बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निर्माणमा यति अनैतिक काम विश्वमै भएको छैन : केपी ओली

सोमबार, २० असार २०७९, १४ : २३
सोमबार, २० असार २०७९

नेकपा एमालेले अध्यक्ष केपी शर्माओलीले आर्थिक वर्ष २०७९–८० के बजेटमा बनाउँदा अनैतिक काम भएको आरोप लगाएका छन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘बजेट बनाउँदा यति अनैतिक काम विश्वमा भएको छैन । अर्थतन्त्रको विरुद्ध यसप्रकारका अनैतिक कार्य विश्वमा कही भएको छैन । यो पहिलो घटना हो ।’ 

दुई चारवटा घरानाको अनुहार देखिएको बजेट आएको ओलीको टिप्पणी  छ । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’ उनको प्रश्न छ । 

दुई चारवटा घरानालाई सोधेर बजेटमा करको दर हेरफेर भएको ओलीले बताए । ‘तिमीहरुलाई कति कति चाहिन्छ भन्दै बजेटको करको दर हेरफेर भयो । गजब छ ।’  बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको ओलीको आरोप छ । यसबारे एमालेले फुटेज माग्दा को हो एमाले भन्दै असंसदीय व्यवहार देखाइएको ओलीले बताए । 

‘त्यो कुरा सदनमा उठेको छ, बाहिर विज्ञहरुले भनेका छन् । एमालेले भनेको छ । तर एमालेले को हो ?  कसले माग्ने फुटेज ? फुटेज माग्दैमा दिइन्छ भन्ने के छ ? दिइँदैन फुटेज भनियो,’ उनले भने, ‘करका दर यसमा यस्तो, यसमा यस्तो भनेर देखिने गरी बढाइयो नि । जानीजानी बढाइएको हो, गरिन्छ । म नै राज्य हो भन्ने व्यवहार देखियो ।’

बजेट निर्माण नै खतरनाक ढंगले भएको र मर्यादाका सबै सीमा तोडिएको उनले बताए । ‘यो बजेट बजेट मात्र रहेन ।  यो बजेट इमान, आचरण, नैतिकता, मूल्य मान्यता र मर्यादाका सीमाहरूसँग सम्बन्धित हो । यो बजेट निर्माण नै बहुतै खतरनाक ढंगले मूल्य मान्यता तोडेर आयो,’ उनले भने ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप