मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारको मृत्युपछि छोरा र बुहारी चुनावी मैदानमा

बुधबार, २८ वैशाख २०७९, १८ : १६
बुधबार, २८ वैशाख २०७९

शुक्रबार हुँदै गरेको स्थानीय तह निर्वाचनमा कपिलवस्तु र दाङमा दुईजना उम्मेदवारको मृत्यु भएपछि ती स्थानको निर्वाचन सरेको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा काँग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार र दाडको तुल्सीपुर उपमहानगरपालिकास्थित वडा नम्बर १७ मा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवारको मृत्यु भएपछि निर्वाचन जेठ ३ गतेका लागि सरेको हो । 

जसअनुसार बुधबार मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेमा मृतकका छोरा र बुहारी रहेका छन् । कपिलवस्तुमा नेपाल काँग्रेसबाट उपमेयरमा उम्मेदवारी  दर्ता  गरेकी शुभावती कुर्मीको मृत्यु भएपछि उनको ठाउँमा रिताकुमारी कुर्मी उम्मेदवार बनेको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ । रिता मृतककी जेठी बुहारी हुन् । उनले सीएमए अध्ययन गरेकी छन् । 

यसैगरी तुल्सीपुर वडा नम्बर १७ मा एमालेका अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनको ठाउँमा सो पार्टीले मृतककै छोरालाई उम्मेदवार बनाएको छ । उनका कान्छा छोरा प्रदीप चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। प्रदीप पनि एमालेको अनेरास्ववियुमा क्रियाशिल हुँदै आएका थिए । उनी युवा संघ तुलसीपुरको नगर सदस्यसमेत रहेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए । 

तुल्सीपुरको यो वडामा ३ गते मतदाता भएपनि उपमहानगरपालिकाका अन्य स्थानमा भने ३०  गते नै चुनाव हुने हुने लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गहेन्द्र कुँवरले जानकारी दिए । उनले मतगणना भने १७ नम्बर वडाको मतदान सकिएपछि जेठ ३ गते साँझबाट मात्र  सुरु गरिने बताए । 

यी दुई स्थानमा निर्वाचन आचारसंहिता वैशाख ३१ गतेदेखि मात्रै लागू हुने जनाइएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप