बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली फुटबलमा कस्तो नेतृत्व आवश्यक छ ?

आइतबार, २९ जेठ २०७९, ०८ : २२
आइतबार, २९ जेठ २०७९

सन् १९५१ मा स्थापना भएको अखिल नेपाल फुटबल संघ (एन्फा)मा हालसम्म धेरै कार्यकालमा नेपाली फुटबलको विकास र विस्तारका कार्य भए । 

राणा कालिन समयमा स्थापना भएका फुटबल सङ्घहरू हालसम्म चर्चाको विषयमा छन् । फुटबल खेलसँगै खेल संघ पनि नेपाली फुटबलमा चर्चाको विषय बन्ने गर्छ । विदेशी भूमिमा फुटबलको राजनीति मैदानसम्म भने पुग्दैन । फुटबलमा खेलाडी र मैदान फुटबल राजनीतिको विषय बन्दैन । तर, नेपालमा फुटबल राजनीति मैदान र खेलाडीसम्म पुग्छ । 

वि. सं. १९७० मा नेपालमा फुटबल भित्र्याइएको हो । त्यतिबेला ठमेलका नारायणनरसिंह राणा र नक्सालका सूर्यजंग थापाले फुटबल खेलेको पाइन्छ । फुटबललाई संस्थागत गर्ने काम भने नरशमशेरले गरे । 

नेपाल फुटबल संघको स्थापना २००४ सालमा भइसकेको थियो । नरशमशेर नै फुटबल संघको स्थापनाको गरे । संघ गठन भए पनि लिग फुटबल सुरु हुन सात वर्ष पर्खिनुपर्‍यो । प्रजातन्त्र प्राप्तिका लागि २००७ सालमा सुरु भएको आन्दोलनले फुटबलमा शिथिलता छायो । आन्दोलन सफल भएपछि फुटबलले फेरि लोकप्रियता पायो । फुटबललाई व्यवस्थित र नियमित गर्न २००८ सालमा नेपाल फुटबल संघ गठन भयो । त्यसको सचिव त्रैलोक्यनाथ उप्रेती र कोषाध्यक्षमा जानकीप्रसाद प्रधान थिए ।

अखिल नेपाल फुटबल संघले सन् १९५४ मा एएफसीको मान्यता पायो । सन् १९७२ मा फिफाको मान्यता पायो । नेपाली फुटबलमा पछिल्लो समय फुटबल राजनीतिको मर्म बुझेर फुटबल विकासका पाटोमा लागिपर्ने कमै नेतृत्व देखिन्छ । फुटबलमा नेतृत्व फुटबल बुझेको मात्र हुनुपर्छ भन्ने छैन् । तर, फुटबलको मर्म बुझेर विकासको पाटो खोज्ने नेतृत्व कमै छ । 

अझ भनौँ नेपाली फुटबलमा एक पटक नेतृत्व गरेर दोस्रो पटक पनि आफै नेतृत्वमा आउनुपर्छ भन्ने भावना छ । खेल र खेलाडीको रूपमा देशको सेवा गरेका नेतृत्वहरू नेपाली फुटबलमा आउँदा फुटबलको आधार स्तम्भ बलियो हुने विषय जग जायर नै छ ।

एन्फा फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अब नेपाली फुटबलको नेतृत्वकर्ता खेल र खेलाडीको भावनालाई पनि बुझ्ने हुनुपर्ने बताएका छन् । उनले पछिल्लो समय नेपाली खेल क्षेत्र पनि राजनीति गर्ने स्थान बनेको समयमा खेलाडीहरूको मनोभाव बुझ्ने नेतृत्व आउँदा खेल क्षेत्रमा निकै सुधार आउने उनले बताए । लामाले एन्फामा पूर्व खेलाडी मात्र नभएर खेल बुझ्ने खेलाडी भएमा नेपाली फुटबललाई ठूलो राहत मिल्ने बताए । 

‘नेपाली फुटबलमा अबको नेतृत्व फुटबललाई बुझ्ने आउनुपर्छ । खेलाडी र फुटबलको मर्म भावना बुझ्ने आउँदा झनै सहज हुनेछ । यसको लागि फुटबल खेलाडी नै हुनुपर्छ भन्ने छैन तर, फुटबल बुझेको र फुटबलमा योगदान गरेको हुनुपर्छ,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने ।

लामा पछिल्लो समय नेपाली फुटबलमा खेलाडी र प्रशिक्षकबीच भएको विवादको विषयमा कुरा उठाउने खेलाडी हुन् । उनले खेलाडी र प्रशिक्षकको विषयमा एन्फाले खेलाडीसँग देखाएको व्यवहार प्रति असन्तुष्टी जनाएका थिए । 

लामाले नै विवादको विषयमा छानविन गर्न तीन सदस्य कार्यसमिति बनाउन पहल गरेका थिए । लामो समय राष्ट्रिय टोलीबाट खेलेका उनले एन्फामा खेल भावना बुझेको व्यक्ति आवश्यक भएको बताए । 

नेपाली खेलकुद पत्रकारितामा लामो समय बिताएका वरिष्ठ पत्रकार हिमेस बज्राचार्यले फुटबलमा अब आउने नेतृत्वले खेल राजनीतिलाई फुटबल मैदानमा भित्रिन नदिन प्रयास गर्नुपर्ने बताए । एन्फाको नेतृत्वमा आउने व्यक्ति राजनीतिबाट अछुतो नहुने बताउँदा त्यो राजनीति मैदानसम्म नपुग्दा राम्रो हुने बताए । 

‘खेलकुदमा अब आउने नेतृत्वले एन्फाको राजनीति खेल मैदामनसम्म नपुगोस् भन्ने कुरामा ध्यान राख्नुपर्छ । विदेशमा हुने प्रयासहरू पनि यस्तै हुन् । राजनीतिबाट नेतृत्व अछुतो हुँदैन तर, त्यसको असर खेलमा हुनु भएन,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । 

बज्राचार्यले खेलकुद नेतृत्वले लिग प्रतियोगिता राम्रो सञ्चालन गर्ने र ग्रासरुट लेभलदेखि फुटबलको विकास गर्ने योजना लिने व्यक्ति खेलकुदको नेतृत्वमा आउनु राम्रो भएको बताए । 

यता एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले अबको नेतृत्व ग्रासरुटदेखि भौतिक पूर्वाधार विकासका लागि पर्ने नेतृत्व अबको फुटबलले चाहेको बताए । उनले फुटबल बुझेको या खेलाडी भए झनै सहज हुने बताए । दश वर्ष पहिला नेपाली फुटबलमा भएको विकास अहिले त्यही तहमा भएको देख्दा नेपाली फुटबलले नयाँ नेतृत्वको अपेक्षा गरेको बताए । 

ग्रासरुटदेखि भौतिक पूर्वाधारसम्मको विकासको धरातल परिवर्तन गर्ने नेतृत्व अबको फुटबलले खोजेको छ । फुटबल राम्रो बुझेको वा पूर्व खेलाडी हुँदा झनै सहज हुन्छ,’ श्रेष्ठले रातोपाटीसँगको कुराकानीमा भने । 

एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ । यसका लागि वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नेतृत्वका आकाङ्क्षी हुन् । उनीहरू चार वर्ष कार्यकालबाट अर्को कार्यकालमा आउने योजना बनाएका छन् । 

अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाको चारवर्षे कार्यकाल असफल नै भएको छ । आफूले गर्ने योजना बनाएका कामहरू शेर्पाले धेरै गर्न सकेनन् । उनी अहिले पुरानो कामलाई पूरा गर्न नयाँ नेतृत्वमा आएको बताउँछन् । 

तर, उनको कार्यकालमा धेरै विवादहरू उत्पन्न भए । अझ भनौँ मुख्य प्रशिक्षक अल्मुताइरीको आगमनले उनलाई झनै विवादित बनायो । अल्मुताइरी आएको समयमा मात्र तीन पटक विवादमा परे । त्यो भन्दा पहिला वरिष्ठ उपाध्यक्ष शेर्पाले आर्थिक अनियमित भएकोभन्दै अर्को पक्ष बनाए । 

यता अहिलेका अध्यक्षका उम्मेदवार पंकज नेम्वाङको कार्यकाल पनि असफल नै भयो । स्वयम आफू नेतृत्वमा रहेको समिति असफल भएको बताउँदै उनी वरिष्ठ उपाध्यक्ष पदमा बसिरहे । विभिन्न समयमा विवाद आउँदा पनि उनले विरोध गरे । तर, राजीनामा दिन भने सकेनन् । यसरी असफल भएका दुवै व्यक्ति अहिले नयाँ नेतृत्वका लागि आउँदैछन् । त्यसले नेपाली फुटबलमा विकास कसरी होला भन्ने प्रश्न छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप