शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको प्रतिवेदन : गठबन्धन र आफ्नै पार्टीभित्र सात प्रकारका समस्या

मङ्गलबार, ३१ जेठ २०७९, १८ : ४६
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सात प्रकारका समस्या रहेको बताएका छन् । मंगलबारबाट सुरु भएको स्थायी कमिटि बैठकमा १३ पेज लामो चुनावी समिक्षात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले पार्टीभित्र र गठबन्धनभित्रका समस्या किटान गरेका हुन् ।

अध्यक्ष नेपालको प्रतिवेदनमा आफ्नो पार्टीका उम्मेदवारहरूले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ रहेको उल्लेख गरेका छन् । ‘यो मतमध्ये आधा गठबन्धनका अन्य दलहरूको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिव पाँच लाख मत हामीले प्राप्त गरेका छौं’, नेपालको प्रतिवेदनमा उल्लेख छ ।  

त्यस्तै नेकपा समाजवादीले करिव २५ प्रतिशत स्थानमा मात्रै उम्मेदवारी दिँदा त्यति मत प्राप्त भएकाले गठबन्धन नभएका सबै स्थानमा उम्मेदवारी दिएको भए शायद यसको दोब्बरभन्दा बढी मत प्राप्त हुने आँकलन समेत गरेका छन् ।अध्यक्ष नेपालले निर्वाचनका सन्दर्भमा देखिएका समस्याका बारेमा पनि आफ्नो प्रतिवेदनमा खुलाएका छन् । निर्वाचनका सन्दर्भमा तीनथरी समस्या देखापरेको भन्दै उनले पहिलो गठबन्धनभित्रका समस्या, दोस्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या औल्याएका छन् ।  त्यस्तै उनले गठबन्धनभित्र सात समस्या रहेको प्रतिवेदनमा औल्याएका छन् ।

‘पहिलो, गठबन्धन गर्न नै नचाहने । दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने । तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने । चौथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने । पाँचौँ, गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने । छैठौं, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु । सातौं, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु’, नेपालको प्रतिवेदनमा भनिएको छ ।  उनले यस्तो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखिएको पनि दावी गरेका छन् । त्यस्तै पार्टीभित्रका समस्या पनि प्रतिवेदनमा केलाइएको छ ।

‘पहिलो, गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने । दोस्रो, आफुलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात जहाँ हाम्रो संगठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहने । तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाड मछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने । चौथो, चुनावलाई जनतामाझ राजनीति पुयाउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने । पाचौं, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने । छैठौं, आफुले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिड्ने । सातौँ, आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने’, नेपालको प्रतिवेदनमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप