बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालेनको प्रतिक्रिया : काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भइयो

सोमबार, ३० जेठ २०७९, २२ : ४२
सोमबार, ३० जेठ २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमप्रति कटाक्ष गरेका छन् । उनले कार्यक्रममा काठमाडौं महानगरको आलोचना गरिएको संकेत गर्दै कटाक्ष गरेका हुन् ।  ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्, ‘धन्यवाद !’ 

सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उपप्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ ।  हेटौंडामा आयोजित सो कार्यक्रममा प्रमुख शाह र उपप्रमुख सुनिता डंगोल समेत सहभागी छन् । उनले कार्यक्रममा छलफल प्रभावकारी हुन नसकेको भन्दै महानगरपालिकालाई गाली मात्रै गरिएको बताएका हुन् । कार्यक्रममा थानीय सरकार सञ्चालन र स्थानीय विकास सम्बन्धमा विस्तृत छलफल हुने अपेक्षा गरिएपनि त्यसो नभएको बताइएको छ । 

सो कार्यक्रमलाई सोमबार उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गरेका थिए । 

उनले प्रदेश सरकारले गरिव तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैसँग जोडेर बजेट ल्याउन पनि स्थानीय तहको ध्यानाकर्षण गराएका थिए । एकल महिला, दलित, लोपोन्मुख, सीमान्तकृत समुदाय, अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको उपयोग गरिने कुरालाई स्थानीय सरकारले पनि विशेष रुपले अघि बढाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

उनले भने, ‘संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न स्थानीय सरकारलाई ध्यान दिन आग्रह गर्दछु । प्रदेश सरकारले एकल महिला, दलित, लोपोन्मुख तथा सीमान्तकृत समुदाय र अपांगता भएका महिलाको सामाजिक, आर्थिक सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको अधिकतम उपयोग गरिनेछ भनेर जोड दिएको छौं । ती समूदायलाई माथि उठाउने काममा तपाईहरु पनि लाग्नुुस् । स्थानीय सरकारले असार १० गते बजेट ल्याउँदैछन् । ती बजेटमा प्रदेश सरकारले ल्याएका यस्ता नीतिहरुलाई जोडनुहोस् । प्रदेश सरकार स्थानीय सरकारसँगै मिलेर अघि बढने भएकाले सँगसँगै अघि बढने खालका बजेट ल्याउन आवश्यक छ ।’

मुख्यमन्त्री पाण्डेले व्यापक बहस गरेर कानुन निर्माण गर्ने र त्यसको पूर्ण कार्यान्वयनमा जोड दिन पनि स्थानीय जनप्रतिनिधिहरु सफल हुने विश्वास व्यक्त गरे । स्थानीय तहलाई नै हेरेर प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने भएकाले त्यसै अनुसार स्थानीय तहले पनि बजेट ल्याउँदा उपयुक्त हुने उनले बताएका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप