आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

अछाममा किशोर मृत्यु प्रकरण : अनुसन्धानमा सीआईबीको टोली परिचालन

शव पोष्टमार्टम गर्ने सहमति
आइतबार, २२ जेठ २०७९, १४ : २८
आइतबार, २२ जेठ २०७९

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । शनिवार कक्षा १० मा अध्ययनरत विनोद शाही जंगलमा मृत भेटिएका थिए ।

घटना अनुसन्धानमा सुदूरपश्चिम प्रदेशमा रहेको ब्यूरोको टोलीलाई पठाइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए । कञ्चनपुरमा निर्मला पन्त हत्या अनुसन्धानमा खटिएका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

विनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् । आक्रोशित स्थानीयले प्रहरीलाई घटनास्थलमा जान रोकेका थिए । तर, अहिले शव घटनास्थलबाट निकालेर पोष्टमार्टम गर्न स्थानीय सहमत भएका छन् ।

अनुसन्धानको प्रक्रिया शुरु गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले रातोपाटीलाई बताए । प्रजिअ मरासैनीले भने–‘चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरी टोली घटनास्थलमा छन् ।’

नेपाली सेनाको सहयोग लिएर शवलाई डोरीले तानेर मध्यपहाडी लोकमार्गमा ल्याउने प्रयास भइरहेको छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी मोहनकुमार आचार्यले रातोपाटीलाई बताए ।

शनिवार आक्रोशित समूहले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडी तोडफोड गरेर पञ्चदेवल विनायक नगरपालिकामा तालाबन्दी गरेका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

बलबहादुर शाहीको छोरा १७ वर्षीय मृतक विनोदबहादुर शाहीको मोबाइल शवभन्दा माथि मध्यपहाडी लोकमार्गमा भेटिएको छ । उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा भेटिएको छ । उनी जेठ १७ मा राति रिठा टोलबाट हराएका उनको परिवारले प्रहरीलाई जानकारी  गराएका छन् ।

स्थिति तनावपूर्ण भएपछि शनिवार बाजुरा र डोटीबाट थप प्रहरी घटनास्थलमा परिचालन गरिएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप