सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भोजपुरका ९ पालिकामा २०७४ र २०७९ को स्थानीय चुनावमा दलले कति जिते कति गुमाए ?

बिहीबार, ०५ जेठ २०७९, ०७ : ०२
बिहीबार, ०५ जेठ २०७९

भोजपुरमा ९ स्थानीय तह रहेका छन् । यही वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा भोजपुरका ३ पालिका प्रमुखमा काँग्रेसले जितेको छ । उपप्रमुखमा भने ४ स्थानीय तहमा जित हात पारेको छ । 

यस्तै एमालेले ३ स्थानीय तहमा प्रमुख पदमा जित हात पारेको छ भने उपप्रमुखमा पनि ३ स्थानीय तह जितेको छ । यस्तै माओवादी केन्द्रले २ स्थानीय तह प्रमुखमा जित हात पारेको छ । उपप्रमुख तर्फ २ स्थानीय तह जितेको छ । यस्तै साल्पासिलिछो गाउँपालिका अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

भोजपुरका ९ स्थानीय तहमा अघिल्लो पटकको चुनाव र हालै सम्पन्न भएको चुनावको नतिजा हेर्दा २ पालिकामा प्रमुख पद गुमाएको छ भने एक पालिका प्रमुख खोसेको छ । यस्तै थप एक नयाँ पालिकामा उपाध्यक्ष पाउँदा अन्य २ स्थानीय तहमा उपाध्यक्ष गुमाएको छ । 

यस्तै एमालेले पनि २ पालिका प्रमुख र एक पालिकामा उपप्रमुख गुमाएको छ । साथै थप अन्य २ पालिकामा भने उपप्रमुख पाएको छ । 

माओवादी केन्द्रले यसअघि जितेको प्रमुख पद गुमाएको छैन तर ३ पालिकामा उपप्रमुख पद गुमाएको छ । यसअघि नजितेको १ पालिकामा भने जित निकालेको छ । एक स्वतन्त्र उम्मेदवारले पनि गाउँपालिका प्रमुख जित्न सफल भएका छन् । भोजपुरका विभिन्न स्थानीय तहमा २०७४ साल र हालै सम्पन्न २०७९ सालको स्थानीय तहमा राजनीतिक दलको अवस्था यस्तो रहेको छ । 

१) भोजपुर नगरपालिकामा 

भोजपुर नगरप्रमुखमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा  काँग्रेसका कैलाश कुमार आले ५ हजार ६ सय १५ मत पाएर विजयी भएका छन् ।  

उनका निकटतम प्रतिस्पर्धी एमालेका भरतकुमार तामाङले ५ हजार १ सय मत पाएका छन् । 

२०७४ सालको चुनावमा पनि काँग्रेसका उनै कैलाश कुमार आले ४ हजार ७० मत पाएर विजयी भएका थिए । त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी  एमालेका गणेश कुमार श्रेष्ठले ४ हजार ३४ मत पाएका थिए । 

उपप्रमुखको विवरण  

उपप्रमुख तर्फ एमालेकी निर्मला शेर्पा ५५ सय मत पाएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी काँग्रेसकी ममिता राईले ५१ सय ३३ मत पाएकी छिन् । २०७४ सालमा भएको निर्वाचनमा उपाध्यक्षमा एमालेकै ममिता राई ३ हजार ७ सय ७३ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी काँग्रेसकी कृति कुमारी कार्की ३ हजार ७ सय १ मत पाएकी थिइन् । 

२) षडानन्द नगरपालिका, भोजपुर

भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा एमालेका सुरेन्द्रकुमार उदास ६ हजार ७ सय ७२ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका वीरबल राईले ५ हजार ७ सय ५७ मत पाएका । 

२०७४ सालमा भने काँग्रेसका बीरबल राई ४ हजार ९ सय ४६ मत पाएर विजयी भएका थिए । हाल विजयी भएका एमालेका सुरेन्द्र कुमार उदास भने ४ हजार ६ सय ९४ मत पाएर पराजित भएका थिए । यहाँ अघिल्लो वर्ष पराजित एमाले उम्मेदवारले काँग्रेससँग बदला लिएका छन् । 

उपप्रमुखको विवरण  

उपप्रमुख तर्फ माओवादी केन्द्रकी प्रमिला राई ७ हजार २ सय ५७ मत  पाएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी मेरीका राईले ४ हजार ३ सय ५८ मत पाएकी छिन् । 

२०७४ सालको चुनावमा भने एमालेकी उनै मेरीका राई ४ हजार ६ सय ९७ मतले विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी सीता श्रेष्ठले ४ हजार ४ सय १३ मत पाएकी थिइन् । यहाँको उपप्रमुख पद माओवादी केन्द्रले खोसेको छ । 

३) टेम्केमैयुङ गाउँपालिका, भोजपुर

भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा काँग्रेस सरोज बस्नेत ३ हजार ९ सय ८० मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ध्रुवराज राईले ३ हजार २ सय ५५ मत पाएका छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले ध्रुवराज राई २७ सय ८० मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका राम सिं राईले २६ सय ३२ मत पाएका थिए । 

यो स्थानीय तहको प्रमुख पद एमालेले गुमाएको छ । 

उपाध्यक्षको विवरण  

टेम्केमैयुङ गाउँपालिका उपाध्यक्षमा एमालेकी रमा देवी राई ३३ सय ८८ मत पाएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी इन्द्रावती राईले ३२ सय ९८ मत पाएकी छिन् । 

२०७४ सालको चुनावमा एमालेबाट इन्द्रावती राई २७ सय १८ मतले विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी काँग्रेसका सरोज बस्नेतले २६ सय ९१ मत पाएका थिए । यो गाउँपालिका एमालेले आफ्नो उपप्रमुख पद जोगाउन सफल भएको छ । 

४) रामप्रसादराई गाउँपालिका, भोजपुर

रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका थाम बहादुर राई ३ हजार ७७ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका बलराम राईले २ हजार ८ सय ५१ मत पाएका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा एमालेका विजय राई २३ सय ५६ मतले विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी  माओवादी केन्द्रका थामबहादुर राईले २३ सय ४८ मत पाएर पराजित भएका छन् । 

यो पटक भने माओवादी केन्द्रले एमालेको भाग खोस्न सफल भएको छ । 

उपाध्यक्षको विवरण  

हालै सम्पन्न निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा काँग्रेसका वीरेन्द्र राई ३५ सय ७७ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कमला देवी राईले २२ सय १४ मत पाएकी छिन् । 

२०७४ सालको स्थानीय तहको चुनावमा माओवादी केन्द्रकी सम्झना राई २५ सय ३२ मतले विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी  एमालेकी कृतिका राईले २४ सय ७७ मत पाएकी थिइन् । 

यहाँ माओवादी केन्द्रले जितेको स्थानीय तह काँग्रेसले खोसेको छ । 

५) अरुण गाउँपालिका,  भोजपुर

भोजपुरको अरुण गाउँपालिका अध्यक्षमा काँग्रेसका शालिकराम खत्री २८ सय ८७ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायण प्रसाद घिमिरेले २४ सय २४ मत पाएका छन् । 

२०७४ सालमा काँग्रेसका गजेन्द्र बहादुर कार्की २७ सय २७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायण प्रसाद घिमिरेले २१ सय २६ मत पाएका थिए । 

उपाध्यक्षको मत विवरण  

अरुण गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी विनीता ढकाल ३ हजार मत  पाएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईले २५ सय ४४ मत पाएकी छिन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसकी उनै विनीता ढकाल विजयी भएकी थिइन् । त्यतिबेला उनले २७ सय ५८ मत पाएकी थिइन् । अघिल्लो निर्वाचनमा पनि प्रतिस्पर्धी रहेकी एमालेकी उनै कविता राईले २१ सय ३७ मत पाएकी थिइन् । 

६) पौवादुङमा गाउँपालिका, भोजपुर

पौवादुङमा गाउँपालिका अध्यक्षमा एमालेका किरण राई २ हजार ४ सय ९९ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका  नगेन्द्र बहादुर भुजेलले १६ सय ८८ मत पाएका छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेका किरण राई नै विजयी भएका थिए । उनी १९ सय ६३ मतले विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी सिसिरा राईले १४ सय ५२ मत पाएकी थिइन् । 

उपाध्यक्षको परिणाम विवरण 

गाउँपालिका उपाध्यक्षमा एमालेकी ज्योत्स्ना राई २४ सय ६ मत पाएर विजयी भएकी छिन् । उनी २०७४ साल स्थानीय तह निर्वाचनमा भने पराजित भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रामकुमारी राईले १३ सय ८७ मत पाएकी छिन् । 

२०७४ सालको चुनावमा एमालेकी ज्योत्स्ना राई १८ सय ३४ मत पाई माओवादी केन्द्रकी उम्मेदवार सम्झना राईसँग पराजित भएकी थिइन् । सम्झना राई १८ सय ६० मत पाएर विजयी भएकी थिइन् । 

यहाँ माओवादीको उपाध्यक्ष एमालेले खोसेको छ । 

७) साल्पासिलिछो गाउँपालिका, भोजपुर

साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथ कुमार कुलुङ राई १८ सय १४ मत पाई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका महेश राईले १७ सय ८६ मत पाएका छन् । 

२०७४ सालको चुनावमा काँग्रेसका महेश राई १६ सय ७४ मत पाएर  विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका खगेन्द्र कुमार राईले १६ सय ११ मत पाएका थिए । 

यो स्थानीय तहमा काँग्रेसले प्रमुख पद गुमाएको छ । 

उपाध्यक्षको परिणाम विवरण 

उपाध्यक्षमा काँग्रेसकी अस्मिता कुलुङ राई १८ सय ६२ मत पाएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी रीता घलेले १५ सय ८० मत पाएकी छिन् । 

२०७४ सालको निर्वाचनमा एमालेकी धन माया राई १४ सय ७३ मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी विमला राईले ९ सय मत पाएकी थिइन् । 

यहाँ एमालेले उपाध्यक्ष पद गुमाएको छ । 

८) आमचोक गाउँपालिका, भोजपुर

यो गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका अशोक राई ३६ सय ८५ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका बसन्त राईले ३२ सय ५८ मत पाएका छन् । 

२०७४ सालको चुनावमा पनि यहाँ माओवादी केन्द्रका अशोक राई नै निर्वाचित भएका थिए । उनले ३ हजार ८१ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बहादुर राईले २६ सय २५ मत पाएका थिए । 

उपाध्यक्ष मत विवरण 

गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्र नै विजयी भएको छ । उपाध्यक्षमा सीता राईले ३५ सय ९१ मत पाएर विजय हासिल गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस छिरिङ्ग शेर्पाले ३१ सय ८० मत पाएका छन् । 

२०७४ सालको चुनावमा पनि माओवादी केन्द्रकै सीता राई ३ हजार ९५ मत पाएर विजयी भएकी थिइन् । त्यतिबेला उनकी प्रतिस्पर्धी दिब्य कुमारी राईले २६ सय २२ मत पाएकी थिइन् । 

९) हतुवागढी गाउँपालिका, भोजपुर

यो गाउँपालिका अध्यक्षमा एमालेका प्रेम कुमार राई ४ हजार ४२ मतले   विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३ सय ५३ मत पाएका छन् । 

२०७४ सालको चुनावमा एमालेका प्रेम कुमार राई नै ३ हजार ४ सय ९६ मतले विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका मदन बहादुर खुलालले ३ हजार २ सय ६० मत पाएका थिए । 

उपाध्यक्षको मत विवरण 

यो गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी सुनिता राई ३ हजार ७ सय ८ मतले  विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कमला राईले ३ हजार ६ सय ११ मत पाएकी छिन् । 

२०७४ सालको चुनावमा एमालेकी चन्द्रमा राई ३ हजार २ सय ८१ मतले  विजयी भएकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सुनिता राईले २५ सय ३५ मत पाएकी थिइन् । 

यो गाउँपालिकाबाट माओवादी केन्द्रले उपाध्यक्ष पद गुमाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप