शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मसँग हार र जितको दुवै अनुभव छ : अनन्तप्रसाद पौडेल

सोमबार, २६ वैशाख २०७९, १६ : १३
सोमबार, २६ वैशाख २०७९

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहागरपालिकाको मेयरमा १८ र उपमेयर पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । तीन दशक यताका स्थानीय तह निर्वाचनमा यहाँ नेकपा एमालेले आफ्नो वर्चश्व कायम राखेको छ । यस पटक सत्तारुढ गठबन्धन एकातिर छन् भने अर्कोतिर एमाले छ । अन्य साना दलबाट पनि मेयरमा उम्मेदवारी परेको छ । त्यसैले मेयर पदका लागि कसले बाजी मार्ने हो भनेर अहिले नै लेखाजोखा गर्न कठिन छ ।

एमालेले हेटौंडाको मेयर पदमा ‘हेभीवेट’ नेता अनन्तप्रसाद पौडेलाई अघि सारेको छ । संविधानसभा सदस्यसमेत रहेका पौडेललाई आगामी निर्वाचनबाट हेटौंडामा एमालेको ३० वर्षे विरासत जोगाउने चुनौती छ ।

सत्तारुढ गठबन्धन एकजुट भएर निर्वाचनमा होमिएको बेला पनि पौडेल आफू जित्नेमा विश्वस्त रहेको बताउँछन् । स्थानीय तहको निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर रातोपाटीले हेटौंडा उपमहानगरमा एमालेबाट मेयरका उम्मेदवार रहेका पौडेलसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाई संविधानसभा सदस्य भइसकेको मान्छे, किन मेयरमा उम्मेदवारी दिनु भयो ?

विश्वमा यस्ता धेरै उदाहरण छन् । राष्ट्रपति पनि मेयर पदमा उम्मेदवार बनेका छन् । मन्त्रीहरु पनि आउने गर्छन् । हाम्रै देशमा पनि कतिपय मन्त्री र सांसदले मेयर पदमा उम्मेदवारी दिएका छन् । मैले विगतमा संविधानसभा सदस्य भएर आफ्नो जिम्मेवारी पूरा गरेँ । त्यो भूमिकामा मलाई पार्टीले खटाएको थियो । अब अहिले मलाई पार्टीले मेयर पदमा काम गर्न भनेर खटाएको छ । म त्यसै अनुसार मेयर पदका लागि उम्मेदवार बनेको छु ।

जे जहाँ भए पनि जनताको सेवा गर्ने विषय भएकाले त्यस्तो अन्यथा मान्नु पर्दैन । संविधानसभा वा संसद कानुन निर्माण गर्ने स्थान हो । यो स्थानीय तह भनेको कार्यान्वयन तहको स्थान हो । यहाँ जिम्मेवारी लिएर कार्यकारी भूमिकामा काम गर्ने इच्छा मैले पनि व्यक्त गरेँ । पार्टीले पनि मलाई योग्य ठान्यो । जनताको सेवा गर्ने हो । त्यसको लागि चकटी, भुइँ, पिर्का, कुर्सी, सोफामा जहाँ बसेर पनि गर्न म तयार छु । यसलाई त्यही अर्थमा बुझ्दा उचित हुन्छ ।

एमालेका विरुद्धमा सत्तारुढ गठबन्धन एक ढिक्का भएर लागेको छ । कतिको चुनौती महसुस गर्नुभएको छ ?

मैले कुनै पनि चुनौती महसुस गरेको छैन । किनकि यस्तो गठबन्धन एमालेले २÷३ पटक झेलिसकेको छ । हामीले २०५४ को निर्वाचन पनि गठबन्धन कै बीचमा लडेको हो । त्यस बेला काँग्रेस र राप्रपाले मोर्चा बनाएका थिए । २०७४ को निर्वाचनमा माओवादी केन्द्र र काँग्रेसबीच गठबन्धन थियो । अहिले माओवादी केन्द्र, काँग्रेस र हामीबाट बाहिरिएका केही साथीहरुको पार्टी एकीकृत समाजवादी बीच गठबन्धन छ । हेटौंडा उपमहानगरमा अहिले गठबन्धनको उम्मेदवार भनेको हामीबाटै बाहिरिएको साथी नै हुनुहुन्छ । उहाँ आफ्नो अत्यन्त कमजोर मतको धरातलमा अरु पार्टीको सबै मत पाउने आश गरिरहनु भएको छ । उहाँ अरुको भरमा विजयी हुनुपर्ने परिस्थिति छ । त्यो हाम्रो लागि त्यति प्रतिकुल विषय होइन । त्यो उहाँहरुको लागि समस्याको विषय हो । त्यसैले मैले यो गठबन्धनबाट कुनै चुनौती देखेको छैन ।

एमाले हेटौंडामा ३० वर्षदेखि हारेको छैन । यो विरासत जोगाउन त गाह्रो पर्ला नि ?

मलाई एमालेको त्यो ३० वर्षे विरासत जोगाउनु पर्ने चुनौती छ । त्यो स्वाभाविक पनि हो । विगतका निर्वाचनमा एमाले विजयी हुनुको मुख्य कारण एमालेका जनप्रतिनिधिहरुले गरेको विकासको काम नै हो । जनताले एमालेले गरेको कामको मूल्याङ्कन गरेरै पटक÷पटक एमालेलाई जिताएका हुन् । एमालेले जनताको विश्वास र भरोसा नतोड्नु नै एमालेको सफलताको मुख्य कारण हो । जनताको विश्वास र भरोसा नै एमालेको निर्वाचन जित्ने आधार हो ।

हामीले २०४९ सालमा जिम्मा लिँदाको हेटौंडा नगरपालिकाको अवस्था र अहिले ५ वटा गाउँ विकास समिति गाभिएर बनेको उपमहानगरपालिकामा विकासका पूर्वाधारका संरचना निर्माण गरेका छौं । हामीले १९ वटै वडामा गरेको विकासले नै आगामी निर्वाचनमा हामी सफल हुने हो । मैले विगतमा सुकुमबासी आयोग, जिल्ला विकास समितिको सदस्य र संविधानसभा सदस्यमा रहेर काम गर्दा जनतालाई नै प्राथमिकतामा राखेको छु । म सदैव जनताको पक्ष र हितमा काम गर्दै आएको छु । त्यसैले आगामी निर्वाचनमा मलाई एमालेको त्यो विरासत जोगाउन गाह्रो छैन ।

तपाईले जित्ने दावी गर्दै गर्दा अहिले एमाले सग्लो छैन नि । एमाले विभाजनले त असर गर्ला नि ?

एमालेमा विभाजनको त्यस्तो कुनै असर परेको छैन । आम मतदाताको बीचमा एमाले विभाजनले कुनै असर पारेको छैन । केवल एमालेका केही नेताहरुले छोडेर जानु भएको हो । उहाँहरुको जनमतमा कुनै आधार पनि छैन । उहाँहरु गएपछिको त्यो अभावलाई एमालेले परिपूर्ति गरिसकेको छ । अझ पछिल्लो समय एमाले छोडेका साथीहरु पुनः फर्किने क्रम बढ्दो छ । त्यसैले एमाले विभाजनले निर्वाचनमा खासै असर गर्दैन ।

तपाई स्थानीय तहमा आएर निर्वाचन लड्दै गर्दा युवा पुस्ताले अवसर नपाएको गुनासो बढ्दो छ नि, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

म हेटौंडाको मेयरमा उम्मेदवार बन्दै गर्दा युवा पुस्ताले अवसर नपाएको होइन । यसले युवा पुस्ताको अवसरमा त्यस्तो असर परेको छैन । यसले पार्टीभित्र पनि असर परेको छैन । हाम्रो पार्टी एकतावद्ध छ । टिकट लिने बेलामा भएको प्रतिस्पर्धा देखेर वर्तमान मेयर हरिबहादुर महत, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतको सहयोग हुँदैन कि भनेर धेरैले शंका गरेका थिए । तर, त्यसो भएन । हामीले त्यस प्रतिस्पर्धालाई आन्तरिक रुपमा समाधान गरिसकेका छौं । यसले निर्वाचनमा कुनै असर गर्दैन ।

यो निर्वाचनमा हामी एकतावद्ध ढंगबाट अघि बढिरहेका छौं । हामीभित्र आन्तरिक रुपमा कुनै पनि समस्या छैन । त्यसैले हामीलाई निर्वाचन जित्न सजिलो छ । मसँग हार र जितको दुवै अनुभव छ । म २०६४ सालमा हारेको मान्छे हुँ भने २०७० मा जितेको । पार्टीभित्र आन्तरिक विवाद नभएपछि मतदाताका बीचमा जान कुनै समस्या हुँदैन ।

हेटौंडाका समस्या के–के हुन् ? कस्ता योजना अघि सार्नुभएको छ ?

अहिले पनि हेटौंडा उपमहानगरपालिकाका पछि थपिएका वडाहरुमा सडक, खानेपानी, बिजुलीको समस्या छन् । पूर्वाधार निर्माणका थुप्रै काम बाँकी छन् । थपिएका वडाहरुमा हामीले सडक निर्माण गर्नुपर्ने छ भने पुराना ११ वटा वडाका सडक मर्मत गर्नुपर्ने छ । हेटौंडाको विस्तारित स्वरूपलाई कुरुप बन्नबाट जोगाउनु पर्नेछ । बस्ती व्यवस्थापन, सडक पुल, पार्कलगायतको संरचनाहरुलाई योजनाबद्ध विकासको ट्रयाकभित्र हामीले राख्न सक्नुपर्छ । हेटौंडाको हर्नामाडी, हटिया, बसामाडी, पदमपोखरी, चुरियामाई क्षेत्रमा ल्याण्ड पुलिङमार्फत व्यवस्थित आवास योजना बनाउनु पर्छ । अपार्टमेन्ट र हाउजिङको ऐनहरू तयार गरेर काम गर्नुपर्ने छ । सहरिया गरिबहरुको तथ्याङ्क संकलन गरेर उनीहरुलाई उद्यमशीलतातर्फ अघि बढाउनुपर्छ । स्वररोजगारमुखी विशेष र प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेछ । असंगठित मजदुरको समस्या छ । त्यसको समाधानका लागि श्रम डेस्क स्थापना गरी काम गर्नुपर्नेछ ।

सबैभन्दा ठुलो समस्या ट्राफिक व्यवस्थापन हो । हेटौंडाको २५ मिटर सडकको विवाद छ । त्यसै बीचमा हामीले हेटौंडाको सडकको विस्तारको काम गर्नुपर्ने छ । हेटौंडाको मुख्य बजारको सडक फराकिलो बनाउँदै गर्दा एउटा ठुलो बाइपास सडक निर्माण गर्नुपर्ने हुन्छ । हामीले हेटौंडाको २५ मिटर सडक विस्तारको काम भन्दै गर्दा आगामी दिनमा यो सडकले सवारी चाप थेग्न सक्दैन । हेटौंडाको मुख्य बजारबाट ४ वटा हाई–वे सहित भीमफेदी, कुलेखानीबाट आउने हजारौंको संख्यामा साना सवारीहरु मुख्य बजार भएर जानेछन् । यसले सवारी चाप झन् बढाउने छ । त्यसैले रातोमाटेदेखि चौकीटोलसम्मको बाइपास सडक हामीले बनाउनै पर्छ ।

हेटौंडामा फोहरमैला व्यवस्थापनको पनि समस्या छ । फोहर व्यवस्थापन अहिलेको चुनौतीको विषय बनेको छ । अहिले हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको फोहर व्यवस्थापन पर्याप्त छैन । आधुनिक प्रविधिबाट फोहर व्यवस्थापन गर्नु पर्छ । हेटौंडाको सौन्दर्यको पाटोमा पनि काम गर्नु पर्नेछ ।

घरदैलोका क्रममा जनताको अपेक्षा के पाउनु भयो ? अब कसरी अघि बढ्नु हुन्छ ?

जनताको मुख्य अपेक्षा भनेको जनप्रतिनिधिहरु बेलाबखतमा आफ्नो क्षेत्रमा आइदिउन् भन्ने छ । विकासका कामहरुमा अनुगन गरिदिउन् भन्ने उहाँहरुको अपेक्षा छ । जनताको माझमा जनप्रतिनिधिहरुको अनुभूति होस् भन्ने उहाँहरुको अपेक्षा छ ।

कच्ची सडक पक्की बनोस्, खानेपानीको समस्या समाधान होस् भन्ने छ । जनताको भौगोलिक भिन्नताको आधारमा अपेक्षाहरु आएका छन् । ती अपेक्षा सामान्य नै हुन् । हामीले हाम्रो आर्थिक स्रोतलाई परिचालन गरेर विकासको काममा अघि बढ्नु पर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप