शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा काठमाडौं महानगरको आलोचना हुँदा किन कार्यक्रम छाडेर हिँडे बालेन शाह ?

फोहोरको विषयमा बागमतीका मन्त्रीद्वारा आलोचना
मङ्गलबार, ३१ जेठ २०७९, २१ : ००
मङ्गलबार, ३१ जेठ २०७९

काठमाडौंँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको दुई दिने स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम बीचमै छाडेर हिँडेका छन् । उनीसँगै उपमेयर सुनिता डंगोल पनि बीचमै कार्यक्रम छाडेर काठमाडौं फर्किएकी छिन् । उक्त कार्यक्रममा सहभागीहरूबाट काठमाडौं महानगरपालिकाको आलोचना भएपछि उनीहरु काठमाडौं फर्किएका हुन् । कार्यक्रम मंगलबारसम्म चल्ने तय भएपनि उनीहरु सोमबार नै काठमाडौं फर्किसकेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए । मन्त्री जम्मकट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई असर परेका भन्दै काठमाडौं महानगरपालिकाको आलोचना गरेका थिए ।

भएको के थियो ?
स्थानीय तह संचालन, योजना तथा कार्यन्वयनको समग्र प्रक्रियाका बारेमा नवनिर्वाचित जनप्रतिनिधिका लागि बागमती प्रदेश सरकारले २ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । प्रदेश सरकारले सोमबार र मंगलबारका लागि गरी २ दिन प्रदेशका १३ जिल्लाका प्रमुख र उपप्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश सरकारका मन्त्रीहरु, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरू सहभागि थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्य राखेका थिए । उद्घाटन सत्रमा मन्त्री जम्मकट्टेल मन्तव्य राख्दै नदीजन्य पदार्थ उत्खनन् गरेर खाला नाला मास्न नहुने भन्दै त्यसतर्फ स्थानीय तहको ध्यान पुग्नुपर्ने बताए । उनी सोही क्रममा काठमाडौं महानगरपालिकाको फोहोरको विषयमा केन्द्रीत भए । उनले काठमाडौंको फोहोरको कारण धादिङ र नुवाकोटका जनतालाई पिडा दिन नहुने भन्दै आफ्नै पालिकामा व्यवस्थापन गर्न सुझाव दिए ।

‘म २०६३ को अन्तरिम व्यवस्थापिका देखि पहिलो संविधानसभामा धादिङबाटै निर्वाचित भएर आएसम्म काठमाडौंको फोहोर व्यवस्थापनमा लागेँ । अझैपनि लागि नै रहेको छु ।’ उनले भने, ‘यस विषयमा मेरो सुझाव जोडदार ढंगबाट राख्न चाहन्छु । अहिले पनि म धादिङकै जनप्रतिनिधि । धादिङको संघीय निर्वाचन क्षेत्र नम्बर १ मेरै निर्वाचन क्षेत्र हो । म र हालका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे त्यहीबाट निर्वाचित भएर आएका हौं । धादिङको धुनिवेशीको १ नम्बर वडा र त्योसँगै जोडिएको नुवाकोट पनि छ । काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’

​उनले उपयुक्त विधिबाट काठमाडौंले आफ्नै क्षेत्रमा फोहोरको व्यवस्थापन गर्नुपर्ने बताए । एक पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नमिल्ने भएकाले काठमाडौंले बञ्चरेडाँडामा फोहोर फाल्न नपाउने उनले बताए । ‘त्यो फोहोर अब तपाईहरुले अब त्यहाँ लान खानुहुन्न । तपाईहरुले अब आफैले व्यवस्थापन गर्ने हो । त्यो हाम्रो कानुनमा पनि छ । एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न पाउँदैन । एउटा पालिकाले गरेको कामले अरु कुनै पालिकाको नागरिकलाई असर पार्ने काम गर्न हुँदैन,’ उनले भने, ‘त्यसैले अब तपाईहरुले वडाबाट सुरु गर्नुस् । वडाको मुख्य कामको रुपमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न लगाउनुस् । कुहिने फोहोरबाट मल बनाउनुस् । नकुहिने फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्ने काम गर्नुस् । सोही अनुसारको प्रविधि ल्याउनुस् ।’

जमकट्टेलले काठमाडौं महानगरपालिकाबारे टिप्पणी गरेपछि बालेन्द्र असन्तुष्ट बन्दै सोमबार नै काठमाडौं फर्किएको बताइएको छ । उनले सोमबार राति नै सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरको आलोचना गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।  ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए, ‘धन्यवाद !’

आफूलाई व्यक्तिगत रुपमा आलोचना वा गाली गर्न सकिएपनि काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गरिएको भन्दै उनको असन्तुष्टि छ । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ–कार्यक्रममा बस्ने औचित्य नदेखेर आफूले कार्यक्रम छाडेर हिँडेको उनले सार्वजनिक स्पष्टोक्ति दिएका छन् । उनले गाली र आलोचना नै सुन्ने भए सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरुमा सुन्ने पनि उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप