शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्याय दिन किन आलटाल ?

सोमबार, ०२ जेठ २०७९, १२ : २०
सोमबार, ०२ जेठ २०७९

पछिल्लो समय राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका दश फुटबल खेलाडी न्यायका लागि भौँतारिई रहेका छन् । उनीहरुले प्रशिक्षकबाट आफूहरू पीडित भएको भन्दै न्याय माग्न लागेको बताएका छन् । एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको समयमा प्रशिक्षक अल्मुताइरीसँग सेवा सुविधाको विषयलाई लिएर खेलाडीको खटपट भएको थियो । सो क्रममा खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए । 

बन्द प्रशिक्षण छोडेका खेलाडीहरू न्यायका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष पुगेका थिए । एन्फाले चुनावको बहाना बनाउँदै अहिले प्रशिक्षकको विषयमा केही गर्न नसक्ने बताएको थियो । त्यसपछि एन्फा अन्तर्गतकै अखिल नेपाल फुटबल खेलाडी संघले न्यायका लागि कदम अघि बढाएको थियो । खेलाडी संघका अध्यक्ष विक्रम लामाले आफूहरू अन्तिमसम्म पनि खेलाडीहरूको न्यायका लागि अघि बढ्ने बताएका छन् । 

भर्खरै मात्र सङ्घको नेतृत्वमा आएका लामाले दश जना खेलाडीहरू संघमा न्यायका लागि आएको समयदेखि नै उनीहरूको साथमा आफूहरू रहेको बताए । ‘खेलाडी संघ खेलाडीहरूको न्यायका लागि बनेको हो । हामी अन्तिमसम्म पनि दश खेलाडीको न्यायका लागि अघि बढ्नेछौँ । हामी सम्बन्धित निकायमा न्यायका लागि निरन्तर धाइरहेका छौँ,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने । 

सामान्य कुरालाई घरभित्रै समाधान नगरी एन्फाले ठूलो विषय बनाएको लामाले बताए । आफूहरू एन्फामा न्यायका लागि धाएको समयमा नै समाधानमा लागि अघि बढेको भए यो अवस्था नआउने लामाको जिकिर छ । ‘सानो कुरालाई एन्फाले ठूलो रुप बनायो । यस्तो कुरा खेलाडी र प्रशिक्षकलाई बोलाएर समाधान गर्न सकिन्थ्यो । तर, अहिले यो विषय पूरै फुटबलको चासोको विषय बनिसक्यो,’ लामाले भने । 

 

खेलाडीले गल्ती गरेको भए खेलाडीलाई, प्रशिक्षकले गल्ती गरेको भए प्रशिक्षकलाई कारबाही गर्न आफूहरूले एन्फालाई आग्रह गरेको उनले जानकारी दिए । उनले जुन पक्ष भएपनि विवादको समाधानका लागि लचिलो बनेर समाधान गर्नुपर्ने धारणा राखे । ‘यो जित र हारको विषय होइन । न्यायको विषय हो । यो फुटबल विकासका असर नपर्ने गरी विवाद समाधान गर्ने विषय हो,’ लामाले भने । 

लामाले विवाद छानबिन समितिले सत्यतथ्य छानबिन गर्ने कुरामा आफूहरू आशावादी रहेको बताएका छन् । उनले लामो समय खेलाडीहरूले यही विवादका कारण फुटबलबाट बाहिर रहनुपर्ने अवस्था आएकाले छिटै छानबिन हुने गरेर पुनः राष्ट्रिय टोलीको प्रशिक्षकमा फोकस गर्नुपर्ने धारणा राखे । यो विवादले टिममा रहेका खेलाडीहरू पनि प्रशिक्षणमा फोकस गर्न नसक्ने लामाको बुझाइ छ । 

‘विवादका लागि सत्यतथ्य छानबिन हुने कुरामा दुई मत छैन । तर, छिटो छानबिन गरेर राष्ट्रिय टोलीको प्रशिक्षणमा फोकस गर्दा राम्रो हुनेछ । छानबिनमा ढिलाइ भएमा अहिले प्रशिक्षणमा रहेका खेलाडीहरूलाई पनि असर पर्न सक्छ,’ लामाले भने । खेलाडी र प्रशिक्षकको विवादको बीच प्रतियोगिता खेल्न गएमा टिमको प्रदर्शन कमजोर हुने उनको भनाइ छ । 

एन्फाले खेलाडी र प्रशिक्षक विवादको सत्यतथ्य पत्ता लगाउन पूर्व खेलाडी तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । जसमा पूर्व नेपाली अन्तर्राष्ट्रिय खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका छन् । छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप