बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कमल थापाकै गृहनगरमा राप्रपाका सिंहले कसरी पाए 'सानदार' मत ?

आइतबार, ०८ जेठ २०७९, १६ : ४१
आइतबार, ०८ जेठ २०७९

एमालेको गढका रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा ३० वर्षपछि एमालेको विरासत ढलेको छ । ३० वर्षदेखि हेटौंडाको नेतृत्व लिँदै आएको एमाले पहिलो पटक यहाँ नेतृत्वमुक्त बनेको हो । २०४८ सालदेखि हेटौंडाको नेतृत्वमा एमालेको एकछत्र राज थियो । हालै सम्पन्न निर्वाचनबाट एमालेको विरासत ढलेको छ । एमालेको विरासत ढल्नुको मुख्य कारण सत्तारुढ गठबन्धन नै हो भने दोस्रोमा पूर्वपञ्चहरु पनि मुख्य कारण हुन् ।

हेटौंडा उपमहानगरको नेतृत्वका लागि एमालेले हेभिवेट नेता संविधानसभा सदस्य अनन्त प्रसाद पौडेललाई अघि सारेको थियो । पौडेलविरुद्ध सत्तारुढ गठबन्धनले पूर्व एमालेकै मीनाकुमारी लामा र पञ्चहरुको बाहुल्यता रहेको राप्रपाबाट दिपक बहादुर सिंह प्रतिस्पर्धामा थिए ।

लामा २०७४ सालको निर्वाचनमा हेटौंडाको उपमेयर पदमा एमालेबाट निर्वाचित भएकी थिइन् भने हाल उनी नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् । उनी हेटौंडा उपमहानगर प्रमुखमा २३ हजार ७५ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पौडेलले २० हजार ९०८ मत र राप्रपाका सिंहले २० हजार ५३१ मत पाए ।

कसरी पाए सिंहले यति धेरै मत ?

बहुदल प्राप्तिपछि निरन्तर कमजोर अवस्थामा रहेको राप्रपाको हेटौंडामा सामान्य प्रभाव थियो । २०४८ सालदेखि हेटौंडामा राप्रपाको प्रभाव घट्दो छ । २०७४ को निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राप्रपाका उम्मेदवार रहेका मधुकर अधिकारीले ६ हजार ८५७ मत पाएका थिए । त्यस यता हेटौंडामा राप्रपाको संगठनमा सुधार आउन सकेको थिएन । 

​सामान्य प्रभाव बोकेको राप्रपाले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राम्रो मत ल्याएको छ । २ पटकसम्म जिल्ला विकास समितिको नेतृत्व गरेका सिंहले राप्रपाबाट उपमहानगर प्रमुखमा उम्मेदवारी हेटौंडामा ठूला दललाई एक प्रकारले चुनौती बनेको थियो ।

नभन्दै सिंहले ठूला दलका हेभीवेट नेताहलाई चुनौती दिँदै  लोकप्रियमत पाए । व्यापारिक घरानाका सिंह २०७० सालको निर्वाचनपछि हेटौंडाबाट हराएका थिए । उनी हालै सम्पन्न निर्वाचनको मनोनयन दर्ताका क्रममा एकाएक हेटौंडाको प्रमुख पदका उम्मेदवारको रुपमा प्रस्तुत भए । सिंह वैशाख १२ गते मनोनयन दर्ता गर्न प्लेनबाट सिमरामा उत्रिए र अपराह्न ४ बजे हेटौंडा आइपुगेर उम्मेदवारी दिए ।

सिंहको उम्मेदवारीलाई हेटौंडाको राजनीतिक वृत्तमा अत्यन्त महत्वका साथ हेरिएको थियो । उनको उम्मेदवारीपछि केहीले त जित्ने अडकलबाजी पनि गरे भने केहीले गठबन्धनको मत काट्ने उम्मेदवारको रुपमा विश्लेषण गरे ।

उनलाई एमालेले गठबन्धनको मत (काँग्रेसको असन्तुष्ट पक्षको मत) काट्न प्रयोग गरेको चर्चा गरिएको थियो । तर सिंहले गठबन्धनको भन्दा पनि एमालेकै मत काट्दा उनलाई लोकप्रिय मत प्राप्त भयो ।

कारणः १– पुरानो परिचित अनुहार

निर्वाचनको तयारीका क्रममा हेटौंडामा सिंहलाई नयाँ अनुहार एवम् ‘टुरिष्ट उम्मेदवार’को रुपमा विश्लेषण गरिएको थियो । जसले गर्दा उनलाई नयाँ पुस्ता र स्वतन्त्र मत प्राप्त नहुने अडकलबाजी गरिएको थियो ।

ठुला दलहरुले उनलाई नयाँ अनुहार र टुरिष्ट उम्मेदवार सोचेर नजरअन्दाज गर्नु नै सिंहको मत प्राप्तिको कारण हो । हेटौंडाका लागि सिंह पुराना मान्छे हुन् । उनी धेरै व्यक्तिमा परिचित पनि छन् । व्यावसायिक रुपमा भए पनि उनलाई हेटौंडाका पछिल्लो पुस्ताले पनि चिन्ने गरेका छन् ।

कारणः २– लिङ्देन र सिंहको क्रेज

राप्रपाको महाधिवेशनपछि कमल थापालाई हराउँदै राजेन्द्र लिङदेनले पार्टीको नेतृत्व हात पारे । पार्टीको बागडोर सम्हालैकै दिनदेखि लिङदेनले आफूलाई चर्चाको शिखरमा राख्न सफल भएक छन् । उनले भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो भन्ने नारा नै बनाएका छन् । जसले गर्दा उनको क्रेज पार्टी र आम जनतामा बढ्दो छ ।

त्यस्तै क्रेज हेटौंडामा सिंहको कायम हुन पुग्यो । सिंहले चुनावी प्रचारका क्रममा दिएका अभिव्यक्ति र उनको व्यक्तिगत प्रभावसँगै उनका चुनावी एजेण्डाले लोकप्रिय मत पाए ।

कारणः ३ कमल थापा फ्याक्टर

हेटौंडा कमल थापाको गृह जिल्ला हो । उनको निर्वाचन क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ हो । उनले हेटौंडा–६ को वंशगोपाल माध्यमिक विद्यालयबाट मतदान गरेका थिए । पार्टीको महाधिवेनमा हार व्यहोरेपछि थापाले राप्रपा नेपाल व्युँताएका छन् । उनले पार्टीमा राजाको हस्तक्षेप बढेको भन्दै राप्रपा छोडेर राप्रपा नेपाल व्युँताएका हुन् । योसँगै मकवानपुरमा राप्रपाको ठुलो संख्या उनीसँगै राप्रपा नेपालमा गएको छ ।

हालै सम्पन्न निर्वाचनमा थापाको पार्टी राप्रपा नेपालले एमालेलाई समर्थन ग¥यो । वडा तहसम्म गठबन्धन गर्ने सहमति भए पनि भागबण्डा गर्न नसक्दा एमालेलाई समर्थन गर्नुको विकल्प भएन ।

​उनले गृहनगरमै उम्मेदवार खडा गर्न सकेनन् । जसले गर्दा राप्रपा नेपालको मत पनि सिंहले पाए । राप्रपा छोडेर थापासँगै राप्रपा नेपालमा गएकाहरूले पनि आफ्नो उम्मेदवार नहुँदा एमालेलाई मत दिएनन् र त्यो मत सिंहलाई दिए ।

कारणः ४– ठुला दलको अन्तरघातले सिंहलाई फाइदा

हालै सम्पन्न निर्वाचनमा सिंहले प्राप्त गरेको मत उनको व्यक्तिगत र पार्टीको मात्र होइन । राप्रपाको सांगठनिक मत भनेको विभाजनपछि करिव ४ हजारको हाराहारी छ भने राप्रपा नेपालको ३ हजार बराबर छ ।

सिंहलाई सांगठनिक र व्यक्तिगत मतभन्दा बढी ठुला दलहरुको मत प्राप्त भएको देखिन्छ । हेटौंडा उपमहानगर प्रमुख पदमा उम्मेदवारी दिन नपाएका कारण सत्तारुढ गठबन्धनकै काँग्रेसको रुष्ट मत पनि सिंहलाई प्राप्त भयो भने एमालेभित्रको मत पनि उनलाई नै प्राप्त भएको देखिन्छ । एमालेभित्र उम्मेदवारको विषयमा देखिएको विवादका कारण सिंहलाई फाइदा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप