शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीर्थ श्रेष्ठः हिउँमा नहराएको एउटा नाम

मङ्गलबार, २१ असार २०७९, १३ : ४३
मङ्गलबार, २१ असार २०७९

आमा हुन
आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाईमा पुगेर मैदान भै दिनुपर्ने
मैदानमा पुगेर उकालो भै दिनुपर्ने
हो...उकालो भै दिनुपर्ने
सन्तानहरु कहाँ पुग्छन्
खोलाहरु जस्तो
सपनाहरु कहाँ पुग्छन्
स्वच्छन्द चराहरु जस्तो
आमाहरु पहाड छेउको
चौतारी हुन अभिशप्त छन्
आमा हुन अफ्ठ्यारो छ
आमा हुन
पहाड हुन जस्तै गाह्रो छ

नेपथ्यले गाएको यो गीत आजभन्दा ७ वर्ष अघि नेपथ्यको युट्युब च्यानलमा अपलोड गरिएको थियो । हालसम्म यो गीत अढाइ लाख बढीले हेरेका छन् । 

यो गीतको जन्म आजभन्दा करिव एक दशकअघि कविताको रुपमा भएको थियो । स्रष्टालाई जानकारी नै नगराई नेपथ्यले नेपाली संगीतको रक शैलीमा कवितालाई गीतको रुपमा कम्पोज गरेको थियो । गीत रेकर्ड पूर्व स्रष्टासँग बल्ल नेपथ्यले अनुमति लिएको थियो । 

यस गीतका सष्टा हुन् पोखराका कवि तीर्थ श्रेष्ठ । नेपथ्यका अमृत गुरुङ र श्रेष्ठ निकटका मित्र हुन् । काठमाडौंमा आयोजित एक साहित्यिक समारोहमा भाग लिने क्रममा दुवैको भेट भएपछि गुरुङले श्रेष्ठलाई नमोवुद्ध घुम्न जाने प्रस्ताव गरे । साहित्यिक समारोहको भोलिपल्ट दुवै नमोबुद्ध गए । गाडीबाट ओर्लिएर हिँड्ने क्रममा गुरुङले भने, ‘दाई मलाई माफ गरिदिनुुस् है ।’ 

अनायास माफीनामाको प्रसंग आएपछि अचम्मित हुँदै श्रेष्ठले सोधे, ‘किन, के गरेका छौ र ?’ यस लगत्तै गुरुङले भने, ‘तपाईंको एउटा गीत मैले नसोधेरै कम्पोज गरेको छु, सुनाउँछु है ।’ 

गुरुङको आग्रहपछि उनले गीतको कम्पोज सुने । गीतको कम्पोजले उनको मन छोइसकेको थियो । गुरुङले रेकर्डिङ्को लागि अनुमति माग्दा नपाउने कुरै थिएन । यसरी एउटा कविता गीतको रुपमा जन्मियो । गीत सार्वाजनिक भएपछि श्रेष्ठको चर्चा पनि चुलियो ।

यसरी जन्मिएको थियो ‘आमा’ कविता

एउटा यात्राकै सिलसिलामा जन्मिएको कविता हो आमा । श्रेष्ठसहित कवि मन्जुल​ पर्वतको दोविल्ला भन्ने ठाउँमा गाडीबाट ओलिएर अर्थर भन्ने गाउँमा जाने क्रममा उनले ‘आमा’ कविता लेखेका थिए । झोलुङ्गे पुल काटेर खोलाको छेउको ठुलो ढुङ्गामा बसेर कवि मन्जुल कविता लेख्न सुरु गरिसकेका थिए । तर श्रेष्ठ कविता नफुरेर खोला छेउमा त्यतिकै बरालिदै थिए ।

नजिकको पहाड, खोला अवलोकनपछि उनको मनमा आमाको स्मरण हुन्छ । र, लाग्छ यी नदी नै आमा हुन् । यो पहाड नै आमा हुन् । जसरी पहाड हुन सजिलो छैन, त्यसै गरी आमा हुन पनि साह्रै असजिलो छ । उनलाई यिनै कुराको घनचक्करले माथिको आमा कविता जन्मियो ।

तीर्थ श्रेष्ठ हिउँमा नहराएको एउटा नाम

त्यसो त तीर्थ श्रेष्ठको चर्चा आमा गीतबाट मात्र भएको थिएन । उनी सानैबाट कविता लेख्न रुचाउँथे । नेपाली भाषा साहित्यमा कलम चलाउने श्रेष्ठले गीत, गजल, मुक्तक र अन्य विधामा पनि कृति सार्वजनिक गरिसकेका छन् । 

हिउँमा लेखेर आएका छौं
हामीले आ–आफ्ना नामहरू
एकैछिनपछि घाम लाग्यो भने
रहने छैनन् हाम्रा नामहरू
एकैछिनपछि हिउँ थपियो भने
पनि रहने छैनन् हाम्रा नामहरू

हामी हुँदै नरहने हाम्रा नामहरू,
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ?

झन्डै दुुई दशक अघि तीर्थ श्रेष्ठ र सरुभक्त पोखराबाट पञ्चासे घुम्न गएका थिए । पञ्चासेबाट पोखरा फर्कंदै गर्दा बाटोमा करिब ३ फिट जति नै बाक्लो हिउँ परेको थियो । हिउँका कारण ओरालोमा लठ्ठी टेक्दै ओलिर्ने क्रममा एउटा सुकेको रुखमा परेको हिउँ अगाडि सरुभक्तलाई उभ्याएर तीर्थ श्रेष्ठले डिजिटल क्यामेराबाट धमाधम फोटो खिच्न थाले । एउटा फोटो हिउँमा नाम लेखेर क्यामेरामा कैद गरे ।

त्यसपछि उनीहरु पोखरा फर्के । पोखरा फर्किएपछि त्यो सम्झनाले लेखक श्रेष्ठलाई असह्य पीडा दियो । उनलाई त्यो नाम के भयो होला भन्ने छटपटीले ऐंठन भयो । र, कविता जन्मियो हिउँमा लेखेर आएका छौ नामहरु...। तीर्थ श्रेष्ठको यो कविता पनि नेपाली साहित्यमा चर्चाको शिखरमा छ । 

आमासँग हुर्किन नपाएका तीर्थका धेरै आमाहरू

२०१६ साल कार्तिक १६ गते कास्कीको पोखरा, सिंहनाथ टोलमा पिता धर्मप्रसाद श्रेष्ठ र माता योगमाया श्रेष्ठको जेठो सन्तानका रूपमा जन्मिएका तीर्थ श्रेष्ठको वास्तविक नाम तीर्थप्रसाद श्रेष्ठ हो । उनको आमा शीर्षकको कविता चर्चित भए पनि उनी जन्मदिने आमासँग हुर्किन पाएनन् । जसले हुर्कायो, उसले जन्म दिएकी होइनन् । सानैमा आमाको क्षयरोगका कारण मृत्यु भएपछि उनको मातृस्नेह खोसिएको थियो । तर, उनले कहिल्यै आमाको मायाको अभाव भोग्नु परेन ।

नेपालीमा एउटा उखान छ, ‘तँलाई बाबुको विहे देखाइ दिउँला ।’ अर्थात् बाबुको विहे त्यसै पनि छोराछोरीलाई गलपासो हुन्छ । तर उनी ठट्टा गर्दै भन्छन्, ‘बाबुको विवाह देख्ने ‘भाग्यमानी छोरो’ म नै होला ।’ आमाको मृत्युपछि सामाजिक परिवन्दका कारण उनका बुबाले दोस्रो विवाह गरे । बाबुको दोस्रो विवाहपछि समाजका व्यक्तिहरुले टुहुरोले दुःख पाउने भयो भनेर अडकलबाजी गरे । तर, उनलाई त्यस्तो परिस्थितिको सामना कहिल्यै गर्नुपरेन ।

उनले कान्छी आमा पूर्णलक्ष्मी श्रेष्ठबाट कहिल्यै सौताको छोरो भन्ने व्यवहार भोग्नु परेन । मध्यमवर्गीय परिवरमा जन्मिएका उनले हजुरबुबा, हजारआमाको माया पनि अन्य सदस्यभन्दा बढी नै पाए । ठूलीआमाको स्तनपान गरेर हुर्किएका उनलाई माया र स्नेहको अभाव कहिल्यै भएन । उनको कान्छी आमा पूर्णलक्ष्मी श्रेष्ठका तर्फबाट दुई भाइ र एक बहिनी छिन् । 

त्यसैले त उनी कविता मार्फत् अभिव्यक्ति दिन्छन्– आमाहरु सौतेनी हुँदैनन्, सौतेनीहरु आमा हुँदैनन् ।

आमा पूर्णलक्ष्मीको मृत्य भएको पनि ४० बर्ष पुगिसकेको छ । मातृत्वको भावलाई नजिकबाट महशुस गरेका उनले आफ्नो कृति ‘धर्सैधर्साको चक्रव्यूह’मा आमा १, आमा २, आमा ३, आमा ४, आमा ५ भनेर समर्पित गरेका छन् ।

नाफाको जीवन बाँचिरहेका तीर्थ

उनी आफूलाई नाफाको जीवन बाँचिरहेको भन्न रुचाउँछन् । उनी भन्छन्, आफ्नै मलामी देख्ने मान्छे पनि म नै पहिलो हुँला । २०१६ सालमा जन्मिएका उनी आफू दोस्रो पटक जन्मिएको भन्न रुचाउँछन् । केही समय अघि मृत्युलाई नजिकबाट नियालेर फर्किएको मान्छे हुन् उनी । उनको स्वास्थ्यमा अचानक समस्या देखिएर बेहोस भएका थिए । थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लाने क्रममा अनुहारमा स्लाइन ड्रप खसेर बिउँझिएका थिए ।आफ्नो स्वास्थ्य लाभको कामना गर्दै भेला हुने सयौं शुभचिन्तकलाई उनी आफ्नो मलामी भन्छन् । 

कक्षा ३ मा पढ्दै गर्दा विद्यालयको भित्ते पत्रिकामा उनको पहिलो कविता आएको थियो भने २०३९ सालमा पहिलो कविता लेखेर साहित्य यात्रा सुरु गरेका थिए । तीर्थ भन्छन्, ‘मैले धेरै कविता लेख्न सकेको छैन । जति लेखे, ती सबै प्रकाशन र सार्वजनिकयोग्य पनि भएनन् । अहिलेसम्म मलाई मन पर्ने कविता लेख्नै बाँकी छ ।

सरल भाषामा गहन अभिव्यक्ति दिन सक्ने उनको कविताको शक्ति हो । बहुआयमिक व्यक्तित्वका धनी साहित्यकार श्रेष्ठ राजनीतिमा पुरानो काँग्रेसी, अहिले समाजसेवी, संस्कृतिकर्मी तथा व्यवसायीको रूपमा पर्यटक चिन्तक भनेर पनि परिचित छन् । 

तीर्थ श्रेष्ठ जति सरल भाषामा कविता लेख्छन्, उति नै सरल छ उनको व्यवहार पनि । यसैले उनी अग्रजपुस्ता, समकालीन र नयाँ पुस्ताबीच उत्तिकै घुलमिल हुन्छन् । परिवारमा असल अभिभावकको रुपमा छन् ।

अमिताभ बच्चनका डाई हार्ट फ्यान

सानोमा उनी अमिताभ बच्चनका डाई हार्ट फ्यान थिए । अमिताभको फिल्मशैली र व्यक्तित्वले प्रभावित अमिताभकै जस्तो हेयर स्टाइल र ड्रेसअप गर्दथे । अहिले भने उनी अमिताभको व्यवहारबाट प्रभावित छन् । उनी अमिताभबाट यसकारण पनि फ्यान छन् कि उनको बुबा हरिवंश राय वच्चन आफै प्रख्यात कवि हुँदा पनि अमिताभको बुबा भनेर चिन्नुपर्ने अवस्था रहेको छ । त्यस्तै अमिताभको आफ्नो बुबाप्रतिको स्नेह र साहित्यप्रतिको प्रेमले आफूलाई फ्यान बनाएको श्रेष्ठ बताउँछन् । 

श्रेष्ठले अमिताभको बुबा हरिवंश राय वच्चनले लेखेको ‘मधुशाला’ कविता उहल्यै पढेका हुन् । पछि अमिताभ वच्चनले सो कविता रेकर्ड गराएपछि उनले पनि त्यसलाई कण्ठस्तै पारे । 

नेपाली साहित्यिक आन्दोलनमा पनि श्रेष्ठको योगदान रहेको छ । उनले फणीन्द्र नेपाल, विनय रावलसँग मिलेर सुरु गरेको तरलवादी आन्दोलन नेपाली साहित्यको एक महत्त्वपूर्ण आन्दोलनको रुपमा रहेको छ ।

उनको धर्सैधर्साको चक्रव्यूहमा (कविता संग्रह) मदन पुरस्कारको लागि पनि छनौट चरणमा परेको थियो । यसबाहेक उनका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट कविता संग्रह, मन्जुल र कुमार आलेसँग पाइलाका नीवहरुले संयुक्त कविता संग्रह, महाभारतका गीतहरू तथा जिन्दगीको गोधूलीमा (मुक्तक संग्रह), मेरै हिमाल जस्तो (गीत संग्रह) प्रकाशित छ ।

२०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) मा तीर्थ श्रेष्ठ २०३५ सालमा प्रवेश गरे । पोखराको प्रज्ञा प्रतिष्ठानको रूपमा चिनिने पोयुसांपमा उनले ३ पटक अध्यक्षको रूपमा योगदान दिए । हाल उनी यस संस्थाको सल्लाहकार छन् । पोखराका विभिन्न सांस्कृतिक ,सामाजिक तथा शैक्षिक संघ संस्थामा पनि आवद्ध छन् । साहित्यिक संस्थालाई डोर्याउने मोह अहिले पनि उस्तै छ । र त, हालै भएको नेपाली लेखक संघ नेपालको अधिवेशनमा उनी केन्द्रीय अध्यक्ष भएका छन् ।

पहिलोपटक गठित सङ्गीत–नाट्य प्रज्ञा प्रतिष्ठानमा उनी सदस्य–सचिवको रूपमा आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । उनी पोखरेली युवा सांस्कृतिक परिवार, विन्धवासिनी धार्मिक क्षेत्र विकास समितिको संगीत प्रशिक्षण केन्द्रमा पनि संलग्न छन् । 

उनी धेरै पुरस्कारले पनि सम्मानित भएका छन् । जसमा राष्ट्रिय प्रतिभा पुरस्कार, मोती युवा पुरस्कार, शिरोमणि पुरस्कार, बासुशशी स्मृति पुरस्कार, पहलमान सिंह स्वाँर स्मृति प्रतिभा पुरस्कार, भूपि स्मृति साहित्य पुरस्कार प्रमुख छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप