शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय औद्योगिक सर्वेक्षण सार्वजनिक,  देशभर ६० हजार १८५ उद्योग

शुक्रबार, २४ असार २०७९, २२ : ३१
शुक्रबार, २४ असार २०७९

नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पादन उद्योग ६५,६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेका छन् ।

केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ । जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५, औद्योगिक उत्पादन उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले चार वटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई तलव तथा सुविधा गरेर १ खर्ब ७ अर्ब ८९ करोड रहेको देखाएको छ । 

सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको देखाएको छ । शुक्रवार सार्वजनिक राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजाअनुसार औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ । १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५.४९ प्रतिशत र बाँकीले उत्पादन क्षमताको २५ प्रतिशत भन्दा कम उत्पादन क्षमता उपयोग गरेको विभागका निर्देशक विनोदशरण आचार्यले बताए । ​

​साना उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुमा १० जनाभन्दा कम व्यक्तिहरु संलग्न भएकामध्ये करिव ३४ प्रतिशतले मात्र ऋण लिएको पाइएको बताए ।  निर्देशक आचार्यले ६० प्रतिशत साना उद्योग तथा प्रतिष्ठानहरुले भने ऋण नलिएको र बैंकिङ प्रणाली भन्दा बाहिर रहेको बताए । सर्वेक्षण अनुसार ठूला औद्योगिक प्रतिष्ठानहरु २३ प्रतिशतले बढेको देखाएको छ । औद्योगिक प्रतिष्ठानहरुमा करिव ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पती रहेको तथ्यांक सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणले लकडाउनका समयमा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकमाथि ठूलो आर्थिक शोषण भएको देखाएको छ ।  विभागको औद्योगिक सर्वेक्षण अनुसार १० जनाभन्दा धेरै कर्मचारी राखेका उद्योगहरुमा अस्थायीमात्र नभइ स्थायी कर्मचारीलाई समेत सेवा सुविधा बिहिन अवस्थामा पुगको देखाएको हो  ।  तथ्याङ्क अनुसार अस्थायी प्रकृतिका ६० प्रतिशत कामदारले बिना तलव सुविधा कामबाट निस्कनुपरेको देखाएको हो । यस्तै, १७ प्रतिशत स्थायी कर्मचारीसमेत सो समयमा बिना सेवा सुविधा बसेका थिए । सर्वेक्षण प्रतिवेदन अनुसार ११ प्रतिशतले मात्र आंशिक तलव सुविधा पाएभने १२ प्रतिशत कर्मचारीले समयमा तलव नपाएको देखाएको हो । कोभिड–१९ को महामारीका समयमा सरकारले गरेको करिव ४ महिनाको लकडाउन अवधिमा लगभग ६३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ ।

यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा सञ्चालनमा रहेको र बाँकी १३ उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको छ । विभागले विगतमा उत्पादनशिल उद्योगहरुलाई मात्रै समेटेर गणना गर्ने गरिएको भएपनि यो सर्वेक्षण अन्तराष्ट्रिय मान्यता बमोजिम अन्य थप तीन क्षेत्रलाई समेटेर राष्ट्रिय औधोगिक सर्वेक्षण २०७६ गणना गरेको विभागले बताएको छ । विभागले २०७६ फागुनमा तथ्यांक संकलन शुरु गरेको थियो । तर बीचमा कोभिड–१९ महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप