ad
x
सन्दर्भ: १९ औँ राष्ट्रिय धान दिवस

खेतसँगै हराउँदै असारे भाका

person explore access_timeअसार १५, २०७९ chat_bubble_outline0

आज १५ असार, १९ औँ राष्ट्रिय धान दिवस । हरेक वर्ष यस दिन सरकारले धान दिवस मनाउँछ भने आम नागरिकले दही, चिउरा खाँदै हर्षोल्लासका साथ रोपाइँ गर्छन् । कृषि मन्त्रालयले पनि यस दिन उपत्यका नजिकैको कुनै खेतमा गएर रोपाइँ उत्सव मनाउँछ । त्यसमा कृषिमन्त्री सहितको सहभागिता रहन्छ । यस्तो औपचारिकता निर्वाह गर्ने क्रममा केही वर्ष पहिले कृषिमन्त्रीले गमलामा धान रोपेर धान दिवस मनाएकोमा व्यापक विरोध भएको थियो । उता धान दिवसकै अवसरमा बढी हर्षित भएर महिलाहरूसँग रमाउँदा अर्का कृषि मन्त्रीले राजीनामा समेत दिनुपरेको थियो । जे होस्, सरकार औपचारिक रूपमा धान दिवस मनाउँछ भने वास्तविक किसानले रोपाइँबाट सुस्ताएर दही, चिउरा खाँदै हर्षका साथ असार १५ वा धान दिवस मनाउँछन् । 


२०६१ सालमा ‘धान खाद्य सुरक्षाको लागि वरदान’ भन्ने नारासहित यो दिवस मनाउन थालिएको भए पनि धान रोप्ने प्रचलन कृषि युगको थालनी सँगसँगै भएको हुनुपर्छ । असार महिना किसानहरूको ‘मानो खाएर मुरी उब्जाउने समय’ हो । त्यसका लागि उनीहरू रातदिन खटेर रोपाइँ गर्छन् । रोपाइँमा सबै जना खेतमै व्यस्त हुने हुँदा त्यहाँ एक किसिमको रमाइलो हुन्छ । त्यस क्रममा एकापसमा पानी छ्याप्ने, हिलो छ्याप्ने, गराहरूमा बीउ फ्याँक्दा बाउसे, रोपाहारहरूलाई भिजाउने सम्मका काम गर्छन् । साथै धेरै ठाउँमा विभिन्न किसिमका रमाइला असारे भाका गुन्जाउँछन् । 



हराउँदै असारे भाका

नेपाल प्रज्ञा प्रतिष्ठान लोकसंस्कृति विभाग प्रमुख प्राज्ञ देवी नेपाल असारे भाका रोपाइँ संस्कृतिसँग जोडिएर आएको बताउँछन् । यो रोपाइँसँग जोडिएर आएको असार महिनाको सन्दर्भ मात्र हो । यस भाकाले श्रमलाई सम्मान गर्ने, श्रमिकलाई सम्मान गर्ने र श्रमिकलाई श्रमप्रतिको आस्था जगाउने र सामान्य लोकजीवनलाई जोगाउने, रोपाइँ कार्यप्रति उत्प्रेरित गर्ने उद्देश्यले यो संस्कृतिको थालनी भएको भनाइ उनको छ । रोपाइँमा काम गर्ने कामदारहरूदेखि बाजा बजाउने वाद्यवादहरूदेखि बेठी लगाउने अभिभावकदेखि सबैलाई असारे भाकाले मनोरञ्जन दिन्छ । त्यो बेलामा दुःखसुख दुवै खालका कुरा गर्न पाइने अवसर जुटाएर पसिनालाई उत्साहमा रूपान्तरण गर्दै श्रममा लाग्नका लागि यो संस्कृतिले भूमिका निर्वाह गरेको हुन्छ । जस्तै:

छुपुमा छुपु खेत है रोपनु, हातैमा बीउ छउन्जेल

राम्रैमा लाउँला मिठैमा खाउँला यो जीवन रहुन्जेल

हरियो भन्नु त्यो काँचो पात, पहेँलो बेसार

सकिने मेलो रहनै लाग्यो, बाहुली पसार

तीनै र सहर नेपालै ज्यान्मा, सुनको गजुर

रातै र पर्यो झ्याउँकिरी बास्यो, बिदा देऊ हजुर

असार मासको दोपहरे खाजा, रानीको कसार 

सुनको ढोका उघारी हेर्दा, गएछ असार

हिलै र लायो, धुलै र लायो, कुसुमे सारीमा

हलीको टाउको मुसाले लग्यो खुर्सानी बारीमा... ।

(लोकवार्ताविज्ञान र लोकसाहित्य पृ. १३२ बाट)

लोक भाकाको प्रचलनबारे प्राज्ञ नेपाल भन्छन्, “असारे भाका जस्तो लोकसाहित्यको कुनै लेखक हुँदैन, कुनै त्यस्तो प्रवर्तक पनि हुँदैन । कुनै व्यक्तिबाट प्रवर्तन भएको वा लेखेको, यो समय विन्दुमा उठान भएको भन्ने हुँदैन ।” रोपाइँमा गाइने असारे भाका  नेपालभरि एकै खालको छैन । पूर्व, मध्य पहाडी तथा सुदूरपश्चिमतिर गाइने असारे भाका फरक फरक हुन्छन् । भाका फरक भए पनि सन्दर्भ भने एउटै हुन्छ । यसको प्रवर्तक पनि लोक नै हुन्छ, प्रयोक्ता पनि लोक नै हुन्छ भन्छन् नेपाल । 

नेपालका अनुसार लय फरक भए पनि शब्दहरू उही हुन्छन् । सुदूरपश्चिममा गाइने लोकगीतहरूका शब्द पूर्वेली भाकामा रूपान्तरण गरे पनि शब्द तिनै हुन्छन् । यस्ता लोकजीवनका सिर्जना सामूहिक सम्पत्ति भएकाले यसरी गाइनुलाई चोरी भन्न नमिल्ने उनको भनाइ छ । असारे भाकाको सुरुवात भएको समय बिन्दु पत्ता लगाउन पनि गाह्रो हुन्छ । त्यसैले यो लोकभाका अनादिदेखि अनन्तसम्म बाँचिरहने सिर्जना हो । 

तर, असारे लोकभाकाका गीतहरू पछिल्लो समय हराउँदै गएका छन् । किनभने कृषिकर्म घट्दै गएको छ । उपत्यका र सहर छेउछाउका खेत अव्यवस्थित प्लटिङले  साँघुरिदै गएका छन् । ग्रामीण भेगमा पनि परम्परागत कृषि प्रणालीले गर्दा उत्पादन लागत धान्न नसक्ने अवस्थामा किसानहरू पुगेका छन् । समयमा मल, बीउ, पानी उपलब्ध नहुँदा कतिपय खेत बाँझै रहेको अवस्था छ । कृषिभन्दा वैदेशिक रोजगारीबाट बढी आम्दानी हुने हुँदा यस क्षेत्रका अधिकांश जनशक्ति पलायन भएको अवस्था छ । यसले श्रमिक पलायन मात्र होइन, गाउँघरमा खेती गर्दा अपनाइने अर्मपर्म पनि लोप हुँदै गएको छ । पर्म भनेको श्रमको सट्टाबाजी हो । यी कारणले असारे भाका लगायतका लोकगीतहरू पनि लोप हुँदै गएका छन् । 

प्राज्ञ नेपालका अनुसार कृषि परम्परा कम हुन थालेपछि असारे भाकामा स्वस्फूर्त रूपमा कमी आएको हो । यस्ता लोकगाथाहरूको प्रयोग लोकले जति धेरै गर्छ, त्यति नै धेरै समयसम्म जीवित रहने र अहिले लोकले लोकसम्पत्तिको प्रयोग कम गरेकाले यस्तो अवस्था आएको उनी बताउँछन् । तर अहिले ती लोक सामग्रीहरू त्यही ठाउँमा भन्दा पनि कोठामा सिर्जना हुन थालेको छन् । हजुरबा हजुरआमाले भनेका लयलाई सम्झिएर कोठामा बसेर लेख्ने गर्छन् । जसले गर्दा असारे भाका प्रयोग कहाँनेरि हुन्छ, कुन खेतमा हुन्छ भन्ने थाहा नपाई पनि सिर्जना गर्ने परम्परा बस्दै गएको छ । त्यसले मौलिकता छायामा पर्न थालेको तर लोप नै नभएको अवस्था चाहिँ होइन भन्छन् उनी । 

असारे भाकामा कमी आउनुको अर्को कारण हो, नयाँ पुस्तामा आधुनिकताको खोजी । उनीहरूले गायनमा आधुनिकता खोज्दा गाउँघरमा पाइने पुराना सामग्री बिर्सिन थालेका छन् । यसै गरी यस्ता भाकालाई आधुनिकतामा ढाल्न खोज्दा र यसको प्रयोग गर्ने पुस्ता सकिँदै जाँदा असारे लोकभाका पनि सकिने देखिन्छ ।

यस्ता लोकभाका संरक्षण गर्नुपर्ने जरुरी छ । “प्रयोग हुने स्थानीय ठाउँमा नयाँ पुस्तालाई सिकाउन नखोजेर पनि यस्ता लोकभाकामा केही कमी आएको पक्कै हो,” नेपाल भन्छन्, “अहिले यस्ता भाकाहरू सङ्कलन गरेर सुरक्षित गर्ने काम पनि धेरै भएका छन् ।”

बेठी परम्पराको लोप 

बेठी पनि रोपाइँसँग सम्बन्धित संस्कृति हो । बेठी शब्दको अर्थबारे नेपाली बृहत् शब्दकोशले ‘रैतान (रैती वा मोहीको समूह)का बासिन्दाले जमिनदार वा थरी मुखियालाई बुझाउने रकम वा खेतालापात, रोपाइँमा पञ्चैबाजा बजाई भोज खुवाई गरिने उत्सव’ भनेको छ । 

बेठी प्रचलन धेरै पुरानो देखिन्छ । रोपाइँमा श्रमिकहरूलाई मनोरञ्जन दिन यो चलन चलाइएको थियो । तर बेठी लगाउने काम चाहिँ शासकहरूले मात्र प्रयोग गर्ने गर्थे । पहिला पहिला मुखिया परम्परा अन्तर्गत मुखिया या गाउँका सबैभन्दा धनाढ्य व्यक्तिले आफ्नो रोपाइँका दिन गाउँभरिका कामदारहरूलाई खेतमा बोलाएर काम गर्दै छेउमा बसेर बाजा बजाउन लगाउने प्रचलन थियो । बेठीबारे प्राज्ञ नेपाल भन्छन्, “विशेष गरी शिल्पी समुदायलाई लगेर बाजा बजाउन लगाउने, त्यही बाजाका तालमा नाच्दै खेती गर्ने र त्यो गाउँको सामन्त वा मुखिया दर्शकका रूपमा उपस्थित हुने र कामदारलाई उत्साह बढाउने, अनि त्यहीँ भोजभतेर गर्ने परम्परालाई बेठी परम्परा भनिन्छ ।” बेठी एक किसिमको बाजाको ताल हो, त्यही तालमा विभिन्न भाकामा गीत गाउने प्रचलन थियो । 

मुखियाहरूले लगाउने बेठी परम्परा जमिनदारी प्रथा उन्मूलनसँगै लोप हुँदै गएको देखिन्छ । तर खेतीपाती गर्नेहरूले ठाउँठाउँमा स्वतस्फूर्त रूपमा आज हाम्रो गाउँको यस्तो रोपाइँ छ, त्यो दिन चाहिँ बाजा बजाएर मनोरन्जन गरौँ भनेर अलिअलि सुरक्षित गर्ने काम चाहिँ भएको छ । तर पहिला जस्तो फलानो मुखियाकोमा बेठी छ भनेर जानैपर्ने बाध्यात्मक अवस्था छैन । त्यसलाई सुरक्षित गर्न असार १५ मा ठाउँठाउँमा आयोजना हुने गरेको देवी नेपालको भनाइ छ । 

यस्ता लोकभाका संरक्षणका लागि प्रज्ञाले के के काम गर्दैछ त ? नेपाल भन्छन्, “प्रज्ञा प्रतिष्ठानमा साङ्गीतिक पाटोलाई हामीले हेर्न मिल्दैन, सिर्जनाको पाटोलाई हेर्न मिल्छ । त्यसमा लोकगीत, असारे भाकाहरूको सङ्कलन कार्य अहिले भइरहेको छ ।” प्रज्ञा प्रतिष्ठानले पूर्वी नेपालका लोक भाका भनेर १५५ वटा भाकाहरू सङ्कलन गरेर पुस्तक प्रकाशन भइसकेको उनले बताए । 

यस क्रममा गण्डकी प्रदेशका लोकभाका, कर्णालीका बाल लोकभाकाहरू सङ्कलन भइरहेको र सम्पूर्ण देशभरिको लोकजीवनलाई समेटेर लोकभाकादेखि लोकगाथा, लोककथालगायत सबै समेटिएको लोकगाथा कोश पनि एक महिनाभित्र प्रकाशन हुने जानकारी लोक साहित्य विभाग प्रमुख नेपालले दिए । “कम्तीमा ती शब्दका रूपमा भए पनि संरक्षित गरौँ भन्ने उद्देश्यले त्यो काम हामीले अहिले गरिरहेका छौँ,” उनी भन्छन्, “त्यसअन्तर्गतका तीनवटा कृति प्रकाशित भइसकेका छन् ।” 

प्राज्ञ नेपाल झापामा जन्मिएका हुन् । उनका अनुसार झापामा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, भोजपुरतिरबाट झरेका मानिसको बहुल्यता छ । त्यहाँ विविध समाजको संस्कृति र तराईको पनि संस्कृति पाइन्छ । उनी भन्छन्, “त्यहाँ राजवंशी गाउँ, सन्थाल गाउँमा हुर्किएको मान्छे हुँ । राजवंशीहरूको एक खालको संस्कृति छ । बाजागाजासाहित उनीहरू रोपाइँ गर्न आउँथे । सन्थालहरूको पनि त्यही किसिमका आफ्नोपन छ । तर पहाडबाट झरेको हाम्रो समुदायले चाहिँ असारे भाका गाउँदै बीउका मुठाले हानाहान गर्दै, हिलो छ्यापाछ्याप गर्दै हिलै हिलोमा रमाउँदै रोपाइँ गरेको सम्झना चाहिँ छ ।” 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।