बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा गठबन्धनका उम्मेदवार विजयी, को हुन् उपमहानगर हाँक्ने मीना र राजेश ?

शुक्रबार, ०६ जेठ २०७९, २१ : २८
शुक्रबार, ०६ जेठ २०७९

हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडाको मेयर र उपमेयर दुबै पदमा क्रमशः एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन् । 

मेयरमा विजयी भएकी लामाले २३ हजार ८० मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत पाए । यसैगरी राप्रपाका दिपक सिंहले २० हजार ५३१ मत पाए । यस्तै उपमेयरमा विजयी राजेश बानियाँले ३३ हजार ११४ मत पाउँदा एमालेकी सुमित्रा काफ्लेले २४ हजार ३२८ र राप्रपाकी इन्दिरा न्यौपानेले  ५ हजार ५९७ मत पाए । उसो त एमालेका मेयर र उपमेयरका उम्मेदवारले शुक्रबार दिउँसै हार स्वीकार्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिइसकेका छन् । 

को हुन् मीना लामा ?
२०३३ साल पुष २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी मीना लामा बुबा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरी हुन् । बाल्यकाल साधारण रुपमा व्यतित गरेकी लामा २०४६ सालबाट राजनीतिमा होमिएकी हुन् ।
विद्यार्थी जीवनमै राजनीतिमा प्रवेश गरेकी उनी हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयाबाट एसएलसी उत्तिर्ण हुन् । 

त्यस पश्चात उनले अध्ययनका लागि मकवानपुर बहुमुखी क्याम्पस रोजिन् । मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरी उनले हरिखेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एलएलबी अध्ययन गरिन् । 

अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएकी लामाले अनेरास्ववियुबाट राजनीति सुरु गरेकी थिइन् । २०५२ सालमा उनले अनेरास्ववियु मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी पाएकी थिइन् । सोही क्रममा २०५४ असार १३ गते सामाजिक परम्परा अनुसार  व्यवसायी सुनकुमार लामासँग उनको विवाह भयो । 

पारिवारिक साथ, सहयोग र मायाले अध्ययन, राजनीतिक जीवनलाई सफलतापूर्वक अघि बढाएकी लामाको दुई सन्तान छन् ।  लामाले २०७१ सालमा एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इन्चार्जको जिम्मेवारी पाइन् भने २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव पनि भइन् । 

२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य हुँदै लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्षसमेत भइन् । लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखको रुपमा भारी मतले विजयी भइन् । उनी त्यतिबेला एमालेबाट उम्मेदवार थिइन् । 

लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् ।

को हुन् राजेश बानियाँ ?

“राजनीति पेशा होइन,समाज सेवा हो” भन्ने मूल भावनाका साथ राजनीतिमा होमिएका व्यक्ति हुन्, राजेश बानियाँ । हेटौंडा–५, पिप्लेका स्थायी बासिन्दा रहेका उनी नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ ९ख० का सभापति हुन् ।करिब २५ वर्षदेखि विभिन्न संघसंस्थामार्फत् समाजसेवामा सक्रिय उनी २०३६ साल वैशाख २९ गते वुवा वीरेन्द्रबहादुर र आमा नर्वदा बानियाँको सन्तानको रुपमा हेटौंडामा जन्मिएका हुन् ।

उनी २०५० सालदेखि कांग्रेसमा रहेर सक्रिय राजनीति गरिरहेका छन् । स्थानीय बालज्योति उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका बानियाँले मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

अमेरिका, क्यानडा युकेजस्ता समृद्धि मुलुकको व्यवसायीक भ्रमण पश्चात् उनले सक्रिय राजनीति गर्ने प्रण गरेका थिए । लामो समय सामाजिक अभियान्ताको रुपमा सक्रिय बानियाँ २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट लोकप्रिय मतसहित हेटौंडा–५ को अध्यक्ष निर्वाचित भएका थिए । जनप्रतिनिधि भएपश्चात् राज्यबाट प्राप्त सम्पूर्ण सेवा सुविधा उनले विशेष गरी बालबालिकाको क्षेत्रमा खर्च गरे ।

वडा अध्यक्ष रहँदा ५ बर्षसम्मको सेवा सुविधा उनले शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा पनि खर्चे । सेवा सुविधाबाट राज्यबाट प्राप्त मासिक २८ हजार ७ सय १० रुपैयाँ तलबमध्ये बालज्योति उमाविलाई मासिक २० हजार र श्री लक्ष्मी आधारभूत विद्यालयमा ८ हजार ७ सय १० रुपैयाँ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि बानियाँले उपलब्ध गराउँदै आएका थिए ।

उनले वार्षिकरूपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपैयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माविको ३ कोठे भवन निर्माणको लागि उपलब्ध गराएका थिए । विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि १५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको बानियाँले बताए । स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई उनले एम्बुलेन्स हस्तान्तरण गरे ।

एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको उनी बताउँछन् । उनले व्यक्तिगत खर्चमा वडावासीको १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । उनले तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव बटुलेका छन् । उनी २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुर र लायन्स क्लबको संस्थापक अध्यक्षसमेत हुन् ।

पिप्ले युवा क्लबको अध्यक्ष हुँदा उनले पिप्ले क्याम्पा रंगशालाको काम अगाडि बढाएका थिए । ‘पिप्लेक्याम्पा रंगशालाले अहिले एउटा स्वरुप लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप