शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

केटीहरूलाई ट्युसन पढाउन मान्दैनथे नारायणमान विजुक्छेँ

सोमबार, १३ असार २०७९, ११ : २२
सोमबार, १३ असार २०७९

नारायणमान विजुक्छेँ ‘रोहित’ शिक्षक सेवामा लाग्दा इमान्दारीपूर्वक लागे । उनले जुनजुन स्कुलमा पढाए, उनी एउटा इमानदार शिक्षकका रूपमा दरिएका थिए । उनी घरमा आएका विद्यार्थीलाई निःशुल्क पढाउने गर्थे । उनी शिक्षा सेवालाई जीवनको एउटा उपलब्धि ठान्थे । यति हुदाहुदै पनि उनी केटीहरूलाई चाहिँ ट्युसन पढाउन मान्दैनथे । केटीहरूलाई पढाउँदा प्रेम पनि पर्न सक्ला; प्रेम पर्यो भने बिहे गर्नुपर्ला र बिहे भयो भने राजनीतिमा लाग्न नपाइएला भन्ने डरले उनी केटीहरूसँग टाढाटाढै हुन्थे । वास्तवमा आफ्नो वैयक्तिक स्वभावले गर्दा उनी बिहे बन्धनमा पनि ढिलै बाँधिएका थिए ।

रोहितले शोभा प्रधानलाई मन पराइसकेका थिए । त्यसपछि शोभाका बुबा श्यामलाल प्रधान अप्ठेरोमा परेका थिए । त्यतिखेर उनले रोहितलाई सम्झाउँदै भनेका थिए- ‘तपाईं राजनीतिमा लागेको मान्छे; बिहे नगरे पनि हुन्थ्यो नि !’ वास्तवमा त्यस बेलासम्ममा रोहित शोभासँग निक्कै नै आकृष्ट भइसकेका थिए । त्यसैले श्यामलाल प्रधानका कुरा सुनेपछि रोहितले उनलाई भनेका पनि थिए- ‘बिहे मैले तपाईंसँग गर्ने होइन; तपाईंकी छोरीसँग गर्ने हो ।’ रोहितको ठाडो र तर्कपूर्ण संवाद निस्केपछि प्रधान पनि लाचार भई बोलेका थिए- ‘तपाईंसँग बिहे गर्न मेरी छोरीले मान्छे भने मेरो भन्नु केही छैन ।’

बिहे गर्ने सिलसिलामा नै २०३९ सालमा रोहितको शोभासँग भेट भएको थियो । त्यतिखेर बिहे गर्ने कुरामा दुवैजना राजीखुसी थिए । त्यसपछि पनि शोभा र रोहितबीच अर्को चरणको विचार विमर्श भएको थियो । फलस्वरूप शोभा वैवाहिक जीवनमा बाँधिन राजी भइन् । त्यसपछि घरपरिवारको स्वीकृति लिन शोभा रामेछाप पुगेकी थिइन् । तर उनी त्यहाँ पुगेर त्यतै हराइन् । रोहित झनै एक वर्षसम्म शोभाको बाटो हेरेर बसेका थिए । त्यस समयसम्म शोभाको कुनै खुट पत्ता रोहितले पाउन सकेका पनि थिएनन् । यसैबीच उता रोहितको बिहे गराउन उनकी आमाको ठूलो करबल नै थियो ।

आमाको सल्लाह अनुसार रोहितले शोभालाई एउटा निर्णायक चिठी लेख्ने निधो गरे । त्यसपछि उनले भक्तपुरबाट रामेछापमा एउटा चिठी पठाएका थिए । त्यतिखेर रोहितले बाबुछोरी दुवै जनालाई चिठी लेखेका थिए । त्यस बेला उनले छोरीचाहिँलाई लेखेको चिठीको बेहोरा थियो :

२०४० साल वैशाख ५ गते
सुकुलढोका, भक्तपुर

सुश्री शोभा प्रधान
मीठो सम्झना ! 
शोभा ! जीवनमा बाँच्तै जादा धेरै कुरा भोग्नुपर्दो रहेछ । त्यस भोगाइलाई आत्मसात् गर्दै जाँदा एउटा मान्छेलाई अर्को मान्छेको भरोसाको पनि त्यत्तिकै आवश्यकता पर्दो रहेछ । सायद यसै पृष्ठभूमिमा वैवाहिक जीवनलाई प्रकृतिले जोडेको हुनुपर्छ । आज म त्यही प्रकृतिको चालबाजीको सिकार भएको छु । प्रकृतिले नै मलाई तिमीसम्म पुग्न बाध्य बनाएको हो । यदि मैले बिहे गर्नैपर्छ भने तिमीजस्ती आदर्श नारीसँग म जीवन बिताउन चाहन्छु । मलाई तिमी मन पर्यो र तिम्रो विचार पनि मलाई मन पर्यो । यदि तिमीलाई पनि म मन परेको हो भने यसै वर्ष हामी बिहेको तर्जुमा गरौँ । यदि तिमीलाई मेरो प्रस्ताव मन्जुर छैन भने पनि म छिटै समाचार पाउँ ।
तिमीलाई सम्झिरहने उही
नारायणमान विजुक्छेँ

रोहितको चिठी पढेर शोभा निक्कै खुसी भएकी थिइन् । सायद उनको जीवनको ठूलो खुसीमध्येको अर्को खुसी रोहितको उपर्युक्त चिठी प्राप्तिको क्षण थियो । त्यसैले शोभाले रोहितसँगको दाम्पत्य सम्बन्ध कस्न आफ्ना बाबुआमासँग मौन बसेरै स्वीकृति दिइन् ।

देखेको र भोगेको कुराले होइन लेखेको कुराले नै जगत्मा ठाउँ पाउँछ भन्ने कुराको प्रमाणका रूपमा रोहितका जीवनमा शोभाको आगमनलाई लिन सकिन्छ । उमेरका दृष्टिले बाइस वर्षको अन्तर रहेका रोहित र शोभाबीच २०४० मङ्सिर ११ गते भक्तपुरको सूर्य विनायकमा शुभविवाह सम्पन्न भएको थियो । त्यतिखेर पनि निक्कै कष्टका साथ रोहित आफू वैवाहिक जीवनमा गाँसिएका थिए । त्यस दिन पनि रोहित पार्टीका काममा अत्यन्तै व्यस्त थिए । वास्तवमा उनी केही फुर्सद निकालेर विवाहमा सरिक भएका थिए ।

बिहे गरेपछि रोहितलाई बुबाले केही दिन आफ्नै घरमा बस्ने स्वीकृति दिएका थिए । वास्तवमा आफ्ना बुवाले रोहितको राजनीतिक संलग्नतालाई पटक्कै मन पराउदैनथे । त्यसैले बिहेपछि घर आइन्जेलसम्म रोहितले मनमनै सोचिरहेका थिए— ‘अब घरमा कतिन्जेल बस्ने होला ? डेरा कहाँ खोज्ने होला ? अब पत्नीलाई कसो गरी समय दिने होला ? यिनले सुक्ख पाउँछिन् कि दुक्ख पाउँछिन् ? हुन पनि रोहित युवावस्थाको खुड्किलो उक्लिसकेपछि बिहे बन्धनमा बाँधिएका थिए । उनीहरूको उमेरमा ठूलै भिन्नता भए तापनि विचारमा चाहिँ अनौठो समानता थियो । हुन पनि रोहितको भित्री मन शोभाजस्तै नारीको खोजीमा केन्द्रित थियो । उनलार्ई त्यस्ती अर्धाङ्गिनीको आवश्यकता थियो जसले आफ्नो सिद्धान्त बुझ्छ, जसले साहित्यमा पनि रुचि राख्छ, जनसमक्ष गएर बोल्न, लड्न, भिड्न र भोकै बस्न पनि सक्छ । यी सबै कुरामा उत्तीर्ण हुने सम्भावना देखेर नै रोहितले शोभालाई रोजेका थिए ।      

रोहितले बिहे गरेपछि बुवाआमाको घरबाट बाहिरिने मनसाय राखे । तर शोभा विजुक्छेँ भने संयुक्त परिवारमा नै बस्ने मनसायमा थिइन् । त्यसैले शोभालार्ई फकाउँदै रोहितले भने— ‘म घरको जेठो छोरो, हामी संयुक्त परिवारमा बसेपछि तिमीलाई धेरै दुक्ख हुन्छ, किनभने घरको सारा व्यवहार तिम्रै थाप्लोमा आउँछ; तिमीले नै घरको सम्पूर्ण काम फर्स्याउनुपर्छ । त्यसैले हामी अलग्गै बसौँ । त्यसो भए तिमीले पढ्न पनि पाउछ्यौ ।’
रोहितले नवविवाहिता पत्नीलाई संयुक्त परिवारबाट अलग्गै बस्न धेरै प्रयास गरिरहेका बेला शोभा विजुक्छेँका मनमस्तिष्कमा धेरै कुरा खेल्न थाले । त्यतिखेर आफ्ना मन र मस्तिष्कमा उनका सासू ससुराका कुरा ठोक्किएका थिए-

 ‘बुहारी ! तिमीहरू जहाँ बसे पनि तिमीले तिम्रो श्रीमान्लाई कहिल्यै पनि नछोड्नू । ऊ फेरि भाग्छ, भारततिर जान्छ । त्यति मात्र होइन; शोभा विजुक्छेँलाई टोलछिमेकले पनि भन्ने गर्थे रोहितले पहिला पनि बिहे गरेको थियो; उसकी अघिल्ली श्रीमतीबाट छोराछोरी पनि जन्मेका थिए । यी विभिन्न प्रकारका कुरा सुनिसकेकी शोभा विजुक्छेँ घर छाडेर अलग्गै बस्ने कुरामा उत्सुक भइनन् ।

रोहितले फेरिफेरि पनि आफ्नी पत्नीलाई सम्झाउँदै भने- ‘हेर ! म घर हेर्न भ्याउदिनँ । तिमीले पनि साह्रै दुक्ख पाउछ्यौ; पछि मलाई दोष नदिनू ।’ वास्तवमा त्यतिखेर रोहितको दिनचर्या अत्यन्तै व्यस्तताका साथ बित्ने गर्थ्यो । बिहानै हिँडेका रोहित कहिले राति बाह्र बजे घर आइपुग्थे । उनी कहिले कति बेला आउँथे, कहिले कति बेला आउँथे । उनको घर आउने खास टुङ्गो नै हुदैनथ्यो । त्यस बेला रोहितको पत्नीसँग कहिलेकाहीँ भेटघाट पनि हुँदैनथ्यो । कहिलेकाहीँ एक हप्तासम्म पनि उनीहरूबिच कुराकानी हुन पाउँदैनथ्यो ।

क्रमश: भोलिको ‘रातोपाटी’ हेर्नुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप