बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकदिन मनाउने तीजका हजारौँ गीत, वर्ष दिन जोगाउने अन्नबालीका खै गीत ?

बुधबार, १५ असार २०७९, १६ : २३
बुधबार, १५ असार २०७९

हरियो डाँडामाथि हलो जोत्ने साथी 
हो हो माले हो हो, हो हो 
तारे हो हो ह ह ह ह ह ह हो

जनकविकेशरी धर्मराज थापाको यो सदाबहार गीत हरेक असारमा धेरै गुन्जने गर्दछ । थापाको यो गीत मात्रै होइन ।

सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने    
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने

जस्ता गीतहरू थुप्रै छन्, जुन असारमा गाइन्छ । पहाडदेखि तराईसम्मका रोपाइँमा खेतका फाँटहरुमा ठाउँ अनुसारको आ–आफ्नै परम्परा, शैली र संस्कृति झल्काउने असारे गीत गाउने प्रचलन छ । 

असार कृषिको सुरुवातको महिना समेत हो । त्यसैले सुरुवातको काम नाचगानसहित उत्सवका साथ थालियो भने त्यसको परिणाम अर्थात् उब्जनी राम्रो हुने जनविश्वास छ ।

‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रूपमा समेत लिइने असारमा किसान रोपाइँमा व्यस्त भएपनि रोपाइँका मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि स्थानीय परम्परागत शैली लोप हुँदै गएको धेरैको बुझाई छ ।

लोप हुँदै गएको परम्परामध्ये एक असारे गीत पनि हो । बर्षमा हजारौं नयाँ गीत भित्रिने गरेकोमा असारे गीत बनेको देख्न सुन्न मुस्किल छ । यस विषयमा हामीले केही व्यक्तिलाई एउटै प्रश्न राखेका छौ । असारे गीतको परम्परा के हो, यस्ता गीत अहिले किन कम भए ? उनीहरुको जवाफ जस्ताको तस्तैः

युवापुस्ता व्यावसायिक भए 

सन्तोष श्रेष्ठ (संगीतकार) 

हाम्रो कृषि प्रधान देशका लागि असारले विशेष महत्त्व राख्छ । असार ‘मानो रोपेर मुरी फलाउने’ महिना समेत हो । त्यो हिसाबले हेर्ने हो भने यो समयका लागि विशेष गीत बन्नुपर्ने हो तर छैन ।

पहिले असारे गीत धेरै बन्थ्यो । गीत बन्ने मात्र होइन,  रोपाइँमा रोपाहार समूहका अलावा अर्को एउटा समूह खेतमा छुट्टै हुन्थे, जसकको काम पाखामा बसेर बाजासहित असारे गति गाउने हुन्थ्यो । त्यसरी गीत संगीतमय रोपाइँमा छुट्टै उर्जा पैदा हुन्थ्यो । त्यहाँ रोपाहारले दोहोरीलगायत विभिन्न लामा लामा भाका हालेर पनि गीत गाउँथे ।

तर, पछिल्लो युवा पुस्ताहरु बढी ब्यवसायिक संगीतको पाटो अवलम्वन गरेको कारण यस्तो गीत हराउँदै गएको हो । रोपाइँमा मात्र प्रयोग हुने र निश्चित समय प्रयोग हुने भएकोले यसको ब्यवसायिक पाटो कम छ । त्यसैले पनि युवाहरुले यो कुरो पछ्याउन छाडेका हुन् ।

अर्को कुरो यसको साँस्कृतिक महत्त्व बुझाउन नसकेको कारणले पनि आकर्षण घटेको हुन सक्छ । देशको कला संस्कृति जोगाउने निकायहरुबाट पनि यस विषयमा केही पहलकदमी भएको देखिन्न । कृषिप्रधान देशमा राज्यले कृषकका लागि मल त दिन सकेको छैन । असारे भाकाको संरक्षण लगायत गीत संगीत डाँडापारीको कुरो भएको छ । यसमा सरकारको ध्यान जानुपर्ने देखिन्छ ।

यो निकै गम्भीर विषय हो 

ज्ञानु राणा (गायिका) 

फिल्म ‘माटो बोल्छ’ मा मैले प्रकाश श्रेष्ठसँग असारे गीत गाएको थिएँ । त्यो समय असारे गीत मुम्बईमा रेकर्ड हुन्थ्यो । रेडियो नेपालमा पनि त्यस्ता गीत धेरै गाइन्थ्यो ।

असार भनेको हाम्रो खेतीपातीको सिजन हो । यो सिजन हामीले खाने र प्राण राख्ने अन्नबाली उब्जाउने सिजन हो । त्यसका लागि गीतसंगीत पनि चाहिन्छ भन्ने हाम्रो पहिलेको परम्परा थियो । मेरो बुबा धर्मराज थापाले पनि ‘हरियो डाँडा माथि, हलो जोत्ने साथी’ बोलको गीत बनाउनु भएको थियो । जुन अहिले पनि लोकप्रिय छ ।

तर पछिल्लो समय नेपाली संगीत बिग्रदै गएको भान हुन्छ । हाम्रो कलासंस्कृति झल्कने गीत निस्कन सकेका छैनन् । धर्मराज थापा, नारायाण गाोपल, तारादेवी, अम्बर गुरुङलगायत अघिल्लो पुस्ता जब बितेर जानुभयो । त्यो समयदेखि यस्ता गीतसंगीत उत्पादन बन्द भए । अहिले केवल बनावटी, जे मन लाग्यो, त्यही र विदेशी नक्कलका गीत आइरहेका छन् ।

नेपाल संगीतको अहिलेको गति कायम रहने भने हाम्रो संगीत, कलासंस्कृति र पहिचान के हो भनेर भन्न गाहे हुन्छ । म त अव नेपाली संगीतको भविष्य समेत देख्दिन । राज्यको निकायमा बस्ने नेताहरुले यसतर्फ ध्यान दिनुपर्ने हो । विडम्वना उनीहरुलाई सत्ता जोगाउनमा नै फुर्सद छैन । हामी कलासंस्कृति बोक्ने भएकोले कलाकार भएका हौ । अर्काेको कपि गर्नेलाई कलाकार कसरी भन्ने ? एकदिन मनाउने तीजका लागि हजारौं गीत निस्कन्छ । जीवन धान्ने अन्नबाली उत्पादन गर्ने परम्पराको विषयमा गीत निस्किन्न । यो एउटा गम्भीर विषय हो । 

बजारको चर्चा हेरियो 

दिनेश अधिकारी (गीतकार)

अहिलेसम्म मैले असारे गीत लेखेको छैन । मैले थुप्रै गीत लेखेका हिसाबले यो गीत पनि लेख्नुपर्ने हो । यस्तो गीतको मसँग कसैले डिमान्ड पनि गरेनन् । मैले आफैले पनि लेखे हुने हो । असारे गीत लोकगीतमा पर्ने धेरैको बुझाई छ । त्यही भएर पनि म आधुनिक गीतकार भएकोले कसैले भनेनन् होला । मेरो दिमागमा पनि लेख्नुपर्छ भनेर कहिल्यै परेन । अहिले लाग्छ लेखेको भए पनि हुन्थ्यो ।

मैले असारे गीत नलेखे पनि किसानका, धानको विषयमा भने गीतहरू लेखेको छु । असारे गीत खेतमा सीमित राखियो, यसलाई त्यति महत्त्व दिइएन । गीत संगीतमा व्यावसायिक बढी हेरिन थलिएकोले पनि यस्ता गीत धेरै नबनेका हुन् । बजारको चर्चा हेरियो ।

हराउनु स्वाभाविक हो 

तुलसी दिवस (संस्कृतिविद्)

असार हाम्रो कृषि जीवनमा महत्त्वपूर्ण महिना हो । यो समय रामरमाइलो गरेर उत्सवका साथ मनाइने चलन रहेकोले पनि गीत गाउने गरिएको हो । असारमा लामो लेघ्रो तानेर र टुक्का खालका गीत गाउने चलन छ ।   

असारे मासका दबदबे हिलो छुनलाई घिन लाग्यो

पातली नानीलाई फरिया किन्दा नौ बीस रिन लाग्यो 

रोपाइँमा ठट्टा गर्दै यस्ता गीत गाएर रमाइलो गरिन्छ । काममा रौनक र जाँगर थप्ने उद्देश्यले गीत गाउने गरिएको हो । अर्को उद्देश्य कामको सुरुवात राम्रोसँग गरियो भने सफलता मिल्छ र धान राम्रो फल्छ भन्ने जनविश्वास हो ।

पछिल्लो समय असारे गीत हराउँदै गएको छ । त्यो स्वाभाविक पनि हो । पहिले मानिस, गोरुले गर्ने काम अहिले बिस्तारै मेसिनबाट हुन थालेका छन् । त्यो हिसाबले   असारे गीतसंगीतमा कमी हुनु स्वाभाविक पनि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप