शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चर्किएको घर’ मा फर्किएलान् बाबुराम ?

शनिबार, १८ असार २०७९, १० : १५
शनिबार, १८ असार २०७९

‘बाबुरामजी माओवादी छोडेर गए उहाँलाई कहीँ भलो हुँदैन । राष्ट्रको भलो हुँदैन, पार्टीको पनि भलो हुँदैन । बाबुरामजीमा केही विशेषता छन् । तर, म उहाँसँग असाध्यै नजिक बसेको हुनाले धेरै जटिल मान्छेको नाम बाबुराम पनि हो, जसलाई मैले ३० वर्षदेखि झेलेको छु । अर्को कोही म जत्तिको नजिक एक वर्ष बसेको हेर्न मन छ ।’

यी शब्द डा.बाबुराम भट्टराईका पूर्व सहकर्मी एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । २०७२ साल असोज ३ गते संविधान घोषणा भएपछि डा. बाबुराम भट्टराईले संविधानका विषयमा असन्तुष्टि जनाएपछि प्रचण्डले बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा बाबुराममाथि यस्तो टिप्पणी गरेका थिए ।

बाबुराम भट्टराई माओवादी हुँदै त्यस यता नयाँ शक्ति, समाजवादी पार्टी र जनता समाजवादी पार्टी गरी चार घुम्ती पार गरिसकेका छन् । अर्थात् माओवादीसहित उनले चार वटा पार्टी फेरिसकेका छन् ।

प्रचण्डले टिप्पणी गरेको सात वर्षपछि बाबुरामको नियति ठ्याक्कै त्यस्तै भएको छ । माओवादी छोडेर बाबुरामको भलो भएको छैन भने बाबुरामले माओवादी छोडेपछि उति सारो फलिफाप पनि भएको छैन । प्रचण्डले भनेजस्तै उपेन्द्र यादवले बाबुरामलाई लामो समय झेल्न सकेनन् ।

घुम्दै फिर्दै रुम्झाटार भनेजस्तै सात वर्षपछि पुनः बाबुराम प्रचण्डसँग सघन संवादमा छन् । प्रचण्ड र बाबुरामबीच संवादको केन्द्र बनेको छ उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को निवास बहादुर भवन, लैनचौर ।

पटकपटक गरेर प्रचण्ड र बाबुराम उपराष्ट्रपति निवासमा आधा दर्जन पटक भेटघाट गरिसकेका छन् तर भेटमा उपराष्ट्रपतिसहित प्रचण्ड र बाबुराममात्रै सहभागी भएकाले चुरो कुरा बाहिरिएको छैन । सबै संवाद गोप्य नै राखिएको छ ।

बाबुराम निकट नेता गंगानारायण श्रेष्ठले गठबन्धन र सरकारका विषयमा छलफल गर्न प्रचण्ड र बाबुरामबीच भेटघाट भइरहेको दाबी गरे । ‘समाजवादी केन्द्र बनाउने विषयमा डाक्टर सावको पहिलेदेखिकै प्रस्ताव हो । त्यो कुरा उहाँले उठाइराख्नु भएको छ । त्यतातिर उन्मुख हुने हो भने प्रचण्ड र बाबुराम एक ठाउँमा हुन असम्भव पनि देख्दिनँ,’ रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने ।

तर अहिलेकै अवस्थामा बाबुराम भट्टराई माओवादीमा प्रवेश गर्ने सम्भावना आफूले नदेखेको उनले बताए । यदि कम्युनिस्ट विचार बोक्ने सबै पार्टीलाई समेटेर समाजवादी केन्द्र बनाउने अवस्थामा प्रचण्ड र बाबुराम एक ठाउँमा हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

श्रेष्ठजस्तै प्रचण्ड निकट नेता दीनानाथ शर्माले अहिलेकै अवस्थामा बाबुराम माओवादी प्रवेश गर्ने सम्भावना नरहेको दाबी गरे । कुनै समय नेकपा मसालमा बाबुरामसँगै काम गरेका शर्माले सजिलै बाबुराम माओवादी फर्किन नसक्ने बताए । ‘बाबुरामजी मार्क्सवाद नै असफल भयो भन्नेमा हुनुहुन्छ । त्यसरी नै छलफल गर्न चाहनुहुन्छ । माओवादीले मार्क्सवाद नै छोडेर जाने सोचेको छैन,’ शर्माले भने, ‘यो स्थितिमा बाबुराम माओवादीमा फर्किनुहुन्न । बाबुराम आफै पनि मार्क्सवाद र माओवादी स्वीकार गरेर जाने पक्षमा हुनुहुन्न ।’

प्रचण्ड र बाबुरामको भेट हुने बित्तिकै पार्टी एकता हुने वा सहकार्य हुने स्थितिको रूपमा नलिन शर्माले आग्रह गरे । ‘नेताहरुबीच भेटघाट हुनुलाई स्वाभाविकै रूपमा लिनुपर्छ । राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्नु, चिन्ता गर्नु स्वाभाविकै हो,’ शर्माले भने, ‘भेटघाट भनेको तत्कालका लागि कसैको स्वार्थ कहाँ मिल्छ भन्ने भन्दा पनि कम्युनिस्ट पार्टीमा विचार र सिद्धान्तको कुरा हुन्छ । ती सबै विषयमा छलफल गर्न पनि भेटघाट भएको हुन सक्छ ।’

बाबुराम आफैमा अप्ठ्यारो नेता भएकाले पुनः पार्टीमै फर्काएर प्रचण्डलाई काम गर्न गाह्रो हुने शर्माको भनाइ छ ।

प्रचण्ड र बाबुरामका फरकफरक अडान  

एउटै पार्टीमा ३० वर्ष बिताएका प्रचण्ड र बाबुराम एकले अर्काको अभाव खट्किएको राम्रोसँग महसुस गरेका छन् । लामो समय एउटै पार्टीमा काम गरेकाले एकले अर्काको कमजोरी पनि दुवैले राम्रैसँग बुझेका छन् । त्यसैले प्रचण्ड र बाबुराम आफ्नो मनको भारी बिसाउन उपराष्ट्रपति निवास लैनचौर पुग्छन् ।

तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारबाही गर्ने बेला नन्दबहादुर पुन ‘पासाङ’ बाबुरामसँग नजिक भएका हुन् । त्यो निकटता अहिले पनि कायमै भएकाले प्रचण्ड र बाबुरामको नियमित भेटघाट गर्ने ठाउँ उनको निवास बनेको पूर्व मन्त्री हरिबोल गजुरेल बताउँछन् ।

‘पासाङजी जनमुक्ति सेनाको कमाण्डर हुँदा प्रचण्डसँग नजिक हुनुहुन्थ्यो । कटुवाललाई कारबाही गर्ने बेला बाबुरामसँग नजिक हुनुभयो,’ गजुरेलले भने, ‘अहिले पनि पासाङजी बाबुरामसँग नजिक हुनुहुन्छ, त्यसैले प्रचण्डसँग बाबुरामको भेटघाट भइरहन्छ । यो बाहेक अरू केही कारण होइन ।’

प्रचण्ड र बाबुरामलाई एक बनाउन पासाङले आफ्नोतर्फबाट भूमिका खेलिरहेको माओवादी नेताहरू बताउँछन् । तर, अहिलेकै अवस्थामा प्रचण्ड र बाबुराम एउटै पार्टीमा हुने सम्भावना देखिँदैन । प्रचण्ड माओवादसँगै कम्युनिस्ट विचार छोडेर जान सक्ने अवस्था छैन । यदि प्रचण्डले कम्युनिस्ट विचार छोडेर समाजवादी विचारधारा मात्र अपनाएमा एमाले अध्यक्ष केपी ओलीको निरन्तर प्रहारमा पर्छन् । त्यसैले पनि प्रचण्ड कम्युनिस्ट विचारै छोडेर समाजवादी केन्द्र बनाउनेतिर जाने सम्भावना कम देखिन्छ ।

उता, बाबुरामले पनि माओवादी छोड्ने बेला कम्युनिस्ट विचार पुरानो भएको भन्दै वैकल्पिक शक्ति निर्माणमा जुट्ने उद्घोष गरेका थिए । वैकल्पिक शक्ति निर्माण सफल हुन नसकेकाले अहिलेकै अवस्थामा बाबुराम माओवादीमा फर्किन नैतिक सङ्कट पर्ने देखिन्छ ।

कुन आधारमा पुरानै पार्टीमा फर्किने भन्ने विषयमा बाबुरामसँग पुष्टि गर्ने आधार पनि छैन । त्यसैले प्रचण्ड र बाबुरामबीच वैचारिक दुरी धेरै भएकाले तत्काल एउटै पार्टीमा हुन सक्ने सम्भावना देखिँदैन । तर आधारभूत मुद्दामा कार्यगत एकता गरेर सहकार्य गर्ने विषयमा भने कुनै बाधा हुने छैन ।

आफैले संविधान बनाए, आफै असन्तुष्ट   

२०७२ साल असोज ३ गते नेपालको संघीय लोकतान्त्रिक संविधान संविधानसभाबाट घोषणा भयो । त्यसको दोस्रो दिन असोज ४ गते  संविधान घोषणा भएकोमा देशैभर खुसीयाली मनाइयो तर, तत्कालीन नेकपा एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराईले संविधानलाई ‘आधा गिलास पानी भरिएको’ संज्ञा दिँदै संविधान अपूर्ण भएको टिप्पणी गरे ।

संविधान घोषणा भएको उपलक्ष्यमा आयोजित खुसीयाली सभामा समेत अनुपस्थित भई उनले विरोध जनाए । संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेर घोषणा गर्न सहयोग गरे पनि उनले अन्त्यमा संविधानमा असन्तुष्टि जनाए । यसलाई कतिपयले ‘द्वैध चरित्र’ का रूपमा पनि व्याख्या गरे ।

संविधान घोषणा भएको ठ्याक्कै ६ दिनपछि अचानक बाबुरामले पत्रकार सम्मेलनमार्फत माओवादी छोडेको घोषणा गरे । माओवादीलाई ‘चर्किएको घर’को संज्ञा दिँदै उनले आफू नफर्किने घोषणा गरे । फेरि सात वर्षपछि त्यही चर्किएको घरमा बाबुरामलाई फर्किन नैतिक सङ्कट हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप