शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडाको मेयर भएरभन्दा पनि सेवकको रूपमा काम गर्नुपर्नेछ : मीना कुमारी लामा

आइतबार, २५ वैशाख २०७९, १० : २२
आइतबार, २५ वैशाख २०७९

बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा । यो उपमहानगरपालिका बागमती प्रदेशको राजधानी पनि हो । स्थानीय तह निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा १८ र उपप्रमुख पदका लागि ९ जना उम्मेदवार छन् ।

हेटौँडाको प्रमुख र उपप्रमुख पदमा पदमा सत्तारुढ ५ दलीय गठबन्धनसहित नेकपा एमाले र राप्रपा लगायतका दल चुनावी मैदानमा छन् । केही स्वतन्त्र उम्मेदवार पनि निर्वाचनमा होमिएका छन् ।​ हेटौँडाको नेतृत्वका लागि प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा उम्मेदवार छिन् । उनले विगत ५ वर्ष हेटौँडाको उपप्रमुख पदमा रहेर काम गरिसकेकी छन् । गठबन्धनको साथ रहेकाले उनलाई सशक्त दाबेदारका रूपमा हेरिएको छ । यद्यपि विगतमा प्रमुख र उपप्रमुख दुवै पद जितेको एमाले पनि कमजोर भने छैन ।

चुनावकै सेरोफेरोमा केन्द्रित रहेर रातोपाटीले सत्तारुढ गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी मीना कुमारी लामासँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

विगत ५ वर्षसम्म उपप्रमुख भएर काम गर्दाको अनुभव कस्तो रह्यो ?

मेरो ५ वर्षको अनुभव अत्यन्त महत्त्वपूर्ण रह्यो । सिक्ने र सिकाउने अवसरहरू मिल्यो । प्रशासनिकदेखि लिएर थुप्रै सामाजिक काममा सक्रिय सहभागी हुने अवसर पाएँ । साथै स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था गरे अनुसार उपप्रमुखले गर्ने कामहरूमा जिम्मेवार भएर काम गर्न सकेँ । अधिकार प्राप्त कामहरू गरेर हेटौँडाको विकास र समृद्धिमा सहभागी हुने अवसर पाएँ । उपप्रमुख पदमा निर्वाचित हुँदादेखि नै एउटा चुनौती थियो । तर, त्यसलाई अवसरमा बदल्न सफल भएँ ।

उपप्रमुख भएर जिम्मेवारी लिँदै गर्दा देश नयाँ संरचनाको अभ्यासमा थियो । ऐन, कानुनहरू थिएनन् । कुनै ठोस योजना, त्यसका नियम तथा आवश्यक निर्देशिका, कार्यविधि थिएन । हेटौँडाको विकासका लागि ती ऐन कानुनहरूको निर्माण गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनु पर्ने जिम्मेवारी थियो । जसका लागि मैले कानुन मस्यौदा समितिको संयोजक भएर काम गरेँ । उपप्रमुखको जिम्मेवारीमा रहेर काम गर्न पाउनु मेरो जीवनको महत्त्वपूर्ण अवसरको रूपमा रहेको छ ।

हेटौँडा उपमहानगरपालिकासहित देशभर एकीकृत समाजवादी पार्टी पहिलो पटक निर्वाचनमा जाँदैछ । चुनाव जित्न कति चुनौतीपूर्ण देख्नु भएको छ ?

निर्वाचन मेरो लागि चुनौती होइन । मेरो लागि त्यो अवसर हो । निर्वाचनमा होमिएका सबै उम्मेदवारले निर्वाचन जित्ने इच्छा राख्छन् । त्यो स्वाभाविक पनि हो । त्यो मैले पनि राखेको छु । मेरो विगतको कामको मूल्याङ्कन, हेटौँडावासीप्रतिको मेरो सेवा भावनाको आधारमा जित्ने अपेक्षासहित म निर्वाचनमा होमिएको हुँ । यसमा म सफल हुन्छु भन्ने विश्वास पनि छ । त्यसैले यसलाई मैले अवसरको रूपमा लिएको छु ।

पार्टीभित्रबाट टिकट लिन कति सहज भयो ? अहिले केही नेताहरूले पार्टी पनि छोडेका छन् । यसले निर्वाचनमा कस्तो असर पर्ला ?

नेपा एकीकृत समाजवादी पार्टी नयाँ हो । यो नयाँ पार्टी भए पनि नेपालको कम्युनिस्ट आन्दोलनको रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो पार्टीको शीर्ष नेता माधव नेपालसहित झलनाथ खनालले देश, संविधान, लोकतन्त्र, संघीयता र कम्युनिस्ट आन्दोलनको रक्षार्थ ठुलो संघर्ष गर्नुभएको छ । एमालेमा विद्रोह गरेर जन्मिएको एकीकृत समाजवादी पार्टीको मूल एजेण्डा स्थापित गर्न हामी अहिले निर्वाचनमा होमिएका छौँ । शीर्ष नेतृत्वले देश र संविधानको लागि गरेको त्याग र तपस्याबाट यो पार्टी बनेको छ । पार्टी नयाँ हो तर नेतृत्व अनुभवी र विवेकशील हुनुहुन्छ ।

हामीले यो पार्टीमा के पायौ पाएनौ भन्दा पनि देशले के पायो भन्ने विषय मुख्य हो । केही नेताले पद र प्रतिष्ठा नपाएको भन्दै छोडेर जानुभयो । त्यसले आगामी निर्वाचनलाई खासै असर गर्दैन । विगतमा हामीले विधि र पद्धतिको पक्षमा लागेर विद्रोह गर्दैगर्दा उहाँहरूले पनि गर्नुभएको हो । त्यसबेला पनि सहज नै थियो । पार्टीलाई बलियो बनाउने कुरा अलि गाह्रो हुन्छ । सुरुवाती चरणमा पार्टीमा जनताको आकर्षण कम हुनु स्वाभाविक हो । तर, पनि हामीले अभियान नछोडी अघि बढ्यौँ । जिल्लामा पार्टीको संगठनहरु निर्माण गर्दा उहाँहरूको उपस्थिति पनि कम थियो । उहाँहरूको कमजोर मानसिकताले पार्टीमा समस्या पर्दै आएको थियो । जब निर्वाचन आयो, उहाँहरूले पनि आफ्नो दाबी गर्नु भयो । पहिलो त हेटौँडामा हामीले नेतृत्व पाउँछौँ भन्ने अवस्था नै थिएन । जे होस् पायौँ । जब पार्टीले आ–आफ्नो जिम्मेवारी तोकिदियो, उहाँहरूले त्यसलाई इगोको रूपमा लिनु भयो र पार्टी छोड्नु भयो । हाम्रो मुख्य काम पार्टी बलियो बाउने थियो । पार्टीको निर्णय मान्नु थियो । उहाँहरूले त्यसलाई मान्न चाहनु भएन र छोड्नु भयो । यसले हामीलाई असर पर्ने अवस्था देखिँदैन । यतिबेला हाम्रो कार्यकर्तामाझ उत्साह थपिएको छ ।

तपाई एउटा महिला पनि हुनुहुन्छ । महिलालाई नेतृत्वमा आउन कतिको समस्या छ ?

यो एउटा सोचमात्र हो । सबैभन्दा पहिले महिलाले पनि आफूलाई नेतृत्वको लागि तयार पार्नुपर्छ । त्यसका लागि धेरै विषयमा ध्यान दिनु पर्छ । जब मानिसहरु सक्षम हुन्छन्, त्यहाँ लिंग र जातको आधारमा विभेद हुने अवस्था आउँदैन । नेतृत्वका लागि आफू सक्षम हुनु मुख्य विषय हो । तर, हाम्रो समाजमा पहिलैदेखिको एउटा सङ्कीर्ण सोच कायमै छ । महिला र पुरुष बिचको भिन्नता राख्ने दृष्टिकोणले गर्दा केही महिला पछि परेका पनि छन् । अहिले महिलाले पनि गर्न सक्छन् र भन्ने एक खालको शंका व्यक्त गर्ने पुरानो सोच कायम रहेका कारण त्यो एउटा छलफलको विषय बनेको छ । मलाई पार्टीभित्र महिला भएकै कारण नेतृत्वमा आउन नसक्दा पनि समस्या भएन । पार्टीभित्र एक प्रकारको प्रतिस्पर्धा हुन्छ । त्यसका आफू अब्बल हुन सक्नु प¥यो । म पनि गर्न सक्छु भन्ने साहस र क्षमता हुनुचाहिँ पर्छ ।

‘महिला’ फ्याक्टरले तपाईलाई चुनाव जित्न कति मद्दत पुग्ला ?

यो विषयमा म पूरा विश्वास गर्छु । महिला भएकै कारण यो चुनाव जित्छु । हाम्रो समाज परिष्कृत भएको छ ।समाजमा महिलाले पनि गर्न सक्छन् भन्ने सोचको विकास भइसकेको छ । एउटा परिवारमा छोरी, बुहारीले पनि केही गर्न सक्छन् भन्ने सोचको विकास भएको छ । हरेक गाउँ सहरमा छोरीलाई अब्बल बनाउनुपर्छ, अघि बढाउनुपर्छ भन्ने प्रवृत्ति विकास भइसकेको छ । प्रविधियुक्त यो समयमा हरेक अभिभावकहरू महिलालाई अघि बढाउन सक्रिय देखिएका छन् । त्यसमा पनि मैले आफ्नो क्षमता प्रस्तुत गरिसकेको छु । हेटौँडाका आम जनताले मलाई स–सम्मान आगामी निर्वाचनमा विजयी गराउनुहुन्छ । त्यसैले म महिला नै भएकै कारणले चुनाव जित्छु ।

हेटौँडा उपमहानगरपालिकाको प्रमुख समस्या के के हुन् ? कस्ता खालका एजेण्डा अघि सार्नु भएको छ ?

हेटौँडामा थुप्रै समस्या छन् । मैले त्यसको समाधान गर्नुपर्ने छ । हेटौँडामा सवारी पार्किङ्गदेखि भूमिहीन, शिक्षा, स्वास्थ्य जस्ता थुप्रै समस्या छन् । हामीले हेटौँडाको पूर्वाधार विकासदेखि स्वास्थ्य, शिक्षा, सामाजिक रूपान्तरण, महिला सशक्तीकरण, युवा, बालबालिका, काम गर्नुपर्नेछ । अल्पसङ्ख्यक, दलित, जनजाति लगायतका क्षेत्रमा थुप्रै सुधारका काम गर्नुपर्नेछ । हेटौँडालाई नयाँपन दिएर सुन्दर र समृद्ध सहरको रूपमा विकास गर्नु पर्नेछ । त्यो हाम्रो लागि मुख्य चुनौतीको विषय छ । त्यसका लागि मैले आफूलाई हेटौँडाको मेयर भएरभन्दा पनि सेवकको रूपमा काम गर्नुपर्नेछ । म हेटौँडाको परिवर्तन गर्न सक्षम छु ।

मैले नगर क्षेत्रका विकासका लागि दीर्घकालीन योजना र वृहत प्रकारका योजनाहरू हेटौँडा विकास प्राधिकरण गठन गरी कार्यान्वयन गर्ने योजना अघि सारेको छु भने नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, ५ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने, प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्ने, नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी स्विमिङ पुल निर्माण, जलबिहार तथा पार्क निर्माण गरी पर्यटनमैत्री नगर बनाउने, नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवर्द्धन र विकासका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु । नगरको सेवा घरघरमा नै पुर्‍याउने, ‘एक घर एक रोजगार’ कार्यक्रम, सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनका लागि सहयोग गर्ने जस्ता योजनाहरू ल्याएको छु ।

घरदैलोका क्रममा मतदाताको अपेक्षा कस्तो रह्यो ? मुख्य रूपमा कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ ?

हेटौँडाका जनताको अपेक्षा धेरै ठुलो छैन । निकै साना अपेक्षा उहाँहरूको छ । उहाँहरूले आफ्नो घर अघिल्लतिरको बाटो राम्रो बनोस्, घरमा शुद्ध पानी आइदियोस्, बिरामी पर्दा सिटामोल सहज रूपमा पाइयोस् भन्ने अपेक्षा गर्नु भएको छ । उहाँहरूले म काम गर्न सक्छु, म काम गर्न चाहन्छु, काम गर्न पाइयोस् भन्ने इच्छा व्यक्त गर्नुभएको छ । म चुनावी अभियानमा जनताको घरघर जाँदै गर्दा साना भाइबहिनी र विद्यार्थीहरुलाई पनि भेटेँ । उहाँहरूले पनि आफ्ना अपेक्षा राख्नु भएको छ । उहाँहरूको अपेक्षा भनेको शान्त वातावरणमा सहज रूपमा पढ्न पाइयोस् भन्ने छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले छोराछोरीको शिक्षा, स्वास्थ्य र रोजगारीको अपेक्षा गर्नुभएको छ । त्यो अपेक्षाहरु मैले पूरा गर्नुपर्छ । त्यसमा म प्रतिबद्ध छु । हेटौँडाको विकासमा सबैभन्दा पहिलो त पूर्वाधार नै हो । पहिले त पूर्वाधार निर्माण नै गर्नुपर्ने हुन्छ । तत्कालीन ५ वटा गाउँ विकास समिति मिलर हेटौँडा बनेको छ । हेटौँडा बजारलाई मात्र हेरेर हुँदैन । त्यो क्षेत्रलाई पनि हामीले विकासमा जोड्नुपर्छ । हामीले विशेष प्राथमिकता शिक्षा र स्वास्थ्यमा दिनुपर्ने हुन्छ । युवाहरूको रोजगारीसँग जोडेर काम गर्नुपर्ने छ । खेलकुदको क्षेत्र, महिलाहरूलाई आर्थिक उपार्जनसँग जोडेर काम गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप