बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारत्तोलन खेलाडी सञ्जुले आत्महत्या गरेको प्रहरी निष्कर्ष

मङ्गलबार, २७ वैशाख २०७९, १६ : ४७
मङ्गलबार, २७ वैशाख २०७९

 ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा मंगलबार बिहान मृत भेटिएकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । लुभु स्थित प्रशिक्षक सञ्जीव महर्जनको घरको भुईँ तालामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी थिइन् । 

सञ्जुले १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी थिइन् ।  पंखा राख्न बनाएको हुकमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरीले उनको शव निकालेको थियो  । ‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको देखिन्छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीसँग भने, ‘आत्महत्याको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’

सञ्जु बाँकेस्थित नेपालगञ्जकी हुन् ।  प्रहरीले उनको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । फरेन्सिक जाँच रिपोर्टका आधारमा मृत्युको कारणबारे थप अनुसन्धान गरिने एसपी शाहले जानकारी दिए ।

२४ वर्षीया सञ्जु झुण्डिएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । उनका परिवारले प्रहरीलाई ‘केही थाहा नभएको’ बताएका छन् । उनको शव पाटन अस्पतालमा पोष्टमार्टम गरिँदै छ ।
यसैबीच चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली दिइएको छ ।

चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । प्रतिनिधिसभा सदस्य तथा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तिम श्रद्धाञ्जली अर्पण गरे । 

यस्तै राखेपका विभागीय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

 चौधरीको शव आजै अन्तिम संस्कारका लागि गृहनगरतर्फ लगिने संघले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप