बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभावहीन गठबन्धनले सुर्खेतमा काँग्रेसलाई घाटा, एमालेलाई फाइदा

कुन पालिकामा कसले जिते, कसले हारे ?
शुक्रबार, ०६ जेठ २०७९, १५ : ०१
शुक्रबार, ०६ जेठ २०७९

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा २०७४ को स्थानीय तहको निर्वाचनमा पहिलो राजनीतिक शक्ति केन्द्रका रुपमा स्थापित नेपाली काँग्रेसलाई यो पटक घाटा लागेको छ । पार्टीभित्रको आन्तरिक द्वन्द्वले पराजित हुने संकेत देखिएपछि नेकपा माओवादीसँग तालमेल गरेको काँग्रेसले सोचेजस्तो नतिजा ल्याउन सकेन ।

पाँच वटा नगरपालिका र चारवटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सुर्खेतमा काँग्रेस र एमालेले ४÷४ पालिकाको नेतृत्व पाएका छन् भने नेकपा माओवादी केन्द्रले एउटा पालिकाको नेतृत्व पाएको छ ।

२०७४ सालमा काँग्रेसले ६ वटा स्थानीय तहको नेतृत्व पाएको थियो । दोस्रो शक्तिका रुपमा रहेको एमालेले लेकबेसी नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा मेयर÷अध्यक्ष र उपमेयर÷उपाध्यक्षमा जितेको थियो भने माओवादीले कुनै पालिकाको प्रमुख जित्न सकेको थिएन ।

यो पटक काँग्रेसले दुईवटा पालिका गुमाएको छ भने एमालेले एक पालिकाको नेतृत्व थप गरेको छ । ०७४ मा काँग्रेसले जितेको भेरिगंगा नगरपालिका, प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा यो पटक एमालेले नेतृत्व पाएको छ । एमालेले ०७४ मा जितेको लेकबेशी नगरपालिकामा काँग्रेसले नेतृत्व पाएको छ भने चौकुने गाउँपालिकामा माओवादीले नेतृत्व पाएको छ ।

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लासमेत रहेको सुर्खेतमा काँग्रेस पछाडि पर्नुको मुख्य कारण नै पार्टीभित्रको आन्तरिक द्वन्द्व भएको नेताहरु बताउँछन् । चुनावी माहोल सुरु हुनुभन्दा पहिलेदेखि नै काँग्रेसको संस्थापन इत्तर पक्षले उम्मेदवारीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने अडान राखेको थियो तर संस्थापन पक्षले इतर पक्षलाई कतै पनि उम्मेदवार बनाएन ।

सुर्खेतमा चुनावी तालमेल गर्नेमा कुनै चासो नदिएको काँग्रेसले पराजित हुने संकेत देखिएपछि मनोनयन दर्ता गर्ने दिनमा आएर एकाएक माओवादी केन्द्रसँग तालमेल गर्‍यो । एकीकृत समाजवादीलाई पाखा लगाएर काँग्रेसले आफ्नो स्वार्थ अनुकुल बनाएको तालमेल प्रभावहीन बन्यो । जसका कारण काँग्रेसले घाटा व्यहोर्नुपर्‍यो भने एमालेलाई फाइदा पुग्यो ।

माओवादीसँगको तालमेल पनि सुर्खेतका सबैजसो पालिकामा भएको थिएन । पञ्चपुरी, लेकबेशी, बराहताल लगायतका स्थानीय तहमा दुवै दलले आ–आफ्ना उम्मेदवार उठाएका थिए ।

दुई दलको गठबन्धन बनेको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा काँग्रेसलाई पराजित गर्दै एमालेले सत्ता आफ्नो हातमा लिन सफल भयो । काँग्रेसले मेयर÷उपमेयरमा तालमेल गरे पनि वडाहरुमा तालमेल गर्न नसक्दा पाउनुपर्ने भोट न त माओवादीका उम्मेदवारले पाए, न काँग्रेसकाले नै । वीरेन्द्रनगरमा माओवादीका भोट काँग्रेसले मेयरमा पाए पनि उपमेयरमा भने माओवादीले काँग्रेसको भोट पाउन सकेन । जसले गर्दा दुवै पदमा गठबन्धन पराजित भयो ।

कुन पालिकामा कसले जिते कसले हारे ?

वीरेन्द्रनगर नगरपालिका

दलहरुले प्रतिष्ठाको विषय बनाएको प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मोहनमाया ढकाल (भण्डारी)ले विजय प्राप्त गरेकी छन् । उनले नेपाली काँग्रेसका उपेन्द्र बहादुर खड्कालाई ५५४ मतान्तरले पराजित गरिन् ।

निर्वाचित ढकालले १६ हजार ३८ मत प्राप्त गरिन् भने खड्काले १५ हजार ४८४ मत पाए । ढकाल निवर्तमान उपमेयर हुन् । यहाँ नेपाली काँग्रेस र नेकपा माओवादीबीच तालमेल भएको थियो । सत्तारुढ दुई दलबीच तालमेलका बाबजुद मोहनमायाले बाजी मारेकी हुन् ।

प्रमुख पदमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत प्राप्त गरे । २०७४ सालमा यहाँ नेपाली काँग्रेसका देव कुमार सुवेदीले प्रमुखमा जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बालाराम शर्माले १३ हजार ८९९ मत पाएका थिए भने तेस्रोमा माओवादी, चौथोमा स्वतन्त्र र पाँचौंमा राप्रपा थियो ।

यो पटक प्रमुखमा राप्रपा बलियो शक्तिका रुपमा चुनावी मैदानमा होमिएको थियो । तर विजय प्राप्त गर्न सकेन । वीरेन्द्रनगरका पुराना नेता मुकुन्दश्याम गिरीलाई राप्रपाले उम्मेदवार बनाएको थियो । उनी २०६१ सालमै वीरेन्द्रनगरको मेयर बनेका थिए ।

उपप्रमुखमा नेकपा एमालेका निलकण्ठ खनाल भारी मतका साथ विजयी भएका छन् । उनले २० हजार ३६४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी शान्ति ढकाल ‘सन्ध्या’ले ११ हजार ५३ मत प्राप्त गरिन् । उनी काँग्रेस–माओवादीकी साझा उम्मेदवार हुन् । यहाँ काँग्रेस–माओवादीबीच मेयर, उपमेयरमा तालमेल भए पनि वडामा भएको थिएन ।

१६ वटा वडा रहेको यहाँ पाँच वटा काँग्रेस र बाँकी ११ वटामा एमालेले जितेको छ । ०७४ मा एउटा वडा जितेको माओवादीले यो पटक त्यो पनि गुमाएको छ ।

भेरीगंगा नगरपालिका

०७४ मा यो पालिकाको आठ वटा वडासहित प्रमुख÷उपप्रमुखमा जितेको काँग्रेस यो पटक पराजित भयो । काँग्रेसकै गढमा काँग्रेस–माओवादी मिल्दा पनि एमालेका यज्ञप्रसाद ढकाल १० हजार २२ मतसहित मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत प्राप्त गरे ।  यो पटक एमालेले उपप्रमुखमा पनि जितेको छ । एमालेका धनसरा बोहोरा ९ हजार ६ सय १४ मतसहित निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका नन्दबहादुर कार्कीले ८ हजार ९१३ मत पाए ।

०७४ मा प्रमुखमा काँग्रेसका भुपेन्द्रबहादुर चन्दले ७ हजार ५४३ मत ल्याएर प्रमुखमा विजयी भएका थिए भने उपप्रमुखमा रेणु आचार्यले ७ हजार ५७४ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

यो पटक काँग्रेसले १३ वडामध्ये आठ वटै वडामा जितेको छ भने माओवादीले दुई र एमालेले तीन वटा वडामा जितेको छ ।

लेकबेशी नगरपालिका

बहुमत वडासहित ०७४ का एमालेले वर्चश्व जमाएको यहाँ यो पटक काँग्रेसले आठ वटा वडासहित पालिका प्रमुख आफ्नो पोल्टामा पारेको छ  । काँग्रेसका उमेशकुमार पौडेल ६ हजार ६३९ मत ल्याएर प्रमुखमा निर्वाचित हुँदा एमालेका देव बहादुर राना भने २६५ मतान्तरले पराजित भए । रानाले ६ हजार ३७४ मत पाए । माओवादीबाट उम्मेदवार बनेका रामबहादुर चपाइँले ८०४ मत पाए ।

उपप्रमुखमा एमालेकी विमला खड्लुकले ६ हजार १०९ मत ल्याएर निवार्चित हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देउकली थापा मगरले ५ हजार ४४० मत प्राप्त गरिन् ।

०७४ मा यो नगरपालिकामा प्रमुख÷उपप्रमुख दुवै एमालेले हात पारेको थियो । एमालेका गगनसिंह सुनार ५ हजार ७५३ मत ल्याएर प्रमुखमा निर्वाचित भएका थिए । दोस्रोमा नेपाली काँग्रेसका उमेश कुमार पौडेलले ४ हजार ३९ मत पाएका थिए । यो पटक उनै पौडेल निर्वाचित भए ।

गुर्भाकोट नगरपालिका

यो पालिकामा पुरानै नेतृत्व दोहोरिएको छ । काँग्रेसका निवर्तमान मेयर समेत रहेका हस्त पुन ११ हजार ९७८ मत ल्याएर विजयी भएका हुन् भने उपप्रमुखमा निवर्तमान उपमेयर मैना विक ११ हजार ७४३ मत ल्याएर निर्वाचित भएकी छन् ।

मेयरमा पुनका प्रतिद्वन्द्वी एमालेका तिलकबहादुर खत्रीले १० हजार १८६ मत पाए भने एमालेबाट उपमेयरका प्रतिस्पर्धी सुशीलाकुमारी विश्वकर्माले १० हजार २९९ मत पाएकी छन् ।

१४ वटा वडा रहेको यहाँ १० वटा काँग्रेसले जितेको छ भने चार वटा एमालेले जितेको छ ।

पञ्चपुरी नगरपालिका

यो पालिकामा काँग्रेसले आफ्नो वर्चश्व गुम्न दिएन । मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका लालविर भण्डारी ५ हजार ९०९ मतसहित प्रमुखमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादर थापाले ५ हजार ११८ मत ल्याएका छन् । उपमेयरमा पनि काँग्रेसकी मुक्तिदेवी रेग्मीले ६ हजार ९४ मतसहित निर्वाचित भएकी छन् । एमालेकी दुर्गा कुमारी जैसीले ५ हजार १६८ मत ल्याएकी छन् । निर्वाचित रेग्मी निवर्तमान उपमेयर हुन् ।

यहाँ माओवादी तेस्रो स्थानमा छ । यहाँ एकीकृत समाजवादी र माओवादीबीच गठबन्धन थियो । ११ वटा वडा रहेको यहाँ दुई वटा वडामा एमाले, एउटा माओवादी र बाँकी वडामा काँग्रेसले नै जितेको छ ।

चौकुने गाउँपालिका

सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने चौकुने गाउँपालिकामा यो पटक माओवादी केन्द्रका खड्ग विक ५ हजार ४७६ मतसहित पालिका अध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरी अघिकारीलाई विकले २ हजार ६२ मतान्तरले पराजित गरे । अधिकारीले तीन हजार ४१४ मत प्राप्त गरे । तेस्रोमा एकीकृत समाजवादीका रत्ना कुमारी विसीले २९१ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा भने नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका नरबहादुर बान्तोला ४ हजार ७९१ मतसहित उपाध्यक्षमा निर्वाचित हुँदा निवर्तमान उपाध्यक्ष एमालेकी निर्मला मगरले ३ हजार ९ मत प्राप्त गरिन् । यस्तै एकीकृत समाजवादीका नारा प्रसाद देवकोटाले ७१५ मत प्राप्त गरे ।

०७४ मा यहाँ नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै जितेको थियो । एमालेका धीरबहादुर शाहीले ३ हजार २४२ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका खड्ग विकले २ हजार ६३३ मत ल्याएका थिए । उनै विक यो पटक अध्यक्षमा निर्वाचित भएका छन् । चौकुनेका काँग्रेस–माओवादीबीच तालमेल भएको थियो ।

बराहताल गाउँपालिका

यो पालिकामा काँग्रेसले नै जितेको छ । अध्यक्षमा काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका घनश्याम पाण्डेलाई ७१८ मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले ४ हजार २७३ मत ल्याउँदा पाण्डेले ३ हजार ५५५ मत पाए । उपाध्यक्षमा पनि काँग्रेसले नै जितेको छ । काँग्रेसकी लक्ष्मी पुन मगरले ४ हजार ३०१ मत पाइन् । एमालेकी दुर्गाकुमारी विष्टले ३ हजार ५९९ मत प्राप्त गरेकी छन् । यहाँ पनि माओवादी तेस्रो स्थानमा छ । ०७४ मा यहाँ काँग्रेसले नै जितेको थियो ।

चिङ्गाड गाउँपालिका

काँग्रेसको गढ मानिएको यो पालिकामा एमालेले जितेको छ । एमालेका बोधविक्रम जिसीले तीन हजार ५९१ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकतम प्रतिद्वन्द्वी काँग्रेसका डोरप्रसाद शर्माले तीन हजार ५३० मत प्राप्त गरे । माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थिएन ।

उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । काँग्रेसकी मनमाया आचार्यलाई पराजित गर्दै एमाले उम्मेदवार मिनाकुमारी रोकाय उपाध्यक्षमा निर्वाचित भइन् । रोकायले तीन हजार ५८१ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी आचार्यले तीन हजार ४६९ मत प्राप्त गरिन् ।

६ वडा रहेको यो पालिकामा तीन वडामा काँग्रेस र तीन वडामा एमाले विजयी भएको छ ।

अध्यक्षमा निर्वाचित जिसी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनमा काँग्रेसका देवबहादुर चन्द २ हजार ९४९ मत ल्याएर निर्वाचित हुँदा एमालेका बखतबहादुर खत्री २ हजार ३८५ मत ल्याएर दोस्रो भएका थिए । उक्त निर्वाचनमा जिसी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा चुनावी मैदानमा थिए । उनले १ हजार ७२१ मत प्राप्त गरेका थिए ।

सिम्ता गाउँपालिका

०७४ मा एमालेले जितेको यो पालिकामा यो पटक पनि एमाले नै विजयी भएको छ । काँग्रेस–माओवादीको गठबन्धनलाई पराजित गर्दै एमालेबाट अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित चन्दले ६ हजार १७० तथा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे । उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ तथा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे ।

९ वडा रहेको सिम्तामा एमालेले पाँच र काँग्रेसले चार वडामा जित हासिल गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष÷उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप