शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोटको प्रशारण लाइनमा पुरुष हिँड्दा प्राधिकरणलाई ६० लाख घाटा, उद्धारका लागि सेना गुहारियो

शनिबार, २८ जेठ २०७९, १० : ००
शनिबार, २८ जेठ २०७९

नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको रातोपाटीलाई बताए ।

घिसिङले भने– ‘उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । के गर्ने के नगर्ने भइरहेको छ ।’

नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन । 

बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको छ ।  रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘तारमा गएर उसलाई तल झार्न पनि सम्भव छैन्, बोलाउँदा झन् झन् माथि गइरहेको छ । नेपाली सेनालाई पनि भनेका छौँ, सिडिओ पनि लागिरहनुभएको छ । आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार भएन भने के गर्ने ? समातेर ल्याउन पनि नमिल्ने अवस्था छ ।’ 

घिसिङले ती ब्यक्तिमा मानसिक समस्या रहेको बताए । उनले भने–‘ विद्युत टावरमा हतपत्त मान्छे चढ्दैनन् । कि आत्महत्या गर्न गएको हुनुपर्यो ।’ ५ घण्टादेखि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द भएपछि काठमाडौंमा विद्युत वितरणमा केही समस्या हुने उनले बताए । प्रशारण लाइनमा हिँडिरहेका विकको उद्धार प्रयास जारी रहेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप