शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ओलीको जन्म जिल्ला अब रहेन एमालेको किल्ला

२०७४ मा ६ मध्ये पाँच पालिका जितेको एमाले तीन पालिकामा खुम्चियो
बुधबार, ०४ जेठ २०७९, १९ : २८
बुधबार, ०४ जेठ २०७९

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म जिल्ला तेह्रथुममै एमालेलाई स्थानीय निर्वाचनमा ठुलो धक्का लागेको छ । विगतमा एमालेको गढ भनेर चिनिएको यो जिल्लामा अहिले सत्तारुढ गठबन्धनका सामु एमाले निरीह देखिएको हो ।

दुई नगरपालिका र चार गाउँपालिका गरी जम्मा ६ स्थानीय तह रहेको यो जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले पाँच वटा पालिका जितेको थियो । स्थानीय तहको निर्वाचन २०७९ मा भने एमालेले तीन वटा पालिकामा मात्र जित हासिल गरेको छ । एमालेले जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व जितेको छ ।

तेह्रथुममा म्याङ्लुङ र लालीगुराँस गरी दुईवटा नगरपालिका छन् भने आठराई, छथर, फेदाप, मेन्छायाम गरी चारवटा गाउँपालिका छन् । यसपटकको निर्वाचनमा यो जिल्लाका ४ वटा गाउँपालिका र दुई नगरपालिकाका प्रमुख पद काँग्रेस र एमालेले आधा आधा हात पारेका छन् । काँग्रेसले आठराई तथा फेदाप गाउँपालिका र लालीगुराँस नगरपालिकामा विजय हासिल गरेको छ भने एमालेले छथर तथा मेन्छायाम गाउँपालिका र म्याङ्लुङ नगरपालिकामा विजय हासिल गरेको छ ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेले आठराई, छथर, फेदाप, मेन्छायाम गाउँपालिका र म्याङ्लुङ नगरपालिकाको प्रमुखमा विजय हासिल गरेको थियो भने लालीगुराँस नगरपालिकामा काँग्रेसले जितेको थियो । यस्तै आठराई, छथर, फेदाप र म्याङ्लुङ नगरपालिकाका उपप्रमुख पदमा एमालेले र लालीगुराँस नगरपालिकाको उपप्रमुखमा काँग्रेसले विजय हासिल गरेको थियो ।

आठराई गाउँपालिका

स्थानीय निर्वाचन २०७९ मा आठराई गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका दिलकुमार पाहिम निर्वाचित भएका छन् । उनले ४ हजार ६९२ मत प्राप्त गरे । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र थपलियालाई ६८४ मतअन्तरले हराएका छन् । थपलियाले ४ हजार ८ मत प्राप्त गरे ।  

यसैगरी यो गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बलिराज इङ्नाम निर्वाचित भएका छन् । उनले ४ हजार ८० मत ल्याएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका रूपादेवी कन्दङ्वालाई १० मतको अन्तरले हराएका छन् । कन्ङ्वाले ४ हजार ७० मत प्राप्त गरिन् ।

२०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा नेकपा एमालेका मानबहादुर लिम्बू ३ हजार ८४७ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका नारायणकुमार इङ्नामलाई १०३ मतले पराजित गरेका थिए । इङ्नामले ३ हजार ७४४ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकै रूपादेवी कन्दङ्वाले ३ हजार ९६३ मतका साथ जित हासिल गरेकी थिइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी रमिला खनाललाई ९९२ मत अन्तरले पराजित गरेकी थिइन् । खनालले २ हजार ९७१ मत प्राप्त गरेकी थिइन् ।

छथर गाउँपालिका

छथर गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसमेतको गठबन्धनलाई एमालेले पराजित गरेको छ । अध्यक्ष पदमा नेकपा एमालेका सन्तवीर लिम्बू निर्वाचित भएका छन् । उनले ३ हजार ९१५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर इन्साङले ३ हजार ३०६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी तारा खरेल निर्वाचित भएकी छन् । उनले ३ हजार ७६२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज लिम्बूले ३ हजार ६०२ मत प्राप्त गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष पदमा एमालेकै सन्तवीर लिम्बूले विजयी भएका थिए । उनले त्यतिबेला ३ हजार ४२६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका टेकबहादुर लिम्बूले २ हजार ५५२ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकी तारा खरेल ३ हजार ३६८ मतका साथ विजयी हुँदा काँग्रेसकी हिमामाया पौडेल भट्टराईले २ हजार ४८९ मत प्राप्त गरेकी थिइन् ।

फेदाप गाउँपालिका

फेदाप गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् । उनले ४ हजार ४१ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमालेका हरिप्रसाद चोङ्वाङ लिम्बूलाई १६२ मतले पराजित गरेका हुन् । लिम्बूले ३ हजार ८७९ मत प्राप्त गरे ।  

यसैगरी यो गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी सुनिता पहिम विजयी भएकी छन् । उनले ३ हजार ९८५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमालेकी गीतादेवी थापालाई २६० मतको अन्तरले पराजित गरेकी हुन् । थापाले ३ हजार ७२५ मत प्राप्त गरेकी छन् ।

२०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा एमालेका हरिप्रसाद चोङ्वाङ लिम्बूले ३ हजार ४३९ मतका साथ जित हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँगे्रसका केशवप्रसाद भेटवालले ३ हजार २२० मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी गीतादेवी थापाले ३ हजार ४३४ मत प्राप्त गरी जितेकी थिइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गङ्गाप्रसाद लिम्बूलाई १ हजार ७३३ मत अन्तरले पराजित गरेकी थिइन् । उनले १ हजार ७०१ मत प्राप्त गरेका थिए ।

मेन्छायाम गाउँपालिका

मेन्छायाम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका यादवबहादुर खापुङ विजयी भएका छन् । उनले २ हजार ५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनकुमार लिम्बू भने ३४ मतको अन्तरले पराजित भए । पराजित लिम्बूले  २ हजार २१ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी गीतादेवी तिम्सिना निर्वाचित भएकी छन् । उनले एक हजार ९८६ मत प्राप्त गरेकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी प्रेमलता घिमिरेलाई १२ मतको अन्तरले पराजित गरेकी हुन् । प्रेमलता घिमिरेले एक हजार ९७४ मत प्राप्त गरिन् ।

२०७४ सालको निर्वाचनमा भने अध्यक्ष पदमा एमालेका यादवबहादुर खापुङ एक हजार ६८३ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले काँगे्रसका देउबहादुर लिम्बूलाई १८७ मत अन्तरले पराजित गरेका थिए । देउबहादुरले एक हजार ४९६ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा काँग्रेसकी गीतादेवी तिम्सिनाले एक हजार ४८६ मत प्राप्त गरी  विजयी भएकी थिइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शङ्करलाई ६६ मत अन्तरले पराजित गरेकी थिइन् । शङ्करले एक हजार ४२० मत प्राप्त गरेकी थिइन् ।

लालीगुराँस नगरपालिका

लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अर्जुन माबोहाङ निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ५ हजार १३९ मत प्राप्त गरे ।

माबोहाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशकुमार लिम्बूलाई एक हजार ७९५ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका लिम्बूले ३ हजार ३४४ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसकी जमुना मगर कार्की ४ हजार ८८७ मतसहित निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेकी छविमाया तिम्सिनालाई एक हजार २९३ मतको अन्तरले पराजित गरेकी हुन् । छविमायाले ३ हजार ५९४ मत प्राप्त गरेकी छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा काँग्रेसका अर्जुनबहादुर माबोहाङ ३ हजार ८५१ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले एमालेका कमलबहादुर खड्कालाई एक हजार २५ मत अन्तरले पराजित गरेका थिए । खड्काले २ हजार ८२६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा काँग्रेसकी तीला पोखरेलले ३ हजार २०० मत प्राप्त गरी विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी जमुना मगरले ३ हजार ७७ मत प्राप्त गरिन् ।

म्याङ्लुङ नगरपालिका

म्याङ्लुङ नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहङ्फे निर्वाचित भएका छन् । उनी ५ हजार ११७ मत ल्याई विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अर्जुनबहादुर तुम्बाहाङ्फेलाई ६३९ मत अन्तरले पराजित गरेका हुन् । काँग्रेसका अर्जुनबहादुरले ४ हजार ४७८ मत ल्याई पराजित भएका हुन् ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी जमुनादेवी सुवेदी निर्वाचित भएकी छन् । उनले ५ हजार २१० मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत प्राप्त गरिन् ।

यसअघि २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फेले ३ हजार ८९० मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले काँग्रेसका रणबिक्रम लिम्बूलाई ३२२ मत अन्तरले पराजित गरेका थिए । लिम्बूले ३ हजार ५६८ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी पार्वती सानु डाँगीले ४ हजार ६३ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उमादेवी कार्कीले ३ हजार २४२ मत प्राप्त गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप