था हुँदैन । महिनावारी र गर्भवती हुँदा महिलाको दिमागले सही तरिकाले काम गर्न सकेको हुँदैन । महिनावारीमा एक दिन भएपनि विदा दिने अथवा आधा दिन कामबाट रेस्ट गर्न दिने व्यवस्था हुनुपर्छ । यसको लागि सरकारले नै पोलिसी बनाउनुपर्छ । 

बच्चाको जिम्मेवारी उसको आमा मात्रै नभएर राज्य पनि जिम्मेवार हुनुपर्छ । बच्चाको संरक्षण गर्ने, हुर्काउने र एक स्वच्छ बच्चा हुर्कायो भने उ स्वच्छ नागरिक बन्छ र राज्यको लागि योगदान गर्न सक्छ । यति काम गर्ने हो भने राज्यले महिलाको लागि धेरै संरक्षण गर्नुपर्छ जस्तो लाग्दैन । 

हामीले आफ्नो अधिकारको बारेमा बोल्यौँ भने महिला अधिकारकर्मी, क्रान्तिकारी भनेर ट्याग लगाइदिने गर्छन् । त्यो महिलाहरूप्रतिको गलत व्याख्या हो । समयअनुरुप परिवर्तन हुन आवश्यक छ । हिजो आमाहरूले यस्तो गर्नुहुन्थ्यो भनेर अब हामीले त्यही नै गर्नुपर्छ भन्ने छैन । सही हो भने सही तर गलत अभ्यास हो भने संस्कार नै भएपनि तोड्न आवश्यक छ । हामीमाथि समाजले गर्ने मूल्याङ्कन फरक छ । केटीले काम गर्न सक्ने हो वा होइन भनेर परीक्षण गरिन्छ । पुरुषले भन्दा उत्कृष्ट काम महिलाले गर्छन् । 


कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।