शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण कार्यक्रम

मङ्गलबार, १० जेठ २०७९, १९ : २५
मङ्गलबार, १० जेठ २०७९

 काठमाडौँ–सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै  राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम परेका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने बताइन् । यस्तै, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणालीमा लागु गरिने भएको छ  ।

औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गने व्यवस्था मिलाइने राष्ट्रपति भण्डारीले बताइन् । यस्तै, स्वास्थ्य संस्था चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि कानुनी व्यवस्थालाई थप बलियो बनाइने उनले बताइन् ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई एकीकृत गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिने भएको छ । सबै अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिने बताइन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने बताइन् । 

जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने भएको छ । सबै स्थानीय तहका स्वास्थ्य संस्थामा चालिस वर्षमाथिका नागरिकको वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण  गरिने भएको छ भने महिलामा हुने  पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने भएको छ ।

 किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने उनले बताइन् । स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने भएको छ । नीति तथा कार्यक्रम  क्रममा  प्रदेशको सहभागिता र समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ । यस्तै, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परिक्षण सरल र सहजरुपमा हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । 

​उता सहिदभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने भएको छ ।  विशिष्टीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई  प्रोत्साहित र आकर्षित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  देशभित्रका प्रयोगशालाहरूमा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाइने भएको छ ।

नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ । शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवम् क्यान्सर लगायतका दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुनः स्थापना तथा परामर्श केन्द्र स्थापना समेत गरिने राष्ट्रपति भण्डारीले बताइन् ।

 यस्तै, नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गरिने भएको छ । ‘एक स्वास्थ्य रणनीति’ कार्यान्वयनमा ल्याई प्रति जैविक औषधिको प्रतिरोधलाई न्यून गरिने भएको छ। ।

यस्तै, प्रत्येक प्रदेशमा  कम्तीमा दुई मेडिकल कलेज प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइने समेत उनले बताइन् । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेलधुरा मेडिकल कलेज सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी सङ्ख्या वृद्धि गरिने भएको छ । यस्तै, दुर्गम क्षेत्रको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाइने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप