बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवासँग महामन्त्री थापा र शर्माले के-के विषयमा गरे छलफल ?

सोमबार, ०६ असार २०७९, १४ : ५१
सोमबार, ०६ असार २०७९

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। सोमबार विहान बालुवाटार पुगेर थापा र शर्माले देउवासँग पार्टी र समसामयिक राजनीतिक घटनाक्रममाथि केन्द्रित रहेर छलफल गरेका हुन्।

पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे आन्तरिक छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जनाकारी दिएको छ । उक्त विषयमा भोलि  थप छलफल हुने छ । गत मंसिरमा १४ औं महाधिवेशन गरेको काँग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थान छ । तर काँग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ । पार्टीका विभिन्न समिति र विभाग गठनमा भएका छैनन् ।

 असार १० गतेभित्र अनुशासन समिति केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय विभागहरु गठनका लागि उनीहरुले पनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । पार्टी संरचना मात्र होइन भ्रातृ संस्था पनि लथालिङ्ग अवस्थामा छन् । गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियो । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई छ । तर सभापति देउवाले फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनित भएपनि बाँकी भ्रातृ संस्थामा नेतृत्व दिन सकेका छैनन् । 

नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघमा ४ महिनादेखि नेतृत्व छैन । आगामी केन्द्रीय समिति बैठकमा यी विषयलाई एजेण्डा बनाउने काँग्रेसको तयारी छ । मंगलबारको छलफलपछि केन्द्रीय समिति बैठकको टुंगो लाग्ने छ । काँग्रेसले स्थानीय निर्वाचनको समीक्षा बैठक समेत राखेको छैन । महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री देउवालाई राष्ट्रिय राजनीति लगायतका विषयमा पनि  छलफल गरेका थिए ।

उनीहरूले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्न सुझाएका थिए । राष्ट्रिय सहमति जुटाएर  एसपिपी सधैंका लागि बन्द गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्। ‘साझा धारणा बनाएर एसपिपीलाई सधैंका लागि बन्द गरिदिनुस् सरकारका तर्फबाट पत्र पठाएर एसपिपीको विषय बन्द गरौं,’ उनीहरुको भनाइ थियो ।

महामन्त्रीद्वयले विदेशमा रहेका नेपालीले मत दिन पाउने व्यवस्थाबारे निर्वाचन आयोगसँग छलफल गर्न आग्रह गरेका थिए । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकोले जनतालाई राहत दिने कार्यक्रम सरकारले ल्याउनुपर्ने उनीहरुको माग थियो। त्यस्तै शेयर बजारमा देखिएको समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्न आग्रह गरे । रेलबेको मुआब्जाबारे पनि समाधानका लागि सरकारले पहल गर्नुपर्ने उनीहरूको धारणा थियो।​

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप