शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनको ६ महिना : देउवाको पारा पुरानै

बिहीबार, २६ जेठ २०७९, १० : ४१
बिहीबार, २६ जेठ २०७९

नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको भोलि (जेष्ठ २७) ६ महिना हुँदैछ । गत मंसिर २७ मा १४ औं महाधिवेशन गरेको काँग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन ।
काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थान छ । तर काँग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ ।

१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्ने बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १४७ जना सदस्य मात्र छन् । सभापति २१ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । यस्तै काँग्रेसको कार्यसम्पादन समिति पनि अपुरो छ । पार्टी विधान अनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३७ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्ड पनि पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र छन् । बाँकी सदस्य मनोनित गर्न सभापति शेरबहादुर देउवाले नसकेको अवस्था छ ।

पार्टीका विभिन्न समिति र विभाग गठनमा पनि सभापति देउवाले चासो देखाएको पाइँदैन । काँग्रेसले अहिलेसम्म अनुशासन समिति गठन गर्न सकेको छैन । पार्टीको आचारसंहिता पालन गराउन र अनुशासन कायम राख्न केन्द्रीय कार्यसमितिले आफू मध्येबाट केन्द्रीय अनुशासन समिति गठन गर्ने व्यवस्था छ । केन्द्रीय अनुशासन समितिमा एक जना संयोजक र चार जना सदस्य रहने काँग्रेसको विधानमा उल्लेख छ । गत माघ २७ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अनुशासन समिति गठनको प्रस्ताव आएको थियो । तर बैठकले निर्णय लिन सकेन । यस्तै केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय विभागहरु गठनमा पनि सभापति देउवाको ध्यान जान सकेको छैन । 

काँग्रेस विधान अनुसार पार्टीका सबै तहका निकाय र पदाधिकारीको निर्वाचनका लागि केन्द्रीय कार्यसमितिले केन्द्रीय निर्वाचन समिति गठन गर्ने प्रावधान छ । केन्द्रीय निर्वाचन समितिमा संयोजक एक र सदस्य चार जना रहने व्यवस्था छ ।

यस्तै सभापतिले तोकेको उप–सभापति प्रतिष्ठानको प्रमुख रहने व्यवस्था छ । सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले बढीमा ५१ जनालाई सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ । सम्बन्धित विषय क्षेत्रका विज्ञ समेत रहेका काँग्रेसको क्रियाशील सदस्यलाई प्रमुखले प्रतिष्ठानको कार्यकारी निर्देशक र निर्देशकको पदमा नियुक्त गर्नेछन् । प्रतिष्ठानले विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्न विज्ञ संलग्न गराई विषयगत एकाइ गठन गर्न सक्ने पनि व्यवस्था छ । 

यस्तै २८ वटा विभाग पनि कहिले गठन हुन्छ टुंगो छैन । केन्द्रीय सदस्य प्रमुख रहने प्रत्येक विभागमा बढीमा एकाउन्न जना सदस्य रहने छन् । केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यहरूको नियुक्ति गर्ने व्यवस्था छ । सभापति देउवाले अघिल्लो कार्यकालमा पार्टीका निकाय समयमा गठन नगर्दा चर्को आलोचना खेप्नु परेको थियो । तर यसपटक पनि देउवाले विगतको गति बदल्ने संकेत देखाएको पाइँदैन । पार्टी संरचना मात्र होइन भ्रातृ संस्था पनि लथालिङ्ग अवस्थामा छन् । गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियोे । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।

सभापति देउवाद्वारा फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनित भएपनि बाँकी भ्रातृ संस्थामा नेतृत्व समेत आएको छैन । नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघमा ४ महिनादेखि नेतृत्व छैन । यस विषयमा नेता गुरुराज घिमिरेले प्रश्न उठाएका छन् । 

काँग्रेसमा १३ औं महाधिवेशनपछि उठेको विधान पालनाको प्रश्न अब १४ औंपछि झन् गम्भीर रुपमा उठ्ने उनको भनाइ छ । ‘महाधिवेशन सकिएको ६ महिना पुरा हुन १ दिन बाँकी छ । के यसरी नै हो पार्टी चल्ने ?,’ उनको प्रश्न छ, ‘पदाधिकारी, विभाग, समितिको पूर्णता खै ?’ भ्रातृ संस्थाहरुको भद्रगोल र तरुण–विद्यार्थीको भविष्यमा खेलबाड किन भन्दै घिमिरेले प्रश्न उठाए । यस्तै उनले महाधिवेशनपछि गर्ने भनिएको नीति महाधिवेशनबारे पनि प्रश्न उठाएका छन् । उनले पार्टी संचालनको तरिकामाथि प्रश्न उठाउँदै नेतृत्वसँग जवाफ मागेका छन् । 

स्थानीय निर्वाचन लगत्तै  केन्द्रीय समिति बैठक बसेर यावत विषयमा निर्णय लिने तयारी भएपनि केही ढिलो भएको महामन्त्री गगन थापाले स्वीकार गरे । उनले भने, ‘चुनावको लगत्तै समीक्षा बैठक बस्न खोजेको हो । प्रधानमन्त्री शोकमा हुँदा १२–१३ दिन रोकियो । त्यसपछि नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुँदा बैठक बस्न सकिएन । असारको पहिलो हप्ता बैठक बस्ने तयारी छ ।’

उनका अनुसार महाधिवेशनबाट निर्वाचित कमिटीले पुस १० गते प्रमाणपत्र पाएको मितिलाई मध्येनजर गरी पार्टी संरचनालाई विधान अनुसार नै पूर्णता दिने तयारी छ । ‘हामीले हाम्रो तर्फबाट गर्ने सबै काम गरिरहेका छौं । आगामी बैठकमा यी सबै एजेण्डा रहन्छन् । निर्णयमा पुग्ने प्रयास रहन्छ ,’ थापाले भने ।

यस्तै प्रवक्ता प्रकाशशरण महतले पनि अबको केही दिनमै बैठक राखेर विभिन्न समिति र विभाग गठन गर्न सभापतिले तयारी गरिरहेको रातोपाटीलाई बताए । ‘स्थानीय निर्वाचनपछि छलफल भएको छ । अब केही दिनमै छलफल हुन्छ । समयमै पार्टी संरचनाले पूर्णता पाउँछ,’ उनले भने, ‘यो विषयमा मैले पनि सभापतिसँग पनि कुरा गरेको छु । सभापतिजीले यसमा तयारी गरिराख्नु भएको छ ।’

६ महिनाको समय सीमा नैतिक विषय भएपनि सभापति ढिलो गर्ने पक्षमा नरहेको बताए ।  महतले भने, ‘विभिन्न समिति र विभाग गठन गर्ने प्रक्रियामै छौं । समयमै काम हुन्छ । अब केही दिनमै केन्द्रीय कमिटीको मिटिङ पनि बस्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप