सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘तलब, भत्ता मात्र बुझ्न कुनै संस्थामा संलग्न हुनेछैन’

शनिबार, २५ असार २०७९, ०९ : ५९
शनिबार, २५ असार २०७९

नेपाली लेखक सङ्घको हालै भएको सातौँ महाधिवेशनबाट तीर्थ श्रेष्ठ केन्द्रीय अध्यक्षमा चयन भएका छन् । नेपाली लेखक सङ्घ २००८ सालमा गठन भएको भनिन्छ तर यसको गतिविधि द्रुत गतिले अघि बढ्न सकेको छैन । सङ्गीत नाट्य एकेडेमीको सदस्य सचिव रहिसकेका श्रेष्ठ नेपाली लेखक सङ्घलाई कसरी अघि बढाउने योजनामा छन् ? कविको छवि बनाएका उनी के नेपाल प्रज्ञा प्रतिष्ठानमा जान ईच्छुक छन् ? लगायत विषयमा प्रस्तुत छ, रातोपाटीका लागि गणेश दुलालले गरेको कुराकानीको सम्पादित अंशः 

नेपाली लेखक सङ्घले अहिले कस्ता कस्ता काम गरिरहेको छ ?

सातौँ महाधिवेशनबाट निर्वाचित भएलगत्तै दिएको मन्तव्यमा नै भनेको थिएँ, लेखक सङ्घकै तर्फबाट लेखकहरूलाई दिइने एउटा राष्ट्रिय पुरस्कारको स्थापना गरिनेछ । त्यसपछिको सचिवालय बैठकले प्रतिलिपि अधिकार ऐनमार्फत् लेखकहरूको हकहित कसरी संरक्षित गर्न सकिन्छ, त्यसमा आवश्यक संशोधन केके हुन्, सरकारलाई के सुझाव हुन सक्छ, जस्ता विषयमा सङ्घ अघि बढ्ने भनेर निर्णय भएको छ । अहिले सङ्घलाई त्यो दिशातर्फ डोर्‍याउने काम भइरहेको छ ।

यस सङ्गठनका शाखाहरूलाई देशव्यापी बनाउने काम भइरहेको छ । प्रत्येक जिल्ला र प्रदेश शाखाहरूलाई क्रियाशील बनाउने विषयमा केन्द्रीत छौँ ।  

नेपाली लेखक सङ्घको सङ्गठन कति जिल्लामा गठन भइसकेको छ ?

हामीले प्रदेश संरचनाअनुसार प्रदेश संयोजक र सचिवहरू तोक्ने काम सम्पन्न गरिसकेका छौँ । सातौँ महाधिवेशनमा ५०, ५२ वटा जिल्लाबाट प्रतिनिधिहरू चयन भएका थिए । त्यसमध्ये ४५ वटा जिल्लाबाट प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए । कोरोनाका कारणले पनि हामीलाई समस्या बनाएको थियो । सङ्गठन नभएको ठाउँमा हामी सङ्गठन बनाउने तयारीमा छौँ । अहिलेसम्म ५० को हाराहारीमा जिल्ला सङ्गठनहरू बनिसकेका छन् ।

प्रगतिशील लेखकहरूको जस्तो नेपाली लेखक सङ्घ किन क्रियाशील हुन सकेको छैन ?

हामीले सङ्गठनलाई जिल्ला जिल्लामा पुर्‍याउन नसकेको सही हो । भोलिका दिनमा होला । सबै संस्था समान ढङ्गले क्रियाशील हुन्छन् भन्ने पनि छैन । नेपाली लेखक सङ्घको आर्थिक स्रोत छुट्टै छैन । हामीले गरेजस्तो काम गर्ने थुप्रै संस्थाहरूले सरकारबाट पैसा लिएका छन् । तर नेपाली लेखक सङ्घ त्यसरी आर्थिक सहायता लिने विषयमा कमजोर छ । हामी आर्थिक अभावका कारण पनि गतिशील हुन सकेनौँ । 

सरकारको स्थायी प्रतिपक्षका रूपमा लेखकहरूलाई लिइन्छ । प्रतिपक्ष भनेको के हो त ? म त प्रतिपक्ष भन्ने पक्षमा नै छैन । बोल्दा प्रतिपक्ष भन्छौँ । सत्ता अन्धकारको खाडलमा नजाओस्, गैरजिम्मेवार नहोस्, अधिनायकवादी नबनोस् । सत्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगरोस् ।

केही विवादास्पद पनि भयो नेपाली लेखक सङ्घ । छैटौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नवराज लम्सालले ३ महिना नवित्दै राजीनामा दिएर उपाध्यक्ष श्रवण मुकारुङलाई अध्यक्ष बनाउनुपर्ने बाध्यता भयो, यसले पनि संस्थाको सक्रियतामा बाधा पुर्‍यायो । त्यसपछि कोरोनाले बाधा पुर्‍यायो । अब भने मलाई के विश्वास छ भने हामी एउटा गतिशील संस्थाका रूपमा अघि बढ्न सक्छौँ । जिल्ला समितिहरूलाई पनि वार्षिक ३ देखि ४ वटा कार्यक्रम अनिवार्य गर्न निर्देशन गर्छौं ।

साहित्यकार तथा लेखकहरूलाई सत्ताको सदा प्रतिपक्षी मानिन्छ तर अहिले त्यो अवस्था देखिँदैन नि ?

सरकारको स्थायी प्रतिपक्षका रूपमा लेखकहरूलाई लिइन्छ । प्रतिपक्ष भनेको के हो त ? म त प्रतिपक्ष भन्ने पक्षमा नै छैन । बोल्दा प्रतिपक्ष भन्छौँ । सत्ता अन्धकारको खाडलमा नजाओस्, गैरजिम्मेवार नहोस्, अधिनायकवादी नबनोस् । सत्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगरोस् । आलोचना सुन्न सक्ने क्षमता राखोस्, सम्मान गर्न सकोस् । परिवर्तन र रूपान्तरणको बाटोमा जानको निम्ति योग्य होस् भन्ने विषय उठाउनेहरूलाई प्रतिपक्ष भन्न मिल्दैन । हामी अहिले संसद्मा सत्तापक्ष र प्रतिपक्षको भूमिका देखिरहेका छौँ । लेखकहरू त्यस्ता प्रतिपक्ष होइनन् । 

सत्तामा बसेकाहरूले जे गरे पनि राम्रो प्रतिपक्षले त्यसमाथि पूर्वाग्रह राखेर खण्डन गर्दै विरोध गर्ने भावनाहरूभन्दा लेखकहरूले व्यक्त गर्ने भावना फरक हुन्छ । लेखकहरूले सुधार, परिवर्तन र रूपान्तरणका लागि खबरदारी गरेको भनेर बुझ्नुपर्छ । अहिले यस अवस्थाबाट कोही पनि पर रहन सकेको छैन । त्यसको न्यूनीकरणमा लाग्नुपर्ने अवस्था रहेको छ । लेखकहरूमा पनि सत्ताको चाकडी गरेर आफ्नो स्वार्थ पूरा गर्ने तप्का छ । त्यो सधँै रहन्छ । हाम्रो प्रयत्न निर्मूलीकरण हो तर हाम्रो प्राप्ति न्यूनीकरणमा गएर अड्किएको हुन्छ ।

साहित्य लेखन र राजनीति कति अन्तर–सम्बन्धित छन् ?

यो जीवनकै पाटो हो । राजनीति र राज्य केका लागि चाहियो भन्दा एउटा निश्चित भूगोलभित्र यसको परम्परा संस्कृति समेटेर व्यवस्थापन गर्नको लागि राज्य चाहिएको हो । राज्य मानिसका लागि हो र लेखन पनि मानिसका लागि नै हो । राज्य, राजनीति र लेखनको साझा गन्तव्य भनेको मानिस हो । मानिसको सुख, समृद्धि नै लक्ष्य हो । हामीले राज्य सुखी र समृद्ध छ भन्दै गर्दा त्यहाँका नागरिकहरू सुखी हुन्छन् । समृद्ध हुन्छन् । 

लेखकहरूको लागि सबैभन्दा ठूलो आवश्यकता भनेको विचार अभिव्यक्ति स्वतन्त्रता हो । हामी सबै राजनीतिक दलका शुभेच्छुक हौँ । तर विचारका आधारमा निकटता भएका कारणले अघोषित रूपमा काँग्रेससँग हाम्रो सहकार्य छ । जबसम्म लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षित गर्ने बाटोमा काँग्रेस हिँड्छ, तबसम्म हामी सहकार्यमा हुन्छौँ ।

त्यसैले दुवैको गन्तव्य र लक्ष्य एउटै भएकाले अत्यन्त अन्तरसम्बन्धित छन् । लेखकहरूले राजनीतिको मूलधारमा नदेखिए पनि राजनीतिलाई आफ्ना लेखनहरूले झक्झकाएका हुन्छन् । नेपालकै इतिहासमा पनि लेखनबाटै क्रान्ति गरेको अवस्था छ । लेखन र राजनीति अन्तर–सम्बन्धित मात्र नभएर एकअर्काको सहयोगी र सहयात्री पनि हुन् । 

तपाईं अध्यक्ष रहेको नेपाली लेखक सङ्घले त गएको स्थानीय चुनावमा नेपाली काँग्रेसका उम्मेदवारलाई भोट हाल्न विज्ञप्ती नै जारी गर्यो नि ? यस्तो किन ?

नेपाली लेखक सङ्घ काँग्रेसको शुभेच्छुक संस्थाको रूपमा दर्ता भएको होइन । काँग्रेसमा निवेदन हालेर हामीलाई शुभेच्छुक संस्था बनाइदेऊ भनेका छैनौँ । नेपाली लेखक सङ्घ काँग्रेससँग अघोषित सहकार्यमा छ । अन्य दलहरूको तुलनामा नेपाली काँग्रेसको घोषणा पत्र हेर्ने हो भने तिनले अख्तियार गरेको बाटो भनेको लोकतान्त्रिक मूल्य मान्यताको निम्ति अविचलित रूपले प्रतिबद्ध भएको दलको रूपमा रहेको छ । 

लेखकहरूको लागि सबैभन्दा ठूलो आवश्यकता भनेको विचार अभिव्यक्ति स्वतन्त्रता हो । हामी सबै राजनीतिक दलका शुभेच्छुक हौँ । तर विचारका आधारमा निकटता भएका कारणले अघोषित रूपमा काँग्रेससँग हाम्रो सहकार्य छ । जबसम्म लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षित गर्ने बाटोमा काँग्रेस हिँड्छ, तबसम्म हामी सहकार्यमा हुन्छौँ । काँग्रेस जुन दिन अधिनायकवादी बाटोमा हिँड्छ, प्रजातन्त्र मास्ने काम संलग्न हुन थाल्छ, हाम्रो सहकार्य टुङ्गिन्छ । सोही कारणले हामीले गत निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई मत दिन विज्ञप्ति निकालेका हौँ । 

सत्तामा जुन पार्टी छ, त्यही समर्थित साहित्यकारहरूले पुरस्कार पाएको देखिन्छ । यो परम्परा ठीक हो र ? 

राजनीतिक दलका नेता र कार्यकर्ताहरू पुरस्कृत हुने, पदीय जिम्मेवारी प्राप्त गर्दा पुरस्कृत हुने, केही रकम राशि भएको पुरस्कारबाट सत्ता केन्द्रीत व्यक्ति पुरस्कृत हुने, विभिन्न गतिविधिमा संलग्न हुने गरी पुरस्कृत हुने लगायतका परम्परा हामीकहाँ चल्दै आएको छ । यो सबै राजनीतिक दलहरूले आफूलाई विकसित गराएका छन् । यो डरलाग्दो पीडा हो । हाम्रा लेखकहरूले आफू निकट दलको विरुद्धमा गलत भयो भन्न सक्ने सामथ्र्य गुमाएका छन् । 

एकेडेमीमा आजजस्तो नेतृत्व स्थापित भएको छ, त्यो नेतृत्वको खिलाफमा कुनै पनि सङ्घसंस्थाले आवाज उठाउन सकेन । किनकि सत्ताको स्वाद चाख्नको निम्ति सबैमा एउटा लालसा छ । यसको सुधारको निम्ति कानुनमा परिमार्जन आवश्यक छ । एकेडेमीको चयन प्रक्रियामा मन्त्री सग्ंलग्न हुन्छन् । ती मन्त्रीले २ विज्ञको सहायता लिन्छन् । त्यो पनि आफूनिकटको । अनि एकेडेमीमा पार्टीका व्यक्ति भर्ती गर्छन् ।  केन्द्रको सरकार टाढा भयो भनेर नजिकै प्रदेश सरकार गठन भएको छ । प्रदेश प्रदेशमा एकेडेमी गठनको तयारी भइरहेको छ । अनि पुरस्कार मन्त्रालयपिच्छे बाँड्ने हो त ? प्रदेश सरकारले दिए हुन्न र ? प्रदेशको काम प्रदेशले, जिल्लाको काम जिल्लाले गर्ने हो भने धेरै क्षेत्रमा स्वच्छता अनि पारदर्शी हुन सक्छ । 

नेपाली लेखक सङ्घले इम्बोस्ड नम्बर नेपाली भाषामा नै हुनुपर्छ भनेर माग गर्नुको कारण के हो ?

यसमा दुईवटा कुरा छन् । पहिलो कुरा, हामीसँग अङ्ग्रेजी बुझ्ने, जान्ने वा साक्षर भएको सङ्ख्या कति छन् । दोस्रो, नेपालको संविधानले भनेको छ ‘राज्यको काम काजको भाषा नेपाली हो’ । देश संविधान अनुकूल चलाउने कि विपरीत चलाउने हो ? देश संविधान अनुरूप चलाउने हो भने त त्यसमा भएका व्यवस्था कार्यान्वयन गर्नुपर्ला नि । संविधानको व्यवस्थालाई सरकारले मान्यता दिएर कार्यान्वयन नगरे कसले गर्छ ? 

हामीले संविधानमा राखिएको प्रावधानको आधारमा इम्बोस्ड नम्बर नेपालीमा राख्न माग गरेका हौँ । जनताले बुझ्ने वा साक्षरताको आधारमा पनि हामीले इम्बोस्ड नम्बर नेपालीमा राख्न माग गरेका हौँ । हामीले विस्तारै विस्तारै जानेर वा नजानेर राष्ट्रियतामाथि क्षति पुर्‍याइरहेका छौँ । भाषा, संस्कृति परम्परा भनेको अत्यन्त महत्त्वपूर्ण विषय हो । यसको जगेर्ना गर्न सकिएन भने देशको राष्ट्रियतामाथि नै क्षति हुन्छ । 

भाषाले संस्कृति बोकेको हुन्छ । संस्कृति नै समाप्त भएपछि राष्ट्रियता खोक्रो बन्न पुग्छ । एकातिर बच्चाहरू बोर्डिङ स्कुलमा पठाएर ५६ र ६५ कति हो भनेर सोध्ने पुस्ता निर्माण गरिरहका छौँ भने अर्कोतर्फ राज्यको कामकाजको भाषालाई हटाएर अरूलाई महत्त्व दिइरहेका छौँ । यसरी दोहोरो चेपबाट हामीले राष्ट्रियतामाथि हस्तक्षेप गरिरहका छौँ । भाषामाथिको प्रहार राष्ट्रियतामाथिको प्रहार हो । एउटा नागरिकले आफ्नो राष्ट्रियतामाथिको प्रहार हेरेर बस्न मिल्दैन । त्यसैले हामीले इम्बोस्ड नम्बर नेपालीमा नै राख्न माग गरेका हौँ । 

अहिले साझा प्रकाशन मृत्युशैयामा छ, तपाईंको विचारमा साझा प्रकाशनलाई उकास्न के गर्नुपर्ला ?

साझा प्रकाशन एउटा सहकारी संस्थाका रूपमा देशमा उदयीमान भयो । देशमा सहकारी आन्दोलनमा दुई ढङ्गको नियम देखियो । सरकारले सञ्चालन गरेको सहकारीलाई एउटा नियम र गैरसरकारी सहकारीहरूलाई अर्को नियम । सहकारी अभियान नेपालले २०१७ साल अगाडि नेपालले इजरायलबाट सिकेको हो । अब अहिले साझाबाट स्वास्थ्य, प्रकाशन, यातायात चलेका छन् । तर जुन ढङ्गबाट चल्नुपर्ने हो त्योअनुसार चल्न सकेको छैन । 

सहकारी शैलीबाट चल्नुपर्ने साझाहरू सरकारी शैलीबाट चलिरहका छन् । अवस्था फर्ने हो भने त्यो सरकारी शैलीबाट सहकारी शैलीमा आउनुपर्छ । कर्मचारी नियुक्ति प्रक्रिया फेरिनुपर्छ । हामी साझा प्रकाशनका जुनसुकै डिपोमा गएर हेर्ने हो भने पनि आवश्यक पुस्तक खोजीका लागि प्रयत्न नै हुँदैन । उनीहरूलाई त्यस विषयमा चासो नै छैन । किन भन्दा जति किताब बेचे पनि ती कर्मचारीले पाउने तलब एउटै हो । साझाले किताब बिक्रीका लागि कर्मचारी प्रोत्साहन नीति लिनुपर्छ । साझासँग किताब बिक्रीका लागि विद्यालयहरूसम्म पुग्ने नीति नै छैन । साझामा सञ्चालकको रूपमा जाने वा कर्मचारीहरू राजनीतिक रूपमा दलहरूभन्दा माथि उठ्न सक्नुपर्छ । 

कुनै पद मलाई देऊ भनेर माग्ने मान्छे म होइन र दाबी पनि गर्दिनँ । यसअघि पनि सङ्गीत नाट्य एकेडेमीको सदस्य सचिव भएको मान्छे हुँ । त्यहाँ मेरो माग दाबी थिएन । त्यसका कुलपतिमा चयन भइसकेका स्व. अम्बर गुरुङले सर्त राखेपछि म त्यहाँ गएको हुँ । उहाँले माग गरेको पदमा मैले रहेर काम गरेँ तर स्वास्थ्यमा समस्या देखिएपछि त्यसलाई निरन्तरता दिन सकिनँ । 

तपाईंहरुले हालै लेखक दिवस मनाउने प्रस्ताव ल्याउनु भएको छ ? यो किन आवश्यक भयो ?

नेपालमा विभिन्न दिवसहरू मनाइन्छन् तर लेखक दिवस मनाइँदैन । लेखनका विभिन्न पाटा होलान् । सिर्जनशील लेखन पनि होला । इतिहासको पाटा पनि आउलान् । वैज्ञानिक लेखन पनि आउलान् । यी सबै लेखनहरू हामी जुन संस्थामा बसेका छौँ, त्यो सिर्जनशील लेखकहरूको हो । एउटा विज्ञान लेखकको पनि राष्ट्र निर्माणमा मानवीय सभ्यता अगाडि बढाउनको निम्ति योगदान हुन्छ । समग्र लेखकहरूलाई सम्झने सम्मान गर्ने कुनै दिवस छैन । 

राणा प्रधानमन्त्री भीम समशेरको पालामा १९८७ सालमा नेपाली भाषाका लेखकहरू महाकवि लक्ष्मीप्रसाद देवकोटा, वैकुण्ठप्रसाद शाह, सिद्धिचरण श्रेष्ठहरूले एउटा पुस्तकालयका निम्ति निवेदन दिएका थिए । त्यो निवेदन दिनेमध्येका एक जना रामशरण अधिकारीले पोल लगाइदिए । यो राजनीति गर्नका लागि हो । यसबाट सरकारको गाथका लागि काम हुन सक्दैन भन्ने आरोपपत्र दिएका थिए । त्यसपछि भीमसमशेरले उक्त काममा संलग्न रहेका ४५ जनालाई १९८७ वैशाख १६ र १७ गते दुई दिन लगाएर दण्डित गरे । 

त्यो वैशाख १६ गतेलाई लेखन, प्रकाशन, पुस्तकालय सञ्चालनमा केन्द्रीत हुने र त्यस समयका लेखकहरूको सम्मानमा अग्रसर हुने नेपाली लेखक सङ्घको योजना रहको छ । यसलाई लेखक दिवसका रुपमा राष्ट्रव्यापी मनाउने र राज्यबाट पनि अनुमोदन गराउने हाम्रो तयारी छ । त्यस दिनमा अन्य साहित्यिक सङ्घसंस्थासँगको समन्वयमा लेखकहरूको चिन्तन प्रकाशन वितरणको व्यवस्था मिलाउने योजना छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूको म्याद सकिने क्रममा छ, तपाईं त्यहाँ कुन पदको दाबेदारमा हुनुहुन्छ ? 

कुनै पद मलाई देऊ भनेर माग्ने मान्छे म होइन र दाबी पनि गर्दिनँ । यसअघि पनि सङ्गीत नाट्य एकेडेमीको सदस्य सचिव भएको मान्छे हुँ । त्यहाँ मेरो माग दाबी थिएन । त्यसका कुलपतिमा चयन भइसकेका स्व. अम्बर गुरुङले सर्त राखेपछि म त्यहाँ गएको हुँ । उहाँले माग गरेको पदमा मैले रहेर काम गरेँ तर स्वास्थ्यमा समस्या देखिएपछि त्यसलाई निरन्तरता दिन सकिनँ । 

मेरो उम्मेदवारीभन्दा पनि मरो आवश्यकता महसुस भएमा म संलग्न भएर काम गर्न सक्छु । त्यसका लागि मेरो आवश्यकताको आधारमा यथोचित रूपमा स्थान दिएर मलाई पनि काम गर्न सकिन्छ भन्ने विश्वास भएमा जान सक्छु । पद लिन र तलब भत्ता बुझ्न मात्र कुनै पनि संस्थामा संलग्न हुनेछैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप