शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा चुनाव : नेम्वाङ प्यानललाई गणेश थापाको साथ !

बिहीबार, ०२ असार २०७९, ०८ : ५१
बिहीबार, ०२ असार २०७९

नेपाली फुटबल राजनीतिमा स्वनाम, दुर्नाम जे भने पनि नमेटिने नाम हो गणेश थापा । २०५१ सालदेखि २०७१ सालसम्म नेपाली फुटबल नेतृत्वमा एकछत्र राज गरेका थापाको हालिमुहाली अहिले पनि देखिन्छ ।

भलै थापा अहिले एन्फाको चुनावमा बाहिरी रुपमा सक्रिय भएका देखिएका छैनन् । तर, उनीभित्री रुपमा एन्फाको चुनावका लागि‘गोल’ गर्ने मुख्य पात्र हुन् । नेपाली फुटबलमा थापाको अहिले पनि पकड छ । एन्फाको आसन्न चुनाव यही असार ६ गते हुँदैछ । त्यसका लागि बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ मुख्य प्रतिस्पर्धामा छन् । 

स्रोतकाअनुसार अध्यक्षका प्रत्याशी नेम्वाङ पक्षधरलाई थापाले भित्री रुपमा सहयोग गरिरहेका छन् । उनको सहयोगले पनि नेम्वाङलाई एन्फा चुनावमा बलियो बनाएको छ । फिफा र एएफसीको कारवाहीमा परेका थापा बेला–बेलामा चर्चामा आउँछन् ।

अन्य समय चुपचाप बस्ने थापा जब एन्फाको चुनाव आउँछ, सक्रिय देखिन्छन् । उनको सक्रियताले नै एन्फामा चुनाव आएको संकेत पनि गर्छ । एन्फाको अघिल्लो चुनाव आउनुभन्दा केही समयअघि उनले बर्तमान अध्यक्ष शेर्पाले आफूविरुद्ध झुटा आरोप लगाएर चरित्र हत्या गरेको भन्दै न्यायका लागि लड्ने बताएका थिए ।

थापाले गत महिना पनि पत्रकार सम्मेलन गर्दै एन्फाका वर्तमान अध्यक्ष शेर्पाले गर्दा आफू मर्ने अवस्थासम्म पुगेको बताएका थिए । त्यसपछि उनले न्यायका लागि सबैसँग अपिल पनि गरे । उनले न्यायका लागि सबै निकायमा पुग्ने बताए पनि हालसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्म मात्र न्यायका लागि अपिल गरेका छन् ।

थापाको सक्रियता देखेर फिफाले फुटबलसम्बन्धि गतिविधिमा नलाग्न प्रतीतपत्रमार्फत पठायो । त्यसपछि उनी अहिले पुनः पुरानै अवस्थामा छन् । बाहिरी रुपमा कानुनले नेपाली फुटबल राजनीतिमा नआएपनि अहिलेको निर्वाचनको मुख्य व्यक्ति थापा नै हुन् । 

नेम्वाङ प्यानलबाट उठेका २१ जना उम्मेदवारमा थापाको बहुमत छ भन्दा फरक नपर्ला । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका वीरबहादुर खड्का, उपाध्यक्षका उम्मेदवार सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दीपक खतिवडा उनी निकट व्यक्ति हुन् । 

त्यस्तै सदस्यका उम्मेदवार पुरुषोतम थापा, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र श्रेत्री, मानदेव हजारा, भोजराज शाही र अनिल मल्ल पनि थापाकै सहयात्री हुन् । एन्फा नेतृत्वमा थापा रहँदा र उनी नेतृत्वबाट बाहिरिदा पनि उनीहरु सधैँ उनकै समर्थनमा थिए । एन्फाविरुद्धमा बोल्ने, एन्फाको कार्यशैशीमा चित्त नबुझेको भन्दै बेला–बेला पत्रकार सम्मेलन गर्ने पदाधिकारी थापाका विश्वास पात्र हुन् । 

यसरी नेम्वाङ पक्षबाट उठेका २१ जनामध्ये ११ जना थापा पक्षका हुन् । नेपाली फुटबलमा बलियो राजनीतिक व्यक्तिको रुपमा रहेका थापाको यो चुनावी सक्रियताले नेपाली फुटबलको माहोल नै परिवर्तन हुने संकेत गर्दछ । 

यदि नेम्वाङ प्यानलले चुनाव जितेमा एन्फामा थापा पक्षको बाहुल्यता हुनेछ । अध्यक्षमा जितका लागि ४४ मत आवश्यक पर्छ । अध्यक्षका दुवै प्रत्याशीले हिसाबमा ४८ मत दाबी गरेका छन् । 
एन्फाको ८५ भोटमा जिल्लाका ४३ (सिन्धुली र भक्तपुरबाहेक), डिभिजन लिग(ए, बी र सी)का ३४ क्लब, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब र संघ (खेलाडी, प्रशिक्षक, रेफ्री, महिला)का ४ भोट छन् ।

जिल्ला र क्लबका भोटहरुको लगभग छिनोफानो भइसकेको छ । तर, प्रदेश १ र सी डिभिजन लिगका क्लबहरुको मत यता-उता हुने सम्भावना छ । यसरी नेम्बाङको पक्षमा माहोल बन्दै गरेको अवस्था छ भने शेर्पा प्यानल पनि कमजोर छैन । एन्फा चुनावमा अबको नेतृत्वमा को आउला भन्ने प्रश्न सर्वत्र चासोको विषय भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप