शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन कसरी भए ‘बबाल उम्मेदवार’ ?

मङ्गलबार, १० जेठ २०७९, १२ : ४७
मङ्गलबार, १० जेठ २०७९

काठमाडौं महानगरको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गर्ने दौरानमा एमाले नेता केशव स्थापितले हुँकार शैलीमा भनेका थिए, ‘द गेम इज ओभर’ म निर्वाचित भैसकें तर प्रक्रिया पुर्याउन मात्र निर्वाचन गर्नुपर्ने बाध्यता छ । आफ्नो जितमा ढुक्क र ओभर कन्फीडेन्ट थिए उनी । काठमाडौंको मेयर भैसकेका र मूलधारको राजनीतिमा ‘स्थापित’ उनको आत्मविश्वास पलाउनु स्वभाविक पनि थियो । तर उनको उपर्युक्त घोषणालाई काठमाडाैं महानगरको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले नराम्ररी धक्का दिएको छ ।

काठमाडाैं महानगरमा आधा दर्जन वडाहरूको नतिजा आइसकेको छ । उक्त वडाहरूमा आफ्नो पकड मजबुत रहेको भनी घोषणा गर्ने स्थापित र  नेपाली काँग्रेसकी सिर्जना सिंह पेशाले इन्जिनियर, प्रतिभाले र्यापर गायक स्वतन्त्र उम्मेदवार बालेन साह भन्दा दशौं हजार मतान्तरले पछाडि छुटेका छन् । बालेन काठमाडौंका नयाँ मेयर हुने प्रवल संभावना छ ।

कसरी चर्चित भए बालेन ?

अन्य देशमा कलाकारहरुले राजनीतिमा पनि शिखर चुमेको भएता पनि नेपालमा हालसम्म कुनै पनि कलाकारले राजनीतिको शिखर चुम्न सकेका छैनन् । यद्धपि केही राजनैतिक पदहरु प्राप्त गर्न भने सफल भएका छन् । यसै सन्दर्भमा राजनीतिमा त्यति चर्चा नकमाएका बालेन एकाएक कसरी चर्चामा आए भन्ने प्रश्न सर्वत्र छ । बालेन चर्चामा आउनुका व्यक्तिगत, सामाजिक, राजनैतिक र विविध कारणहरुलाई निम्नानुसार चर्चा गर्न सकिन्छ  ।

१. व्यक्तिगत कारण

कुनै पनि सफलता प्राप्त गर्न व्यक्ति आफैमा सक्षम हुनुपर्छ । कसैको सहारा, आशीर्वाद, सहयोग र भाग्य आदि तपसिलका कुरा हुन् र तिनले पनि त्यसैलाई साथ दिन्छ, जसले केही प्रयास गर्दछ । बालेन चर्चित हुनु र काठमाडौंका मतदाताहरुको प्रथम रोजाइमा पर्नु संयोग मात्र होइन, उनीमा निम्नानुसारका गुण छन्ः

युवा उमेर

राज्यले १५ वर्ष सम्मलाई बालक, १५ देखि ४० वर्ष सम्मलाई युवा र ४० वर्ष भन्दा माथिलाई वयस्क भनेको छ ।  उनी ३१ वर्षे आकर्षक युवा हुन् र उनको व्यक्तित्वले जनमानसमा सकारात्मक उर्जा प्रवाह गरेको हुनाले नै उनी चर्चित हुन सहयोग पुगेको छ ।

उनी शिक्षित युवा हुन्, जसले स्वदेशमा सिभिल इन्जिनियर डिग्री (स्नातक) हासिल गरेका छन् र विदेश (भारत) बाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर छन् । तसर्थ उनी चर्चित छन् । किनकि वर्तमान सन्दर्भमा हाम्रा कतिपय उच्च ओहोदामा विराजमान भएका र भैसकेका राजनैतिक व्यक्तिहरु उच्चस्तरको शैक्षिक योग्यता नभएका व्यक्तिहरु पनि छन् ।

कलाकार व्यक्तित्व

जोसुकैले शिक्षा आर्जन गर्न सक्छ तर जो सुकै कलाकार हुन सक्दैन । कलाकार हुन केही विशेष प्रतिभा हुनु आवश्यक छ । कलाकारिता एक थप योग्यता हो । उनी आफै र्‍याप गीत रचना गर्ने, गाउने, कम्पोज गर्ने, भिडियो बनाउन स्क्रिप्ट लेख्ने र निर्देशन दिने भएकोले उक्त योग्यता उनको थप निधि हो । कलाकार रचनात्मक हुन्छ र नयाँ नयाँ कुराको कल्पना गर्छ, जसले समाजमा केही योगदान गर्दछ ।

स्पष्ट वक्ता

नेतृत्व गर्न आफ्नो अवधारणा सर्वसाधारणको बिचमा र आफ्नो समूहको बिचमा राख्नको लागि राम्रो वक्तृत्वकला हुनु जरुरी छ । अवधारणा बुझेको, राम्रो भाषा शैली र आत्मभरोसा भएको व्यक्तिले मात्र आफूलाई लागेका कुराहरु र आफूले गर्न चाहेको कुरा जनमानसमा राख्न सक्छ र प्रभाव पार्न सक्दछ । साथै विकसित परिस्थितिको विश्लेषण गरी सोहीअनुरुप आफ्नो पक्षमा व्याख्या गर्न सक्नेले धेरै व्यक्तिलाई आकर्षित र प्रभावित पर्न सक्दछ । बालेनमा पनि उक्त गुण रहेको छ  ।

मेयरका उम्मेदवारहरू सम्मिलित कुनै अन्तर्वार्तामा सबै उम्मेदवारहरूले आआफ्नो उम्मेदवारीको पैरवी गरिरहँदा बालेनले आफू सबै उम्मेदवारको उत्कृष्ट गुणहरुको सम्मिश्रण हो भनेका छन् । स्थापित भनेको इन्जिनियर लाई दिएको पारम्परिक उपाधि हो । त्यसैले म केशव स्थापितको इन्जिनियरको गुण भएको, मदनदास जस्तो कलाकारको गुण भएको, कुनै युवा उम्मेदवार जस्तो युवा भएको, धेरै गुणले सम्पन्न उम्मेदवार भएकाले म आफैमा उम्मेदवारको ‘कम्बोप्याक’ हो । त्यसैले मतदाताको पहिलो रोजाई म नै हो भनी आफ्नो दावेदारी अरुको भन्दा दह्रो भएको तर्क पेश गरेका थिए ।

सकारात्मक सोच

हाम्रो देशका प्रधानमन्त्री भैसकेका कतिपय शीर्ष नेताहरुले पदीय आचरण विपरीत नसुहाउने खालका घोचपेच र गालीगलौज गर्ने संस्कृतिको विकास भएको छ । यस्तो परिप्रेक्षमा बालेनले कसैलाई घोचपेच र व्यंग्य नगरी आफ्नो दृष्टिकोण राखेका छन् । कसैको आफूप्रति लक्षित घोचपेचमा समेत संयमित टिप्पणी गरेर सकारात्मकताको सञ्चार गरेका छन् । साथै कसैले राम्रो काम गरेको छ भने प्रशंसा समेत गरेका छन् ।

विषयको गहन अध्ययन र तयारी

बालेनले भने अनुसार उनले मेयरको उम्मेदवारी कुनै लहडको भरमा बिना तयारी दिएका थिएनन् । काठमाडौँ महानगरको मेयरको उम्मेदवार हुन पाँच वर्षको अध्ययन र तयारी गरेका छन्, जुन उनको हरेक प्रस्तुतिमा स्पष्ट हेर्न र अनुभव गर्न सकिन्छ । उनले तयारीको क्रममा देशव्यापी भ्रमण गरेका छन् । विभिन्न पालिकाहरुको भ्रमण गरी अध्ययन गरेका छन् र विभिन्न विज्ञ व्यक्तिहरुको सल्लाह लिएका छन् ।

व्यक्तित्व पहिचान

व्यक्तिगत गोप्यताका बाबजुद सार्वजनिक पदमा जाने व्यक्तिको जीवनका धेरै पक्षहरुमा सर्वसाधारणको चासो रहन्छ । त्यसैले निजको खानपान, रहनसहन, वानी ब्यहोरामा धेरै ध्यान दिनुपर्दछ र आफ्नो व्यक्तिगत छुट्टै पहिचान कायम गर्न सक्नु पर्दछ । बालेनले आफ्नो दाह्री र चस्मालाई नै आफ्नो पहिचान बनाएका छन् । बजारमा बालेनले लगाउने चस्माको माग बढ्नु र बालेनको जस्तै दाह्री पाल्ने चाहना युवाहरु बढ्नुले पनि बालेनको व्यक्तित्व र पहिचान प्रतिको आकर्षण दर्शाउँछ ।

सूचना प्रविधिको ज्ञान र प्रयोग

वर्तमान युग सूचना र प्रविधिको युग हो । चालिस वर्ष कटेको पुस्ता भन्दा चालिस नकटेको पुस्ता सूचना प्रविधिको प्रयोगमा बढी दक्ष रहेको छ । त्यो भन्दा पनि नवयुवा पुस्ता अझै पोख्त र परिष्कृत रहेको यथार्थमा बालेनले बुवा पुस्ताका आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरु भन्दा निश्चित रुपमा सूचना प्रविधिको राम्रो उपयोग गरे । र, आफूलाई सोहीअनुरुप प्रभावकारी रुपमा मतदातासामु प्रस्तुत भए ।

२. सामाजिक कारण

बालेनलाई चर्चित हुन सहयोगी हुने केही सामाजिक कारण पनि छन्, जसले छोटो समयमा नै काठमाडौंका मतदातामाझ बालेनलाई पुर्यायो र देशभरि नै चर्चित बनायो ।

परम्परागत राजनैतिक शक्ति

नेपालमा विद्यमान सबै राष्ट्रिय राजनैतिक पार्टीहरु कुनै न कुनै कालखण्डमा सरकारमा सहभागी भैसकेका छन् र परीक्षण हुन बाँकी शक्तिहरु छैनन् भन्दा पनि हुन्छ । आफूलाई वैकल्पिक शक्ति भन्ने राजनैतिक पार्टीहरुले आफ्नो हैसियत बढाउन सकेका छैनन्, चाहे प्रजातान्त्रिक शक्ति होस् वा वामपन्थी शक्ति, कोही पनि जनपक्षीय रुपमा प्रस्तुत हुन सकेनन् । तिनको आकर्षण निरन्तर क्षीण हुँदै गएको सन्दर्भमा विशेष गरी काठमाडौंका जनतालाई परीक्षण गर्ने मौका बालेनले प्रस्तुत गरेका छन् । नानीमैंया दाहाल र गोल्छे सार्की जस्ता व्यक्तित्वहरुलाई पनि काठमाडौंका जनताले नै आफूलाई प्रमाणित गर्ने मौका दिएकै हुन् ।

पार्टी राजनीतिबाट वाक्क दिक्क

२०४६ साल पछिका ३३ वर्षे राजनैतिक उतार चढावले जनतालाई राहत दिन सकेन, बरु देशमा अस्थिरता पैदा गर्यो । देश महँगी, भ्रष्टाचार, बेरोजगारीको भुमरीमा फस्दै गयो भने राष्ट्रियताको सवालमा झन झन कम्जोर हुँदै गयो । नातावाद, कृपावादको सिलसिला निरन्तर चलिरह्यो । र, हालको उम्मेदवार चयनमा समेत सोही सिलसिला दोहोरियो । पार्टीको उपर्युक्त क्रियाकलापबाट वाक्क दिक्क भएका जनताले नयाँपन प्रयोग गर्ने जमर्को गरे, जसको प्रत्यक्ष फाइदा बालेन जस्ता उम्मेदवारलाई भयो । पार्टीहरुले योग्यता भन्दा पनि उम्मेदवारको ढुंगामुढा गर्ने क्षमता, हुल हुज्जत गर्ने क्षमता, अन्धभक्ति गर्ने प्रबृत्ति आदिलाई प्राथमिकता दिएको कारण नै बालेनको लागि शुभ संकेत ठहरियो ।

परम्परागत पार्टीका पुराना र कामले भन्दा पनि घामले पाकेका उम्मेदवारहरुले आफूले निश्चित रुपमा जित्ने, आफ्नो पार्टीको पकड रहेको, फुच्चे बालेनले केही फरक पर्दैन भनी आत्मरतिमा रमाइरहे, जसको प्रत्यक्ष फाइदा बालेनलाई भयो ।

सञ्चार क्षेत्र र सामाजिक सञ्जालको साथ

चर्चित र्यापर भएको कारण बालेन सञ्चार जगतका लागि नौलो नाम थिएन । उनले आफ्नो उम्मेदवारी घोषणा गर्नासाथ नाम चलेका मिडिया हाउसहरुले प्रोमोट गरिदिए । राम्रो तयारीका साथ प्रस्तुत भएका बालेनले उक्त मौकालाई राम्रै  ‘क्यास’ गरे । र, माहौल आफ्नो पक्षमा पार्न सफल भए । बालेनको चर्चालाई केशव स्थापितले नकारात्मक टिप्पणी गरेर अझै उचाइमा पुर्याईदिए । हात हातमा स्मार्ट फोन बोक्ने आजका सचेत स्मार्ट युवाहरु आफ्नो र्यापर आइकोनलाई राजनीतिमा स्वागत गर्न तत्पर रहे । आफै पनि बालेनको प्रचार प्रसारमा होमिए । 

बाह्य शक्तिको चलखेल भन्ने प्रवृत्ति

नेपालमा जसले भारतको विरोध गर्छ, उसलाई राष्ट्रवादीको बिल्ला भिराइन्छ । माओवादीले पनि चर्चित हुन भारतविरुद्ध सुरुङ युद्ध घोषणा गरेकै हो । भारतको विरोध गरेकै कारणले मात्र पूर्व प्रधानमन्त्री केपी ओली टिमलाई राष्ट्रवादी नेता भनी विगतको चुनावमा नेपाली जनताले अधिक मतले जिताएको हो ।े नेपालमा घट्ने जस्तोसुकै घटनामा पनि बाह्य शक्तिको हात रहेको हुन्छ भन्ने नेपाली जनताका मानसिकता पनि त्यसको कारक हुन सक्छ । नेपालका विभिन्न पार्टी, व्यक्ति र संस्थाहरुमध्ये कसैलाई भारतपरस्त त कसैलाई ‘र’ को जासुस, कसैलाई अमेरिका त कसैलाई युरोपियनको पिछलग्गु भनिएकै हो ।

यसै सन्दर्भमा बालेनलाई पनि कसैले राजाको मान्छे त कसैले माओवादीको क्याडर भने । त्यस्तै कसैले त उनलाई भारत, अमेरिका वा कुनै बाह्य शक्तिबाट सञ्चालित र परिचालित पनि भन्न भ्याईसकेका छन् । वास्तविकता भविष्यमा उजागर हुँदै जाला । तर जे सुकै भएपनि यो चुनावमा यस्ता शंका उपशंकाले बालेनलाई चर्चित हुन मलजल गर्यो । अनि, मतदाता तान्न प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरेकै हो ।

समाज परिवर्तनको संकेत

देश सञ्चालन गर्न राजनैतिक संस्था अर्थात् पार्टी वा संयन्त्र आवश्यक हुन्छ । स्वतन्त्र व्यक्तिले सम्पूर्ण देश सञ्चालन गर्न सक्दैन । तर विद्यमान संरचनाको सहयोगले कुनै नगर वा महानगर संचालन गर्न सकिन्छ, यसमा कुनै दुई राय हुन सक्दैन । काठमाडौं महानगरको मतगणनाको सम्पूर्ण नतिजा न आउन्जेलसम्म भन्न सकिएन तर प्रारम्भिक नतिजाले बालेनलाई काठमाडौंको मेयरको दह्रो उम्मेदवारको रुपमा प्रस्तुत गरिसकेको छ । यदि यही अग्रता रहने हो भने केही दिनपछि बालेन काठमाडौं महानगरीको युवा पिता बन्नेछन्, जसले निम्नानुसारको संकेत गरेको विश्लेषण गर्न सकिन्छ ।

एजेन्डाबिहीन परम्परागत राजनैतिक शक्तिको तिरस्कार

बालेनको विजय सुनिश्चित जस्तै छ । प्रारम्भिक नतिजाले आम जनसमुदायले परम्परागत र कुनै नीति तथा राजनैतिक लक्ष्य नभएको राजनैतिक शक्तिको प्रतिनिधिलाई तिरस्कार गरेको प्रस्ट छ । वर्तमान समयमा विद्यमान राजनैतिक पार्टी र नेताबाट जनता वाक्क दिक्क भएका छन् । तसर्थ अब सबै राजनैतिक पार्टीहरुले आआफ्नो सिद्धान्त, एजेन्डा र लक्ष्यमा परिमार्जन गरी जनमुखी बनाउन जरुरी देखिएको छ । अबका युवाहरु पिछलग्गु, झोले बन्न रुचाउँदैनन् । तिनले प्रतिस्पर्धी र स्पष्ट दृष्टि भएको सेवक चाहन्छन् भन्ने स्पष्ट संकेत गरेको छ ।

परम्परागत रुढीवादी समाज परिवर्तन

बालेन तराई मधेस मुलको समुदायबाट प्रतिनिधित्व गर्दै काठमाडौं महानगरको मेयर भएमा काठमाडौंको समाज उपत्यका बाहिरबाट आउने मान्छेप्रति बढी उदार रहेको र दुई दशक अगाडिको अनुदार समाजभन्दा बढी प्रगतिशील सहिष्णु र नेवारी समुदायबाट मात्र नेतृत्व गर्नुपर्छ भन्ने मानसिकताबाट मुक्त भई योग्य र प्रतिस्पर्धी व्यक्तिले नै नेतृत्व गर्नुपर्छ भन्नेतर्फ अग्रसर रहेको प्रष्ट भएको छ । राजधानीवासी जनता जातभातबाट माथि उठेर मधेसी समुदायले उचित सम्मान पाउनुपर्छ भन्नेतर्फ पनि सचेत रहेको संकेत गरेको छ ।

बालेनका चुनौतीहरु

म गर्न सक्छु भन्नु र गर्नुमा धेरै नै अन्तर हुन्छ । त्यहाँ सफलता र असफलताको बराबर सम्भावना रहेको हुन्छ । घोडा चढ्ने लड्छ । तर, चढ्दै नचढ्नु र चढेपछि लड्नुमा फरक छ । एउटा राम्रो योग्य व्यक्तिको प्रयासलाई सकारात्मक रुपमा लिनु पर्दछ र सहयोग गर्नु पर्दछ । तथापि बालेनलाई निम्न चुनौती हुन सक्छ ।

नौलो खेलाडी

नौलो खेलाडीले पहिले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ । गोल नगरेसम्म वा शतक नजमाएसम्म फुटबल र क्रिकेटमा कसैको नजरमा परिन्न भनेजस्तै बालेनले पनि केही उल्लेखनीय काम नगरुन्जेल कसैले पत्याउनेवाला छैनन् । उमेरले आफूभन्दा वरिष्ठ, अग्रज पुस्ताका नगर परिषद सदस्य, सल्लाहकारहरूसँग काम गर्न उनलाई फलामको च्युरा चपाए सरह हुनेछ । उमेर र अनुभवको कमीलाई सुझबुझपूर्ण निर्णय र व्यवहारले जित्नु पर्ने छ ।

पार्टीगत राजनीतिको भुमरी

हुन त प्रधानमन्त्री र मेयरको जिम्मेवारी, काम कारवाही र अधिकारको तुलना हुन सक्दैन । तर राजनीतिका चतुर खेलाडी मानिएका र झन्डै दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री ओलीले त पुरै कार्यकाल सरकार चलाउन नसकेको यथार्थ हाम्रो सामु छ । त्यस्तै संस्कार र प्रशिक्षणमा दीक्षित तिनै पार्टीका कार्यकर्ताहरुले पार्टीको स्वार्थभन्दा माथि उठेर सहयोग गर्लान् भन्ने विश्वास लिन गाह्रो पर्छ । तैपनि बालेनले भने सरह हरेक बैठक र सभाका निर्णयहरुलाई पारदर्शी ढंगले कार्यान्वयन गर्न थप सजग र सचेत हुनु जरुरी छ ।

गैरनेवारी समुदाय

जित्ने सम्भावना रहेका पुराना मेयर स्थापितले आफ्नो चुनावी प्रचार प्रसारको दौरानमा बालेनलाई गैरनेवारी समुदायको र मधेसी मुलको फुच्चे तथा नेवारी संस्कृति नबुझेको भनी बहुसंख्यक नेवारी समुदायको मत तान्ने प्रयास गरे । यसले समेत अझै पनि मधेसी र उपत्यका भन्दा बाहिरका व्यक्तिलाई काठमाडौंमा मेयरको जिम्मेवारी वहन गर्न गाह्रो नहोला भन्न सकिन्न । तर कुनै पार्टीमा आबद्ध न भएको कारणले जनमतको कदर गर्दै बहुसंख्यक सदस्यहरुले सहयोग गरेमा सहयोगको उदाहरणीय नमुना समेत बन्न सक्ने प्रवल सम्भावना उत्तिकै छ ।

लेखक हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल–पीएचडी कार्यक्रममा अनुसन्धानमा संलग्न छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीर्घ बहादुर चन्द
दीर्घ बहादुर चन्द
लेखकबाट थप