ad
x
अन्तरवार्ता

‘जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था छैन’

उपत्यकामा हैजा संक्रमणको मूल स्रोत पानी : डा. चुमनलाल दास

person explore access_timeअसार १४, २०७९ chat_bubble_outline0

काठमाडौं । बर्खा लागेसँगै काठमाडौं उपत्यकामा झाडापखाला र हैजाको संक्रमण देखा परेको छ । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा रोग पुष्टि भएको छ । उपत्यका विभिन्न १० स्थानका मानिसमा हैजा रोग देखिएको ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ ।


पछिल्लो समय पुष्टि भएका झाडापखाला, हैजा संक्रमणको स्रोत के हो ? उपत्यकाका विभिन्न ठाउँठाउँमा हैजाका बिरामी पुष्टि हुनु महामारीको संकेत त होइन ? हैजा फैलन नदिनका लागि सरकारले कस्तो काम गरिरहेको छ ? यस्ता विषयमा रातोपाटीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दाससँग कुराकानी गरेको छ । प्रस्तुत छ, रातोपाटीकर्मी माया श्रेष्ठले डा. दाससँग गरेको कुराकानीको सम्पादित अंश –
 
राजधानीका विभिन्न ठाउँमा हैजाका बिरामी फेला परेका छन्, हैजा संक्रमणको मुख्य स्रोत के हो ?



राजधानीका विभिन्न १० स्थानका १२ जना मानिसमा हैजा पुष्टि भएको छ । हैजा देखिएका मानिसमा कुन स्रोतबाट फैलिएको छ भन्नेमा केन्द्रित रहेर अहिलेसम्म संकलन गरिएका नमुनामा पानीकै कारण संक्रमण भएको रिपोर्ट आएका छन् ।

बागबजारमा हैजा पुष्टि भएकाहरुलाई पनि पानीकै माध्यमबाट सरेको पाइएको छ । त्यहाँको पानीमा इकोलाइ कोलिफर्म पुष्टि भएको छ । यो दिसाको कारणले भएको देखियो । डिल्लीबजारमा पानी प्रदूषित भएका कारण हैजा रोग देखिएको नमुना परीक्षणपछि थाहा भयो ।

यस्तै, सानेपामा हैजा पुष्टि हुनेमा पनि प्रदूषित पानीका कारण भएको नतिजाले देखाएको छ । ललितपुरको सानेपा क्षेत्रमा ८ वटा नमुना परीक्षण गर्दा ६२ प्रतिशतमा इकोलाइ नै पुष्टि भएको छ । पानी प्रदूषित भएका कारण हैजा देखिएको भन्ने कुरा पुष्टि भएको छ ।

इनारको पानी, ट्युबवेलको पानी पनि प्रदूषित देखिएको छ । सिल तोडेको जारको पानी पनि प्रदूषित देखिएको छ । कहीँ सिल नतोडिएका जारका पानी पनि प्रदूषित भेटिएको छ ।

बूढानीलकण्ठमा क्षेत्रमा नमुना परीक्षण गर्दा सिल नतोडिएका जारका पानी पनि प्रदूषित भएको देखिएको छ । तर, फरकफरक ठाउँमा फरक तरिकाले पानी प्रदूषित देखिएको छ । इनार, धारा लगायतका पानी प्रयोग गर्दा झाडापखाला अनि हैजा लागेको पाइएको छ । बल्खु, कोटेश्वरमा हैजा देखिएका मानिसको सन्दर्भमा गरिएको परीक्षणको रिपोर्ट आएको छैन । ती ठाउँबाट १० वटा नमुना लिइएको छ । त्यसलाई परीक्षण गर्दैछौँ । अहिलेसम्म आएको रिपोर्टले पानी प्रदूषित भएकै कारण हैजा लागेको भेटिएको छ । सबैतिरको रिपोर्ट आएपछि अझै वृहत रुपमा विश्लेषण गर्न सकिन्छ । प्रयोग गर्ने भाँडामा राखिएको पानी परीक्षण गर्दा पनि इकोलाइ देखिएको छ ।


 
पानीका माध्यमबाट हैजा संक्रमण भएको पुष्टि भएको हो भने त उपत्यका भर नै हैजा फैलने जोखिम देखियो नि, यससँग जुध्नका लागि सरकारले के तयारी गरेको छ ?
सरकार एक्सनमा उत्रिसकेको छ । सबैतिर बृहत रुपमा जनचेतना फैलाइरहेको छ । महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालयले माइकिङ, मिडियामार्फत जनचेतना फैलाउने काम गरिरहेका छन् । संक्रमणजन्य रोगका बारेमा जानकारी तथा जनचेतना मुलक विभिन्न कार्यक्रम भइरहेको छ । खानेपानी तथा सरसफाइ सम्बन्धी काम गर्दै आएको ‘वास’, पानीका सन्दर्भमा नेपाल खानेपानी संस्थान, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मिलेर पानीको नमुना सङ्कलन गरी परीक्षण गरिरहेका छौँ ।
 
हैजा रोगीको अवस्था कस्तो छ ?
अस्पतालहरुले हैजा रोगीलाई निगरानीमा राखेका छन् । सरकारले सर्भिलेन्स गरेका कारण हैजाका बिरामी पुष्टि भएका हुन् । हैजा पुष्टि भएकाहरुको उपचार गरिरहेका छौँ । सर्भिलेनस, वाटर प्लानिङ सर्भिलेन्स, फुड क्वालिटी सर्भिलेन्स, जनचेतना र समन्वयलाई प्राथमिकता दिएर अगाडि बढेका छौँ । सरकारले सबै पाटोमा काम अगाडि बढाएको छ ।
 
बर्खा याम सुरु हुनासाथ झाडापखालाका बिरामी बढेका थिए । यस अघि नै सम्बन्धित निकायले इनार, धारा, जार, बोतलका पानीको नमुना परीक्षण गरेको भए हैजाबाट जोगिन सकिन्थ्यो कि ?
बर्खा याम सुरु भएपछि पानीको नमुना परीक्षण गर्ने पाटो एक जनाको मात्रै होइन । यसमा धेरै वटा निकाय जोडिने गर्छन् । खानेपानीका स्रोत धेरै छन् । खानेपानी उत्पादन गर्ने छुट्टै छन् । पानी शुद्धीकरण गर्ने छुट्टै छन् । तत् निकायका सबैले परीक्षण गरिराखेका थिए । बर्खाको कारणले गर्दा पानी प्रदूषित भएको हो । बर्खा अगाडिको समय र अहिलेको समय फरक छ । किनभने बर्खाले गर्दा पानी प्रदूषित हुने सम्भावना धेरै हुन्छ । बर्खा सुरु भएदेखि संक्रामकजन्य रोग देखिएपछि हामी चनाखो भएर अगाडि बढेका छौँ ।

 

हैजाबाट जोगिनका लागि केके कुरामा सावधानी अपनाउने ?मुख्य कुरा भनेकै पानी उमालेर खानुपर्छ । पानीमा पिउस तथा क्लोरिन ट्याबलेट प्रयोग गर्नुपर्छ । व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । नियमित रुपमा साबुनपानीले हात धुने, खाना खानु अगाडि, फोहोर चलाइ सकेपछि र फोहोरजन्य ठाउँमा काम गरिसकेपछि राम्ररी साबुनपानीले हात धुनुपर्छ । खानाहरु सुरक्षित तरिकाले राख्ने, बासी र सडेगलेका खानेकुरा नखाने, संक्रमणको शंका अलिकति मात्रै लागेमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।
संक्रमण भइ स्वास्थ्य अवस्था गम्भीर भएर अस्पताल जानुभन्दा सुरुवाती चरणमै गएमा उपचारका लागि सहज हुन्छ । यसरी सुरुकै अवस्थामा स्वास्थ्य संस्थामा पुगेको खण्डमा सहज रुपमा उपचार हुन्छ भने अन्य व्यक्तिलाई सर्ने सम्भावना पनि न्यून हुन्छ ।
 
हैजाको संक्रमण देखिएका सबैलाई गम्भीर खालको स्वास्थ्य समस्या देखिन्छ ?
हैजाको संक्रमण भएकामध्ये २० प्रतिशतलाई मात्रै स्वास्थ्यमा समस्या आउने गर्छ । अन्य ८० प्रतिशतलाई त समस्या कम देखिन्छ । त्यसैले स्वास्थ्यमा समस्या आउनासाथ स्वास्थ्य संस्था पुग्नैपर्छ । किनभने पानी, खाना र व्यक्तिगत सरसफाइमा धेरै ध्यान दिनुपर्छ । घरबाहिर खाना, खाजा खाँदा सरसफाइ भएको ठाउँमा मात्रै खानुपर्छ । मुख्य कुरा घरभित्र व्यक्तिगत सरसफाई, खाना सुरक्षित र पानी उमालेर मात्रै खानुपर्‍यो ।
 
धेरैजसो मानिसले जार र बोतलका पानी शुद्ध, प्रशोधित हुन्छ भनेर ढुक्कले पिउने गर्छन् । जार, बोतलका पानी कति शुद्ध छन् ?
जार, बोतलका पानी ढुक्क भएर पिउने अवस्था छैन । त्यसैले हामीले जार, बोतलका पानी पनि अनिवार्य रुपमा उमालेर मात्र प्रयोग गर्नुपर्छ । केही स्थानमा जार, बोतलका पानी पनि प्रदूषित भएको भेटिएको छ ।
 
उपत्यकाका १० स्थानमा हैजाको संक्रमण पाइएको छ । पानी कै माध्यमबाट संक्रमण फैलिएको देखिएको छ । हैजा कतै महामारीको रुपमा त फैलिँदैन ?
अहिले पनि हैजाको संक्रमण फैलने जोखिम उच्च नै छ । त्यसैले सरकार र जनता दुवै पाटोबाट सजगता अपनाउन जरुरी छ । सरकारले हैजा फैलन नदिन काम गरिरहेको छ । जनताले पनि व्यक्तिगत सरसफाइ तथा खाना, पिउने पानीमा विशेष ध्यान दिएको खण्डमा विस्तारै जोखिम कम हुँदै जान्छ । यसो नगरेको खण्डमा जोखिम झन् बढ्दै जान्छ ।
 
सावधानी अपनाउँदा अपनाउँदै यो महामारीको रुपमा फैलिएको खण्डमा सरकारको तयारी कस्तो छ ?
अहिले हामी हैजाको संक्रमण फैलन नदिनका लागि प्रतिकारमा उत्रिएका छौँ । यो पनि तयारी हो । अहिले अवस्था भनेको प्रतिकार्य हो । प्रतिकार्यमा सबै जना लाग्ने हो । स्थानीत तह, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय यो संक्रमणको प्रतिकारमा उत्रिएको छ । यस्तै, युनिसेफ, विश्व स्वास्थ्य संगठन लगायतका संघसंस्था हैजा रोग फैलिन नदिनका लागि सक्रिय भएर लागिसकेका छन् । वर्तमान समयमा तयारी भन्दा पनि प्रतिकार्यमा जुट्ने हो ।

यस्तै, छिमेकी राष्ट्र भारतमा कोभिड–१९ संक्रमण दर बढेको छ । त्यसैले सबैले नियमित रुपमा हात हातको सरसफाइ गर्ने, मास्कको प्रयोग तथा जनस्वास्थ्य नियम अनिवार्य पालना गर्न र गराउनुपर्छ । कोरोनाविरुद्धको खोप नलगाएका, पहिलो मात्रा लगाएर दोस्रो मात्रा नलगाएका, दुवै मात्रा लगाएर बुस्टर डोज नलगाएका र पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउनुपर्छ ।
 
कपिलबस्तुमा हैजा फैलिसकेपछि सरकारले खोपको व्यवस्था गरेको थियो । काठमाडौंमा पनि सरकारले हैजाविरुद्ध खोपको व्यवस्था गर्छ ?
हैजा विरुद्धको खोप भनेको दुई नम्बरको पाटो हो । पहिलो पाटो भनेको शुद्ध पानीको व्यवस्था हो । शुद्ध पानी सुनिश्चित नभएको खण्डमा जनतालाई अनिवार्य रुपमा पानी उमालेर पिउन आह्वान गर्नु हो । व्यक्तिगत सरसफाइ तथा खानेकुरा सरसफाइ भनेको पहिलो पाटो हो । खोपले कतिन्जेल बचाउँछ ? शुद्ध पानी नपिउने र सरसफाइमा ध्यान नदिने अनि खोप लगाएर हैजाबाट बाँचिन्छ भन्ने कुरा ठिक होइन । खोप भनेको दुई नम्बरको पाटो हो । पहिला हामीले पहिलो पाटोलाई प्राथमिकता दिनुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।