शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपामा गृहमन्त्रीको रिपोर्ट : गठबन्धन नगरे माओवादीको आठ, समाजवादीको एक सिट

एक्लाएक्लै लड्दा काँग्रेसको ८० सिट, अरू मिले ३५ मात्र जित्ने
सोमबार, ०२ साउन २०७९, १८ : ००
सोमबार, ०२ साउन २०७९

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरता र औचित्यमाथि गम्भीर विमर्श भएको छ । असार २७ गतेदेखि ३२ गतेसम्म आगामी संघ र प्रदेश निर्वाचनको गठबन्धनका सन्दर्भमा १ सयभन्दा बढी नेताले धारणा राखेको थिए । 

बैठक गठबन्धन गर्दा काँग्रेसलाई हुने नाफा–घाटाका विषयमा बढी केन्द्रित भएको नेताहरू बताउँछन् । सैद्धान्तिक प्रश्न उठाइए पनि यसपटक स्थानीय तहको निर्वाचनमा गठबन्धनको विपक्षमा उभिएका शेखर कोइराला समूहका नेताहरू पनि संघ र प्रदेशको चुनावका सन्दर्भमा लचक देखिएका छन् । 

नेता कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, नेता चन्द्र भण्डारी लगायतबाट गठबन्धनको पक्षमा अभिव्यक्ति आइरहेको छ । खुलेर गठबन्धनको पक्षमा नदेखिए पनि महामन्त्री गगन थापा पनि धेरै रिजिड छैनन् ।

संस्थापन इतर पक्ष नै गठबन्धनमा लचक देखिएपछि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई हाइसञ्चो भएको उनी पक्षीय नेताहरूको बुझाइ छ । गठबन्धनका लागि सभापति देउवालाई नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विजय कुमार गच्छदार, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, एनपी साउद, सुनिल थापा लगायतको दह्रो साथ हुने देखिएको छ । उनीहरू निकट नेताहरू पनि गठबन्धनको पक्षमा उभिएका छन् । यसले स्थानीय तह जस्तै गठबन्धनमा ‘हुन्छ र हुँदैन’ भन्ने अवस्था नरहेको नेताहरूको भनाइ छ । 

बैठकमा पार्टीका पदाधिकारी र शीर्ष नेताहरूले गठबन्धनको आवश्यकता महसुस गरेको नेता रामहरि खतिवडाले बताए । संघ र प्रदेशको चुनावमा गठबन्धन गरेर जाने पक्षमा उभिन पार्टी संस्थागत रूपमा निर्णय लिने उनको भनाइ छ । 

नेता योगेन्द्र चौधरीले पनि बैठक गठबन्धनकै पक्षमा सर्वसम्मत रूपमा पार्टी उभिने परिदृश्य देखिएको बताए । उनले भने, ‘केन्द्रीय समिति बैठकमा सबैभन्दा बढी गठबन्धनकै पक्षमा बहस भयो । अधिकांश नेताले गठबन्धनकै पक्षमा मत राख्नुभएको छ ।’ बैठकमा गठबन्धनको मोडालिटीमा नेताहरूले धारणा राख्दा गठबन्धनको विपक्षमा उभिएको सुनिए पनि पाँच दलीय गठबन्धनको विपक्षमा कुनै पनि नेता नरहेको चौधरीको दाबी छ ।

०७४ को निर्वाचनमा पाँच दलीय गठबन्धनभित्र सम्बन्धित दलले जितेको क्षेत्र स्वतः छोड्ने कुरामा मात्र काँग्रेसमा विमति रहेको उनको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँण गठबन्धनको पक्षमा सशक्त रूपमा प्रस्तुत भएको पाइएको छ । 

सानेपामा गृहमन्त्रीको रिपोर्ट

संस्थापन पक्षकै केही नेताहरूले गठबन्धन गरेर जानुभन्दा एक्लै लड्दा फाइदा हुने मत राखेपछि गृहमन्त्री खाँण डाटासहित बैठकमा प्रस्तुत गरेका थिए । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रत्येक जिल्लाको सबै पार्टीको साङ्गठनिक शक्तिबारे उनले बैठकमा रिपोर्ट राखेका थिए ।

गृहमन्त्री खाँणले सबै दल एक्ला एक्लै चुनावमा जाँदा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीले करिब ८० सिट जित्ने प्रक्षेपण गरेका थिए । यस्तै एमालेले ५७ सिट ल्याउने उनको भनाइ छ ।

यस्तै, माओवादीको ८ र नेकपा एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जित्न सक्ने आँकलन उनको छ ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले गरी १६ सिट मधेस केन्द्रित दलले जित्न सक्ने गृहमन्त्रीको रिपोर्टले बताउँछ । गृहमन्त्री खाँणको रिपोर्टमा स्वतन्त्र उम्मेदवारले जित्ने अवस्था नरहेको उल्लेख छ । 

स्थानीय निर्वाचनमा काठमाडौँ, धरान, धनगढी लगायतका सहरमा स्वतन्त्र उम्मेदवारले जित हात पारेका बेला संघमा भने स्वतन्त्र उम्मेदवारले जित्ने अवस्था नरहेको गृहमन्त्री खाँणको दाबी छ ।

नयाँ गठित दलहरूले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा जित हात पार्ने सक्ने अवस्था नरहेको गृहमन्त्रीको रिपोर्टमा उल्लेख छ । यद्यपि प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले जित्न सक्ने गृहमन्त्रीको रिपोर्टमा भनिएको छ । सबै दल एक हुँदा र काँग्रेस एक्लै लड्दा ३५ ठाउँमा जित्ने गृहमन्त्री खाँणले बैठकमा रिपोर्ट सुनाएका थिए । 

​१६५ निर्वाचन क्षेत्रमा काँग्रेसले ९९ सिट आफूलाई राखेर बाँकी माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई छोड्न तयार छ । तर यसमा अन्य पार्टी मान्न तयार नभए काँग्रेस ९० सिटमा चुनाव लड्न पनि लचक हुने एक पदाधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो आन्तरिक छलफलमा यही हिसाब किताब भइरहेको छ । संस्थागत निर्णयका साथ यही पेरिफेरीमा रहेर गठबन्धनभित्र छलफल हुन्छ ।’ 

तालमेलका लागि गठबन्धनका छलफल गरेर सिट बाँडफाँट गरिने काँग्रेस प्रवक्ता प्रकाशशरण महतको भनाइ छ । उनले भने, ‘हामीले तालमेल गरेर जाने निर्णय गरौँ । यसका लागि छलफलमा जान्छौँ ।’

गठबन्धनको अपरिहार्यता

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक्ला एक्लै चुनाव लड्न अवस्थामा नरहेको भन्दै उनीहरूका लागि पनि गठबन्धन अपरिहार्य भएको गृहमन्त्री खाँणको भनाइ थियो । शनिबारको केन्द्रीय समिति बैठकमा खाँणले गठबन्धन बिना माओवादी चुनाव नलड्ने बताउँदै सिट छोड्न सबै तयार हुनुपर्ने बताएका थिए ।

‘गठबन्धन बिना माओवादी एक्लै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजिहाल्छ । त्यस्तो अवस्थामा अहिलेको भन्दा केही सुधार हुन्छ होला,’ गृहमन्त्री भन्छन्, ‘तर पहिलो पार्टी बन्न कठिन हुने आँकडाले देखाउँछ । त्यसैले गठबन्धनको विकल्प छैन । यो कुरा साथीहरूले मनन गरिदिनुपर्छ ।’ 

गठबन्धन गर्दा कसैको पनि टिकट जान सक्ने भन्दै त्यसका लागि तयार हुनुपर्ने खाँणको भनाइ थियो । उनले भने, ‘गठबन्धन भयो भने कसैको पनि सिट जान सक्छ  । यसका लागि सबै तयार रहनु पर्छ ।’ 

आगामी चुनाव मात्र नभएर धेरै पछाडिसम्मका लागि गठबन्धन आवश्यक गृहमन्त्री खाँणको दाबी छ । ‘राजनीतिक परिस्थिति हेर्दा अहिले मात्र होइन धेरै पछाडिसम्म पनि गठबन्धनको आवश्यकता देखिन्छ,’ उनको भनाई थियो ।

गृहमन्त्री खाँणले भने, ‘गठबन्धन हाम्रो लागि बाध्यता हो । हामीले गठबन्धन नगर्दा कम्युनिस्ट पार्टीबीच गठबन्धन हुन्छ । हामीले हाम्रा लागि पनि गठबन्धन गर्नुपर्छ ।’ खाँणको भनाइलाई संस्थापन पक्षका पदाधिकारीले समर्थन जनाएका थिए । 

यस्तै केन्द्रीय सदस्य रमेश लेखकले गठबन्धनका सन्दर्भमा काँग्रेस दुई वटा मात्र विकल्प भएको बताए । ‘हामीसँग दुई वटा विकल्प छ । कि त त हामी एक्लै लडेर पनि दुई तिहाइभन्दा बढी मत ल्याउन सक्छौँ भन्ने कुराको कार्य योजना ल्याऔँ र त्यसमा छलफल गरौँ,’ उनले रातोपाटीसँग भने । नभए अहिलेको गठबन्धनलाई निरन्तरता दिएर पहिलो पार्टी बन्ने बाटोमा लाग्नुपर्ने लेखकको भनाइ छ । 

उनले भने, ‘गठबन्धन हुनुपर्छ । किनभने सबै कम्युनिस्टको मत जोड्दा दुई तिहाइ हुन्छ । कम्युनिस्ट मत विभाजित नगराई हामी पहिलो पार्टी बन्ने सम्भावना न्यून छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप