ad
x
आमाको जिम्मेवारी र करियर–१

सुत्केरीलाई जागिरबाट बिदा: जननीप्रतिको अपमान

person explore access_timeअसार १४, २०७९ chat_bubble_outline0

सन्तानप्रति आमाको त्यागलाई शब्दमा बयान गर्न सकिन्न । बच्चाहरूको हेरचाह आमाले जस्तै कसैले पनि गर्न सक्दैनन् । आमाहरू अरूको तुलनामा अधिक जिम्मेवार हुन्छन् । त्यस कारण पनि आमा र बच्चाको बिचमा बलियो भावनात्मक सम्बन्ध विकास हुन्छ । आमाको भूमिका अपरम्पार हुँदाहुँदै पनि आफ्नो व्यक्तित्व विकास, सशक्तीकरण र करिअरका लागि सानो बच्चा घरमा छोडेर जागिरमा जानुपर्ने हुन्छ । पेशाले सञ्चारकर्मी सिर्जना सुवेदीको १४ महिनाको छोरा छ । पत्रकारिता सुरु गरेको ५ वर्षको यो अवधिमा साढे ३ वर्ष राम्रै रह्यो तर छोरो भएपछि दोहोरो जिम्मेवारी थपिएकाे छ । 


बारा जिल्ला स्थायी घर भएकी सिर्जना गर्भवती हुँदा पनि काम गर्न छाडिनन् । ३ महिनासम्म सार्वजनिक बस चढेर आउजाउ गर्न उनलाई निकै नै गाह्रो भयो । बच्चा पेटमा तीन महिनाको भएपछि गाडीमा हिँड्न सकिनन् । रिङ्गटा लागेर आउँथ्यो, बमिट होला जस्तो हुन्थ्यो । तर जबरजस्ती गाडीमा चढेर अफिस पुग्थिन् । उनले ६ महिनासम्म अफिस नै गएर काम गरिन् । पछि कोरोनाको कारणले अरू साथीहरूले पनि घरबाट काम गर्नुपर्ने स्थिति आएपछि उनले पनि घरबाटै काम गर्न पाइन् । 



नौ महिना पुरा भएपछि अचानक उनको बच्चा पेटमा चल्नै छोड्यो । त्यतिबेला उनलाई कोभिड पोजेटिभ देखिएको थियो । त्यसैले परोपकार अस्पताल थापाथलीले भर्ना लिन मानेन । त्यतिबेला उनीहरू असाध्यै डराए । कुनै उपाय नलागेपछि कोभिड भएको नभनी उनी कीर्तिपुर अस्पतालमै भर्ना भइन् । भर्ना भएकै राती नै उनको अप्रेशन गरेर बच्चा निकालियो ।  स्टार अस्पतालबाट आएको कोभिड पोजेटिभ रिपोर्ट हेरेर अस्पतालले उनलाई अलग्गै राख्यो । 

२०७७ सालमा सिर्जनाले सञ्चारकर्मीसँगै प्रेम विवाह गरेकी हुन् । स्टडी सर्कलमा भेट भएको साथी करिब ६ महिनाको कुराकानीको क्रममा उनीहरू विवाह गर्ने निर्णय गरे । घरपरिवारले पनि स्वीकृति दियो । बिहे भएको दुई वर्षमा बाबु जन्मिएको थियो । सुत्केरी बिदा २ महिना थियो । त्यसपछि फेरि उनले काम सुरु गरिन् । सुत्केरी भएपछि उनले  ६ महिना घरबाटै काम गरिन् । निजी संस्थाले प्रायःले यस्तो सुविधा दिएको पाइँदैन । त्यो सहजताको लागि उनी आफू कार्यरत अन्नपूर्ण पोष्ट परिवारलाई धन्यवाद दिन्छिन् ।

सिर्जना आफू बिहान ६ बजेदेखि दिउँसो डेढ बजेसम्म डिउटी गर्छिन् । र, श्रीमान्ले २ बजेदेखिको डिउटी मिलाएर बच्चाको लागि समय निकालेका छन् । दुवैजनाको आमाबुवा काठमाडौँमा नभए पनि भाइबहिनी सँगैसँगै छन् । उनीहरू काममा हुँदा भाइबहिनीहरूले बच्चा हेर्ने गरेका छन् । 

बाहिरबाट काठमाडौँ आएर बस्नेहरू धेरैको एकल परिवार हुन्छ, यस्तो अवस्थामा काम गर्न गाह्रो हुन्छ । बच्चासँगै जागिर गर्न परिवारको सहयोग चाहिन्छ । परिवार भए पनि आमालाई स–सानो कुरामा पीर हुन्छ । अरूले खुवाएपनि राम्रोसँग खुवाएनन् कि भन्ने लाग्छ । राम्रोसँग हेरेनन् कि भन्ने हुन्छ । सिर्जनाको बुझाइमा बच्चाले आमाको दूध पुरापुर खान पाउने उसको अधिकार हो । तर पनि अफिसको काम ८ घण्टा हुन्छ र घर पुग्न एक घण्टा लाग्छ । करिब ९ घण्टा बच्चाले दूध खान पाउँदैन । त्यसबेला बोतलको दूध खुवाउने बाध्यता हुन्छ । बच्चालाई दूध खुवाउनुपर्छ भन्ने मात्रै कारणले जागिर छोड्न पनि सकिँदैन । 

बच्चालाई दूधबाहेक अरू खेलौना, लत्ताकपडा, भिटामिन, स्वास्थ्य उपचार र पछि गएर शिक्षा पनि चाहिन्छ । त्यसको लागि पैसा चाहिन्छ । त्यसको तयारीको लागि पनि आमाले जागिर खानुपर्छ । दुई वर्ष पुरा भएपछि उसले दूध खान छोड्छ । अन्य आवश्यकता थपिँदै जान्छन् । त्यो सबैको लागि आमा जिम्मेवार हुनुपर्छ । सिर्जनाका अनुसार पैसाकै लागि मात्र नभएर जागिर भनेको एक नारीको सशक्तीकरणको कुरासँग जोडिन्छ । बच्चाकै लागि जागिर छोडेर बस्दा कामको लय बिग्रन्छ । त्यही पोजिसनमा रहन मुस्किल पर्छ । बच्चा हुने बित्तिकै काम छोड्ने हो भने महिलाहरू पछि पर्छन् ।

सिर्जनाको जस्तो श्रीमान् नहुने हो भने महिलाहरूले जागिरलाई निरन्तरता दिन सक्दैनन् । बच्चालाई बुवाले दूध खुवाउन मात्रै नसक्ने हो तर बुवाको माया पनि बच्चाप्रति उत्तिकै हुन्छ । सिर्जनाका अनुसार पहिले जागिरे भएकाहरू आमा भएर घरमै बसेपछि बन्धन जस्तो हुन्छ । छोरी मान्छे घरै छ भने अरूले चुलो चौको छुनै हुँदैन भन्ने जस्तो गर्छन् । त्यसपछि फेरि महिलाहरू पहिले हाम्रा आमाझैं भात भान्सामै खुम्चिन पुग्छन् । बुढाले कमाएर खान दिएकै छ भनेर कामकाजी महिलाहरू पनि खान, लाउन पाउनुलाई उपलब्धि मानेर बस्न बाध्य हुन्छन् । धेरै पढेलेखेका र सक्षम महिलाहरू पनि यसरी घरमै थन्किनु परेको छ । 

बच्चा पेटमा आएपछि सिर्जनालाई दुई कुराको असाध्यै डर लागेको थियो । एक पढाइ रोकिन्छ कि भन्ने र अर्को करिअर सिद्धिन्छ कि भन्ने डर । बाहिर निस्कन नपाएपछि धेरै कुरा बुझ्न सकिन्न । साथै मानसिक रूपमा बच्चा जन्माउँदा धेरै पीडा हुन्छ कि बच्चा जन्माउन सक्दिन कि भन्ने डर मनमा भइरहन्थ्यो । यस्ता डर श्रीमान् र परिवार बुझ्ने भएपछि समयसँगै घट्दै गयो । श्रीमान्ले सहयोग गरेमा बच्चाको आमाले जागिर छोडेर करिअर छाडेर बस्नुपर्दैन । आफ्नो श्रीमान् सहयोगी र फराकिलो विचार भएको पाएकाले नै उनले विवाह गरेकी हुन् । 

सिर्जनाका अनुसार आमाहरूले बुवाहरूले भन्दा धेरै काम गर्नुभयो । तर निर्णायक तहमा बुवा हाबी हुनुहुन्छ । बुवाहरू दिनभर डुलेर आएर दिनभरि काम गरेको आमालाई तेरो सम्पत्ति हो र ? तैँले कमाएको हो र ? भन्ने चलन छ । आमाहरूले नै त्याग गर्नुपर्ने अवस्था छ । हाम्रो सामाजिक संरचना र विचारसँग जोडिएको कुरा हो यो । आमाले सबै थोक त्याग गर्नुपर्छ भनेर सिकाइएको छ । 

सबैको आआफ्नो सपना हुन्छ, त्यसलाई निरन्तरता दिन सकिएन भने लक्ष्यमा पुग्न सकिँदैन । बच्चालाई सक्षम बनाउनु आमाको जिम्मेवारी हो । उ हुर्किँदै, बढ्दै समय क्रममा आफ्नो लागि आफै काम र निर्णय गर्न सक्ने हुन्छ । त्यसपछि पनि त आमाको जीवन हुन्छ । बुहारी भनेको बच्चा जन्माउने र हुर्काउने त्यो साधन मात्रै होइन भनेर परिवारले बुझ्नुपर्छ । उसले पनि आफ्नो सपनाहरु पुरा गर्नुपर्छ । आफ्नो कामहरु अगाडि बढाउनुपर्छ । यस्तो विचार राख्ने सिर्जना बिहेपछि पनि करियर बढाउन सकेकोमा दंग छिन् ।

निजी क्षेत्रमा बल्ल–बल्ल एक महिना मात्रै बिदा दिने चलन छ । यस्तोमा गर्भवती भएपछि महिलाले जागिर छोड्नुपर्ने अवस्था हुन्छ । गाह्रो भए सहजीकरण गर्दिने होइन, बरु जागिर छोड भन्ने परम्परा हावी छ । ‘महिलाको लागि अफिसमा अलग्गै सुविधा हुनुपर्छ । महिलामैत्री अफिसको निर्माण हुनुपर्छ,’ सिर्जना भन्छिन्, ‘गर्भवती हुने बित्तिकै जागिर छोड्नु पर्ने अवस्था आउँछ भने महिलाको सशक्तीकरण कसरी हुन्छ ? एक आमा बन्नको लागि दुई महिना बिदा दिएर पनि पुग्दैन ।’ सरकारी कार्यालयमा पनि सुत्केरी बिदा ९८ दिन छ, तर नीजि संस्थाले १/२ महिना पनि बिदा दिँदैनन् । जबकि त्यो बिदामा अप्रेशन गरिएकी सुत्केरी आमाको घाउ पनि राम्रोसँग निको भएको हुँदैन । सिर्जनाका अनुसार काम गर्ने मान्छे अरू जति नि पाइन्छ भनेर सुत्केरीलाई बिदा दिएर किन कर्मचारी पाल्ने भन्ने सोच जननीप्रतिको अपमान हो । 

सिर्जनाको हकमा अफिसले बच्चा सानो हुँदा घरमै बसेर काम गर्नलाई छुट पाइन् । आफूले जस्तै कुनै पनि कामकाजी महिलाले आमा बन्ने बित्तिकै जागिर छोड्नुपर्ने अवस्था आउनु हुँदैन भन्ने उनको जिकिर छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।