बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

बालेनको जितमा मधेसलाई गर्व, मधेसी भएकोमा बालेनलाई कति गर्व ?

बिहीबार, १२ जेठ २०७९, १५ : ५६
बिहीबार, १२ जेठ २०७९

बालेन्द्र साह उर्फ बालेन साह काठमाडौंको प्रमुखमा निर्वाचित भइसकेका छन्, यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । काठमाडौंको प्रमुखमा उनको जित सुनिश्चित भएसँगै मधेसमा एक प्रकारले तरङ्ग आएको छ । बालेनको पुर्ख्यौली घर मधेसमै रहेको र उनी मधेसी मूलका युवा रहेका कारण पनि बालेनको जितमा मधेस खुसी देखिन्छ ।

बालेन आफैलाई भने मधेसी मूलको युवा भएर काठमाडौं महानगरको प्रमुखमा जित हासिल गर्दा कति गर्व भइरहेको छ भन्ने पाटो प्रस्ट हुन सकेको छैन । किनकि, बालेनले अहिलेसम्म आफूलाई मधेसी मूलको नागरिकका रुपमा सार्वजनिक रुपमा चिनाउन चाहेका छैनन् ।

पत्रकार दीपक भट्टराई लेख्छन्, ‘भोट गन्न थालेदेखि काठमाडौंका चारवटा बिहे भोजमा परियो । गफको केन्द्र त बालेन साह नै भए जहिले पनि । जहाँ पनि जान्ने सुन्ने टोपलिन पर्नेले भन्न थालिहाले–त्यसै कहाँ जित्थ्यो ? त्यो राजाको मान्छे रहेछ । भारतीय दूतावासले चलाएको रहेछ । अमेरिकी र युरोपेलीले उचालेका रहेछन् । माओवादीमा जाने कन्फर्म भइसक्यो । शेयर बजारले पो उठाएको रहेछ ।’

पत्रकार भट्टराईले आफ्नो फेसबुकमा लेखेको स्टाटसमा मधेसको कुरा कहीँ गरिएको छैन । पत्रकार भट्टराईमात्र होइन, काठमाडौंका मधेसीबाहेक अरु कोही पनि बालेन साहलाई मधेसी स्वीकार गर्न तयार छैनन् । कसैले पनि बालेन साह मधेसी भएकै कारण चुनाव जितेका हुन् भनेको कतै सुनिएको छैन ।

मधेसमा भने एक तप्काले काठमाडौं महानगरपालिकाको प्रमुखमा एकजना मधेसीले जित्यो भने खुसी मनाउन थालेको देखिन्छ । बालेनले थरमा ‘शाह’ लेखिएका कारण कतिपयले उनलाई राजपरिवारसँग जोडेर हेरे भने कतिपयले उच्च जाती ठकुरीसँग जोडेर हेरे । उनी मधेसी हुन् भनेर सुरुमा कसैले सुइँकोसम्म पाएनन् । जब उम्मेदवारी दिए अनि उनको बारेमा सोधखोज हुन थाल्यो, त्यसपछि मात्र उनी मधेसी हुन् भन्ने सबैले थाहा पाए ।

बालेन साह अर्थात् बालेन्द्र स्वयंले पनि आफूलाई मधेसी भन्दैनन् । मिडियामा पनि उनले आफूलाई मधेसी भन्न रुचाएका छैनन् । न त उनका परिवारले मधेसी भनेर आफ्नो परिचय गराउन चाहेका छन् ।

बालेनका काका ईन्जिनियर सत्यनारायण साह भन्छन्, ‘बालेन साहको चुनावमा परिवारको कुनै भूमिका छैन, बालेनले सबैथोक आफै गरिरहेका छन्, उनको चुनाव प्रचार होस् या अहिले विजय उत्सव होस्, त्यसमा परिवारको कुनै संलग्नता छैन ।’

बालेनले आफूलाई मधेसी नभन्नु उसको आफ्नो स्वतन्त्रता रहेको बताउँदै ईन्जिनियर साहले आफूहरु मधेसी रहेको बताए । बालेनको जन्म, लालनपालन सबै काठमाडौंमै भयो । उनी आक्कल झुक्कल गाउँ जान्छन् । मधेस र मधेसीसँग उनको कुनै साइनो छैन । उनी काठमाडौंको समाजमा हुर्केका हुन् । उनको संगत यहीँको समाजसँग भएको हो । काठमाडौँको समाज र संस्कारले बालेनलाई स्वीकार गरेको छ । बालेन पनि यहाँको समाज र संस्कारलाई स्वीकार गरिसकेका छन् । त्यही भएर उनी मधेससँग त्यति सरोकार राख्दैनन् ।

‘बालेनलाई सायद मैथिली बोल्न पनि आउँदैन,’ वरिष्ठ पत्रकार सीताराम अग्रहरी भन्छन्, ‘लगभग दश वर्षजति पहिले बालेनका बुबाले उनीसँग मेरो कुरा गराउनु भएको थियो । म मैथिलीमा बोलिरहेको थिएँ । उनी नेपालीमा बोलिरहेका थिए, मैले मैथिलीमा बोल्दा हुन्छ भनेर उनलाई भनेँ तर उनले आफूलाई मैथिली बोल्न नआउने सुनाए । मैले नेपाली मेन स्ट्रीमको भाषा हो तर मैथिलीमा पनि बोल्न सिक भनेर उनलाई सुझाव दिएँ ।’

बालेनको बुबा मैथिल भए पनि बालेनमा मैथिल प्रभाव नरहेको उनको बुझाइ छ । उनी भन्छन्, मेरो विचारमा बालेनले आफ्नो रुपरङ बाहेक उनले कहीँ कतै मधेसको प्रतिनिधित्व गर्दैनन्, न त उनले नै यस्तो कुनै दाबी गर्दछन्, न त्यस्तो सोच राख्दछन् ।’

​उनको  थर मधेसी भए पनि उसको सोच मधेसी नरहेको अग्रहरी बताउँछन् ।  एक निजी कम्पनीमा काम गर्ने सिलसिलामा काठमाडौँमा लामो समयदेखि बस्दै आएका सरोज मिश्र भन्छन्, ‘बालेन मधेसी हुन् भन्नेमा कुनै सन्देह छैन तर यो कुरा न काठमाडौंलाई थाहा थियो न मधेसलाई ।’

बालेन मधेसी हुन् भनेर अहिले जति चर्चा छ त्यति चर्चा उम्मेदवारी दिनुअघि भएको भए सायद उनी चुनाव जित्दैनथे होला भन्ने मिश्रको तर्क छ । बालेन काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकोमा मधेसीले भने गर्व गरेको उनले बताए । यद्यपि त्यसबाट मधेस त्यति उत्साहित नरहेको उनी बताउँछन् ।

‘काठमाडौं महानगरपालिकामा एउटा मधेसीलाई होइन, काठमाडौंले चिनेको एउटा कलाकार र राम्रो भिजन भएको बालेनलाई जिताएको हो,’ लेखक एवं पत्रकारसमेत रहेका रामरिझन यादव भन्छन्, ‘बालेनले मधेसी अनुहार लिएर चुनाव जितेको होइन, यदि महानगरवासीले बालेन मधेसी हुन् भन्ने पहिले थाहा पाएको भए सायद यो अवस्था रहने थिएन, सायद जित्न गाह्रो हुन्थ्यो कि ।’

महोत्तरीका बालेन जो मधेसी समुदायका हुन्, उनले काठमाडौं महानगरपालिको प्रमुखमा जितेका छन् । त्यसले मधेसी जनता खुशी रहेको रामरिझन बताउँछन् । जितको घोषणा भएपछि मधेसमा पनि विजय उत्सव हुने बताउँदै उनले तर काठमाडौंले मधेसीलाई अझै स्वीकार नगरेको बताए ।

कुनै राजनीतिक दलबाट वा कुनै चर्चित अनुहार भएका मधेसीले महानगरमा चुनाव लडे पक्कै पनि जित्न नसक्ने उनको भनाइ छ । बालेनले अर्कै रुप, अर्कै परिवेशमा चुनाव जितेको उनी बताउँछन् ।

सिरहाका सहप्राध्यापक चन्देश्वर यादव एउटा मधेसी समुदायको व्यक्ति काठमाडौंजस्तो ठाउँमा चुनाव जित्नुले मधेसमा थोरै भए पनि उत्साह बढाएको बताउँछन् । तर समग्रमा मधेसले त्यसप्रति धेरै चासो नलिएको उनको भनाइ छ । उनी भन्छन्, ‘मधेसमा धेरैलाई बालेनको बारेमा थाहा छैन, मधेसका सहर बजारका पढे लेखेका व्यक्तिलाई मात्र जानकारी छ ।’

सुरुमा नाम सुन्दा बालेन पूर्व राजपरिवारसँग जोडिएको कुनै खानदानी ठकुरी भन्ने आफूलाई समेत लागेको बताउँदै उनले भने, ‘पछि मिडियामा कुरा आउन थालेपछि मात्र उनी मधेसी हुन् भन्ने थाहा भयो ।’

बालेनका बुबा डा.रामनारायण साहले पहाडी समुदायसँग बिहे गरेका छन् । बालेन आफैले पनि पहाडी समुदायकी केटीसँग बिहे गरेका हुन् । उनले भने, ‘बालेनका बुबा रामनारायण साह नै मधेस छाडेर काठमाडौंवासी भए, बालेनलाई मधेसको आफ्नो घरपरिवार तथा पुस्ताको बारेमा थाहा पनि छैन ।’

बालेनले चुनावमा गरेको प्रचार प्रचारदेखि लिएर अहिले विजय उत्सवहरुमा कतै पनि कुनै मधेसीको संलग्नता छैन । मधेसबाट विजय उत्सव मनाउन काठमाडौं आउन लागेका आफन्त तथा शुभचिन्तकलाई बालेनले रोकेका छन् । उनले उतै विजय उत्सव मनाउन भनेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप