सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कटारीको सोरुङबाट मतपेटिका र मृतकको शव उठाउने सहमति

आइतबार, ०१ जेठ २०७९, १८ : ३८
आइतबार, ०१ जेठ २०७९

उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेको कालिका माविबाट मतपेटिका र मृतकको शव उठाउने सहमति भएको छ । वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि भएको झडपमा प्रहरीले गोली चलाउँदा स्थानीय वीरबहादुर कटुवाल ‘नविन’ले ज्यान गुमाएका थिए । 

सर्वदलीय र सर्वपक्षीय बैठकपछि मतपेटिका र मृतकको शव उठाउने सहमति भएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । दलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका र शव कटारीमा ल्याउँदै छन् । 

‘मृतकको शव पोष्टमार्टम गर्न कटारी लिएर जाँदैछौं’ एसपी बोहराले भने । सुरक्षाकर्मीले मतपेटिका पनि कटारीमा ल्याउँदैछन् । कटारी नगरपालिकाले मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिने सहमति भएको छ । 

शनिवार प्रमुख जिल्ला अधिकारी र त्यहाँ क्रियाशील सबै दलका प्रतिनिधिहरुको बीचमा शव पोष्टमार्टमका लागि अस्पताल लैजाने र मतपेटिका उठाउने सहमति भएको थियो । तर, सो सहमतिलाई स्थानीयले अस्वीकार गरेका छन् ।
आईतबार प्रमुख जिल्ला वीरेन्द्रकुमार यादव र प्रहरी उपरीक्षक सुवास बोहरा घटनास्थलमा गएर स्थानीयसँग छलफल गरेपछि मतपेटिका र शव उठाउने सहमति भएको थियो ।

स्थानीय प्रशासन र राजनीतिक दलहरूको बीचमा ‘गोली काण्ड’  छानविन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ । मृतकलाई शहीद घोषण गर्न गृह मन्त्रालयका लेखेर पठाउने सहमति भएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मोहन श्रेष्ठको उपचार सरकारले गर्ने र पीडितका परिवारलाई नगरपालिकामा रोजगारी दिने सहमति भएको छ । त्यस्तै, कटारी नगरपालिका वडा नम्बर–१० मा मृतकको स्मारक बनाउने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप