बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

संकटको भुमरीमा माधव नेपाल : तोड्लान् पार्टीभित्र र बाहिरको घेराबन्दी ?

शुक्रबार, १० असार २०७९, १६ : ५६
शुक्रबार, १० असार २०७९

 झण्डै १० महिना अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर अलग हुँदै नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल संकटको भुमरीमा फसेका छन् । ओली सरकारलाई हटाउनदेखि शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्दैै ५ दलीय गठबन्धन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता नेपाल समयक्रमसँगै गठबन्धनमा मात्रै होइन, आफ्नै पार्टीभित्र समेत निरीह बन्न पुगेका हुन् ।

पछिल्लो समय नेता नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी उनको काबुभन्दा बाहिर जान थालेको छ । पार्टीका मन्त्री हेरफेरको निर्णयले पार्टीमामात्रै नभएर सत्ता गठबन्धनमै हलचल उत्पन्न भएपछि नेता नेपाल पार्टीभित्र थप कमजोर बन्न पुगेका हुन् । यहाँसम्म कि, नेता नेपालले आफ्नो पार्टी कमिटीमा गरेको निर्णय न पार्टीका नेताहरुले मानिरहेका छन्, न सत्ता गठबन्धनले नै स्वीकार गर्न सकेको देखिन्छ । यसरी पार्टीभित्र र सत्ता गठबन्धनबाट अपेक्षाकृत सहयोग नपाएपछि नेता नेपाल संकटको भुमरीमा फस्न बाध्य भएको नेकपा समाजवादीकै नेताहरुको भनाइ छ ।

कम्युनिस्ट नीति, विचार र सिद्धान्तको चर्को वकालत गर्दै आएका नेता नेपाल आफ्नै पार्टीमा पछिल्लो समय मौलाएको अराजकतालाई समयमै पर्गेल्न असमर्थ हुँदा उनी निरीह र कमजोर यात्रातर्फ धकेलिएका छन् ।

‘पार्टीभित्र मौलाएको अराजकता समयमै पर्गेल्न नसक्दा अध्यक्ष कमरेडले एकपछि अर्को संकट झेल्नुपर्ने अवस्था देखिँदैछ’, नेकपा समाजवादीका एक पोलिटव्युरो सदस्य भन्छन्, ‘पार्टीभित्रै कमजोर हुन थालेपछि बाहिरबाट समेत अपेक्षाकृत सहयोग हुन सकेन ।’

पार्टी गठन गरेको १० महिना नपुग्दै नेपालको पार्टीमा विद्रोहको ज्वारभाटा यसरी देखिन थालेको छ कि उल्टै नेता नेपालमाथि नै अनगिन्ती प्रश्न खडा भएका छन् ।

शुक्रबार चार मन्त्रीसहित १० सांसदहरुले नेता नेपालमाथि ८ प्रश्न तेर्स्याउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको असन्तुष्ट नेताहरुको आरोप छ । उनीहरुले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने दाबी गरेका छन् । आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उनीहरुलाई अन्य ६ जना सांसदले समेत समर्थन जनाएर हस्ताक्षर गरेका छन् ।

मन्त्रीलाई समर्थन गर्नेहरुमा कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् । उनीहरुले नेता नेपाललाई गराएको ध्यानाकर्षणमा नयाँ मन्त्रीहरुको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तका आधारमा पठाउनुपर्ने माग पनि गरेका छन् ।

आफैले विश्वास र भरोसा गरेका सांसद र नेताहरुले गरेको प्रश्नको वर्षाले नेता नेपाल अझ कमजोर बन्दै जाने संकेतहरु देखिएका छन् । पार्टीभित्र कमजोर बन्न थालेपछि उनलाई गठबन्धन घटक दलहरुले समेत बेवास्ता गरिरहेका छन् । दोहोरो संकटमा परेका उनले आफूमाथि लागेको संकट कसरी पार लगाउलान् ? त्यो हेर्न भने केही दिन पर्खनुको विकल्प छैन ।

मन्त्रीको लफडाले संकट

नेकपा एकीकृत समाजवादीको गत जेठ २१ गते बसेको सचिवालय बैठकले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गर्यो । पूर्ववत सहमतिअनुसार नै उनीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने सचिवालयको यो निर्णयप्रति सरकारमा रहेका मन्त्रीहरु सन्तुष्ट थिएनन् । सचिवालयको यस्तो निर्णयप्रति असन्तुष्ट रहेका मन्त्रीहरुले अध्यक्ष नेपाललाई निर्णय फिर्ता गर्न औपचारिक÷अनौपचारिक दबाब दिन थाले । तर अध्यक्ष नेपाल आफ्नो निर्णयबाट पछि नहट्ने संकेत देखेपछि बहालवाला मन्त्रीहरु प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुहार्न पुगे । नेकपा समाजवादीको मन्त्री फेर्ने निर्णय सार्वजनिक भएसँगै अरु पार्टीमा पनि शीर्ष नेतालाई मन्त्री फेर्न स्वाभाविक दबाब बढ्न थाल्यो । यस्तो दबाब देउवादेखि प्रचण्ड हुँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा समेत पुग्यो । पार्टीभित्र यस्तो दबाब बढ्न थालेपछि प्रचण्ड र देउवाले समाजवादीका मन्त्री हेरफेर केही दिन पछिमात्रै गर्नु उपयुक्त हुने निश्कर्ष निकाले । सोही अनुसार देउवा र प्रचण्डले अध्यक्ष नेपाललाई केही दिन पर्खन आग्रह गरे ।

तर यता नेता नेपाललाई नयाँ मन्त्रीका रुपमा सिफारिस भएका नेताहरुले ६ महिनाका लागि भनेर पठाएका मन्त्रीहरु नौ महिनासम्म पनि फेर्न नसक्ने भन्दै दबाब दिन थाले । त्यसपछि असार १ गते बसेको स्थायी कमिटी बैठकले सचिवालयले मन्त्री फेर्न गरेको निर्णय अनुमोदन गर्दै तत्काल मन्त्री हेरफेर कार्यान्वयन गर्ने निर्णय ग¥यो ।  त्यसपछि आज, भोलि, पर्सि भन्दै नेताहरुले मन्त्री हेरफेर भएरै छाड्ने बताए पनि मन्त्री हेरफेर टर्दै गयो ।

घण्टा होइन दिन नै बित्यो

असार ९ गते बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेर दिनमा नभएर घण्टामा हुने र त्यसका लागि अध्यक्ष नेपालले अग्रसरता लिने निर्णय ग¥यो । बुधबार बेलुका बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई मन्त्री हेरफेर गर्न पुनः स्मरण गराए । तर त्यस दिन देउवाले यसबारे छुट्टै भेटेर कुराकानी गर्ने बताएपछि बिहीबार बिहान फेरि नेता नेपालले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरे ।

बिहीबार देउवा र प्रचण्डलाई भेटेको केहीबेरमै अध्यक्ष नेपालले केन्द्रीय सचिवालय बैठक बोलाए । उक्त बैठकमा समेत मन्त्री हेरफेरको विषयमा नेताहरुबीच घोचपेच र विवाद भयो । त्यसअघि नै बुधबार बेलुका मन्त्री रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) नेपाल निवास कोटेश्वर पुगेर आफूहरुलाई नहटाउन दबाब दिइसकेका थिए । बिहीबार बसेको सचिवालय बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्री हेरफेर दिनमा होइन घण्टा भित्रै हुने बताएका थिए । तर खतिवडाले यस्तो भनेको २४ घण्टा बित्दा पनि मन्त्री हेरफेर भएका छैनन् । 

‘प्रचण्डको प्रभावमा देउवा परे’

चौतर्फी घेरबन्दीमा परेका अध्यक्ष नेपालले शुक्रबार बसेको पार्टी पोलिटब्युरो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका अन्य नेताको प्रभावमा परेर आफ्नो पार्टीका मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको बताए ।

बैठकमा उनले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्री फेर्नेबारे आफूले प्रधानमन्त्री देउवासँग पटक–पटक कुराकानी गरे पनि प्रधानमन्त्री देउवाले कार्यान्वयनमा चासो नदेखाएको गुनासो गरेका हुन् ।

‘मन्त्री फेर्ने हाम्रो पार्टीको निर्णय कार्यान्वयन गर्न मैले प्रधानमन्त्री देउवाजीलाई पटपटक भनेको छु तर कार्यान्वयन भइरहेको छैन । निर्णय कार्यान्वयन नहुनुमा गठबन्धनकै अन्य नेताको प्रभाव परेको हुनसक्छ’, बैठकमा सहभागी एक नेताले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भूमिका बढी जिम्मेवार देखिन्छ ।’

के गर्लान् अब नेपाल ?

समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरु आफूलाई अहिले नै हटाउन नहुने र सिफारिस भएकाहरु तत्काल आफूहरुले शपथ लिन पाउनुपर्ने बताइरहेका छन् । बजेट पारित नभई आफूहरुलाई हटाए जे पनि हुनसक्ने बहालवाला मन्त्रीहरुको चेतावनी छ । यस्तो अवस्थामा नेता नेपालले कस्तो निर्णय गर्लान् भन्ने चासो पनि उत्तिकै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको दाबी गरे । उनले नेतृत्वले गल्ती महसुस नगरे आफूहरु जस्तोसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी समेत दिए । ‘अपमान गर्न खोजेको हामीले महसुस गरेका छौं, यस्तै अवस्था रहे हामी जस्तोसुकै निर्णय गर्न बाध्य हुनेछौं’, श्रेष्ठले भने, ‘पार्टीमा विभाजन र बिग्रह आउने कुरा सोचेका छैनौं तर डीलमा लगेर लात्ताले हान्न थालियो भने जे पनि गर्नुपर्ने हुनसक्छ ।’​

माधवले खेलाडी नचिनेकै हुन् ?

नेकपा समाजवादीमा मन्त्री समेत रहेका प्रेम आले, कृष्णकुमार श्रेष्ठ राजनीतिकभन्दा बढी व्यावसायिक पृष्ठभूमिका नेता भनेर चिनिन्छन् । एमाले विभाजनका बेला समेत उनीहरुकै शक्तिका आडमा नेता नेपाल हिँडेको कतिपयको बुझाई छ । समाजवादीमा पछिल्लो समय देखिएको किचलोकै बीच एमाले नेता योगेश भट्टराईले उनै आले र श्रेष्ठप्रति संकेत गर्दै आफूले उतिबेलै ती खेलाडीहरु चिने पनि माधव नेपाल र झलनाथ खनालले नचिन्दा आज यो अवस्था आएको बताएका छन् ।

‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ’, नेता भटटराईले शुक्रबार सामाजिक सञ्जालमा भनेका छन् । 

त्यस्तै उनले आफूहरुले त्यतिबेलै चिनेका खेलाडीहरु माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने टिप्पणी समेत गरेका छन् । ‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्माबोध र पश्चाताप : सिर्फ कहिले ?’, भट्टराईको नेपाल र खनाललाई प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप