शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादीको ५० सीटमा दाबी रहन्छ : हरिबोल गजुरेल

‘बाबुरामजी फर्किँदा पार्टीभित्र हुने बहसलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत हुन्थ्यो’
बुधबार, ०४ साउन २०७९, ०९ : ०५
बुधबार, ०४ साउन २०७९

प्रदेश र संघको आगामी चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने प्रायः निश्चित छ । यद्यपि गठबन्धन घटकहरूबीच भागबण्डाको विषय भने पेचिलो बन्न थालेको छ । काँग्रेसले आफूलाई एक सय सीट, पाउनुपर्ने दाबी गरेको छ  भने अरू चार दल काँग्रेसलाई ७० देखि ८० सीटमा सीमित गर्नुपर्ने पक्षमा छन् ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल माओवादीले पनि कम्तीमा ५० सिट दाबी गर्नुपर्ने मत राख्छन् । तर जसले जति दाबी गरे पनि भागबण्डाको विषय छलफल गरेर टुङ्ग्याउनु पर्ने उनको मत छ । यही सन्दर्भमा चुनावी तालमेल र तयारी, माओवादी साङ्गठनिक अवस्थाका विषयमा रातोपाटीकर्मी वीरेन्द्र ओलीले गजुरेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश :

पाँच दलीय गठबन्धन आपसमा तालमेल गरेर प्रदेश र संघको चुनावमा जाने पक्का भएको हो ?

त्यो सबैले बुझेकै कुरा थियो । काँग्रेसले औपचारिक रूपमा निर्णय गर्‍यो । हाम्रो लागि कुनै नौलो थिएन । स्वाभाविक निर्णय हो ।

अब साउनभित्रै टुङ्गो लगाउनुपर्छ भन्ने लाग्छ । धेरै ढिला गर्नु हुँदैन । स्थानीय तह चुनावमा ढिला गरियो । त्यसले गर्दा धेरै खालका जटिलता पैदा भए ।

अब कसरी तालमेलको मोडालिटी बनाउनुहुन्छ ?

तालमेल गर्ने भएपछि विभिन्न पक्ष र पाटोलाई ध्यान दिनुपर्ने हुन्छ । जस्तै, कुनै पनि पार्टीको शक्ति कति छ भन्ने एउटा आधार हुने भयो । अर्को, शक्ति जति भए पनि उत्प्रेरणको भूमिका हुन्छ । जस्तै एउटा रङमा अर्को थोरै रङ मिसियो भने रङ बदलिन्छ । कतिपय अवस्थामा हेर्दा सानो शक्ति हुन्छ । त्यससँगको सहकार्यले परिणाममा ठुलो असर गर्छ । त्यो कुरालाई हामीले पनि ख्याल गर्नुपर्छ । जहाँ टप प्रतिस्पर्धा छ, त्यहाँ ५००–१००० मतको ठुलो महत्त्व हुन्छ । त्यस्तो अवस्थामा सानो सङ्ख्यामा भएको पार्टीलाई पनि भ्यालु दिनुपर्ने हुन्छ । तेरो भोट छैन, हुँदैन भनेर हुँदैन । सीट लिनेले पनि आफ्नो शक्ति नभएको क्षेत्रमा प्रचार प्रसार गर्न गाह्रो हुन्छ । चुनावमा जसले सीट लिन्छ, त्यसले प्रचार प्रसारको मुख्य भूमिका लिनुपर्ने हुन्छ । कम मत भएकाले सीट लिँदा भोट डाइभर्ट हुने सम्भावना हुन्छ । यी सबै पक्षलाई हेरेर सीटको बाँडफाँट गरिनुपर्छ ।

काँग्रेसका नेताहरूले प्रतिनिधि सभामा एक सय सीट लिएर बाँकी चार दलबीच भागबण्डा गर्नुपर्छ भनिरहेका छन् । तपाईंंहरू चार दल ६५ सीट लिएर चित्त बुझाउने अवस्था हुन्छ ?

काँग्रेसले आफ्नो दाबी गर्नु स्वाभाविकै हो । मैलाई यति चाहियो भन्नु ठिकै हो । त्यसमा अरू पार्टीको पनि दाबी छ भन्ने कुरालाई ख्याल गरिदिनुपर्ने हुन्छ । माओवादीको दाबी होला, माधव नेपालजीको आफ्नै दाबी होला । अरू गठबन्धनका नेताहरूको दाबी हुन सक्छ । केपीजीहरूले माधवजीहरूलाई एक सीट जित्दैन भन्नुहुन्थ्यो । स्थानीय  चुनावमा माधवजीहरूले जितेर देखाइदिनुभयो । कतिपय स्थानमा एक्लै लडेर जित्नुभयो । दाबी गरेर मात्रै हुँदैन, एउटा ठोस विषयमा केन्द्रित भई छलफल गर्नुपर्छ ।

तपाईंहरूले कति सीट दाबी गर्नु भएको छ ?

मैले बाहिर न्यूनतम ५० सीट दाबी गर्नुपर्छ भनिराखेको छु । अरू अधिकतम जति पनि हुने भयो ।

 


हामी पश्चगमनका विरुद्ध संघर्ष गर्दै आएका छौँ । त्यसैले एमालेसँग तालमेल हुँदैन । काँग्रेस पनि पश्चगमनकै यात्रामा लाग्यो भने सोच्न सकिन्छ ।

गृहमन्त्रीले काँग्रेस बैठकमा माओवादीले सात सीट, एकीकृत समाजवादीले एक सीट ल्याउँछ भनेर रिपोर्टिङ गर्नुभएछ, वास्तविकता करिब करिब यस्तै हो ?

यस्तो कुरा हास्यास्पद भयो । गृहमन्त्रीले त्यस्तो भन्नुभयो जस्तो लाग्दैन । तपाईंलाई कहाँबाट त्यस्तो सूचना आयो ? गृहमन्त्रीजस्तो पदमा बसेको नेताले यस्तो कुरा नभन्नुपर्ने हो ।

चुनावी तालमेलसहित मोडालिटीको टुङ्गो कहिलेसम्म लगाउनुहुन्छ ?

अब साउनभित्रै टुङ्गो लगाउनुपर्छ भन्ने लाग्छ । धेरै ढिला गर्नु हुँदैन । स्थानीय तह चुनावमा ढिला गरियो । त्यसले गर्दा धेरै खालका जटिलता पैदा भए । यदि केही जटिलता आयो भने पहिल्यै मिलाउन सकिन्छ । यस्तो भएमा चुनावको राम्रो तयारी हुन्छ । 

चुनावको मुखमा सीट बाँडफाँट गर्दा असन्तुष्टिहरूलाई सम्बोधन गर्न सकिँदैन । समय नै पुग्दैन । सीट बाँडफाँट तत्काल टुङ्गो लगाउँदा उम्मेदवारको विषयमा पर्याप्त बहस र छलफल हुने भयो । सच्याउन चाहेमा सजिलो हुनेछ ।

काँग्रेससँग सम्मानजनक तालमेल भएन भने गठबन्धनबाट बाहिरिएर एमालेसँग जाने स्थिति हुने त होइन ?

हामी पश्चगमनका विरुद्ध संघर्ष गर्दै आएका छौँ । त्यसैले एमालेसँग तालमेल हुँदैन । काँग्रेस पनि पश्चगमनकै यात्रामा लाग्यो भने सोच्न सकिन्छ । उसले अग्रगमन सोच राख्दासम्म हामीले अन्यत्र सहकार्य र सम्झौता गर्नु हुँदैन ।

तपाईंंहरूको पार्टी पदाधिकारी चयन अब चुनावपछि धकेलिने निश्चितजस्तै भएको हो ?

मैले बाहिर भनिसकेको छु, हाम्रो पार्टीको पदाधिकारी चयन भएको भए स्थानीय चुनावमा २५ सीट अरू थपिने थियो । हाम्रो कुल १५० सीट जति हुने थियो । उम्मेदवारको निर्क्योल गर्दा पदाधिकारी भएको भए धेरै सजिलो हुने थियो । केन्द्रको प्रतिनिधिहरूको रूपमा जहाँ समस्या हुन्छ त्यहाँ गएर सुल्झाउन सकिने थियो । पदाधिकारी भएको भए जो पनि पठाउन सकिन्थ्यो । महासचिव, उपमहासचिव, कोषाध्यक्ष, उपाध्यक्ष जसलाई पनि पठाइन्थ्यो । त्यसबाट केही न केही हल गर्न सघाउने थियो । उम्मेदवार छनोटमा पनि हेडक्वाटरलाई सुविधा हुने थियो । उम्मेदवार छनोट भएपछि जुन अन्तर्विरोध पैदा हुन्छ, त्यसलाई हल गर्न सहयोग पुग्ने थियो । बागीको समस्या  ठाउँ ठाउँमा भयो, त्यो हुने अवस्था आउने थिएन । केन्द्रको अधिकारसहित पदाधिकारी पठाउँदा मद्दत गर्ने थियो । संगठनको क्षेत्रमा माओवादीले गर्‍यो भन्ने हुन्थ्यो । विद्यार्थी सङ्गठन, वाईसीएलको भद्रगोल भइराखेको थियो । यसपटक सबै टुङ्गो लगाए, राम्रो गरे भन्ने सन्देश बाहिर जान्थ्यो । माओवादी नेतृत्व विचारमा मात्रै होइन, संगठनमा पनि परिपक्व भएछ भन्ने हुन्थ्यो । संगठनको प्रश्न उठिराखेको अवस्थामा नउठ्ने सुनिश्चित हुने थियो ।

पदाधिकारी नबनाएपछि संगठनको बारेमा बाहिर जनताले प्रश्न उठाए । विचार र राजनीतिमा माओवादी सफल भयो तर संगठनमा त्यति परिपक्व रहेनछ भन्ने भयो । प्रचण्ड कमरेड सङ्गठन नै चलाएर आएको नेता हो । हिजो ग्रास रुटबाट नेतृत्व गर्दै आउनु भएको हो । प्रचण्ड यत्तिकै रातारात नेतृत्वमा आएको होइन । प्रचण्डमा सबैपक्ष बलियो छ भन्ने सन्देश बाहिर जाने थियो । यसले नेता कार्यकर्ता र जनतामा उत्साह पैदा गर्ने थियो । यसले स्थानीय चुनावमा मत बढाउन मद्दत गर्ने थियो ।

पार्टी अध्यक्षले नै २/४ दिनमै टुङ्गो लगाउँछु भन्नु भएको थियो । त्यो दिन त आएन नि ?

साथीहरूसँग मेरो कुरा हुँदैछ । अध्यक्षले अस्ति राम्रोसँग तयारी गरेर सबैको चित्त बुझाउँछु भन्नुभयो । केन्द्रीय सदस्यहरूलाई विश्वस्त बनाएर बैठक समापन गर्नुभयो । अहिले ढिलो हुँदै जाँदा प्रश्नहरू खडा भइरहेका छन् ।

अध्यक्षलाई सारै अप्ठ्यारो भएको छ । खाली महासचिवमा मात्रै अप्ठ्यारो परेको होइन, सबैलाई पद प्रतिष्ठा चाहिएको छ । वरिष्ठ उपाध्यक्षमा हल भइसकेको छ । त्यसमा नारायणकाजी श्रेष्ठ भइसक्नु भएको छ । कति उपाध्यक्ष राख्ने, उपमहासचिव, सचिव कति राख्ने पनि टुङ्गो लगाउन बाँकी छ । सङ्ख्या नै राम्रोसँग फाइनल हुन पाएको छैन । पार्टीमा जुनियर सिनियरको कुरा मिलाउनु पर्ने छ । आकाङ्क्षी धेरै छन् । पदाधिकारी बनाउँदा समावेशी बनाउनुपर्छ भन्ने कुरा आइहाल्छ । समावेशी पार्टी हो भन्ने सन्देश दिनै पर्‍यो । ती सबै कुराले जटिलता छन् । पदाधिकारी सबै पूरा गर्नु पर्छ नै, नभए सङ्गठन बनाउन माओवादीले सकेन भन्ने सन्देश बाहिर जान्छ । जसले गर्दा चुनावमा भोट घट्छ ।

 अध्यक्ष प्रचण्डले अब पदाधिकारी बनाउनतिर नलागौँ, अन्तर्विरोध हुन्छ भनेर भन्नुभयो भने प्रदेश र संघको चुनावपछि पदाधिकारी चयन हुने सम्भावना कति छ ?

पदाधिकारी नबनाएपछि भोटमा कति असर गर्छ भन्ने सबैले बुझ्नै पर्छ । प्रचण्डले चुनौती लिएर पूरा गर्नभयो भने राम्रो सन्देश जाने छ । यसले पार्टी, सङ्गठन र जनतामा राम्रो प्रभाव पर्ने भएकाले तत्काल टुङ्गो लगाउनुपर्छ भन्ने नै छ ।

प्रचण्ड र बाबुराम निरन्तर संवादमा छन् । के बाबुराम माओवादीमै फर्किने सम्भावना छ ?

बाबुरामजीले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । हामीहरूले पनि आत्मसमीक्षा गर्नैपर्छ । विगतमा कहाँकहाँ कमजोरी गरियो ? किन टुटफुट, विभाजन भयो ? बाबुरामजी माओवादीमा आउँदा फाइदै हुन्छ । बाबुरामजी माओवादीमा हुँदा वौद्धिक बहस, छलफल सबै हुन पाउँछ । त्यसमा उहाँको योग्यता, क्षमता र दक्षता पनि छ । यो पार्टीका लागि उहाँको आवश्यकता छ । किरणजी आउनुहुन्छ कि आउनुहुन्न थाहा छैन । उहाँ आए राम्रै हुन्थ्यो । उहाँसँग मार्क्सवादका फण्डामेन्टल कुराहरूको राम्रो ज्ञान छ । पार्टीलाई मार्क्सवादको आधारभूत कुराबाट बाहिर जान खबरदारी गर्नु हुने थियो । नयाँ खोज, अनुसन्धानमा बाबुरामजीको ज्ञान छ । त्यो नयाँ खालको ज्ञान पार्टीलाई चाहिन्छ । सबै नेतालाई पढ्ने फुर्सद पनि हुँदैन । उहाँ लामो समयदेखि खोज, अनुसन्धानमा निरन्तर लागिराख्नु भएको छ । बाबुरामजी आउँदा पार्टीभित्र हुने बहस र छलफललाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्ने थियो ।

बाबुरामजी माओवादीमा आउने सम्भावना छ पनि, छैन पनि । दुवै सम्भावना छ । उहाँको कुरा कम्युनिस्ट मूल्य मान्यताबाट पार्टी चलाउने/नचलाउने भन्ने प्रश्न हो । अब नयाँ ठाउँमा जानुपर्छ भन्नेमा प्रचण्ड र बाबुरामको कुरा मिल्छ । नयाँ भनेको आफ्नो धरातल छोडेर जाने हो कि अर्को कुनै नयाँ भन्ने हो । मार्क्सवादसँग जोडेर नयाँ हो कि अर्को कुनै वाद जोडेर नयाँ हो । समाजवाद काँग्रेस र एमालेले भनिराखेका छन् । तर कुन धरातलमा बनेको समाजवाद भन्ने हो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप