सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप र वर्षमानको विचार मिलेपछिको ठट्टा : एउटै पार्टीको उपमहासचिव र सचिव जस्तै पो देखियो

शनिबार, ०४ असार २०७९, १९ : १४
शनिबार, ०४ असार २०७९

शनिवार काठमाडौँमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रमका प्रमुख वक्ता थिए एमाले उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र परराष्ट्रविद् डा.मृगेन्द्र कार्की । कार्यक्रमको विषय थियो ‘वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू’ । 

कार्यक्रममा नेपालको कूटनीतिक अभ्यास, अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी), नेपाली सेना र अमेरिकी सेनाबिच सम्झौता हुने भनेर केही दिन सार्वजनिक भएको १० बुँदे मस्यौदा लगायतका विषय कार्यक्रममा उठे र त्यसबारे बिचार मन्थन भए ।  

कार्यक्रमको सहजीकरण गरेका थिए एमाले नेता विष्णु रिजालले । कार्यक्रमको पहिलो चरण अन्तर्गत नेपालको परराष्ट्र नीतिका बारेमा सुरुमा वर्षमान पुन, प्रदीप ज्ञवाली र त्यसपछि डा. मृग्रेन्द्र कार्कीले बोलेका थिए । दोस्रो चरणमा एसपीपीका सन्दर्भमा तीनै जनाले क्रमशः आफ्नो भनाई राखे । प्रदीप ज्ञवाली र वर्षमान पुन दुवैले शालीन ढङ्गले नेपालको परराष्ट्र नीति, पछिल्लो समय चर्चामा रहेको एसपीपी कार्यक्रमबारे समान किसिमको भनाई राखे । 

सहभागीको प्रश्न लिनुभन्दा अगाडि कार्यक्रमका सहजकर्ता विष्णु रिजालले भने–‘हामीसँग छलफलका लागि दुई राजनीतिक दलबाट २ जना महत्त्वपूर्ण नेताहरू हुनुहुन्थ्यो । तर उहाँहरूको छलफल कुराकानी सुन्दा चाहिँ एउटै पार्टीका नेताहरू बोलेको जस्तो, एउटै पार्टीको उपमहासचिव र सचिव बोलेजस्तो भयो । सौर्हादरुपमा छलफल भयो धेरै धेरै धन्यवाद ।’

उनले यसो भनिरहँदा कार्यक्रम हलमा एक छिन हाँसो सहितको रमाइलो माहौल बन्यो । कार्यक्रममा माओवादी केन्द्रका नेता पुनले एमाले नेता ज्ञवालीलाई परराष्ट्र मामिलामा आफूभन्दा जानकार र बढी अनुभवी नेताको रूपमा रहेको भन्दै सम्मान व्यक्त गरेका थिए । साथै उनले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री हुँदा नेपालको परराष्ट्र नीति पनि पारित भएको स्मरण गराउँदै सो नीति निकै महत्त्वपूर्ण रहेको बताएका थिए । 

कार्यक्रममा सहभागीको प्रश्न र बिचार सुनिसकेपछि जवाफ दिने क्रममा एमाले नेता ज्ञवालीले पनि विष्णु रिजालको कुराको ठट्यौली जवाफ फर्काए–‘मेडियटरले एउटै पार्टी, एउटै भनाई जस्तो भन्नुभयो, यो नराम्रो कुरा हैन होला, हामीले यहाँ पक्ष विपक्ष भएर कुरा गर्न खोजेको पक्कै पनि हैन होला ।’

एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा ज्ञवाली र पुन सँगै एउटै दलमा रहेका थिए भने नेकपाको सरकारमा छँदा  ज्ञवाली परराष्ट्रमन्त्री र पुन उर्जामन्त्री थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप