उपत्यकामा हैजा : जारको खानेपानी कति सुरक्षित ?
काठमाडौँ उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकपमा हैजा देखिएको हो । उपत्यकामा हैजा फैलने प्रमुख कारण खानेपानी भएको जनस्वास्थ्यविद्हरू बताउँछन् । काठमाडौँ उपत्यकामा जार र बोतलको पानी शत प्रतिशत प्रशोधित शुद्ध ठानेर ढुक्कसँग पिउने गरिन्छ । तर एकाध कम्पनीद्वारा उत्पादन गरिएका जार र बोतलका पानी मात्र पिउन योग्य छन् । तीबाहेक धारामा आउने, ट्याङ्करमा ल्याइने, सिल्बन्दी गरेर बिक्री वितरणका लागि ल्याइका जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था नरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यद्यपि उपत्यकावासीले प्रशोधित र शुद्ध ठानेर पिउने पानी ८२ प्रतिशत प्रदूषित तथा हानिकारक रहेको अध्यानहरूले देखाएका छन् ।
सरकारले जनताको स्वास्थ्यसँग प्रत्यक्षसम्बन्ध राख्ने पिउने पानीको नियमित गुणस्तर परीक्षण तथा अनुगमन नगरेकाले ठाउँठाउँमा हैजाजन्य सङ्क्रामक रोग फैलिएको उपभोक्ताहरू बताउँछन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०२० गरेको एक अध्ययनले बागमती नदी छेउछाउका धारा, इनार, कलबाट निकालिएका पानीको ५२ वटा नमुनामा ८५ प्रतिशत स्थानमा कोलिफर्मको किटाणु भेटिएको थियो । यस्तै ५० वटा जारको पानीका नमुना सङ्कलन गरी परीक्षण गर्दा ७६ प्रतिशत इकोलाई, ९२ प्रतिशतमा कोलिफर्म भेटिएको थियो ।
कोलिफर्म र इलोलाई दिसामा पाइने सूक्ष्म जीवाणु हो । यसले झाडापखाला, हैजा फलाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् ।
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० महिनाको अवधिमा २०८ वटा नमुना सङ्कलन गरी परीक्षण गर्दा ३९ कम्पनीको जारको पानी पिउन अयोग्य देखाएको छ । शुद्ध प्रशोधित पानी भनेर बिक्रीमा राखिएका ती जार र बोतलका पानीमा कोलिफर्म, भिवरियो कलेरा, साल्मोनेला लगायतका ब्यक्टेरिया भेटिएका थिए । यस गर्दा हैजा, झाडापखाला, टाइफाइडलगायत सङ्क्रमणजन्य रोगहरूले सताउने चिकित्सक बताउँछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक शैलेशकुमार झाले पिउने पानीको नमुना सङ्कलन कार्य भइरहको बताए । नमुना सङ्कलनपछि तिनको परीक्षण गरिने उनले बताए । खाद्य विभागले विभिन्न निकायहरूसँग समन्वय गरेर नमुना सङ्कलन गरिरहेको उनले बताए । खाद्य विभागले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ अनुसार पानीको गुणस्तरको परीक्षण गरेको दाबी गरे पनि काठमाडौँका विभिन्न स्थानका १२ मानिसमा हैजा देखिएको छ ।
यता जनताको स्वास्थ्यमा प्रत्यक्ष सम्बन्ध राख्ने पिउने पानीको गुणस्तरका विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चासो नदेखाएको उपभोक्ताकर्मीहरूको आरोप छ ।
उपभोक्ताकर्मी माधव तिमिल्सेनाले प्रशोधित र गुणस्तरीय खानेपानी भनेर बजारमा बेचिए पनि अनुगमन गर्दा गुणस्तरहीन पानी उत्पादन गर्ने कम्पनीलाई विभागले कारबाही नगरेको उनी सुनाउँछन् । जार र बोतलको मात्रै पानी नभएर धारा र ट्याङ्करमा आउने पानीमा पनि हैजाजन्य रोग सङ्क्रमणको उच्च जोखिम रहने उनी बताउँछन् ।
फोहोरमैला सही तरिकाले व्यवस्थापन नगर्ने उपत्यकामा हैजासँगै अन्य सरुवाजन्य रोग फैलने खतरा बढेको उनी बताउँछन् ।
जार, बोतलको पानीको गुणस्तरबारे उपभोक्ताबाट गुनासो कम आउने गरेको भन्दै हात बाँधेर बसेको गुण नियन्त्रण विभागले उपत्यकामा हैजा फैलँदासमेत धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षण गरी जानकारी दिनुको सट्टा सम्बन्धित निकाय मौन बसेको उनले बताए ।
यस्तै उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सेनाले नियमन, अनुगमन फितलो हुँदा पानीका जार र बोतल उत्पादक कम्पनी नागरिकप्रति जिम्मेवार नबन्दा ढुक्कले पानी पिउन सकिने अवस्था नरहेको बताउँछन् । यद्यपि केही जार र बोतलका पानी गुणस्तरीय रहेको पनि उनीहरूको भनाइ छ ।
सरकार आफैँले वितरण गर्ने पानी जबसम्म गुणस्तर बनाउन सक्दैन तबसम्म जार, बोतलमा उत्पादन हुने गुणस्तरहीन पानी उत्पादन गर्ने कम्पनीलाई कारबाही गर्न नसक्ने तिमिल्सेनाको जिकिर छ ।
‘सरकारले दिने अर्थात् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले धारामा आउने खानेपानी कतिको गुणस्तर छ ? के जनताले धारामा आउने पानी नउमालीकन पिउन सक्छन् ?’ उनी भन्छन्, ‘जबसम्म सरकार आफैँले वितरण गर्ने पानीलाई गुणस्तरीय बनाउन सक्दैन तबसम्म गुणस्तरहीन पानीका जार, बोतल उत्पादन गर्ने कम्पनीलाई सही तरिकाले औँला ठड्याउन सक्दैन ।’
नागरिकको सेवाप्रति राज्य उत्तरदायी नभएको उनको आरोप छ ।
यस्तै उपभोक्ता हित संरक्षणकर्मी माधव तिमिल्सेनाले जार बोतलमा बिक्री गरिने पानीको नमुना सङ्कलन गरी परीक्षण गर्ने, यो कम्पनीले उत्पादन गरेको पानीमा समस्या देखियो भनेर आम जनतालाई विभागले जानकारी दिनुपर्ने हो तर व्यवहारमा त्यस्तो नगरेको उनको आरोप छ ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमिल्सेनाले जार र बोतलको पानी ढुक्क भएर पिइए पनि नाङ्गो आँखाले किटाणु देख्न नसक्ने भएकाले गुणस्तर विभागले नमुना परीक्षण गरी जनतालाई जानकारी दिनुपर्ने दायित्व रहेको उनी बताउँछन् ।
काठमाडौँ उपत्यकामा बजारका चोकचोक अनि सडक छेउमा थुप्रिएको फोहोरसँगै दैनिक वर्षा हुँदा पानीमार्फत ठाउँठाउँमा हैजा पुष्टि भएको हुन सक्ने भएकाले जार, बोतलसँगै धारा, इनारको पानीको नमुना परीक्षण गरी जनतामा चेतना फैलाउनु पर्ने उनको जोड छ ।
विभागले नियमित रूपमा विभिन्न कम्पनीद्वारा उत्पादित जार, बोतल, जमिनको पानीको नमुना परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
पानीमार्फत सङ्क्रमणजन्य रोग फैलन नदिन सहरी विकास तथा ढल विकास, खानेपानी संस्थान, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महत्त्व नदिँदा समस्या सिर्जना भएको उनले बताए । यस्तै सरुवाजन्य रोग फैलन नदिन सरकारले अनुगमनका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
अघिल्ला अघिल्ला वर्ष पानी उत्पादन गर्ने कम्पनीको अनुगमन गर्दा कुनै पनि कम्पनीले गुणस्तरीय पानी उत्पादन गरेको नपाइएको समेत उनले सुनाए । जार, बोतलमा पानी उत्पादन गर्ने कम्पनी एकाधबाहेकले गुणस्तरहीन पानी उत्पादन गर्दासमेत सरकार मौन बसेको उपभोक्ताकर्मीहरूको भनाइ छ ।
उपभोक्ताकर्मीले गुणस्तरहीन पानी बोच्नेलाई सरकारले कारबाही नगर्दा हैजा लगायतका सङ्क्रामक रोग फैलाउने खतरा झन बढाएइएको भन्दै चिन्ता प्रकट गरे ।
यस्तै खानेपानी विभाग, काठमाडौँ उपत्यका खानेपानी विभागलाई काठमाडौँका धारामा आउने पानीका पाइपमा मिसावट पत्ता लगाउन निर्देशन दिएको छ ।
यसरी थाहा हुन्छ गुणस्तरीय पानी
बजारमा पाइने जार वा बोतलमा राखिएको पानीको शुद्धता नाङ्गो आँखाले हेरेर थाहा पाउन सकिँदैन । धेरै मानिसलाई जार र बोतलको पानी भन्नासाथ स्वच्छ भन्ने लाग्छ । तर सबै जार र बोतलका पानी प्रशोधित हुँदैनन् । त्यसैले जार, बोतल किन्न जाँदा उपभोक्ताले लेबल प्रस्टसँग हेर्नुका साथै पानीको उत्पादन मिति, ब्याच नम्बर र उपभोग मिति प्रष्टसँग उल्लेख गरिएको खण्डमा मात्रै पिउनुपर्ने गुणस्तर विभागले जनाएको छ । यस्तै जार र बोतल फुटेको, लेउ लागेको, कोत्रिएर किच्चिएरको भएमा किन्न हुँदैन । यस्तै जार र बोतलको बिर्कोलाई राम्ररी प्लास्टिकले घेरको मात्रै किन्न विभागको सुझाव छ । यस्तै जार र बोतलको बिर्कोमा बेरिएको पातलो प्लास्टिक र त्यसमा टासिएको स्टिकरमा उत्पादित कम्पनीको नाम मिलेको खण्डमा मात्रै प्रयोग तथा उपभोग गर्नुपर्ने हुन्छ ।
पानीको गुणस्तरमा खेलवाड गरेमा उजुरी दिऔँ
प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ जारी गरिएको छ । मापदण्ड आधारभन्दा बाहिर गई कसैले कैफियत गरे कारबाही हुने निर्देशिकामा उल्लेख गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमिल्सेनाले उपभोक्ताले उजुरी दिने बानी बसाल्न आग्रह गरे । केही प्रशोधन उद्योगले जमिनबाट तान्ने बोतलमा राखेर मिनरल वाटरसमेत भन्ने गरेको पाइएको छ । यस्तै मिसावट, न्यून गुणस्तरको खाद्य पदार्थको उपभोगले स्वास्थ्यमा असर परेमा पीडितलाई क्षतिपूर्ति तिराउन सकिन्छ ।
के हो हैजा ?
भिब्रियो कोरेला नामक ब्याक्टेरियाका कारण लाग्ने झाडापखालालाई हैजा भनिन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार सो ब्याक्टेरिया शरीरभित्र पस्यो भने पखाला लाग्ने गर्छ, जसलाई हैजा भनिन्छ । डा. शर्माले परिवारको एक जना सदस्यमा हैजा भए लगभग सबै सदस्यलाई सर्ने बताए ।
हैजा हुँदा एकोहोरो चौलानी जस्तो दिसा लाग्नुका साथै बान्ता हुनु यसको प्रमुख लक्षण रहेको डा. शर्मा बताउँछन् ।
यस्तै हैजा हुँदा कम्तीमा ५ देखि ८ दिनसम्म लक्षण देखापर्न सक्छन् । हैजा भएको खण्डमा जलवियोजनमा कमी आउने गर्छ । जलवियोजनका कारण पेट दुख्ने, छाला चिसो हुने, तौल घट्ने, आँखा गढ्ने, छाला नीलो हुने लगायतका लक्षण देखा पर्छन् ।
डा. शर्माका अनुसार हैजाका कारण शरीरमा पानीको मात्रा कम हुँदै जाने भएकाले त्यसपछि पिसाब बन्द भई मिर्गौला बिग्रने सम्भावना हुन्छ । ‘हैजा सबै उमेर समूहमा देखिन सक्छ,’ उनी भन्छन्, ‘दीर्घरोगी, बालबालिकालाई कडा लक्षण देखिन सक्ने भएकाले सजग हुनुपर्छ ।’
हैजा भएका व्यक्तिले ध्यान दिनुपर्ने कुरा
हैजा भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्ने डा. शर्माको सुझाव छ । दाल, दही, जुस तथा फलफूल प्रशस्त मात्रामा खुवाउनुपर्ने उनको आग्रह छ । यस्तै प्रशस्त मात्रामा जीवनजल खुवाउने, यदि जीवनजल उपलब्ध नभएमा उमालेको सफा ६ गिलास पानीमा ६ चम्चा चिनी र आधा चम्चा नुन घोलेर खुवाउन उनको सुझाव छ ।
घरेलु उपचारबाट पनि निको भएन भने तत्काल स्वास्थ्य संस्था लैजानुपर्ने उनले बताए । झाडापखाला अनि बान्ता आयो भन्दैमा अनुमानको भरमा जथाभावी औषधि किनेर खान तथा खुवाउन नहुने उनी बताउँछन् ।
हैजाबाट बच्ने उपाय भनेकै व्यक्तिगत सरसफाइ हो । यस्तै बासी खानेकुरा नखाने, फोहोरजन्य खाना नखाने, दिसापिसाब गरेपछि राम्रोसँग साबुनपानीले हात हुनुपर्ने उनको सुझाव छ । पानीको मुहानमा बेलाबेलामा सफा गर्र्ने बर्खाको समयमा पानी उमालेर खाने, अनि फोहोरलाई राम्रोसँग विसर्जन गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा