शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सबैभन्दा पहिले तालमेल गरेको अर्घाखाँचीमा किन विफल भयो गठबन्धन ?

काँग्रेस खुम्चियो, एमाले उदायो
शुक्रबार, ०६ जेठ २०७९, ०८ : ४७
शुक्रबार, ०६ जेठ २०७९

बुटवल । सत्तारुढ दलहरूबीच केन्द्रमा सहमति नहुँदै अर्घाखाँची जिल्लामा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भए पनि  त्यसको नजिता भने उल्टो आएको छ । त्यो बेला जिल्लामा गठबन्धन दलबीच स्थानीय तह, प्रदेशदेखि जिल्लामा हुने संघसंस्थाहरुको निर्वाचनमा समेत तालमेल गरेर जाने सहमति भएको थियो ।

उनीहरूको मूल ध्यान एमाले बाहेकका शक्तिहरूलाई जिल्लामा एक बनाएर लैजाने भए पनि स्थानीय निर्वाचनमा परिमाण उल्टो आएको छ । गठबन्धनको परिमाण उल्टो आउनुमा गठबन्धनभित्रै रहेका कमजोरीमात्र नभएर नेकपा एमालेका प्रभावशाली मानिएका नेता टोपबहादुर रायमाझीको भूमिका धेरै रहेको कतिपयको बुझाइ छ ।

माओवादी केन्द्र छाडेर एमाले रोजेका रायरामझीले जिल्लामा आफ्नो व्यक्तिगत प्रभावले गर्दा स्थानीय तहहरूमा एमालेलाई  जिताउन सफल भएको धेरैको बुझाइ छ । त्यसो त टोपबहादुर जहाँ उभिन्छन्, त्यहीँ अर्घाखाँचीको एउटा ठुलो समूह उभिने गरेको छ । अन्य दलका ठुला नेताहरू काठमाडौँ केन्द्रित हुँदा उनी टोलटोलमा उम्मेदवारलाई जिताउन मत माग्दै हिँडेका थिए ।

एमाले उदायो

अर्घाखाँची जिल्लामा एमालेले आफ्नो प्रभाव बढाएको छ । विगतमा माओवादी र नेपाली काँग्रेसले जितेका ठाउँहरुमा अहिले एमाले विजयी भएको छ । यस अघिको स्थानीय तह निर्वाचनमा मालरानी गाउँपालिकामा मात्र सीमित रहेको एमाले अहिले पाणिनी, मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकामा विजयी भएको छ । सितगंगा नगरपालिका र छत्रदेव गाउँपालिकामा पनि एमालेले उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ ।

खुम्चियो काँग्रेस

२०७४ को स्थानीय तह निर्वाचनमा पाणिनीमा अध्यक्ष, छत्रदेवमा दुवै पद, शितगंगा र सन्धिखर्क नगरमा प्रमुख र भूमिकास्थान नगरमा उपप्रमुख पद जितेको काँग्रेसले यसपाली सितगंगा नगरपालिकाको मेयर, छत्रदेव गाउँपालिकाको अध्यक्ष पदमात्रै जितेको छ । पहिला १२ वटा पदमध्ये ६ सिट जितेको काँग्रेस अहिले दुई वटा सीटमा खुम्चिएको छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाले भूमिकास्थान नगरप्रमुखमा जितेको छ । विगतमा ३ उपमेयर जितेको माओवादी अहिले भूमिकास्थानमा उपमेयरमा खुम्चिएको छ ।

सन्धिखर्क नगरपालिका

विगतमा नेपाली काँग्रेसले जितेको सन्धिखर्कमा अहिले एमालेले  जितेको छ । प्रमुख पदमा एमालेका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले नेपाली काँग्रेसकी शान्ता भण्डारीलाई पराजित गरेका छन् । श्रेष्ठले ११ हजार १३५ मत ल्याउँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी भण्डारीले ९ हजार ३३४ मत ल्याएकी छन् ।

यस्तै उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले माओवादीका राजेन्द्र भुसाललाई पराजित गरेकी छन् । यसअघि यहाँ  माओवादीका उपमेयर थिए । ५ दलीय सत्ता गठबन्धनलाई  हराउँदै यो नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरेको हो । आचार्यले ९ हजार ६४६ मत ल्याएर विजयी भइन् । भुसालले ९ हजार १६८ मत ल्याए ।

सितगंगा नगरपालिका

यो पालिकाको प्रमुखमा नेपाली काँग्रेसका छविलाल पौडेल निर्वाचित भएका छन् । उनले ९ हजार २५८ मत ल्याउँदै एमालेका बसन्तकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ९ हजार १६२ मत ल्याएका थिए ।

उपप्रमुख भने एमालले जितेको छ । एमालेकी गीता भाटले ९ हजार ७९ मत ल्याउँदै माओवादीका टिकाराम रेश्मी मगरलाई पराजित गरेकी हुन् । गठबन्धनबाट उम्मेदवार बनेका मगरले ६ हजार ७७४ मत ल्याएका छन् ।

भूमिकास्थान नगरपालिका

यो नगरपालिकामा गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका झविलाल थापा निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाको संगठन बलियो भएको यो नगरपालिकामा थापाले ८ हजार ३२४ मत ल्याउँदा एमालेका उम्मेदवार रेशम थापाले ७ हजार ५२४ मत ल्याए । यहाँ उपप्रमुख पद भने गठबन्धनको तर्फबाट माओवादीका बालकृष्ण बन्जाडेले जितेका छन् । बन्जाडेले ७ हजार ५५८ मत ल्याएका थिए भने एमालेका वसन्ता पौडेलले ६ हजार ८६४ मत ल्याएकी छन् ।

छत्रदेव गाउँपालिका

विगतमा नेपाली काँग्रेसका जितेको छत्रदेव गाउँपालिकामा अहिले पनि अध्यक्षमा काँग्रेसकै चन्द्रमान श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ७ हजार ४०७ मत ल्याएका छन् भने एमालेका  दीपक पन्थीले ७ हजार २२४ मत ल्याए ।

उपाध्यक्षमा भने एमालेका मनी पन्थी ७ हजार ५१९ मत सहित विजयी भइन् । उनले नेपाली काँग्रेसका इन्दिरा भुसाललाई पराजित गरिन् । भुसालले ७ हजार २३५ मत ल्याइन् । यहाँ  एमालेले उपाध्यक्ष पद नेपाली काँग्रेसबाट खोसेको छ ।

पाणिनी गाउँपालिका : दोहोर्‍याएका उम्मेदवार दुवै पराजित

विगतमा जितेको पाणिनी गाउँपालिका काँग्रेसले यसपटक गुमाउनु परेको छ । अध्यक्षमा दोहोर्‍याएर उम्मेदवार बनेका नेपाली काँग्रेसका अच्युत गौतमलाई हराउँदै एमालेका टेकराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले ७ हजार ७४९ मत ल्याएका छन् भने नेपाली काँग्रेसका गौतमले ७ हजार २८ मत ल्याए ।

यहाँ उपाध्यक्ष पनि एमालेले नै जितेको छ । उपाध्यक्षमा एमालेकी नर्मदा गौतम (पौडेल) ले काँग्रेसकी लक्ष्मी गौतमलाई हराएकी छन् । पौडेलले ७ हजार ६६१ मत ल्याएकी छन् भने काँग्रेसकी गौतमले ७ हजार ३८ मत ल्याएकी छन् ।

अघिल्लो निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम केही महिनाअघि काँग्रेसमा प्रवेश गरेकी थिइन् । काँग्रेसले उनै गौतमलाई पुनः उपाध्यक्ष पदमा उम्मेदवार बनाएको थियो । तर एमालेकी नर्मदा पौडेलले उनलाई पराजित गरिदिएकी छन् ।

मालरानी गाउँपालिका  :

एमालेले मालरानी गाउँपालिका आफ्नो साख कायमै राखेको छ । २०७४ सालमा जितेको एमालेले अहिले पनि अध्यक्ष र उपाध्यक्ष दुवै आफ्नो पकडमा राख्न सफल भएको हो । एमालेका अध्यक्षका उम्मेदवार दलबहादुर भट्टराईले ८ हजार २८३ मत ल्याउँदै गठबन्धनका उम्मेदवार पदम क्षेत्रीलाई हराएका हुन् । माओवादी केन्द्रका क्षेत्रीले ६ हजार ७२६ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकै दिपा पोख्रेलले नेपाली काँग्रेसका शोभाखर खनाललाई पराजित गरेकी छन् । पोख्रेलले ८ हजार १५५ मत ल्याएकी छन् भने खनालले ६ हजार ६५७ मत ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप