ad
x
रोहित र शोभा विजुक्छेको कथा—४

प्रिय शोभा ! जीवनलाई अर्कै बाटो लिनु थियो

person explore access_timeअसार १५, २०७९ chat_bubble_outline0

प्रिय शोभा !


खाली पिरियडमा फेरि म अस्पताल र अड्डामा दौडन्थेँ । एक प्रकारले त्यति बेला मेरो जीवन व्यस्त र सार्थक थियो । ‘निःस्वार्थी निडर हुन्छ’ भन्ने उक्ति मेरो मनमा गाडिएको थियो र जनताको निस्वार्थ सेवा गर्ने भावना बाहेक मेरो मनमा अरू कुनै कुराले ठाउँ पाएको थिएन । रात्रि जनसभाहरूमा जनताको भीडलाई छिचोलेर जान मुस्किल हुन थाल्यो । मनले चिताएको भन्दा बढी जनता उत्तेजित भएको देखेर मलाई आश्चर्य लाग्थ्यो । हाम्रो प्रभाव बाहिरी जिल्लामा समेत परेको हुँदा जिल्ला जिल्लाबाट सम्पर्क गर्न मानिसहरू आउँथे । प्रतिबन्धित कम्युनिस्ट पार्टीका नेताहरू लथालिङ्ग भइसकेका थिए । ती कुराहरूबारे हामीलाई केही थाहा थिएन । हामी आफ्नै धुनमा थियौ । भारत र जेलमा बसेका कम्युनिस्ट नेताहरू हाम्रा आलोचक र विरोधी बने । बुवा, माधवशङ्कर, आशलाल साहूजस्ता गण्यमान्य व्यक्तिहरू यो केटालाई देशभित्र राख्नु भएन, यसले ज्यापूहरू उठाएर देश भाँड्न लाग्यो भन्ने टुङ्गोमा पुगे । मलाई विदेशमा छात्रवृत्तिमा पढ्न पठाउने, बाहिर दूतावासहरूमा नोकरीमा पठाउने वा देशभित्रै सरकारी सेवा वा व्यापारमा लगाउने योजनाहरू बने । तर म नसुध्रने केटो भइसकेको थिएँ । सबै थाके । बस्ने, खाने र सुत्ने बन्दोबस्त नहुँदा स्वास्थ खराब हुने र समाजको भनाइ बचाउनुपर्छ भनेर मलाई मामाहरूकहाँ नै खाना खाने प्रस्ताव आयो, मैले स्विकारेँ । तर पछि मेरो गतिविधिमा नियन्त्रण आउने र दोष मामाहरूलाई जाने सम्भावना देखेर मैले डेरा लिएर व्यवस्थित जीवन बिताउने विचार गरेँ ।



त्यस बेला म र मेरा साथीहरूमा के कुराको विशेषता र आकर्षण थियो कुन्नि ! जोसुकै मानिसहरू हामीप्रति आकर्षित हुन्थे र भनेको मान्थे । त्यो आज पनि मेरा निम्ति एउटा रहस्य बनेको छ । त्यही कुरा थाहा नपाएर हामीप्रति ईर्ष्या राख्ने राजनैतिक वा अन्य व्यक्तिहरू सरकारबाट फुटाइएका तत्व, पानीका फोका, अस्थायी तामझाम आदि कल्की लगाइदिएर आत्मसन्तोषको सास लिन्थे । कलेजमा हामीहरू शिक्षकहरूमा प्रिय, छात्र र छात्रछात्राहरूका बिचमा आकर्षणका केन्द्र थियौ अनि स्कुलहरूमा अनुशासित र माया गर्ने शिक्षक थियौ, पञ्चायतमा जिउँदा र सच्चा जनप्रतिनिधिहरू थियौँ । साहित्य सम्मेलन, खेलकुदको प्रतियोगिता आदि जहाँतहीँ हामी अगाडि नै हुन्थ्यौँ । केटीहरूबाट हामी तर्केर हिँड्थ्यौँ, तर पनि घरमा अभिभावकहरू आएर ट्युसन पढाइदिन आग्रह गर्थे, हामी दुविधामा पर्थ्यौँ । कति नजिक आउने केटीहरूलाई आदर्शका कुराहरू गर्थ्यौँ र कानका गहनाहरू त्याग्न लगाउथ्यौँ । तिनीहरू पनि भावुक भएर त्यसै गर्थे । आज यी सब कुरा सपना जस्तो लाग्छ ।

संसदीय राजनीतिको रिक्तता, पञ्चायतजस्तो नयाँ राजनीतिको प्रयोगमा हाम्रो अवलम्बन र अग्रसरता, लोककल्याण र देशको सेवाको उद्देश्यमा निश्छल ढङ्गले लागिपर्नु, जनताको समस्यालाई निडर भएर मुखरित पार्नु, आदर्श र बौद्धिक ज्ञानप्रति हाम्रो तीव्र उत्सुकता र तृष्णा, युवा सुलभ पवित्र सक्रियता, स्पष्टवादिता, गरिब जनताप्रति सहानुभूति र विनम्रता नै हाम्रो आकर्षण र प्रखरता हुनुपर्छ भन्ने म आज सिंहावलोकन गर्दै छु ।

केटीहरू हामीसँग हिँड्न चाहने र हामी लाजले तिनीहरूबाट टाढा हुन खोज्ने गर्थ्यौँ। त्यति बेला त्यो एक प्रकारको हामी माझ अज्ञात द्वन्द्व थियो । तर पनि समाज त समाजै हो मुस्कान र व्यङ्ग्यबाट बच्न गाह्रो हुँदै गयो ।

कुनै बेला साहित्य सम्मेलनमा मैले एउटा कविता पढेको सम्झना छ । शीर्षक थियो— ‘प्रिय साथी, म भियतनाम जान्छु ।’ श्यामप्रसाद शर्माबाट सम्पादित ‘साहित्य’मा त्यो कविता छापियो । त्यसको ठूलो चर्चा चलेको थियो ।

एउटा सुसंस्कृत परिवारकी केटीसँग मेरो विवाह गर्ने कुरा चल्यो । घरलाई थाहा थिएन । चुलाको एक जोर सामान, नयाँ ओछ्यान, झुल र अन्य सामान जोडियो । त्यस बेला राजनीति होइन, हातमुख जोर्न शिक्षण पेसा र जनताको सेवामा संलग्न हुने भावना मनमा मौलाइसकेको थियो । ती केटीको विवाह अर्कैसँग भइसकेको हुँदा आज उनको नाउँ माधुरी राखौँ, उनको साँचो नाउ अर्कै छ । उनको तेजिलो आँखालाई सम्झँदा उनको नाउँ लोचना राख्न उपयुक्त हुन्थ्यो भन्ने म अझै कल्पना गर्छु ।

१९ असारको दिन थियो; विवाहको दिन निश्चित गर्न दिउँसो १२ बजे उनको घरमा समय दिइएको थियो । उनका बुवाको राय थियो— केटो राजनीतिक गतिविधिमा लाग्छ, तेरी छोरीले दु:ख  पाउँछे । आमा र छोरी बिहे गर्न राजी थिए । बुवा शिक्षक थिए, काकाहरू प्राविधिक, दाजुहरू इन्जिनियर र डाक्टर थिए । उनका एकजना दाजु मेरा साथी थिए र उनका मामा मेरो पढाइका साथी थिए । उनका मामाकै घरमा हाम्रो देखादेख हुन्थ्यो । उनको संस्कार सुसंस्कृत थियो । उनको रूप सुन्दर र स्वभाव सुशील थियो । खाली स्वयंवरको दिन तोक्नु मात्रै बाँकी थियो ।

तर जीवनलाई अर्कै बाटो लिनु थियो, त्यो मेरो कल्पनाभन्दा बाहिर थियो । बिहान ७—८ बजेको थियो, म केही केटाहरूलाई ट्युसन पढाउँदै थिएँ, विषय अङ्ग्रेजी व्याकरण थियो । पढाउने काम सकिन थालेको थियो । टौमढी टोलतिर नारा लागेको र हुल उठेको आवाज आयो । मैले झ्यालबाट बाहिर हेरेँ । साच्चै हुल माथितिर आउँदै थियो । मैले केटाहरूलाई बिदा गरेँ । हुल झ्यालको तलबाटै गुज्य्रो । विषय के हो थाहा हुन सकेन । सबै कछाड लगाएका किसानहरू थिए । सुकिलो लुगा लाएका र विद्यार्थी जस्ता मध्यम वर्गका एक जना पनि मानिस मैले देखिन । मलाई नौलो र अचम्म लाग्यो । एकै छिनमा दरबार स्क्वायरबाट एक हुल प्रहरी उतैतिर दौडे । स्थितिलाई बुझ्न म पनि डेराको झ्यालढोका बन्द गरी गल्लीबाट माथितिर लागेँ ।

प्रहरीले भ्रष्टाचारीलाई हामी मुद्दा चलाउँछौ र सजाय गर्छौं, भनेपछि भिडबाट एकजना किसान उठेर साथीहरू भ्रष्टाचारीलाई प्रहरीमा बुझाऔँ, उसलाई प्रहरीले नै मुद्दा चलाउनेछ भने । नेवारी भाषामा त्यति बोल्नासाथ उसलाई प्रहरीमा बुझाइयो । समयमा रासायनिक मल दिन अस्वीकार गर्ने सहकारी संस्थाका अध्यक्ष कृष्णभक्त चौगुठीलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गर्न लगाएका रहेछन् । नारा रहेछ— ‘भ्रष्टाचारीलाई कारबाही गर ! भ्रष्टाचार मुर्दावाद !’

म गोल्मढी टोलमा पुग्दा हुलले त्यो व्यक्तिलाई प्रहरीमा सुम्पिसकेको थियो । त्यहाँबाट म किसानहरूको टोलमा पुगे र स्थितिको जानकारी लिए । किसानहरू मल चाहन्थे, सहकारी संस्था पुरानो ऋण फिर्ता चाहन्थ्यो । बचतकर्ता किसानहरू आफ्नो हिस्सा (सेयर) को नाफानोक्सान हेरेर मात्रै ऋण फिर्ता दिन चाहन्थे, सहकारी संस्थाका पदाधिकारीहरूले हेटौँडा र नारायणघाटबाट तोरी र मकै व्यापार गरेर नाफा लिई सहकारी संस्था डुबाउँदै छन् भन्ने हल्ला चलेको थियो । बिहान ६ बजेदेखि नै मल लिन सहकारी संस्थामा किसानहरू लाइन लागेर बसिसकेका थिए । अध्यक्षले मल किन्न पैसा छैन भन्दा किसानहरू आफ्नो बचतको हिसाब देखाऊ भन्न थाले । अध्यक्षले उत्तेजनामा आएर जनतालाई हिसाब हेर्ने अधिकार छैन भन्न पुगेछ । अनि त के चाहियो ! हाम्रो सम्पत्तिको हिसाब नदेखाई सुख ! लौ त्यसो भए त्यही कुरा टोलटोलमा गएर जनतालाई भन भनेर जनताले उसलाई घेरे, उसको बचाउमा आउनेहरूले मार खाए, उसलाई उल्टो टोपी लगाई सहर घुमाए ।

कुरा सुन्दै १०—११ बज्यो, साथीहरूकहाँ नै चिया खाएर म १२ बजे विवाहको दिन निश्चित गर्न माधुरीको घरतर्फ लागेँ । त्यहाँ पुग्नै लागेको बेलामा प्रहरीहरूको एक हुल आइरहेको थियो । अरूले मलाई प्रहरी तिमीलाई पक्रन आएका हुन्, जाऊ जाऊ भन्न लागे । म एकपछि अर्को गल्लीमा पुगेँ । त्यो दिन चारैतिर प्रहरी रहेछन् । म माधुरीको घर पुग्न सकिन । विडम्बनाको कुरो प्रहरीले सहकारी संस्थाका अध्यक्षलाई कारवाही नगरी दरबार स्क्वायर पुग्नासाथ छोडिदिएछ । अध्यक्षले उल्टै जनता र हामीलाई कानुन हातमा लिएको आरोप लगायो । प्रशासनले वचन पूरा गरेन, उल्टो पक्राउ सुरु गर्यो । २—४ दिनभित्र नगरपञ्चायतका धेरै सदस्यहरू र प्रधानपञ्च पनि नगरपञ्चायतमै पक्राउ परे । साथीहरूको सल्लाह अनुसार मैले जिल्ला छोडेँ । महिनौ हुँदा पनि पक्राउ जारी थियो, पक्राउ पर्नेहरू छुटेनन् । ६—७ महिनापछि म भक्तपुर फर्कें, माधुरीको तर्फबाट मान्छे आयो । तर म साह्रै अप्ठेरोमा परेँ, साथीहरू सबै जेलमा छन्, आफूले बिहा गरेर कसरी खुसी मनाउने ? यही स्थिति २—३ वर्षसम्म चल्यो । पक्राउ पुर्जी यथावत् थियो (तर पछि मात्र गोरखापत्रबाट थाहा भयो, मलाई वारेन्ट रहेनछ) । माधुरीबाट २—३ चोटि ताकेता आयो । उनका बुबाआमाले उमेर पुगेकी छोरी त्यसै राख्न हुन्न भन्ने कुरो उठाए ।

प्रधानमन्त्री कीर्तिनिधि विष्ट कुरा गर्न तयार थिए, तर म भने साथीहरू नछुटेसम्म छलफल गर्न तयार थिइन । ३—४ वर्षसम्म तिनीहरूले पर्खे, स्थितिमा कुनै परिवर्तन नआउँदा मैले ‘असमर्थता’ प्रकट गरेँ । पछि माधुरीको विवाह काठमाडौमा भयो ।

त्यसै बेला मलाई भारतबाट पुष्पलालको खबर आयो । अञ्चलाधीश हाकु बाजे थिए, प्रशासनले निष्पक्ष जाँच गरेन । एक अर्थमा मलाई प्रशासनले कम्युनिस्टमा सक्रिय बन्न धकेल्दै गयो । सन् १९७०—७१ मा बङ्गलादेशको आन्दोलनको बेला पुष्पलालको विचारसँग जुझ्दै म भारत पुगेँ ।

भारतमा पनि जातभात, खर्च, डेरा, सङ्गठनको कार्यमा दौडादौड र सङ्घर्ष आदिमा लाग्दा बिहा गर्नका निम्ति अनेक प्रस्ताव आए पनि एकपछि अर्को गरी अस्वीकार्दै गएँ । म अन्तरजातीय विवाहको पक्षमा थिएँ, तर मैले आफ्नो एउटा मत मात्रै पाएँ । सङ्गठन र राजनीतिका कारण कार्यकर्तालाई आफूले रोजेकी केटी बिहा गर्न बाधा पर्दो रहेछ । यस्तै जीवनयात्राका नागबेली र अनेक बाधा व्यवधान नै मेरो ढिलो विवाह हुनाका कारण बने ।

अरूले हल्ला र भ्रम फैलाए जस्तै न तिमी कान्छी हौ, न मेरा कुनै अरू छोराछोरी नै थिए । हो; पैसा, सुन चाँदी र घर सम्पत्तिले मेरो विवाहको फैसला हुन सकेन । यसैमा मलाई सन्तोष छ । मलाई सन्तोष छ, विवाहका निम्ति मैले आफ्नो विचार र भावनालाई तिलाञ्जलि दिनुपरेन ।

शोभा !  स्थिति बुझ्यौ होला; मेरो कलेज जीवनको आफ्नै सजीवता थियो । मैले आफूलाई लुकाउनु परेन, मेरो जीवन खुल्ला पुस्तक जस्तै छ । यसकारण मलाई पछुतो होइन गौरव छ । हो, साथीहरू र समाजकै कारण म ऐनकानुनका अगाडि अस्थायी रूपले दोषी देखिएको थिएँ । तर मलाई झूटो बोल्न आउदैन, म स्पष्ट वक्ता हु । जे गर्छु खुल्ला घोषणा गरेर गर्ने गरेको छु, बुझ्नेले बुझेकै छन् ।

सदा स्मृतिमा रहने

नारायणमान विजुक्छे

क्रमश: भोलिको रातोपाटीमा 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।