बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई ‘स’ को विपक्षमा माओवादी–समाजवादी

काँग्रेसमाथि दबाब बढाउन ‘शरण र सती’ बहिष्कारको रणनीति
आइतबार, १२ असार २०७९, १३ : ५४
आइतबार, १२ असार २०७९

काठमाडौँ । स्थानीय निर्वाचनमा काँग्रेसको नेतृत्वमा गठबन्धन गरेर चुनावमा गएका ५ दलमध्येका नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी आगामी निर्वाचनमा हालको गठबन्धनबाहेकको विकल्प पनि सोच्न थालेका छन् । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा हालको सत्ता गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा यी दलमा विवाद नभए पनि दुवै दलले विकल्प पनि सोच्न थालेका हुन् । दुवै दल दुई ‘स’ अर्थात ‘शरण र सती’ को विपक्षमा उभिँदै आफ्नो रणनीति बनाउन व्यस्त छन् ।

माओवादीले गठबन्धनका नाममा काँग्रेसको ‘सती’ नजाने बताएको छ भने नेकपा एकीकृत समाजवादीले गठबन्धनको ‘शरण’मा भर नपर्ने जनाएको छ । दुवै दलले अघि सारेको यो नीतिले काँग्रेसमाथि दबाब बढ्ने उनीहरूको बुझाई छ । दुई ‘स’ बहिस्कार गर्ने दुई दलको नीति व्यवहारमै कार्यान्वयन भए काँग्रेस सोच्न बाध्य हुनेछ । यदि नसोचे गठबन्धनको आगामी सहकार्य र भविष्यमाथि नै प्रश्न उठ्ने नेताहरूको भनाई छ ।

सत्ता गठबन्धनमा हाल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् । गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरका पालिकामध्ये झण्डै ३० प्रतिशतमा मात्र गठबन्धन गरेका पाँच दलले नेतृत्वकर्ता दलले इमानदारिता नदेखाएको तथा सबैभन्दा बढी फाइदा काँग्रेस आफैले मात्र लिएको माओवादी र समाजवादीको बुझाई छ ।

आगामी निर्वाचनमा पनि यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि काँग्रेसको भूमिकाबाट आगामी यात्रा र सहकार्यको मोडालिटी निर्धारण हुने माओवादी र एकीकृत समाजवादीका नेताहरूको भनाइ छ । स्थानीय निर्वाचनमा काँग्रेसले आफूलाई बढी फाइदा हुने र गठबन्धनका अन्य दललाई घाटा हुने गरी चलाखी गरेको भन्दै काँग्रेस नसच्चिए विकल्प खोज्न बाध्य हुने उनीहरूको चेतावनी छ ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले केही दिनअघि रातोपाटीसँगको अन्तरवार्तामा गठबन्धनका नाममा काँग्रेससँग ‘सती’ जान नसकिने टिप्पणी गरेका थिए । साथै उनले आफूहरू राजनीतिक र कानुनी रूपमा जो कसैसँग पनि छलफल गर्न खुला रहेको भन्दै एमाले सच्चिए चुनावसम्म फरक गठबन्धन बन्ने सक्ने सङ्केत गरेका थिए ।

‘अहिलेको गठबन्धन एउटा निश्चित एजेण्डामा बनेको हुनाले र अहिले पनि ती एजेण्डा आवश्यक भएकाले गठबन्धन बनाएर जाऔँ भन्ने हो, यसमा अर्को पक्षले कसरी हेर्छ भन्ने मुख्य कुरा हो’, पुनले भने,‘हेपेर, थिचेर, ह्युमिलेट गरेर माओवादी बाध्य भएर कहीँ जाँदैन । बाध्य भएर यही आउँछन् भन्ने गरी कसैले सोच्यो भने कसरी गठबन्धन हुन्छ र ?त्यसै गरी काँग्रेससँगै सती जानुपर्छ भन्ने पनि छैन ।’

​शनिबार सिन्धुपाल्चोक पुगेका नेता पुनले आगामी संसदीय निर्वाचनमा स्थानीय चुनावमा जस्तो काँग्रेसले चलाखी गर्न खोजे गठबन्धन टुट्न सक्नेसम्मको चेतावनी दिए ।

‘आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा काँग्रेस सिङ्गल लड्ने गरेको देखियो । अब त्यो चलाखी चल्दैन,’ नेता पुनको भनाइ थियो । आफूहरू गठबन्धन टुटाउने पक्षमा नभए पनि सत्ता घटकहरूमा सम्मानजनक व्यवहार नभए टुट्न सक्ने पुनको चेतावनी थिए ।

तर उनले ओली प्रवृत्तिले संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको भन्दै गठबन्धनको अझै जरुरी रहेकोमा जोड दिए । उनले भने, ‘अहिले बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’

अर्को सत्ता घटक नेकपा एकीकृत समाजवादीको विश्लेषण पनि खासै फरक छैन । गएको चुनावमा गठबन्धन गर्दा आफूलाई सबैभन्दा बढी घाटा भएको विश्लेषण गरेको यो पार्टीले अहिलेको गठबन्धनभन्दा अन्य विकल्प नदेखे पनि अब भने सबैसँग छलफल गर्ने ढोका खुला गरेको छ ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एक स्टेपपछि हटेर पाँच दलभन्दा बाहिर गएर छलफल र सहकार्य गर्नसक्ने तर कसैको शरण भने नपर्ने बताए । 

‘हामी सबैसँग सहकार्य गर्छौँ । सहकार्यका लागि छलफल गर्न पनि खुला छौँ, ’ प्रचार विभाग प्रमुख खतिवडाको भनाइ छ । उनले पाँच दलीय गठबन्धन नै पहिलो प्राथमिकता भएको पनि बताए । ‘पाँच दलभन्दा बाहिरका दलसँग पनि खुला छलफल गर्नेछौँ । देशभक्त र वामपन्थीहरूसँग व्यापक सहकार्य चाहन्छौँ । सबै राजनीतिक दल र व्यक्ति–व्यक्तिसँग समूह–समूहसँग भेट्न तयार छौँ,’ खतिवडाले आफूहरूको पहलमा पहलमा देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको नयाँ ध्रुव सिर्जना हुनसक्ने बताए ।

‘माओवादी र नेकपा एसको प्राण गठबन्धनमा’

माओवादी केन्द्र र समाजवादीको पछिल्लो रणनीति आगामी संसदीय निर्वाचनमा काँग्रेससँगको सिट बाँडफाँड र चुनावी तालमेलको मोडालिटीसँग अन्तरसम्बन्धित छ । चुनावी मिति घोषणा नहुँदै माओवादी र समाजवादीले सिट बाँडफाँड सही ढङ्गले हुनुपर्ने र त्यसको मोडालिटीसमेत चाँडै तय गर्नुपर्ने प्रधानमन्त्री देउवासँग बताइसकेका छन् । यसबाट पनि अबको चुनावमा आत्मसम्मान हुने गरी सिट बाँडफाँड हुनुपर्छ र यसमा काँग्रेस तयार नभए गठबन्धनबाट अलग हुनसक्छौँ भन्ने सन्देश दिन खोजिरहेका छन् । सोही अनुसार माओवादी र समाजवादीका दोस्रो तहका नेताहरूको पछिल्लो अभिव्यक्ति आउन थालेको काँग्रेस नेताहरूको बुझाई छ ।

रावणको प्राण नाभीमा अडेको छ भनेर विभीषणले भनेजस्तै उनीहरूको प्राण गठबन्धनमा अडेको घिमिरेको भनाइ छ ।  ‘निर्वाचनमा बढी सिट कसरी लिन सकिन्छ ? भनेर त्यसका दबाब बढाउन काँग्रेसको चलाखी, सती, शरण जस्ता शव्दबाण हानिरहनुभएको छ, ’ घिमिरेको विश्लेषण छ ।

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार अगामी चुनावमा गठबन्धन गर्ने या नगर्ने भन्नेबारे उपल्लोस्तरमा छलफल भइरहेको भन्दै समाजवादी र माओवादीका नेताहरुले पछिल्लो पटक दिएका अभिव्यक्तिहरू औपचारिक नभएको बताउँछन् । उनले भने, ‘उहाँहरूले बाहिर भाषण गरेको विषयलाई औपचारिक मान्न सकिँदैन, भाषण गर्दा कार्यकर्ताको मनोबल बढाउन पनि बोल्नुपर्छ ।’

उनले यसबारे औपचारिक छलफल टेबलमा आएपछि मात्रै हुने पनि बताए । ‘टेबलमा आएको कुरा मात्रै हामीले आधिकारिक मान्छौँ’, परियारको भनाइ छ । उनले अहिले नै काँग्रेसले धारणा बनाउनु राम्रो नहुने पनि बताए ।

अर्का सहमहामन्त्री किशोरसिंह राठोर अहिलेसम्म प्रचण्ड, माधव र शेरबहादुर गठबन्धनकै पक्षमा रहेको बताउँछन् । ‘अरूले के बोल्छन् भन्नेमा खास अर्थ राख्दैन । प्रधानमन्त्रीले गठबन्धनलाई अघि बढाउने नीति नै लिनुभएको छ । काँग्रेसको नीति त्यहीँ हो । थप घटनाक्रम केही भएको छैन’, राठोरको दाबी छ ।

तर, काँग्रेसका अर्का नेता गुरुराज घिमिरे माओवादी र समाजवादीका नेताहरूबाट पछिल्लो पटक आइरहेका अभिव्यक्ति काँग्रेसमाथि दबाब बढाउने रणनीति अन्तर्गत आएको विश्लेषण गर्छन् । ‘अबको चुनावमा गठबन्धनको आवश्यकता काँग्रेसलाईभन्दा बढी माओवादी र समाजवादीलाई छ । यस्तो बेला उहाँहरूले गठबन्धन छोड्न या तोड्न सक्नुहुन्न,’ घिमिरेले रातोपाटीसँग भने,‘गठबन्धन भनेको उहाँहरूका लागि सञ्जीवनी हो । सिट बाँडफाँडमा काँग्रेसलाई दबाब दिएर बढी सिट आफूले लिने रणनीतिमा उनीहरू लागेका हुन् ।’

रावणको प्राण नाभीमा अडेको छ भनेर विभीषणले भनेजस्तै उनीहरूको प्राण गठबन्धनमा अडेको घिमिरेको भनाइ छ ।  ‘निर्वाचनमा बढी सिट कसरी लिन सकिन्छ ? भनेर त्यसका दबाब बढाउन काँग्रेसको चलाखी, सती, शरण जस्ता शव्दबाण हानिरहनुभएको छ, ’ घिमिरेको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप