आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राप्रपामा कुटाकुट प्रकरण : महामन्त्री कुन्ती शाहीलाई पार्टीबाट निष्काशन गर्न माग

शाहीकै योजनामा घटना भएको आरोप
आइतबार, २६ असार २०७९, २२ : ४९
आइतबार, २६ असार २०७९

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले महामन्त्री कुन्ती शाहीको योजनामा आइतबार दुःखद घटना हुन पुगेको आरोप लगाएकी छन् । उनले महिला संगठनको बैठकमा शाहीले कुटेर केही कार्यकर्ता घाइते भएको जिकिर गरिन् ।

‘शाहीले कुटेर रविना शाही, निर्मला न्यौपाने घाइते हुनुभएको छ’, उनले रातोपाटीलाई भनिन्, ‘महिला संगठनले महिला हिंसाको विरुद्धमा कार्यक्रम गर्नका लागि आन्तरिक छलफलमा थियौँ । यही विषयमा गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय गर्ने भन्ने थियो ।’

आफू नेतृत्वको कमिटीले पूर्णता पाइ नसकेको हुनाले उपलब्ध केन्द्रीय समिति सदस्यलाई बोलाएर अनौपचारिक छलफल गरेको उनको भनाइ थियो ।  तर, बैठक राख्न पाइँदैन भनेर सुरुमा कुमारी तामाङले विवाद निकालेको उनको दावी छ । विवादका क्रममा तामाङ कुटपिटमा उत्रिएको र पछि शाही पनि आएर कुटपिट गर्न थालेको उनको आरोप छ । ‘कुन्ती शाहीको आदेशमा सुनियोजित तरिकाले उहाँहरु झगडा गर्न आउनुभयो’, उनको आरोप छ, ‘पछि शाही पनि आएर तैँ होइन झगडा गर्ने भनेर निर्मलाहरूलाई कुट्नुभयो ।’

उनले महामन्त्री राजेन्द्र गुरुङ विवाद मिलाउन जाँदा कुमारी तामाङले राजेन्द्रलाई पनि हातपात गरेर सामान्य घाइते भएको उनले बताइन् । सो क्रममा कुटाकुट हुँदा दुबै पक्षका केही नेता कार्यकर्ता घाइते भएको एक नेताले बताए । 
अध्यक्ष राजेन्द्र लिङ्देनले शाहलाई महिला संगठनको अध्यक्ष बनाएपछि लिङ्देन विरोधी समूहले असन्तुष्टि जनाउँदै आएको छ । यसो त पार्टीभित्र पछिल्लो समय विद्रोहको तयारी समेत भएको छ । अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कुन्ती शाहीसहित उपाध्यक्ष विक्रम पाण्डे, नेताहरु दिलनाथ गिरी, दिलविकासराज भण्डारी, दमन बस्नेतलगायतका नेताहरुले विद्रोहको तयारी गरेका हुन् । 

यसैबीच महिला संगठनकी अध्यक्ष अञ्जना शाहले आइतबार नै पार्टी अनुशासन आयोगमा शाहीसहित कुमारी तामाङलगायतका पार्टी अनुशासन विपरितका काम गर्नेलाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न उजुरी गरेकी छन् ।  यस विषयमा थप बुझ्न महामन्त्री शाहीलाई सम्पर्क गर्दा उनी भने सम्पर्कमा आइनन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप