शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेम्वाङको नाराः एन्फामा पारदर्शिता, खेलाडीको विषय मुख्य प्राथमिकता

आइतबार, २९ जेठ २०७९, ११ : ५३
आइतबार, २९ जेठ २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्मा छिरिङ शेर्पाले कार्यकाल सम्हालेको पहिलो वर्षदेखि नै पारदर्शिताको कुरा चल्न थाल्यो । त्यसको नेतृत्व गरेका थिए वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले । पहिलो वर्ष एकजुट भएर चलेको शेर्पाको नेतृत्वलाई नेम्वाङ पक्ष बाधक बनेर आयो । 

त्यसपछि एन्फामा दुई धार भयो । पहिलो धार अध्यक्ष शेर्पा र दोस्रो धार वरिष्ठ उपाध्यक्ष नेम्वाङ पक्ष खुलेर एक अर्काको विपक्षमा उभिन थाले । शेर्पा पक्षको कमजोरीलाई नेम्वाङ पक्षले आफ्नो बलियो हतियारको रूपमा लिएर गयो । 

फुटबल विकासको सन्दर्भमा भने दुवै टोलीले सोचे अनुरुप काम देखाउन सकेनन् । शेर्पा पक्ष काम गर्ने वातावरण नभएको बताउने र नेम्वाङ पक्ष आफूहरूसँग अधिकार नभएको बताउँदै आए । अहिले नयाँ नेतृत्व आउँदा भने दुवै पक्ष खुलेर एक अर्काको विरोधमा लागेका छन् । 

एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ । त्यसका लागि दुवै प्यानल चुनावको दौडधुपमा छन् । दुवै पक्षसँग फुटबल विकासका कुनै एजेन्डा अहिलेसम्म अघि आएका छैनन् । शेर्पा पुरानै कामलाई निरन्तरता दिएर जाने भन्दै चुनावी माहौल बनाउँदैछन् भने नेम्वाङ पक्षले शेर्पाको कमजोरी नियाल्दै चुनावी माहौल बनाउँदै छ । 

नेम्वाङले अहिलेको कार्यकालमा शेर्पा असफल भएको कारण आफूहरू चुनावी माहौलमा होमिन खोजेको बताएका छन् । उनले खेलकुद र खेलाडीको विषयमा बोल्न डराउने नेतृत्व अहिलेको एन्फाको आवश्यकता नभएको बताएका छन् । 

​उनले एन्फामा चरम आर्थिक अनियमितता भएको बताउँदै त्यसको अन्त्यका लागि आफूहरूको नेतृत्व एन्फामा आउन लागेको बताए । उनले एन्फा अहिले १४ करोड घाटामा गएको र खेलाडीहरूको पुरस्कार पनि समयमा दिन नसकेको मा आफूले बेला बेला कुरा उठाउँदै आएको पनि प्रष्ट पारे । 

‘अहिलेको नेतृत्व पूरै असफल भइसकेको छ । त्यसको लागि हाम्रो नेतृत्व चुनावी मैदानमा आएको हो । एन्फामा चरम आर्थिक अनियमितता भएको छ । खेलाडीहरूको पुरस्कारदेखि लिएर अस्पतालको बिल अहिलेसम्म क्लियर भएको छैन । १४ करोड घाटामा छ । यसरी नेपाली फुटबल डुब्ने खतरा भएका कारण हामी नेतृत्वमा आउन खोजेको हो,’ नेम्वाङले रातोपाटीसँगको कुराकानीमा भने । 

उसो त एन्फाको सबै गतिविधि र कमजोरीको विषय नेम्वाङको काँधमा पनि आउँछ । एन्फाको आर्थिक अनियमितताको विषयमा कुरा उठाउनु र प्रमाण जुटाउन नसक्नु उनको कमजोरी हो । आर्थिक अनियमितता भएको छ भन्ने कुरा हरेक पटकको एन्फा बैठकमा उठ्ने गर्थ्यो । नेम्वाङ पक्षले चुनावी मैदानमा होमिएको घोषणा गर्दै गर्दा एन्फाको सबैखाले टेन्डर बारेमा पनि आवाज उठाएको थियो । ए डिभिजन लिगको टेन्डर आह्वान गर्दा एक मात्र टेन्डर परे पनि एन्फाले उसलाई राजी बनाएर पठाएको आरोप थियो । 

नेम्वाङ यसै पनि विवादको घेरामा आइरहे । उपाध्यक्षका कुरालाई अध्यक्षले नजरअन्दाज गर्नेमात्र होइन, नीति निर्माणको कुरामा यी दुवै एक अर्काको विपक्षमा उभिने गरे । एन्फामा भएको केही क्रियाकलापलाई सामजिक सञ्जाल फेसबुकमार्फत् विरोध गरिरहे । 

‘एन्फामा भएको आर्थिक अनियमितताको भागीदार म पनि हुन्छु, मात्र नेतृत्वमा भएको हिसाबले । निर्णय गर्ने कुरामा अध्यक्ष एक्लैले निर्णय गर्नु हुन्छ । निर्णायक तहमा हामी कहिले पुगेनौँ । उहाँले एकलौटी निर्णय गरेर एन्फालाई धरापमा पार्न खोज्नु भयो । हाम्रो पक्षको बहुमत पनि भएन । नभए यो सबै कुरा पहिले नै उठाउन सक्ने थियौं,’ नेम्वाङले भने । 

नेम्वाङ पछिल्लो समय भएको खेलाडी प्रशिक्षक विवादमा खुलेर बोले । एन्फाले खेलाडीको विवाद मिलाउन नसकेको भन्दै विरोध गरे । तत्काल खेलाडीको विवाद समाधानका लागि एन्फा लाग्नुपर्ने उनको धारणा थियो । 

पहिलो पटक प्रशिक्षकसँगको विवादमा परेका नेम्वाङलाई अहिले प्रशिक्षकविरुद्ध बोल्ने एउटा बलियो माध्यम पनि बन्यो । उसो त एन्फा नेतृत्व सधैँ खेलाडीको पक्षमा बोल्नुपर्छ भन्ने नै हो । तर, नेतृत्व र राजनीति जब मैदानसम्म आउँछ, त्यो समय नै खेल विकासमा बाधा पुग्ने नेम्वाङ बताउँछन् । 

उनी अब आउने आफ्नो नेतृत्वले आर्थिक अनियमितता, खेल र खेलाडीको विकासको विषय मुख्य प्राथमिकताको विषय रहेको बताए । नेम्वाङले अहिलेको नेतृत्वले राम्रो काम गरेको भए आफूहरू नयाँ नेतृत्वको विषयमा कुरा नै नउठाउने जिकिर गरे । 

‘खेलाडीको अधिकारको विषयमा बोल्न पनि आनाकानी गर्ने अहिलेको नेतृत्व नेपाली फुटबलमा आवश्यक होइन । खेल, खेलाडीको विकास र आर्थिक पारदर्शिता हाम्रो मुख्य मन्त्र हुनेछ । हाम्रो मुख्य प्राथमिकतामा खेलाडी हुनेछन्,’ नेम्वाङले भने । 

नेम्वाङ एन्फा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष बनेको दोस्रो वर्षदेखि नै आफ्नो छुट्टै पक्ष बनाएर अघि बढेका थिए । उनले ‘परिवर्तन’ धार भन्दै एन्फामा एउटा पक्षको नेतृत्व गर्दै आएका थिए । उनले एन्फाको यो कार्यकाल असफल भएको दाबीसमेत गर्दै आएका छन् । खेलकुद प्रतियोगिता र खेलाडी विकासका हिसाबले केही नयाँपन देखिए पनि समग्र फुटबल विकासको विषयमा यो कार्यसमितिले ठूलो परिवर्तन गर्न नसकेको उनको भनाइ छ ।

एन्फामा परिवर्तन नहुनु वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ पनि दोषी छन् । आगामी नयाँ नेतृत्व कसको पोल्टामा पर्ला, समय धेरै बाँकी छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप