सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावमा ‘९ लाख मत’ पाएको नेकपा समाजवादीको यस्तो छ आगामी रणनीति

सम्पूर्ण शक्ति मंसिरको चुनावमा केन्द्रित गर्न माधव नेपालको निर्देशन
बुधबार, ०१ असार २०७९, १३ : १९
बुधबार, ०१ असार २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन परिणामबाट सन्तुष्ट हुन नसकेको नेकपा एकीकृत समाजवादीले अब पार्टीको सम्पूर्ण शक्ति मंसिरमा हुने निर्वाचनमा केन्द्रित गर्ने भएको छ । सो पार्टीले कात्तिक अन्तिम वा मंसिर पहिलो साता हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेबाटै तयारी सुरु गरेको हो ।

काठमाडौमा मंगलबारबाट सुरु भएको सो पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा रिपोर्ट पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचन भन्दा पनि अब हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको बढि महत्व भएको भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई आगामी निर्वाचनमा जुट्न र सोही अनुसार गतिविधि गर्न निर्देशन दिएका हुन् ।

‘निर्वाचन हाम्रो पार्टी जीवनका लागि अर्को एउटा महत्वपूर्ण परिघटना हो । हालै सम्पन्न स्थानीय निर्वाचनको भन्दा पनि यसको ठूलो महत्व छ’, अध्यक्ष नेपालले भनेका छन् । आगामी निर्वाचनमा प्राप्त गर्ने सफलताले एकातर्फ आफ्नो पार्टीको राजनीतिक हैसियत निर्धारण गर्ने र अर्कोतर्फ भावी राजनीतिक यात्राको आधार निर्माण गर्ने अध्यक्ष नेपालको भनाइ छ ।

‘त्यसैले आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो’, नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन् । उनले आगामी निर्वाचनमा पार्टी र जनसङ्गठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित हुन निर्देशन दिदै अहिले देखिनै प्रत्येक टोलटोलमा चुनाव प्रचार कमिटी र आर्थिक सहयोग सङ्कलन कमिटीलगायत आवश्यक संरचना गठन गरी परिचालन गर्न भनेका छन् ।

‘जनतामाझ जाऔं, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने मूल नाराका साथ प्रचार अभियान सञ्चालन, घरदैलो, पार्टीको लोगो तथा चुनाव चिन्ह अङ्कित सामग्रीहरू वितरण गर्न अध्यक्ष नेपालले पार्टी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

पार्टी काम र संगठन व्यवस्थित बनाउने

नेकपा समाजवादीले आगामी निर्वाचनलाई मध्यनजर गर्दै पार्टी कामलाई थप व्यवस्थित ढङ्गले सञ्चालन गर्ने भएको छ । उसले आगामी निर्वाचनमा पनि एकातिर प्रतिगमनकारी र लोकतन्त्र र अग्रगमनका पक्षधर शक्तिहरू विभाजित हुने भएकाले सोही अनुसार आफ्ना कार्ययोजनाका अघि बढाउने भएको छ । सुदृढ राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्नपर्ने चुनौतीसामु रहेको यो पार्टीले यही असार १० गतेभित्र पार्टी स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू र केन्द्रीय परिषद्को समेत बैठक सम्पन्न गर्ने जनाएको छ त्यस्तै  असार २० गतेभित्र पार्टीका प्रदेश कमिटी र जनसङ्गठनका केन्द्रीय कमिटीका बैठकहरू गरिसक्ने, असार २५ गतेभित्र पार्टीका जिल्ला कमिटी र जनसङ्गठनका प्रदेश तथा जिल्ला कमिटीका बैठक बसी पालिका र वडाहरूमा कमिटी परिचालन, गठन, पुनर्गठन, भेला, प्रशिक्षण र अन्तरक्रियालाई अभियानका रूपमा सञ्चालन गर्न ठोस योजना बनाउने भएको छ । त्यस अभियानमा पार्टी र जनसङ्गठनका अगुवाहरू सहभागी हुनेछन् ।  त्यसैगरी २०७९ असार मसान्तभित्र पालिका र वडा स्तरका बैठक बसेर जिल्लाले बनाएका योजना कार्यान्वय अगाडि बढाउने । त्यस्तै साउन मसान्तभित्र अहिले कमिटी नबनेका पालिकामा कमिटी गठन गरी बैठक बसालेर योजना बनाइ वडा र टोल कमिटीहरू गठन गर्न अध्यक्ष नेपालले निर्देशन दिएका छन् ।

के के छन् समाजवादीका अरु कार्यक्रम ?

नेकपा समाजवादीले यही असार १५ गतेभित्र स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण प्रशिक्षण दिएर २० गतेभित्र केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिने भएको छ ।  साथै असार ३० गतेभित्र सबै प्रदेशमा (विशेष प्रदेशमा समेत) प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गर्ने भएको छ । त्यस्तै साउन २० भित्र सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण, साउन महिनाभर पालिका तथा वडास्तरमा र विशेष प्रदेशका शाखा तहमा हुने
प्रशिक्षणका लागि प्रशिक्षण सामग्री तयार गर्ने कार्यादेश दिएको छ । जसमा पार्टीको सिद्धान्त, कार्यनीति र कार्यदिशा तथा  पार्टीको सङ्गठनात्मक सिद्धान्त र कार्यपद्धतिका साथै  मार्क्सवादी अर्थशास्त्र र पार्टीको आर्थिक नीति प्रमुख हुनुपर्ने छ । साथै सो पार्टीले अभिलेखहरू व्यवस्थित बनाउन पनि निर्देशन दिएको छ । 

एक्लै ५ लाख मत ल्याएको दावी

स्थानीय निर्वाचनमा नेकपा समाजवादीले महानगर प्रमुखदेखि वडासदस्य सम्म गरेर जम्मा ९८७ पद जितेको छ । जसमा महानगरपालिका प्रमुख १, उपमहानगरपालिका प्रमुख १, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष ८, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष १९०, महिला सदस्य १८४, दलित महिला सदस्य १८० र खुला सदस्य ३९० गरी जम्मा ९८७ स्थानमा विजय प्राप्त गरेको सो पार्टीले जनाएको छ । जितेकामध्ये महानगरपालिका प्रमुख १, उपमहानगरपालिका प्रमुख १, नगरपालिका प्रमुख ५, गाउँपालिका अध्यक्ष ५, नगरपालिका उपप्रमुख ६, गाउँपालिका उपाध्यक्ष ११ गरी गठबन्धनको सहयोगमा २९ पद जितेको दावी गरेको छ । बाँकी पद एक्लै जितेका सो पार्टीले वडाध्यक्ष र सदस्यहरू लगभग सबै एक्लै जितेका जनाएको छ । नेकपा समाजवादीका उम्मेदवारले स्थानीय निर्वाचनमा जम्मा ९ लाख २३ हजार २१९ मत पाएकोमा करिव ५ लाख मत एक्लै पाएको जनाएको छ । सो पार्टीले गठबन्धन नभएका अन्य स्थानमा समेत उम्मेदवारी दिएको भए आफ्नो मत बढ्ने आँकलन गरेको छ ।

यस्तो  छ संगठनात्मक अवस्था

नेकपा एकीकृत समाजवादी गठन भएको झण्डै नौ महिना भएको छ । यो अवधिमा सो पार्टीले आफ्नो संगठन केन्द्र, प्रदेश र स्थानीय तहमा विस्तार गरिसकेको छ । जसको संगठित सदस्यको संख्यामा पार्टी केन्द्रीय सदस्यतर्फ ३६८, केन्द्रीय आमन्त्रित सदस्य १५७, केन्द्रीय जेष्ठ मञ्च सदस्य ३८,केन्द्रीय परिषद सदस्य ११३ गरी तथा केन्द्रीय विभागसहित जम्मा १५३८ जना रहेका छन् । यस्तै प्रदेश कमिटीतर्फ १४१६ जना संगठित सदस्य रहेको सो पार्टीमा प्रदेशगत हिसाबमा प्रदेश १ मा २४४, मधेश १६८, वागमती २१७,गण्डकी १३९, लुम्बिनी १६५, कर्णाली १७० सुदुरपश्चिम १७३,उपत्यका विशेष ५६ सम्पर्क कमिटी ६३ र प्रवासमा ४१ जना संगठित सदस्य रहेका छन् ।

त्यस्तै नौ महिनाको अवधिमा सो पार्टीले प्रदेश १ का १४ जिल्ला, मधेसका ८, वागमतीका १३, गण्डकीका ११, कर्णालीका १० सुपमा ९ जिल्ला कमिटी गठन गरेको छ । लुम्बिनीमा भने जिल्ला कमिटी गठन नभएको सो पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप