बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘जबज’ विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं : ओली

मङ्गलबार, १४ असार २०७९, १६ : ४५
मङ्गलबार, १४ असार २०७९

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ अरु देशमा आफूहरुले लागू गर्न नसक्ने बताएका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले जबज अरु देशमा लागू गर्ने सामर्थ्य आफूहरुसँग नरहेको प्रस्ट पारे ।

‘जबज विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं तर नेपालमा सक्छौं,’ उनले भने, ‘अन्यत्र गएर लागू गर्न सक्दैनौं । यसको सहीपना, सफलताको अवश्यंभावीतालाई बुझे अरुले पनि लागू गर्न सक्लान् । हामीले हाम्रो कार्यक्षेत्रमा त्यसलाई लागू गर्ने हो ।’

मदन भण्डारीले ‘यी मनुवाहरुको कल्याण होला’ भनेर जबज प्रतिवादन नगरेको पनि ओलीले प्रस्ट्याए । ‘उहाँले आफू, आफ्ना संघर्ष, आफ्ना भोगाइ र आफ्नो देशको प्रोफाइल तयार गर्नुभयो । मेरो देश कहाँनिर छ, कस्तो छ, समस्या के छ भनेर पहिचान गरी त्यसको निदान गर्नुभयो,’ उनले भने ।

जबज नेपाली समाज, व्यवहार, संघर्षबाट पृथक रहेर नभई ती सबैसँग गाँसिएर आएको ओलीको भनाइ थियो । उनले भने, ‘जुन चिन्तन हो, त्यसलाई व्यवहारमा गाँस्न सकिएन भने त्यो व्यवहारिक हुँदैन ।’

कतिपयले जबजलाई त्यतिबेलाको संकटमोचन भन्नेमात्र ठानेको पनि ओलीको टिप्पणी थियो । उनले भने, ‘तत्कालीन परिस्थिति, तत्कालीन संकट पनि जबज प्रतिवादनको प्रेरक तत्व हुन सक्छ । तर प्रश्न त्यतिमात्र होइन, कम्युनिस्ट आन्दोलनलाई सामाजिक न्याय र समानतासहितको समृद्धि–उन्नतिको, विज्ञान, प्रविधिको सदुपयोग सबै मानवसम्म पहुँच जरुरी थियो । हाम्रा प्रयास त्यसका निम्ति हुन् ।’​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप